प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले ग्रोमरलाई किन्ने विषयमा सकारात्मक कुराकानी भए पनि अन्तिम निर्णय भइनसकेको जानकारी दिए । “मर्चेन्ट बैंकिङको काम गर्ने गरी हामीलाई एउटा कम्पनीको आवश्यकता महसुस भएको हो,” उनले भने, “त्यसकै आधारमा ग्रोमरसँग सकारात्मक कुरा भइरहेको छ ।”
प्रभु समूहले यसअघि एनबी इन्स्योरेन्स कम्पनी खरिद गरेको थियो । यो समूहअन्तर्गत प्रभु रेमिट्यान्स कम्पनी पनि छ । प्रभु समूहले प्रभु फाइनान्सलाई मर्ज गरी प्रभु विकास बैंक र पछि किस्ट बैंकलाई खरिद गरेर प्रभु बैंक बनाएको थियो । अझै प्रभु बैंक र ग्रान्ड बैंक मर्जरको प्रक्रियामा छन् ।
हाल ७ करोड रुपैयाँ संस्थापकहरूको लगानी रहेको ग्रोमरले सर्वसाधारणलाई ३ करोड रुपैयाँको सेयर बिक्री गर्न स्वीकृति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । ०६६ मा डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा ३२ विकास बैंक, ५ फाइनान्स कम्पनी, ६ लगानी कम्पनी र ४४ व्यक्तिगत लगानीकर्ता मिलेर ग्रोमर खुलेको थियो ।
प्राप्त जानकारीअनुसार प्रतिकित्ता १५० रुपैयाँभन्दा केही माथिको मूल्यमा सेयर कारोबार हुने जनाइएको छ । छलफलकै क्रममा रहेकाले नाम र मूल्यको विषयमा अहिल्यै केही भन्न नसकिने भट्टचनले बताए । हाल ग्रोमरमा प्रभु, सिटिजन्स बैंक इन्टरनेसनल र सिभिल बैंकसहित ३१ विकास बैंक तथा फाइनान्स कम्पनी, केही लगानी कम्पनी र अन्य व्यक्तिगत संस्थापकको लगानी छ ।
प्रभु मर्जमा जानुअघि जेनिथ फाइनान्ससँग सेयर भएकाले प्रभुसँग यसअघि नै केही हिस्सा ग्रोमरको सेयर रहेको हो भने अन्य बैंकको अवस्था पनि त्यस्तै हो । बैंकलाई सहायक कम्पनीको आवश्यकता भएकाले उपयुक्त संस्थाका रूपमा ग्रोमरलाई खरिद गर्न लागिएको स्रोतले बताएको छ । यसअघि ग्लोबल आईएमई बैंकले एलिट क्यापिटल र सिभिल बैंकले सिभिल क्यापिटललाई आफ्नो मातहतमा ल्याएका थिए । हाल धितोपत्र बोर्डमा १६ मर्चेन्ट बैंकिङ सूचीकृत छन् ।
ग्रोमरका अध्यक्ष झपटबहादुर बोहराले सेयर बिक्री गर्ने विषयमा सकारात्मक कुराकानी भइरहेको र आफूहरू संस्थापकको चाहनाअनुसार सेयर बिक्री गर्न अग्रसर भएको बताए । सामान्य हिस्सा आफ्नो कायम रहने गरी अधिक हिस्सा बिक्री गरिने उनको भनाइ छ ।
बिक्री प्रबन्धक (इस्यू म्यानेजमेन्ट), सेयर रजिस्ट्रार (आरटीएस), ‘पोर्टफोलियो’ व्यवस्थापन र ‘अन्डरराइटिङ’को काम गर्दै आएको कारोबारमा खबर छ ।
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।