प्राइम लाइफ इन्स्योरेन्समा केही समय अघि तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेष्टा झा तथा लेखा प्रमुख दिपबहादुर बिसीको मिलेमतोमा गरिएको आर्थिक अनियमितताको रकम अझै असुल हुन सकेको छैन । बीमा समितिले उक्त रकम असुलीका लागि कम्पनीलाई ताकेता गरिरहँदा ५० प्रतिशत रकम असुली भएको छ भने अरु रकमका लागि समितिले अझै ताकेता गरिरहेको छ ।
अनियमितता गर्नेहरुलाई विभागिय कार्वाही मात्र भए पनि अनियमितता भएको रकम कसले असुल गराउने भन्ने विषयको टुंगो लाग्न नसक्दा समितिले अनियमितता भएको भनिएको ५ करोड रुपैंया मध्ये २ करोड ५० लाख रुपैंया मात्र असुल भएको जनाएको हो ।
अनियमितताको विषय चर्किए पछि गरिएको डिडिएको प्रतिवेदन आएको लामो समय बित्दा सम्म अनियमितताको रकम कति भन्ने विवाद चुलिएको थियो । डिडिए प्रतिवेदनका आधारमा नै बीमा समितिले ५ करोड अनियमितता भएको भन्दै उक्त रकम असुल्ने कदम चालेको थियो । समितिका अनुसार झालाई अनियमितता गरेको भन्दै कार्वाही स्वरुप ६५ लाख रुपैंया जरिवाना तिराइ सकिएको छ । प्राइम लाइफले पनि तत्कालिन व्यवस्थापन नेतृत्वबाट भएको अनियमितता पुर्ति गराउन समितिको निर्देशन अनुसार काम भैरहेको र तत्कालिन प्रमुख कार्यकारी अधिकृत तथा तत्कालिन लेखा प्रमुखलाई विभागिय कार्वाही गरिसकिएको बताएको छ ।
व्यवशाय प्रवद्र्धन गर्ने भन्दै ठुलो रकम हिनामिना गरेका झा विभागिय कार्वाही भए पछि अहिले इन्स्योरेन्सबाट बाहिरिएर बसेका छन् भने तत्कालीन लेखा प्रमुख दिपबहादुर बिसी हाल भवन भट्टको टिबीआई ग्रुपमा लेखा नियन्त्रकका रुपमा आबद्ध छन् ।
प्राइम लाइफ (PLIC) को साधारण साधारण सभा कहिले होला ?
केही कम्पनीले हकप्रद तथा बोनसको कुरा चलाए पनि साधारण सभाको अन्यौलताका कारण लगानीकर्ता के गर्ने के नगर्ने भन्नेमा छन् । अहिले प्राइम लाइफको साधारण सभा हुने आशमा हजारौं लगानीकर्ताले बोनस खानका लागि शेयर किनिरहेका छन् । तर कम्पनीको साधारणसभा कहिले हुन्छ भन्ने अन्यौल कायमै छ ।
बीमा समितिका अनुसार प्राइम लाइफ इन्स्योरेन्सले भ्यालुएसन रिपोर्ट मात्र समितिमा पठाएको छ । आर्थिक वर्ष २०६९/७० देखि ३ आर्थिक वर्षको वित्तीय विबरण समितिमा नआएको समितिका सुचना अधिकारी पुजन ढुगेंलले जानकारी दिइन् । उनका अनुसार सबै वित्तीय विबरण नपठाएको सम्बन्धमा समितिको ध्यानाकर्षण भएको र कागजात नपुगेसम्म साधारण सभा तथा लाभांसका विषय प्रवेश हुन सक्ने छैनन् ।
४८ करोड ८१ लख रुपैंया चुक्ता पूँजी रहेको प्राइमले आर्थिक वर्ष २०७०/७१ मा ९ करोड ७२ लाख ३१ हजार, आर्थिक वर्ष २०७१/७२ मा ७ करोड २० लाख ८८ हजार तथा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६८ लाख रुपैंया खुद नाफा कमाएको छ । ३ वर्षको साधारण सभा गराउन नसकेको प्राइमले बीमा समितिमा वित्तीय विबरणहरु प्ठाउने तयारी भैरहेको जनाएको छ ।
इन्स्योरेन्सका कम्पनी सचिव राजनप्रसाद अधिकारीले मेरोलगानीसंग कुरा गर्दै भने ‘हामीले भ्यालुएस रिपोर्ट समितिमा पठाइसकेका छौं, अब वित्तीय विबरणलाई अन्तिम रुप दिने तयारी भैरहेको छ । सबै प्रकृया पुरा गरेर सबै आर्थिक वर्षबाट लगानीकर्तालाई केही न केही प्रतिफल दिने गरि साधारण सभा आह्वान गर्न कम्पनी जुटेको छ ।’
खेतान समुहको संस्थापक स्वामित्वमा सञ्चालित कम्पनीमा देखिदै आएका आन्तरिक समस्याका कारण नै छोटो समयमा ४ जना अध्यक्ष फेरिइसकेका छन् ।
एभरेष्ट इन्स्योरेन्स (EIC) के गर्दैछ ?
खेतान समुहकै संस्थापक स्वामित्वमा सञ्चालित अर्को जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्सले लामो समय देखि साधारण सभा गराउन सकेको छैन । झण्डै १७ महिना अघि एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैंयाको चुक्ता पूँजी एकै पटक २५ करोड रुपैंया पुर्याउने भन्दै विशेष साधारण सभा आह्वान गर्यो । समस्याबाट गुज्रिरहेका शेयरधनी विवाद, नेतृत्वको बदमासी लगायत कारणले त्यस अघिका केही साधारण सभामा नै हुन नसकेको इन्स्यारेन्सले विशेष साधारण सभा पनि दोस्रो पटक मात्र सम्पन्न गर्यो ।
अघिल्लो मंसिरमा बोलाइएको साधारण सभा सञ्चालक विवाद, गणपुरक शेयरधनीको अनुपस्थितीमा बस्न सकेको थिएन । १ बराबर डेढ कित्ता अर्थात १ सय ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको कम्पनीले त्यस पछिका दिनमा त्रैमासिक वित्तीय विबरण प्रकाशित गर्ने बाहेकका कुनै काम गरेको छैन ।
बीमा समितिका अनुसार अहिले तोकिएको २५ करोड पूँजी बनाउन पनि अग्रसर नभएकै कारण कम्पनीको लाइसेन्स नविकरण हुन सकेको छैन । उसले आर्थिक वर्ष २०६९/७० देखि अहिलेसम्म ३ वर्षको वित्तीय विबरणहरु समितिमा पठाएकै छैन । बिमा समितिमा पठाएको २०६८/६९ को वित्तीय विबरण पनि समितिमा विचाराधिन अवस्थामा छ । विशेष साधारण सभाले पारित गरेको १ बराबर १ दशमलव ५ अनुपातको हकप्रद शेयर पनि कम्पनीका कारण नै अलपत्र परेको छ ।
कम्पनीले वित्तीय विबरण अडिटको काम भैरहेको जनाए पनि लगानीकर्ता एभरेष्टले तत्कालै सबै काम सकेर आफुलाई सबल बीमा कम्पनीको रुपमा स्थापित गराउनेमा विश्वस्त हुन सकिरहेका छैनन् । कम्पनी सचिव प्रदिप धगोडेल भन्छन् ‘३ वटा आर्थिक वर्षको वित्तीय विबरण अडिटको काम अन्तिम चरणमा पुगेको छ । अब बस्ने सञ्चालक समितिको बैठकले सबै आर्थिक वर्षको साधारण सभा सहित वित्तीय विबरणलाई अन्तिम रुप दिंदै हकप्रद निष्काशन बारेमा ठोस निर्णय गर्छ ।’
१० करोड १२ लाख रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले आर्थिक वर्ष २०७०/७१ मा ५ करोड ९३ लाख, आर्थिक वर्ष २०७१/७२ मा ३ करोड ९७ लाख तथा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड १५ लाख रुपैंया खुद नाफा कमाएको छ ।
युनाइटेड इन्स्योरेन्स (UIC) ले कहिले बोलाउला साधारण सभा ?
युनाइटेड इन्स्योरेन्स कम्पनीले बिमा समितिमा सबै वित्तीय विबरण बुझाएर ति विबरण स्वीकृति पाउने पर्खाइमा बसेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्षको वित्तीय विबरण समितिमा पुगेको र अन्तिम रुप दिने प्रकृयामा रहेको छ । समितिबाट विबरणले स्वीकृति पाए पछि कम्पनीले साधारण सभा आह्वान गर्नेछ । कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरे पनि सुधारात्मक चरण पुरा भएको यकिन नभई बिमा समितिले स्वीकृति नदिनसक्छ । । कम्पनीको चुक्ता पूँजी २५ करोड २० लाख रुपैंया रहेको छ ।
अग्नि बिमामा भएको गडबडी पछि बिमा समितिको गंभीर निगरानीमा परेको युनाईटेडले त्यस काण्डबाट मुक्ति पाउन अदालतको समेत सहारा लिनुपरेको छ । झण्डै अर्ब रुपैंयाको गडबडी भएको विषमा परेको मुद्धा अझै सम्म पुनरावेद अदालत पाटनमा बिचाराधिन अवस्थामा छ ।
मेरोलगानीसंग कुरा गर्दै कम्पनीको एक अधिकारीले भने ‘मुद्धा बिचाराधिन अवस्थामा छ, अहिलेको अवस्थामा त्यसले कम्पनीलाई असर पारेको छैन । साधारण सभाको मिति बीमा समितिको प्रकृया अनुसार छिट्टो तोकिन्छ ।’ कम्पनीको समग्र कारोबारमाथि बिमा समितिले कडा निगरानी गरिरहेको बुझिएको छ । कम्पनीका अनुसार पुनरावेदन अदालतमा मुद्धा बिचाराधिन अवस्थामा रहेका कारण मुद्धाले कता बाजी मार्छ र त्यसले युनाइटेड इन्स्योरेन्सलाई कस्तो असर पार्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................
१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु