आईपीओको नाममा तछाड मछाड गर्दै साना कम्पनीमा धेरै रकम फसाउनु यसकारण बेकार

Jun 04, 2016 Merolagani

तिलक कोइराला
कुनै कम्पनीले पाँच, दश लाख कित्ता साधारण शेयर निश्काशन गर्यो भने अहिले एक देखि दुई लाख लगानीकर्ताले आबेदन हाल्छन् । सानो कम्पनी र थोरै शेयर बिक्री हुने भएकाले शेयर निश्काशनकर्ताले संकलन केन्द्र नै थोरै राख्छ र साधारण लगानीकर्ताले नपाउनु दुख पाउँछन् । कतिपय जिल्लामा त संकलन केन्द्र नै नभएकाले लगानीकर्ताले रोई कराई गरेको समेत सुनिएको छ । तर यसरी रोई कराई गर्नु र साधारण शेयरको नाममा तछाड मछाड गर्दै ठूलो रकम फसाउनु बेकार हुँदैछ ।


माथिको कुरा पढेर तपाइँलाई यसले लगानीकर्ताको हित विपरित र लगानीको विपक्षमा बोल्यो भन्नुहोला । हामी साधारण लगानीकर्ताले शेयरमा आबेदन हालेको यसले देख्न सकेन पनि भन्नुहोला । शेयर निश्काशन गरेका र गर्न लागेका कम्पनीका संस्थापक लगानीकर्ता, निश्काशनकर्ता वा प्रबन्धकले त धारे हात लगाएर सराप्लान् पनि  तर यसो गर्नु भन्दा पहिले मैले भन्ने कुरा गंभीरतापुर्वक सोच्नुहोस् ।

पछिल्लो उदाहरण,

खानीखोला हाईड्रोपावरले निश्काशन गरेको ९ लाख ३१ हजार कित्ता अर्थात ९ करोड ३१ लाख रुपैयाँको शेयर पाउन १ लाख ३५ हजार लगानीकर्ताले झण्डै ७ अर्ब रकम खन्याए । सिधा हिसाव गरी बाँडफांडमा सबैलाई बराबरी शेयर बाड्ने हो भने ६ कित्ता मात्र शेयरपर्छ, १० कित्ता भन्दा तल बाँडफाँड गर्न मिल्दैन । यसमा सामुहिक लगानी कोष र कर्मचारीलाई भाग लगाईएको शेयर घटाउने हो भने ६ कित्ता भन्दा कम शेयर साधारण लगानीकर्ताको भागमा आउँछ । बढी रकम हाल्नेलाई बढी र थोरै रकम हाल्नेलाई थोरै शेयर भाग लगाउने बिधिबाट जाने हो भने साना लगानीकर्तालाई चिठ्ठा प्रथाबाट शेयर पार्ने छनौट हुने पक्कापक्की छ ।

खानीखोलाको शेयर भर्र्नेहरुको लाम


लौ चिठ्ठा नै सही । घण्टौ लामो लाममा बसेर बल्ल बल्ल १०० कित्ताका लागि १० हजार रुपैयाँ फसाउनु भएको थियो । दुई महिनापछि बांडफाँडको हुँदा तपाइँलाई १० कित्ता शेयर पर्यो । साढे दुई महिनापछि तपाईँले बाँकी पैसा फिर्ता पाउन पनि लामो लाममा उभिनु पर्यो । त्यो १० कित्ताको शेयर प्रमाण पत्र पाउन अर्को दुई महिना पछि त्यसैगरी लाममा उभिनु पर्यो । शेयर सूचिकृत हुन अर्को दुई महिना पर्खिन पर्यो । त्यो शेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्न पनि त्यसैगरी लाममा बसेर कयौं दिन कुर्नुपर्यो । बल्ल बल्ल शेयर बजारमा कारोबार हुन थाल्यो । मूल्य आउने भयो प्रति कित्ता बढीमा ३०० रुपैयाँ । फाईदा कति भयो हिसाव गर्नुहोस् । शेयर पर्नेको त यो हाल हुन्छ भने चिठ्ठामा परेर रित्तो हात फर्किनेले कसरी चित्त बुझाउने ?


बढी रकम एक लाख रुपैयाँ हालेको भए बढी शेयर पथ्र्यो होला कि भन्नुहोला । उसको पनि हालत उस्तै हो । बढीमा ३० कित्ता शेयर पर्ने संभावना हुन्छ । उसले पनि पाउने सास्ती उही हो । एक लाख रुपैयाँको साढे दुई महिनासम्मको ब्याज हिसाव गर्नुहोस् । प्रति शेयर मूल्यमा जोड्नु होस्, ७ महिनापछि शेयर बेच्दा कति फाईदा हुन्छ ?


शेयरको मूल्य मात्रै हिसाव गरेर हुन्छ ? कम्पनीले यस बर्ष दिने प्रतिफल हेर्नु पर्दैन ? तपाइँको प्रश्न अब यो हुनसक्छ । एकैछिन यसबारेमा पनि चिन्तन मनन् गरौ ।


कम्पनीले ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ भने अर्को साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमाणाधिन छ । साधारण शेयर निश्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ४७ करोड हाराहारीमा पुगेको छ । कम्पनी अहिले झण्डै ५ करोड घाटामा छ र बैंकको कर्जा तिर्नुपर्ने बाध्यताबाट उम्केर आगामी दुई बर्षसम्म लगानीकर्तालाई केही लाभांश दिनसक्ने अबस्था हुन्न । कम्पनी आफैले गरेको आँकलन हेर्ने हो भने पनि आर्थिक बर्ष २०७४,०७५ मा गएर मात्र जम्मा ५ करोड खुद नाफा हुने देखिन्छ । यसरी मारामारी गरेर शेयरमा हालेको आबेदनले तपाइँलाई के फाईदा भयो ?

खानीखोलाबारे यत्ति नै भनौ, यहाँ गरिएको आँकलन मिल्छ कि मिल्दैन, पछि हिसाव गर्दै जानुहोला ।

अर्को उदाहरण, मेरो माईक्रोफाईनान्समा २ लाख ३० हजार रुपैयाँसम्मको आबेदन गर्नेले चिठ्ठामा गएर बल्ल बल्ल १० कित्ता पाए भने त्यसभन्दा माथि आबेदन गर्नेले पनि सबैभन्दा धेरै ४१ कित्तासम्म मात्रै हात पारे । आबेदन गरे पनि शेयर नपर्नेहरुको पीडा त झन् बर्णन गरिसाध्ये छैन ।


ग्रीन डेभ्लपमेन्ट बैंकमा चाँही के गर्ने त ?


अब आईतबारदेखि साढे चार लाख कित्ता शेयर निश्काशन गरेको बाग्लुड.को ग्रिन डेभ्लपमेन्ट बैंकको चाँही के होला त ? यो पनि बिचारणीय कुरा छ ।


ग्रीनको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।


बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैंया खुद नोक्सान व्यहोरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा त्यो नोक्सानलाई नाफामा रुपान्तरण गरि १३ लाख रुपैंया खुद नाफा कमाएको छ । अहिले बैंकको जगेडा कोष ८१ लाख ९३ हजार रुपैंयाले नकारात्मक छ ।

इक्रा नेपालले ग्रीन डेभलपमेण्ट बैंकको साधारण शेयरलाई रेटिंग ४ दिएको छ । यसले बैंकको वित्तीय अवस्था कमजोर रहेको जनाउँछ ।

निश्काशन गरेको जम्मा शेयर संख्या साढे चार लाख कित्तामा सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर सर्वसाधारणले पाउने शेयर अझ थोरै हुन्छ । तीन जिल्ला कार्य क्षेत्र भएको बैंकको जगेडा कोष नै घाटामा रहेको र बिकास बैंक भएकाले बजारमा शेयर मूल्य कति महंगो होला भनेर अनुमान गर्ने ? आबेदन गर्दा पाउने हण्डर उस्तै हो । उसो भए किन अनाबश्यक मारामारी गर्ने त ? सामान्य रुपमा शेयर आबेदनको सहभागिता जनाउनु ठीकै हो, उचालिएर धेरै रकम फसाउनु फाईदाजनक छैन ।


उसो भए लगानी कहाँ गर्ने ?


थोरै शेयर निश्काशन भएको आईपीओमा तछाड मछाड गरेर धेरै रकमको आबेदन गर्नु फाईदाजनक छैन भन्नेले लगानीका लागि अर्को विकल्प दिनु पर्दैन ? धेरैले प्रश्न गर्नसक्छन् ।


हो, दिनुपर्छ र यस्ता धेरै विकल्पहरु छन् । तपाइँले शेयर बजारमै लगानी गर्ने हो र शेयर नै किन्ने हो भने पनि यसै बर्षको खुद नाफाबाट २० प्रतिशतसम्म बोनस शेयर दिनसक्ने कम्पनीहरु प्रतिकित्ता २०० देखि ३०० रुपैयाँसम्ममा पाईन्छन् । कम्पनीको चुक्ता पूँजी बढाउँन खोजिरहेको, जगेडा कोष पर्याप्त रहेको, ब्यापार बढाँउदै लगेको, संस्थागत सुशासन सुधार भईरहेको, प्रति शेयर आम्दानी सन्तोषजनक भएको, मूल्य आम्दानी अनुपात कम, प्रतिशेयर प्रतिफल( आरओई ) बढी, निस्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सिमा भित्रै वा न्युन रहेका कम्पनीहरु धेरै छन् । जलबिद्युत क्षेत्रकै कम्पनीहरु रोज्नुहुन्छ भने बिद्युत उत्पादन गरिरहेका, बैंकको ऋण तिरिसकेका, संस्थागत सुशासनमा सुधार आउँदै गरेको, ३०० रुपैयाँसम्म प्रति शेयर मूल्य भएका कम्पनी पनि छन् जसले यस बर्षको खुद नाफाबाट केही न केही लाभांश खुवाउनसक्छ । अझै सुरक्षित कम्पनीहरु खोज्नुहुन्छ भने सामुहिक लगानी कोषका ईकाईहरु हुन् । अलिकति जोखिम लिएर लगानी गर्नुहुन्छ भने मध्यमस्तरका बाणिज्य बैंकहरु हुन् ।


मूल्य उचालिएका, खराब बित्तीय अबस्था भएका कम्पनीहरुमा तपाइँले लगानी गर्नुभयो भने फस्नुहुन्छ तर मूल्य कम भएका तर बित्तीय अबस्था राम्रो भएका कम्पनीहरुमा लगानी गर्नुभयो भने दीर्घकालीन रुपमा फाईदा नै हुन्छ ।


शेयर बजारको संभावना


साधारण शेयर निश्काशन (आईपीओ) मा मात्रै हैन, दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा पनि लगानीकर्ताको ओईरो लागेको छ । शेयर दलालहरुको कार्यालयमा कारोबारको दिन बस्ने ठाउँ नहुने गरी लगानीकर्ताको घुईचो लाग्दा नेप्से बढेर १५०० नाघ्नुका साथै दैनिक सरदर एक अर्ब बढीको शेयर किनबेच हुन थालेको छ । केही बर्ष पहिले बाणिज्य बैंकले निश्काशन गर्ने आईपीओका लागि चार कार्य दिनमा मुस्किलले सबै शेयरका लागि आबेदन पर्ने गरेकोमा अहिले पहिलो दिन नै माग भन्दा कयों गुणा बढी शेयर माग्दै पैसा जम्मा हुनु निकै उत्साहप्रद छ ।


यसो हुनुको पछाडि धेरै कारण र आधारहरु छन् । अन्यत्र लगानीको वातावरण नहुँदा पैसा जत्ति बैंक र ब्यक्तिको गोजीमा थुप्रिएको छ र यसरी थुप्रिएको रकम शेयर बजारतिर प्रवाहित हुँदा बजार बढेको छ ।

अर्को महत्वपूर्ण पक्ष आम जनतामा शेयर बजारप्रति बढ्दै गएको चेतना पनि हो । घर, घरमा शेयर बजारको चर्चा हुन थालेपछि यसमा जोडिनेहरुको संख्या बढ्नु स्वभाविक हो । पहिले केही हजारमा सिमित रहेका शेयर बजारका सक्रिय लगानीकर्ता अहिले तीन लाखको हाराहारीमा पुगेको संकेत देखिएको छ । सीडीएससीमा ३ लाख २२ हजार जनाले हितग्राही खाता खोलेको देखिनु बजारमा प्रत्यक्ष रुपमा जोडिनेहरु थपिएको प्रमाण हो ।


बैंक तथा बित्तीय संस्थाहरुले सस्तोमा शेयर धितो कर्जा प्रबाह गर्दा लगानी गर्नेहरुलाई झन् बल पुगेको छ । घररजग्गामा लगानी गरेर डुबेकाहरु समेत त्यस क्षेत्र छाडेका वा स्थगित गरेकाहरु शेयर बजारमा ओईरिएका देखिएको छ । उद्योग, धन्दा, बन्द ब्यापार वा घरजग्गा कारोबार गर्दा लगानी उठाउँन वा प्रतिफल हासिल गर्न जत्ति गाह्रो हुन्छ, त्यसको तुलनामा शेयर बजारमा लगानी गर्दा सहज रुपमा प्रतिफल वा नाफा पाउन सकिने भएकाले पनि छिटो कमाउन चाहनेहरु यसमा सामेल भएका पाईन्छ । एक करोडमा किनेको घरजग्गा बेच्न कयौं दिन प्रयास गर्नुपर्ने अबस्था छ भने एक करोडको शेयर एकै घण्टामा बेचेर बढीमा ४ दिनमा लगानी फिर्ता लिन, नाफा सुरक्षित गर्न सकिने अबस्था छ ।


शेयर बजारमा थपिदै गएका सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताको उपस्थिितिले पनि बजारको स्थायित्व र बिस्तारमा सघाउ पुर्याएका छन् ।

अर्को तर्फ नेपाल धितोपत्र बोर्ड र नेप्सेले बजार बिस्तार तथा सुधारमा खेलेका भुमिका, शेयर बजारको अभौतिकीकरण र प्रबिधिले फड्को मार्दा त्यसको प्रभाव जनस्तरमा परेको छ । धेरै झंझटहरु समाप्त भएका छन् ।

अहिलेको पीडादायी अबस्थाको छिट्टै अन्त्य भई साधारण शेयरमा आबेदन गर्न १६ अंकको हितग्राही खाता र बैंक खाता भए पुग्ने जमाना पनि आउँदैछ । आगामी दिनमा नेपालको शेयर बजार अझै बिस्तारित हुँदै जाने निश्चित भएकाले बजारबाट पाउने लाभ लिन कोही नछुटौ, जोखिम र क्षमता आँकलन गरी विवेक प्रयोग गरी सुरक्षित लगानी गरौं ।

 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।