बैंकहरुले किन तीब्र पार्दैछन् ऋणीहरुको करोडौ रुपैयाँका धितो लिलामी ?

Mar 18, 2016 Merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सकिनै लाग्दा बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले ऋणीका धितो लिलामीको प्रक्रिया तीब्र पार्न थालेका छन् । राष्ट्रिय दैनिक पत्रिकाहरुमा बैंक तथा बित्तीय संस्थाहरुले निकालेका धितो लिलामीका सूचनाले पानाहरु भरिभराउ देखिन थालेका छन् । निस्क्रिय कर्जाले थलिएका बैंक तथा बित्तीय संस्थाहरु यो दौडमा धेरै अगाडि छन् र आखिर किन तीब्र पारिदै छ त यो प्रक्रिया ?

अभियान किन तीब्र ?

बैंक तथा बित्तीय संस्थाहरुले धितो लिलामी प्रक्रिया तीब्र पार्नुको पछाडि राष्ट्र बैंकले कर्जा परिचालन तथा असुली गर्न  गरेको कडाई, पूँजी बृद्धिको बाध्यता तथा संस्थागत सुशासन कायम गर्न परेको दबाब नै मुख्य कारण रहेको बुझिएको छ ।

कतिपय बिकास बैंक र फाइनान्स कम्पनीहरुको निस्क्रिय कर्जा अनुपात ३२ प्रतिशतभन्दा माथि पुग्दा रोगी संस्थाहरुको संख्या थपिने संभावना बढेपछि राष्ट्र बैंक अझै कठोर बन्न थालेको छ । उसले निस्क्रिय कर्जामा तत्काल सुधार नगरे कारबाही गर्ने चेतावनी दिएपछि बैंक तथा बित्तीय संस्थाहरु तातेको देखिएको छ ।

त्यसैगरी चुक्तापूँजी सिमा कायम गर्न कम्पनीको नाफा बढाई बोनस शेयर दिनुपर्ने बाध्यतामा रहेकाले पनि संचालक समितिले ब्यवस्थापनमाथि दबाब दिँदा लिलामीको सूचना प्रकाशन बढेको एक बैंकरले बताए । निस्क्रिय कर्जा धेरै भएका बैंक तथा बित्तीय संस्थाहरु राम्रा कम्पनीसँग मर्ज वा एक्विजिशनमा जानमा पनि समस्या भएकाले उनीहरु आफ्नो अबस्था सुधार गर्नतिर लाग्न बाध्य भएको देखिन्छ ।

लामो समयदेखि जगेडा कोष नै घाटामा गएका फाईनान्स र बिकास बैंकहरु अहिले बढी दबाबमा छन् किनभने चालु आर्थिक बर्षको तेस्रो त्रैमासमै उल्लेखनीय प्रगति देखाउँन नसके राष्ट्र बैंकको कारबाहीमा पर्ने र चौथो त्रैमासमा खुद नाफा देखाएर लाभांश प्रस्ताव गर्न नसकिने, हकप्रद जारी गर्न पनि संभव नहुने र अरु बैंक तथा बित्तीय संस्थामा गाभिन पनि मुस्किल पर्ने आँकलन गरी कर्जा असुली तीब्र पारी आफुलाई स्वस्थ देखाउने होडमा उनीहरु लागेका हुन् । 

खराब कर्जा बढ्दा बैंकलाइ यस्तो आपत् 

बैंक तथा बित्तीय संस्थाहरुले निस्क्रिय र खराब कर्जाको अनुपात अनुसार त्यस वापतको शत प्रतिशतसम्म रकम जोखिम ब्यहोर्ने कोषमा राख्नुपर्ने भएकाले बैंकहरु निस्क्रिय कर्जाबाट डराउने गर्छन । यस्ता कर्जा बढेमा बैंकले कमाएको रकम जोखिम ब्यहोर्ने कोषमा बढाउनु पर्ने हुँदा कतिपय अबस्थामा जगेडा कोष समेत ऋणात्मक हुनपुग्छ । । बैंकहरुले असल कर्जामा समेत निश्चित प्रतिशत रकम जोखिम ब्यहोर्ने कोषमा राख्नुपर्ने हुन्छ । निस्क्रिय कर्जा थामिनसक्नु भएपछि ग्राण्ड बैंक जस्तै राष्ट्र बैंकको कारबाहीमा पर्नुपर्ने हुन्छ, यसो हुन दिन कोही पनि बैंकर चाहँदैनन् । 

निस्क्रिय कर्जा सिमा कति ?

ठूला र बलिया बैंक तथा बित्तीय संस्थाहरुले त कर्जाको भाका नाघ्ने बित्तिकै सम्बन्धित ऋणीलाई कडाई गरेर यस्तो कर्जा असुली गर्छन र नभएमा तत्कालै लिलामीमा चढाउँछन् किनभने त्यस्ता संस्थाहरुमा ऋणीका तर्फबाट आउने राजनीतिक तथा प्रशासनिक दबाब, धम्की र खुशामदले कमै काम गर्ने गर्छ । त्यसैले त्यस्ता कम्पनीहरुको निस्क्रिय कर्जा अनुपात कम हुन्छ तर हुँदै नहुने हैन । जस्तै एक खर्ब कर्जा प्रबाह गर्ने बैंकलाई  १०,२० करोड रुपैयाँ सम्मको निस्क्रिय कर्जाले खासै असर पार्दैन । तर साना संस्थाहरुको पूँजी, जगेडा कोष, निक्षेप र कर्जा परिचालन रकम कम हुने हुने हुँदा निस्क्रिय कर्जाको परिमाण थोरै बढ्दा पनि ठूलो प्रभाव पर्नसक्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको निस्क्रिय कर्जा सिमाा ५ प्रतिशतसम्म तोकेको छ, त्यो भन्दा बढी भएमा कम्पनीले लाभांश नै दिन नपाउनेदेखि शीघ्र सुधारात्मक कारबाहीसम्म हुनसक्छ ।

बिकास बैंक र फाईनान्स कम्पनीहरु मध्ये केहीमा संचालक तथा कर्मचारीहरुको मिलेमतोमा कर्जा परिचालन भएको, धितो नरहेको वा कमशल रहेको र असुलीमा हेलचेक्रयाई हुने गरेकोले खराब कर्जाको मात्रा अत्यधिक रहेको पाईन्छ । बैंक तथा बित्तीय संस्थाहरुले धितो लिलामीको प्रक्रिया अगाडि बढाएपछि ऋणीहरु आफै बैंक तथा बित्तीय संस्था धाएर सहुलियत माग गर्न थालेका बैंकका कर्मचारीहरु बताउँछन् ।

कसरी हुन्छ लिलामी ?

बैंकले ऋणीलाई लिखित तथा मौखिक रुपमा बारम्बार ताकेता गर्दा पनि कर्जा असुल नभएमा पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने गरेका छन् । त्यसपछि पनि कर्जा असुल नभएमा १५ र ७ दिने सूचना जारी गरी धितो लिलामी गर्ने गरेका छन् । कतिपय बैंक तथा बित्तीय संस्थाले ऋणीहरुलाई हर्जाना तथा ब्याज छुट दिएर खराब र भाका नाघेका कर्जा असुली गर्ने रणनीति पनि अख्तियार गर्ने गरेका छन् । लिलामीको अन्तिम दिन पनि ऋणी आफैले कर्जा तिरेमा लिलाम प्रक्रिया बीचैमा रोकेर ऋणीलाई राहत दिने बैंक तथा बित्तीय संस्थाहरु तयार हुन्छन् भने कतिपयले सम्पतिको न्युन मुल्यांकन गरी नियतबश लिलाममा चढाउने गरेको गुनासो पनि ऋणीहरुबाट आउने गरेको छ ।

लिलाममा सबैभन्दा बढी मूल्य कबोल्नेलाई सम्पति हस्तान्तरण गर्ने गरिएको छ तर कतिपय बैंक तथा बित्तीय संस्थाहरुले गैर बित्तीय सम्पतिको रुपमा धितो आफै सकारी बैंकको स्वामित्वमा लैजाने गर्छन, यसबाट गैर बैंकिड. सम्पति थुप्रिन गई बैंकलाई आबश्यक पर्ने पूँजी कम हुने हुँदा राष्ट्र बैंकले त्यसलाई पछिल्ला दिनहरुमा निरत्साहित गर्ने गरेको छ । अहिले सबै बैंक तथा बित्तीय संस्थाहरुको खराब कर्जाको धितो लिलामी एकैचोटी आउने हो भने बिक्नै मुस्किल पर्ने संभावना छ किनभने कतिपय कम्पनीहरुले यस्ता कर्जालाई खराब कर्जा नै नभनेर आफ्नो कमजोरी लुकाउन असल र कमशल कर्जामा बर्गीकरण गरेर राखेका हुन्छन् ।

बढी समस्या कस्ता कर्जामा ?

धितो नभएका वा कमसल धितो भएका कर्जा असुलीमा भने निकै मुस्किल पर्ने गरेको बैंकका कर्मचारीहरुको अनुभव छ । धितो नभएका वा कमशल धितो भएका ऋणीका मुद्धाहरु बैंकले छिनाफानो गर्न नसकेपछि ऋण असुली न्यायाधिकरणसम्म पुग्ने गरेका छन् तर पर्याप्त धितो वा ऋणीको पहिचान हुन नसक्दा यस्ता कर्जाहरु कानुनी प्रक्रियाबाट पनि असुली हुन समस्या हुने गरेको बताईन्छ । प्रभुमा बिलय भएको तत्कालीन ग्राण्ड बैंकका केही करोड रुपैयाँका कर्जाहरु यस्तै प्रकृतिका भएको बैंकका एक पूर्व कर्मचारीले बताए ।

कतिपय कर्जाहरुको धितो नै नक्कली हुनाले पनि बैंकहरुको करोडौ फसेको छ । कर्जा असुलीका लागि धितो लिलामीको प्रक्रिया चल्दै गर्दा एकाघरका परिवारका सदस्यले अदालतमा मुद्धा हालिदिँदा धितो लिलामी प्रक्रिया बर्षौ पछि धकेलिने गरेको छ । त्यस्तै घरजग्गा ब्यवसायी सुधिर बस्नेतले बिभिन्न बैंक तथा बित्तीय संस्थाहरुबाट लिएको कर्जा असुलीको क्रममा एउटै धितोमा दोहोरो, तेहोरो मुद्धा भएकाले लिलामीमी प्रक्रिया झंझटिलो भएको बताईन्छ ।

लिलाम सकार्ने पनि समस्यामा ?

लिलाम सकारिएको सम्पति उपभोगमा समस्या आउने, ऋणीले गुण्डा लगाएर उपभोग नगर्न धम्की दिने, हकभोेगमा समस्या आउने लगायतका कारण देखाएर कतिपय ब्यक्तिहरु यस्ता सम्पति लिलाम प्रक्रियामा सहभागी हुन अन्काउने गरेका छन्, जुन एक हदसम्म सही हो । कानुनी रुपमा आफ्नो स्वामित्वमा आएको सम्पति हकभोग गर्न प्रहरी प्रशासनले पनि सहयोग नगरेको गुनासो धितो लिलाम स्वीकार्नेहरुले गर्ने गरेका छन् । यस्ता समस्या आएपछि कतिपय कम्पनीले लिलाम सकार्नेलाई हकभोगमा पनि सघाउने बचनबद्धता ब्यक्त गर्ने गरेका छन् ।

अपनाईदैछ सुरक्षित उपाय

पछिल्ला बर्षहरुमा घरजग्गा कर्जा लिएका ऋणीहरुको धितो लिलाम हुने क्रम तीब्र भएको पाईन्छ । यस्ता ऋणीहरुले घरजग्गा महंगिएको बेला कर्जा लिएको र अहिले त्यो बेचेर पनि तिर्न नपुग्ने अबस्था रहेकाले धितो लिलामी हुने गरेको पाईन्छ । कतिपय उद्योगहरु द्धन्द्ध, बन्द, हडताल, भुकम्प र नाकाबन्दीका कारणले टाट पल्टिएपछि धितो लिलामीमा चढेको छ । यस्ता घटनाहरुबाट पाठ सिकेर बैंक तथा बित्तीय संस्थाहरुले कर्जा तिर्नसक्ने ऋणीको क्षमता जाँच्ने, धितोको सही मुल्यांकन गर्ने, त्यसको बढीमा ६० प्रतिशतसम्म मात्र रकम बराबरको कर्जा परिचालन गर्ने, धितो र कर्जाको बिमा गराउने, ऋणीको पनि बिमा गराउने र धितो बेंककै नाममा दृष्टिबन्धक गराएर मात्र कर्जा परिचालन गर्ने गरेका छन् ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।