६ वटा साधारणसभा एकैसाथ गर्ने तयारीमा छौ - प्रकाश रजौरे, प्रबन्ध निर्देशक, नेशनल हाईड्रो

Jun 02, 2016 Merolagani

बिगतमा गंभीर समस्याबाट गुज्रिएको नेशनल हाईड्रोपावर कम्पनी (NHPC) पछिल्ला दिनमा लगानीकर्ताको चासोमा पर्न थालेको छ । दैनिक ३, ४ लाख कित्ता शेयर खरिद बिक्री हुन थालेकाले नेशनल हाईड्रोपावर कम्पनीमा के हुँदैछ भन्ने कुरा लगानीकर्ताहरुमा चल्नु स्वभाविक हो । यसै सन्दर्भमा प्रस्तुत छ, नेशनल हाईड्रोपावरका प्रबन्ध निर्देशक प्रकाश रजौरैसँग मेरो लगानी डटकमले गरेको कुराकानी ।

 

बिगतमा काण्डै काण्डमा फसेको नेशनल हाईड्रोपावरमा अहिले के भईरहेको छ ?


बिगतमा काण्डै काण्डमा फसेको भन्नुभयो तर हामी त्यस्ता काण्डहरुबाट मुक्त हुँदैछौ भनेर मैले भन्दा तपाइँले यो वाक्य फेरि दोहोर्याउनु हुनेछैन । हो, नेशनल हाईड्रो बिगतमा धेरै अफ्ठ्यारोमा थियो । कम्पनीको बित्तीय अबस्था दयनीय हुनुका साथै मुद्धा मामिला र बिबाद उत्कर्षमा थियो तर अहिले हामीले बाटो धेरै सफा गरिसकेका छौ ।


पाटन पुनराबेदन अदालतमा बिचाराधिन सबै मुद्धाहरु हालै किनारा लागेका छन् । अदालतले दोषीहरुलाई जरिवाना समेत तिराउने गरी सजाय गरेकाले अब ती मुद्धा टुंगिएको अबस्था छ । यद्यपी मुद्धा फैसलाको पूर्ण पाठ हाम्रो हातमा पर्न बाँकी नै छ ।


बिगतमा भएका घोटालाहरुको छानविन गरेर प्रतिबेदन बिशेष साधारणसभामा प्रस्तुत भईसकेको अबस्थामा त्यहाँबाट नियुक्त लेखा परीक्षकहरुले हाम्रो कम्पनीको समग्र लेखापरीक्षण गर्दै हुनुहुन्छ । कम्पनीको बित्तीय अबस्था सुदृढ बन्दै गएको छ ।

 

हामीले नेशनल हाईड्रो बनाउँदा लिएको सबै कर्जा तिरिसकेका छौ र जगेडा कोषलाई बलियो बनाउँदैछौ  । समग्रमा भन्नुपर्दा हामी एउटा स्वस्थ कम्पनी बनिसक्न लागेको अबस्था छ ।

 

 

 

कम्पनीको बक्यौता आर्थिक बर्षहरुको लेखापरीक्षण भईरहेको कुरा गर्नुभयो, त्यो चाँही कुन अबस्थामा छ ?


हो, हामी पनि त्यही लेखापरीक्षणको प्रतीक्षामा छौ । अडिटर साहेबहरुले बिगतका बर्षहरुमा भएका आर्थिक कारोबारहरुको लेखा परीक्षण गरिरहनु भएको छ र ढिलोमा असारको पहिलो सातासम्ममा उहाँहरुले संचालक समितिमा प्रतिबेदन पेश गर्नुहुने आशा गरेका छौ ।


लेखापरीक्षण प्रतिबेदन आएपछि चाँही के हुन्छ त ?

धेरै कुरा स्पष्ट हुन्छ । हाम्रो कम्पनीमा बिगतमा भएका आर्थिक अनियमितताहरु स्पष्ट हुनेछ भने कम्पनीको समग्र अबस्था के छ भनेर सबैले जान्न पाउने छन् । बिगतमा छानविन समितिले औल्याएका कुराहरुको पनि सम्बोधन हुनेछ । कम्पनी कुन अबस्थामा छ भनेर ऐना जस्तै देखिने छ ।


त्यस लगत्तै हामी बिगतमा हुन नसकेका बक्यौता ६ वटा साधारणसभा एकसाथ गर्ने तयारीमा छौ । लेखापरीक्षण प्रतिबेदन आएपछि साधारणसभाको प्रक्रिया अघि बढाउँन हामी एकदिन पनि कुर्दैनौ । जतिसक्दो साधारणसभा गराउनुपर्छ भन्ने हामी सबैको सोच छ र त्यसपछि रोकिएका सबै कामहरुले गति लिने छन् । असारभित्रै साधारण गर्छौ । यसका लागि हामीहरु त्यही लेखापरीक्षण प्रतिबेदनको पखाईमा छौ ।


बक्यौता साधारणसभा गर्ने कुरा गर्नुभयो तर फेरि एनबी ग्रुपले बखेडा गर्ने होला नि ?


म कसैको नाम लिन चाहन्न तर अब यो कम्पनीमा बखेडा झिक्ने हिम्मत कसैसँग पनि छैन । कहिलेसम्म लफडा गरिरहने ? के जीवन नै लफडामा बिताउने ? यो त सबै साधारण शेयर भएको, सर्बसाधारणको नियन्त्रणमा रहेको कम्पनी हो, अब कसैले बखेडा गर्न खोज्छ भने साधारण शेयरधनीले सहँदैनन् किनभने आफ्नो लगानी डुबेको त कसैले पनि हेर्न चाहँदैन नि । मलाई लाग्छ अब कसैले पनि फेरि बिबाद बल्झाउने, झगडा गर्ने, समस्या खडा गर्ने काम गर्नुहुने छैन । अरुलाई समस्यामा पार्छु भनेर लाग्ने भनेको आफु पनि समस्यामा पर्ने हो ।

हेर्नुहोस्, हामी भन्दा पछि आएका कति जलबिद्युत कम्पनीहरुले नयाँ नयाँ आयोजना बनाउँदैछन् । भखैर आयोजना निर्माण गरेका कम्पनीहरुले कत्रो हलचल ल्याउँदैछन् तर हामी भने किन पछि पर्ने ? अब लफडा गर्न छाडौ, हामी पनि पहिलेदेखि नै सुरु गरेको ४.५ मेगावाटको तल्लो ईन्द्रावति बनाऔं, भोजपुरको १२.३६ मेगावाटको तल्लो ईर्खुवा खोला  बनाऔै । 

 

तल्लो ईन्द्रावतिको त लाईसेन्स नै खारेज भएको हैन र ?


हो । अख्तियारको निर्देशनमा त्यो लाईसेन्स खारेज भयो तर अहिले उर्जा मन्त्रालयका क्षेत्राधिकार भित्र त्यो आयोजना आएको छ र त्यो आयोजनाको लाईसेन्स फेरि हामीलाई नै दिईयोस भनेर निबेदन हालेका छौ । त्यो तल्लो ईन्द्रावति हाम्रै क्यास्केट आयोजना भएकाले अरुले बनाउँनै सक्दैन । त्यसैले जुनसुकै प्रक्रियाबाट भए पनि त्यो आयोजना हामीले नै बनाउने हो । हाम्रोे आयोजनाबाट निस्केको पानी हामीले नै प्रयोग गरेर तल्लो ईन्द्रावति बनाउने हो ।


त्यो आयोजना निर्माण चल्दै गर्दा आधा काम भएपछि बीचमै रोकियो । हाम्रो ४७ करोड भन्दा बढी रकम लगानी भएको नबिल बैंककै मूल्यांकनकर्ताहरुले प्रतिबेदन दिएका छन् । आयोजनास्थलको जग्गा हामीले नैै किनेका हौ । त्यो आयोजना बनाउँन नबिल बैंकको अगुवाईमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको सहबित्तीयकरण कर्जा वापत लिएको २० करोड हामी तिर्छौ भनेर कबुल गरेका छौ । नेशनल हाईड्रोको कमाईले योे रकम एकै बर्षमा पनि तिर्नसक्छौ तर त्यसो गर्दैनौ, बर्षेनी थोरै थोरै रकम तिर्दै जान्छौ, आयोजना निर्माण पुरा गर्नलाई चाहिने थप रकम फेरि कर्जा लिन्छौ । लगानीकर्तालाई प्रतिफल पनि दिदै जान्छौ ।

छानविन प्रतिबेदनले त तल्लो ईन्द्रावति हाईड्रोपावर कम्पनीकै दर्ता नबिरकण हुन नसक्ने अबस्था रहेको औल्याएको थियो नि ?


त्यो कम्पनीको नबिकरण गर्ने, कर तिर्ने कुरा पनि अगाडि बढेको छ । कम्पनी दुरुस्त अबस्थामा आउँछ भन्ने हामीलाई लागेको छ ।


अनि भोजपुरको ईर्खुवा खोला आयोजनाको चाँही काम कहाँ पुग्यो त ?


त्यो १२.३६ मेगावाटको आयोजना हो । त्यसका लागि हामीले ३५  रोपनी जत्ति जग्गा किनिसकेका छौ । अरु तयारीका कामहरु हुँदैछन् । पीपीए र ट्रान्समिसन लाईनको लागि निबेदन हालिसकिएको छ । 

 

त्यो दुबै नयाँ आयोजना बनाउन पैसा कहाँबाट ल्याउनुहुन्छ ?


हाम्रो नेशनल हाईड्रो १०० प्रतिशत पब्लिक कम्पनी हो । सबै शेयर साधारण शेयर हो । हाम्रा धेरै शेयर सदस्य हुनुहुन्छ । उहाँहरुकै राय सल्लाहमा काम गर्ने हो । पैसाको कुरा ठूलो कुरा हैन । हामी शेयरहोल्डरहरुमा आब्हान गर्नसक्छौ र बैंकहरुसँग कर्जा लिनसक्छौ । नेशनल हाईड्रोकै पनि कमाई राम्रो हुँदैछ ।

 

पछिल्ला दिनमा नेशनल हाईड्रोको शेयर कारोबार चाँही किन बढेको होला ?


यसमा धेरै कारणहरु हुनसक्छन् । तर हाम्रो कुनै भुमिका छैन । सरकारले घरघरमा बिजुली, जनजनमा शेयर जस्ता कार्यक्रम ल्याएको छ । नेप्से बढ्यो, कारोबार रकम बढ्यो तर हाईड्रो क्षेत्रका कम्पनीहरुको शेयर मूल्य त बढेकै थिएन । त्यसैले यो क्षेत्रका कम्पनीहरुको शेयर वास्तबमा अबमूल्यन नै थियो ।


नेशनल हाईड्रोको सवालमा कुरा गर्नुहुन्छ भने हाम्रो प्रतिशेयर नेटवर्थ नै १३३ भन्दा बढी छ । प्रति शेयर आम्दानी ६ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात कै आधारमा पनि दाज्नुहोस् अरु कहाँ छन् हामी कहाँ छौ । त्यसैले यसमा लगानीकर्ताले बुझेर, तौलेर नै लगानी बढाउनु भएको होला भन्न लाग्छ ।


शेयर बजार माग र आपुर्तिको आधारमा चल्ने हुँदा शेयर माग भएर नै आपुर्ति भएको होला र त्यसले नै मुल्य घटबढ गरेको होला । मलाई लाग्छ यसमा पनि कम्पनीको आधारभुत अबस्थाले आड दिएको हुनुपर्छ ।


केही मानिसहरु बजारमा नेशनल हाईड्रोले बोनस शेयर पनि दिदैछ छ भनेर हल्ला गर्छन नि ?


हामीले अहिले नै बोनस शेयर दिने कुरा गरेका छैनौ । बक्यौता लेखापरीक्षण प्रतिबेदनहरु तयार भएपछि के देखिन्छ र बक्यौता ६ वटा साधारणसभा एकमुष्ठ रुपमा गरिसकेपछि कम्पनीको अबस्था के हुन्छ त्यसको आधारमा यस आर्थिक बर्षको कमाई र जगेडा कोषबाट अर्को साधारणसभामा के प्रस्ताव लैजाने भन्ने कुरा आउँछ । तर नेशनल हाईड्रोले लगानीकर्तालाई केही दिनुपर्छ भनेर सोच्ने बेला आईसक्यो । हामी २०७२,०७३ को साधारणसभा समयमै गर्नुपर्छ भन्ने सोचाईमा छौ र त्यसमा लगानीकर्तालाई केही न केही दिनुपर्छ भन्ने कुरामा गंभीर ढंगले लागेका छौ । नेशनल हाईड्रोका लगानीकर्ता लामो समयदेखि पीडित छन्, केही पाएका छैनन् । हाम्रो हैसियत पनि लगानीकर्तालाई केही दिनसक्ने अबस्थामा पुगेको छ । संभवत हामी नगद हैन पूँजी नै बढाउने हिसावले सोच्नसक्छौ ।


उसो भए नेशनल हाईड्रोको शेयर अब किन्दा हुुन्छ त ? लगानीकर्ता कसरी आश्वस्त हुने ?


मैले मेरो कम्पनीको शेयर किन्नुहोस् भनेर भन्न मिल्दैन, यो त लगानीकर्ताले आफ्नो अध्ययन, बिश्लेषणले कुन कम्पनीको शेयरमा लगानी गर्नु ठीक भनेर निर्णय गर्ने कुरा हो । शेयरको भाऊ बढाउँन, अरुलाई शेयर किनाउन भनिने कुराबाट सर्वसाधारण लगानीकर्ता सधै सचेत हुनुपर्छ र सुरक्षित लगानी गर्नुपर्छ । कुन कम्पनीको अबस्था कस्तो छ र कतिसम्म मुल्य हाल्ने भन्ने कुरा यकिन गर्नुपर्छ । कम्पनीले दिने प्रतिफल र जोखिमको अबस्था हेरेर लगानी गर्नुपर्छ ।


म नेशनल हाईड्रोको एउटा कार्यकारी हैसियतमा रहेको नाताले यत्ति चाँही भन्छु कि हामी लगानीकर्ताको हित सुरक्षा गर्न क्रियाशील छौ, आगामी दिनमा लगानीकर्तालाई प्रतिफल दिन प्रयासरत छौ र लगानीकर्ताले विगतमा जस्तो पछुताउनु पर्दैन । 

अर्को  महत्वपूर्ण कुरा हाम्रो नेशनल हाईड्रोको ७.५ मेगावाटको चालु आयोजनाकै अबधि ४५ बर्ष भएकाले लगानीकर्ताले आजीवन जस्तै लाभ लिनसक्ने अबस्था पनि छ । 


तपाई बिगतदेखि नै शेयर बजारको एक लगानीकर्ता पनि भएकाले अहिलेको नेप्सेको बढाई र कारोबार रकमलाई कसरी लिनुहुन्छ ?


पूँजी बजार बढ्नु एकदमै राम्रो कुरा हो तर याद गर्नुपर्ने कुरा के हो भने बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । तपाइँले गरेको लगानी खराब कम्पनीमा पर्यो भने त्यसले जोखिम बढाउँछ भन्ने हेक्का चाँही राख्नुपर्छ । नयाँ लगानीकर्ता बढी सचेत हुनुपर्छ ।


नेपालको शेयर बजार बिस्तारित हुने क्रममा छ । बजार बिस्तार र सुधारको क्रम तीब्र भईरहेको छ । नयाँ लगानीकर्ता थपिदै छन् । शेयर दलालहरु पचहत्तरै जिल्ला पुग्ने, बाणिज्य बैंकहरुले दलालको लार्ईसेन्स पाउने, नेप्सेको सिष्टम नयाँ आउने र देश बिदेशबाट शेयर कारोबार गर्न मिल्ने हुने, नयाँ कम्पनीहरु पनि थपिने भयो भने तपाइँले अहिले सोचेभन्दा दोब्बर बजार बढ्छ । अहिले सरकारले नयाँ कम्पनीहरुलाई शेयर बजारमा आउँन दिएको अवसर एकदमै स्वागतयोग्य कुरा हो ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।