एनएमबीमा क्लिन ईनर्जी, पाथिभरा, भृकुटी बिकास बैंक र पु्रडेन्सियल फाईनान्स गाभिएपछि चुक्ता पूँजी ६ अर्ब २० करोड पुगेको एनएमबी बैंकले जनाएको छ । निजी क्षेत्रका बैंकहरुमा हालसम्म ग्लोबल आइएमईको पाँच अर्ब एक करोड र नेपाल ईन्भेष्टमेन्ट बैंकको चार अर्ब ७७ करोड लाई सर्वाधिक पूँजी भएको बैंकमा गणना गरिदै आएको थियो । एनएमबीले त्यो रेकर्ड तोडेको छ ।
बैंकको निक्षेप ५४ अर्ब, कर्जा ४१ अर्ब पुगेको छ भने शाखा संख्या ६९ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३० गते आयोजित एक कार्यक्रममा एनएमबी बैंकमा चार संस्थाको मर्जर पुरा भएको घोषणा गर्नुभयो ।
बैंकले कार्तिक १ गतेदेखि औपचारिक रुपमा संयुक्त कारोबार थालेको छ । काठमाडौको बबरमहलमा मुख्य कार्यालय रहेको एनएमबीले अघिल्ला आर्थिक बर्षहरुमा लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल दिदै आएको छ ।
चार संस्था मर्ज गरेर बलियो संस्था बनेकाले राष्ट्र बैंकले ल्याएको आठ अर्बको चुक्ता पूँजी सम्बन्धी प्राबधानले एनएमबी बैंकलाई कुनै असर नपर्ने देखिएको छ । बेंकले बोनस शेयरबाटै दुई बर्षमा ८ अर्ब पुर्याउनसक्ने छ ।
मर्जर सम्पन्न भएकाले राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्जलाई औपचारिक जानकारी गराएपछि दशैपछि कम्पनीको शेयर कारोबार चालु हुने अपेक्षा गरिएको छ ।