शेयर बजारमा जोखिम बढ्यो ? नयाँ र साना लगानीकर्ताले यसरी गर्नुहोस् सुरक्षित लगानी

Jul 30, 2016 Merolagani

तिलक कोइराला
नेपाल धितापत्र बोर्डले शेयर बजारमा जोखिम बढेर साना र नयाँ लगानीकर्ताहरुको लगानी सुरक्षा चुनौतिपूर्ण भएको भन्दै फेरि सचेत गराएको छ । बारम्बारका यस्ता चेतावनीपछि आफैले स्वतन्त्र बिश्लेषण गर्दा शेयर बजार माथि चढ्दै गएर जोखिम बढेको र आफ्नो लगानी सुरक्षामा चुनौति थपिएको ठान्नुभयो ? त्यसो हो भने यसो गर्नुहोस्ः

 

१. कम्पनीहरुको गत बर्षको बित्तीय बिबरण धमाधम आईरहेको छ । त्यस्ता बित्तीय बिबरणहरु अध्ययन गर्नुहोस् र आफुले लगानी गरेको कम्पनीको बारेमा जानकारी हासिल गर्नुहोस् । अघिल्ला बर्षहरुको बित्तीय बिबरणसँग तुलना गर्नुहोस् । यदि अघिल्लो बर्ष भन्दा खुद नाफा बढाएको छैन, निस्क्रिय कर्जा बढेको छ, प्रति शेयर आम्दानी घटेको छ, जगेडा कोष घटेको छ, नाफा बाड्नसक्ने हैसियत छैन भने त्यो शेयर बेचिदिनुहोस् ।
सूचनामा पहुँच भएका लगानीकर्ताले कम्पनीहरुको गोप्य सूचना पहिल्यै थाहा पाएर शेयर बजारमा चलखेल गर्ने गरेका गुनासोहरु आईरहेको धितोपत्र बोर्डको भनाई छ । यसरी सूचना चुहिएर शेयर मूल्य उचालिएका कम्पनीहरुमा आफुले लगानी बढाउनु अघि गंभीर हुनुहोस् । तपाइँले पछि सूचना थाहा पाएर शेयर किन्न जाँदा पहिल्यै सुचना थाहा पाएर शेयर किनेकाहरु बेच्ने तरखर गरिरहेका हुनसक्छन्, तपाइँ घाटामा पर्नसक्नुहुन्छ ।

पहिले सस्तोमा शेयर किनेर बसेकाहरुले भाऊ बढेको बेलामा बेच्छन भन्ने कुरा सधै हेक्का राखौं । बजारमा शेयरको माग र आपुर्तिले मूल्य घटबढ गराउँछ । शेयर माग धेरै हुँदा बिक्रेताहरुको चरम अभाव भएको अबस्थामा मूल्य धेरै बढ्छ भने बिक्रेताहरुको होईरो लाग्दा मूल्य तीब्र रुपमा ओरालो लाग्छ । बजारको यो नियम बुझेर लगानी गर्नुपर्छ ।

तीब्र रुपमा मूल्य तलमाथि भएको बेला हतारिएर किनबेच गर्दा घाटा खानुपर्ने अबस्था पनि आउँनसक्छ । सधै होसियार बनौ ।

२. गत बर्ष खुद नाफा र प्रति शेयर आम्दानी बढाउन नसकेर जगेडा कोष रित्तो रहेका वा निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी भएका कम्पनीहरु थारो गाई हुन् किनभने तिनीहरु यसपालि ब्याउँदैनन् । त्यसलाई बेचिहाल्नुस र नाफा सुरक्षित गर्नहोस् । हिन्दु धर्म अनुसार गाई बेच्नु पाप होला तर शेयर बजारका यस्ता थारा गाई बेच्दा पाप हैन, आर्थिक सुख र शान्ति मिल्दछ । यस्ता थारा गाई नबेची राख्नुभयो भने पराल, घांस, ढुटोको खर्च मात्रै हुन्छ, दुध अथार्त लाभांश केही पाईन्न ।


. आफुले किनको शेयर मूल्य राम्रै बढेको छ तर ऋण लिएर र कसैसँग सापटी मागेर शेयर बजारमा लगानी गर्नुभएको छ भने मूल्य बढेको शेयर बेचेर ऋण तिर्नुहोस् । यसरी ऋण तिर्न पुग्ने शेयर बेचेपछि तपाइँसँग जत्ति शेयर बाँकी हुन्छ, त्यो तपाइँको खुद नाफा भयो । अब तपाईलाई जोखिम सुन्य बराबर हुनेछ । सुन्य जोखिममा रहेका शेयर नबेची पालेरै राख्दा पनि दीर्घकालमा अरु धेरै फाईदा हुन्छ । ऋणमा नचल्नेहरु आजभोलि कमै हुन्छन् तर ऋण ब्यवस्थापन राम्रोसँग गरिएन भने त्यसले मानसिक चिन्ता र तनाव बढाउँछ । ऋण ब्यवस्थापन राम्ररी नगर्दा कतिपय करोडपतिहरु धितो लिलाम भएर सडकमा पुगेका पनि भेटिन्छन् । त्यसैले शेयरमा फाईदा र नाफा हुँदा सबैभन्दा पहिले ऋण तिर्ने नै जोखिमबाट बच्ने उत्तम उपाय हो ।


. शेयर बेच्ने सवालमा आफुसँग भएको शेयरहरुलाई ४ भागमा बाड्नुहोस् । पहिलो भागमा खराब कम्पनीका शेयरहरु राख्नुहोस् । दोस्रो भागमा कमशल कम्पनीहरु राख्नुहोस् । तेस्रो भागमा हकप्रद मात्रै दिने वा आफुले हालेको मूल्यको तुलनामा कम लाभांश दिने कम्पनीहरुलाई राख्नुहोस् । चौथो भागमा राम्रा कम्पनीका सस्तोमा किनिएका शेयरहरु, खासगरी आईपीओमा परेका शेयरहरु यस बर्गमा राख्नुहोस् ।। पहिलो भागको शेयर नाफा भएको दिन बेचिहाल्नुस् । दोस्रो भागका शेयरहरु मूल्य बढे पनि बिचार गरेर बेच्नुहोस् । तेस्रो भागका कम्पनीका शेयरहरुको प्रगति समीक्षा गर्नुहोस् र धेरै मुल्य आएमा मात्र बेच्नुहोस् । चौथो भागमा राखिएका शेयरहरु जीवनभर राखे पनि फरक पर्दैन ।  


.शेयर किन्दा हकप्रद भन्दा बोनस दिने कम्पनीहरु छान्नुहोस् । अहिले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउँन राम्राले भन्दा नराम्रा कम्पनीले हकप्रद शेयर जारी गर्ने क्रम तीब पारेका छन् । हकप्रद जारी गर्ने भनेको कम्पनीले तपाइँबाट पैसा लिने हो तर बोनस शेयर कम्पनीले तपाइँलाई दिने हो । कतिपय कम्पनीले दुई सय प्रतिशतसम्म हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसका संस्थापकहरुले हकप्रद हाल्ने पैसा जुटाउन नसकेर शेयर बेच्दै हिडेको पनि पाईएको छ । तपाइँसँग १० वटा कम्पनीको शेयर छ र ती सबैको हकप्रद भर्नुपर्यो भने तपाइँको पनि हालत खराब हुने दिन आउँनसक्छ । थोरै कित्ता हकप्रद भर्नुपर्ने छ भने त टार्नुहोला नत्र धेरै भए हकप्रद भर्न पैसा खोज्दैको हैरान ।

राम्रा कम्पनीले धेरै बोनस शेयर दिएर र थोरै हकप्रद जारी गरेर वा अरु संस्थालाई किनेर पूँजी बढाउँछन् तर नराम्राले हकप्रदकै सहारा लिने हो । कुनै कम्पनीले  धेरै अर्थात हालको पूँजीको दोब्बर हकप्रद शेयर जारी गर्ने निर्णय सार्वजनिक गर्यो भन्दैमा उचालिएर शेयर नकिन्नुहोस् किनभने ती कम्पनीले तपाइँबाट पैसा उठाउँन लागेका हुन् । कम्पनीले हकप्रद जारी गर्ने घोषणा गर्दैमा तत्काल त्यो शेयर किन्न पाईने पनि हैन, प्रक्रिया पुरा गरी  त्यो बिक्रीमा आउन कम्तिमा तीन महिना लाग्छ । राम्रा कम्पनीको हकप्रद किन्दा फाईदै हुन्छ तर खराब कम्पनीहरुको हकप्रदले खासै लाभ दिदैन, शेयरको मूल्य बढ्ला कि भन्ने आश मात्रै हो । त्यसैले हकप्रदको हल्लामा उचालिन र बुर्कुर्सी मारेर मुल्य बढेका शेयर किन्न आजै छाड्नुहोस् । 


६.. शेयर किन्दा अघिल्लो बर्ष भन्दा गत बर्ष खुद नाफा र प्रति शेयर आम्दानी उल्लेखनीय रुपमा बढाएका (प्रति शेयर कम्तिमा २० देखि ३० रुपैयाँ), चुक्ता पूँजी धेरै भएका, जगेडा कोष चुक्ता पूँजीको हाराहारी वा त्यसको आघा कम भए पनि ठीकै छ, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएका, शेयरको भाऊ ७ सय भन्दा कम भएका, मूल्य आम्दानी अनुपात २५ गुणा भन्दा कम भएका, डुबेको ऋण उठाएर र सम्पति बेचेर हैन, ब्याज आम्दानी, संचालन मुनाफा र नियमित कारोबारबाट धेरै कमाएका, पूँजीकोष ११ प्रतिशत भन्दा माथि भएका, बोनस शेयरबाटै पूँजी बृद्धि गर्ने क्षमता राख्ने, अघिल्ला बर्षहरुमा लाभांश बितरणको दर बढाउँदै आएका र गत बर्षको लाभांश पनि बढाएरै दिने संकेत दिएका, संचालकहरु राम्रा र संस्थागत सुशासन भएका, मर्जमा गएर लामो समय शेयर कारोबार रोकिने संभावना नभएका कम्पनीहरुको शेयर किन्नुहोस् । जोखिम बहन क्षमता भएका यस्ता राम्रा र सस्ता कम्पनीहरु शेयर बजारमा थुप्रै छन् ।


७. आजको भोलि दोब्बर फाईदा हुन्छ भनेर हैन, कम्तिमा तीन बर्षका लागि लगानी गर्दैछु भनेर सोच्नुहोस् । तपाई शेयर कारोबारी हैन, लगानीकर्ता हो । तपाइँले गर्ने दीर्घकालीन लगानी नै हो र यसरी लगानी गरिएमा आफुले किनेको शेयरको मूल्य तत्काल घटे पनि दीर्घकालमा त्यसले दिने लााभांशबाट फाईदा नै हुन्छ भनेर सोच्नुहोस् । आईपीओ हाल्दा परेका वा सस्तोमा किनिएका शेयर आत्तिएर बेच्नु पर्दैन । पैसाको आबश्यकता भए, राम्रो कम्पनीको शेयर सहज रुपमा बेचेर गर्जो टार्न सक्ने संभावना त सधै हुने गर्छ । शेयर बैंकमा धितो राखेर कर्जा पनि पाईन्छ । 

. हल्लाका भरमा लगानी गर्दै नगर्नुहोस् । शेयर बजारमा अनेक हल्ला चल्छन् । त्यस्ता हल्लाको पछाडि सत्यता कत्ति छ भनेर जाच्नुहोस् । सही ठहरिएमा मात्र पत्याउनुहोस्, त्यसको प्रभाव आँकलन गर्नुहोस् र अनि के गर्ने भनेर विवेकपूर्ण निर्णय गर्नुहोस् ।


. शेयर बजार क्रमशः उकालो लाग्दै गर्दा पहिले शेयर किनेर बसेकाहरु बढेको मूल्यमा शेयर बेच्दै जान्छन्, बजार बढेको हल्ला चारैतिर फैलिएपछि नयाँ र साना लगानीकर्ताहरु बजार प्रबेश गर्ने क्रम पनि तीब्र हुन्छ । पुराना र पहिल्यै शेयर किनेर बसेकाहरु बढेको मूल्यमा शेयर बेचेर बाहिर निस्कन्छन्, नयाँ र साना लगानीकर्ताको हातमा महंगो शेयर पर्छ । तर बजार सधै बढि पनि रहदैन, उच्चतम बिन्दुमा पुगेपछि स्थिर हुन्छ वा तलतिर झर्न थाल्छ तर त्यो उच्चतम बिन्दु कुन हो भनेर कसैले भन्न सक्दैन । त्यसैले आफु कति जोखिममा छु भनेर लगानीकर्ता स्वयंले यकिन गर्नुपर्छ ।


१०. शेयर बजारमा कुनको मूल्य धेरै बढेको छ भनेर लगानी गर्ने हैन, कुनको मूल्य बढ्न सकेको छैन, अवमूल्यनको अबस्थामा छ र बढ्नुपर्ने आधार पनि छ भनेर खोजी गरी लगानी गर्नुपर्छ । कतिपय कमजोर कम्पनीहरुको शेयर संख्या बजारमा कम हुन्छ, आधारभुत अबस्था पनि निकै कमजोर हुन्छ तर मूल्य भने दैनिक १० प्रतिशतले बढिरहेको हुन्छ, त्यसमै लगानी गर्दा कमाईने रहेछ भन्ने सोचेर लगानी गरियो भने फसिन्छ किनभने त्यस्ता कम्पनीहरुको शेयर सिमित ब्यक्तिको हातमा हुन्छ र उनीहरुले शेयर किन्न छाड्ने बित्तिकै फेरि १० प्रतिशतले मूल्य तल झर्न थाल्छ । नयाँ र साना लगानीकर्ताहरु यस्ता कम्पनीहरुबाट सदैब टाढा रहनुपर्छ ।


११. अरु लगानीकर्ता, शेयर दलाल, अनलाईन वा अरु कुनै संचार माध्यमको सल्लाहमा मात्र तपाइँले लगानी गर्नुभएको छ भने त्यसलाई आजै रोकेर आफ्नो निर्णयमा लगानी गर्ने गर्नुहोस् ।सल्लाह सबैको लिनुस, निर्णय आफुले गर्नुस् ।  तपाइँले गर्ने लगानीमा तपाइँको निर्णय नै मुख्य हो, यदि अरुको बहकाउ र लहैलहैमा कमजोर अबस्थाका कम्पनीहरुको शेयरमा लगानी गर्नुभयो र डुब्नुभयो भने कोही पनि उद्धार गर्न आउने छैनन् ।

पत्रपत्रिका वा अनलाईनहरुमा आउने समाचारबाट पनि तत्कालै आतंकित नहुनुस किनभने सबै समाचार सत्य हुँदैनन् । समाचारलाई तथ्यसँग साक्षात्कार गराउनुहोस् वास्तविकता आफै थाहा पाईन्छ ।


१२. आफुसँग भएको सबै पैसा लगाएर एकैचोटी एउटै कम्पनीको शेयर नकिन्नुहोस् । केही राम्रा कम्पनीहरु छानेर पोर्टफोलियो बनाउनुहोस् र त्यस्ता कम्पनीहरुको शेयर थोरै थोरै किन्नुहोस् । एउटा कम्पनी घाटामा गयो भने पनि अर्को कम्पनीले दिने प्रतिफलले तपाईलाई नाफामा लैजानसक्छ । । शेयर किनेर पनि केही पैसा आफुसँग सधै जगेडा राख्नुहोस् । सस्तोमा राम्रो कम्पनीको शेयर किन्ने मौका बजारमा जहिले पनि आईरहन्छ ।

१३. बजार घटेको बेला शेयर किन्नुहोस् र बढेको बजारमा बेच्नुहोस् । बजार बढ्दै जाँदा क्रमश बढेको मुल्यमा बेचेर नाफा सुरक्षित गर्नबाट नचुक्नुहोस् । नेपालका धेरै साना र नयाँ लगानीकर्तामा बजार घटेको बेलामा शेयर बेच्न हतारिने र बढेको बेलामा मूल्य माथि गएर शेयर किन्ने प्रबृत्ति छ, त्यसबाट तपाइँ चाँही मुक्त हुनुहोस् ।

१४. बढेको बजारमा शेयर बेचेपछि तत्कालै अर्को शेयर नकिनी हाल्नुस र केही दिन पर्खनुहोस् । बजार घट्ने मौका कुरेर बस्नुहोस् । जब बजार एउटा बिन्दुसम्म घट्छ, तब थोरै थोरै शेयर किन्दै जानुहोस्, जति तल बजार जान्छ, त्यत्ति धेरै किन्दै जानुहोस् । फेरि बजार माथि जान थाल्छ, बेच्ने क्रम सुरु गर्नुहोस् । तपाइँले तीन बर्षका लागि भनेर किनेको शेयर छ भने पनि मूल्य धेरै बढेमा बेचेर नाफा सुरक्षित गर्नुहोस् ।

१५. शेयर बजारको बढाई र घटाईमा प्रभाव पार्ने कुराहरु बिभिन्न हुनसक्छन् । देशको अर्थतन्त्र, राजनीति, अमन चैन, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायहरुको कदम, बजारमा लगानी गर्नेहरुको आत्मबल र मनोबृत्ति, बैंक ब्याज, अरु क्षेत्रमा लगानी जाने अबस्था, बजार सुधार र बिस्तारका कदमहरु, सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताहरुको बढ्दो उपस्थिति, कम्पनीहरुको अबस्था लगायतका कुराहरुले शेयर बजारमा प्रभाव पार्ने गर्छ । कहिले काँही के कारणले शेयर बजार घट्यो वा बढ्यो भन्ने कारण नै पत्ता लगाउँन सकिन्न । अरु कुरा जेजस्तो भए पनि लगानीकर्ताको मनोबल मुख्य कुरा हो, आम लगानीकर्ताहरुको मनोबल खस्कने र बढ्ने कुराको आँकलन पनि बारम्बार गरिरहनुपर्छ ।

१६. शेयर बजार जोखिमको क्षेत्र हो । शेयर बजारमा लगानी गरेर करोडपति भईन्छ भन्ने शीर्षक मात्र पढेर र , घरघरमा बिजुली, जनजनमा शेयर जस्ता लोकप्रिय नाराको भरमा लगानी गर्ने हैन । कम्पनीको आधारभुत अबस्था बुझेर लगानी गर्ने हो । बुद्धि पुर्याईएन, सुरक्षित शेयरमा लगानी गरिएन भने त्यसबाट कंगाल पनि बन्नुपर्ने रहेछ भन्ने बिगतका कयौं घटनाबाट पाठ सिकेर लगानीको निर्णय गर्नुपर्छ । अल्प ज्ञान जहाँ पनि हानिकारक हुनसक्छ, अध्ययनशील बन्नुहोस्, बिज्ञता हासिल गर्नुहोस् र लगानीको निर्णय गर्नुहोस् ।

१७. धेरै महत्वाकांक्षी नबन्नुहोस् । अहिलेको शेयर बजारमा पनि धेरै महत्वाकांक्षी भएर करोडौ लगानी गरेका लगानीकर्ताहरु पछुतो मानिरहेका छन् र आफुले किनेको शेयरको भाऊ मात्रै आए पनि बेचेर अर्को शेयरमा लगानी गथें वा बाहिर निस्कन्थे भनेर मौका पर्खेर कुर्नेहरु छन् । उनीहरुले उचालिएर महंगो मूल्यमा त्यस्ता कम्पनीको शेयर किनेका थिए जसको अहिले मुल्य घटेको छ र शेयरको भाऊ फेरि त्यही किनेको बिन्दुमा पुग्न सकेको छैन, घाटा धान्नगरी लाभांश पाउने छाँट पनि छैन । राम्रो कम्पनी भन्दैमा महंगो मुल्यमा शेयर किन्दा पनि यस्तै नियति भोग्नुपर्छ । कमसे कम तपाइँ चाँही त्यसबाट बच्नुहोस् ।

१८. नेप्से बढेकोमा हर्ष बढाइँ गर्ने र घटेकोमा चिन्ता गर्ने बानी छाड्नुहोस् । आफुले किनेको शेयरको मूल्य कति बढ्यो वा घट्यो भन्ने कुरामा बढि केन्द्रित हुनुहोस् । कतिपय समयमा नेप्से बढे पनि तपाइँले किनको शेयरको भाऊ घटिरहेको हुन्छ र नेप्से घटे पनि तपाँइको शेयरको मूल्य बिभिन्न कारणले सर्किट लागेर बढेको हुन्छ ।
शेयर बेचेर नाफा सुरक्षित गरेपछि आफुले बेचेको शेयरको भाऊ अरु बढ्न सक्छ र शेयरको मूल्य बढ्दै गएको बेला नबेची राख्दा मुल्य घटेर फेरि तल आउनसक्छ । शेयर बेचेर नाफा सुरक्षित गरी पछुताउने कि शेयर नबेची राख्दा मूल्य घटेर घाटा खाई पछुताउने ? शेयरको मूल्य बढ्दा नबेची राखेर फेरि मुल्य घटी पछुताउनु भन्दा नाफा सुरक्षित गरेर मुल्य बढेमा पछुताउनु राम्रो हो । 

१९. स्रोत नखुलेको, हुण्डी वा अन्य अबैध तवरले आएको रकम प्रयोग गरेर शेयर बजारमा लगानी नगर्नुहोस् किनभने त्यसको स्रोत पुष्टि गर्नसक्नु भएन भने तपाइँलाई सम्पति शुद्धिकरणको मुद्धा लाग्नसक्छ । नेपाल धितोपत्र बोर्डले हालै त्यससम्बन्धी छानविन गर्न एउटा गोप्य समिति नै बनाएको छ । यस्ता मुद्धाहरु अन्र्तराष्ट्रिय चासोका पनि हुनसक्छन् । सानो लोभले ठूलो झमेला र अफठेरोमा पर्न सकिन्छ भन्ने हेक्का सदैब राख्नुहोस् र शेयर किनबेच गर्दाको रकम लेनदेन बैंकमार्फत मात्र गर्नुहोस् ।

२०. शेयर कारोबार गर्दा राम्रो ब्यवस्थापन भएको र बिस्वासिलो शेयर दलालको कार्यालय रोज्नुहोस् । कतिपय दलालहरुले नियमनकारी निकायको निर्देशन पालना नगर्दा कारबाही भोगेर शेयर कारोबार नै रोक्का हुने गरेको पनि हुनसक्छ । त्यस्ताको कार्यालयमा गएर प्रयोगकर्ताको नाम र कारोबार कोड दर्ता गराउनु भएको छ भने दलाललाई कारोबारबाट बंचित गरिदाको मार तपाइँले पनि खेप्नुपर्छ, शेयर किनबेच गर्न पाईन्न ।

२१. शेयर बजार भन्दा बाहिर शेयर किनबेच गर्दै नगर्नुहोस् । अहिले सबै शेयर कारोबार नेप्सेको कारोबार प्रणालीमार्फत कागजरहित तबरले हुने हुँदा बाहिर कागजी मुचुल्का उठाएर गरिएको शेयर किनबेच र लेनदेन काम लाग्दैनन् र त्यसको कानुनी आधार पनि हुन्न । सुचिृकत कम्पनीको शेयर नभएमा कुरै सकियो, सुचिकृत कम्पनीको भए पनि कागजी लिखतका आधारमा तपाइँले किनेको शेयर तपाइँको नाममा अभौतिक खातामा ल्याउन अनेक झमेला हुनसक्छ । त्यस्तोमा फस्दै नफस्नुहोस् ।

२२.कस्तो शेयरमा लगानी गर्ने भन्ने पर्याप्त ज्ञान र अनुभव छैन भने सामुहिक लगानी कोषहरुको शेयर किनबेचको मासिक प्रतिबेदन हेर्नुहोस् र उनीहरुले कस्ता कस्ता शेयरहरु बढी संख्यामा किनिरहेका छन् भन्ने बुझेर पछ्याउनुहोस् । सामुहिक लगानी कोषहरुले बिज्ञहरुको टोलीबाट अध्ययन गराएर कस्ता कम्पनीमा लगानी गर्ने र जोखिम कसरी न्युनीकरण गर्ने भन्ने योजना बनाएका हुन्छन् । सामुहिक लगानी कोषको पोर्टफोलियो अध्ययनको आधारमा आफैले पोर्टफोलियो बनाएर लगानी गर्न सकिन्न भने सामुहिक लगानी कोषहरुकै ईकाई खरिद गरेर बस्नुहोस् । तपाइँको पैसाले उनीहरुले शेयर किन्छन् र जोखिम ब्यवस्थापन गरी शेयर बजारबाट नाफा गरेर तपाइँलाई पाँच बर्षपछि ईकाई खरिदमा लगानी गरेको भन्दा धेरै पैसा फिर्ता दिनेछन् । तपाइँले बार्षिक रुपमा लाभांश पाउने कुरा पनि हुन्छ र चाहेको बेलामा त्यस्ता ईकाईहरु शेयर बजारमा सजिलै बिक्री गर्न पनि सक्नुहुन्छ ।

नयाँ र साना लगानीकर्ताले कम्पनीहरुले निश्काशन गर्ने साधारण शेयर अर्थात आईपीओमा लगानी गर्नु त झन् सुरक्षित उपाय हो । तर आजभोलि साधारण शेयर निश्काशन गर्ने कम्पनीहरुको बिक्रीमा आउने शेयर संख्या थोरै हुने र शेयर माग थर्ने लगानीकर्ता धेरै हुने भएकाले चिठ्ठा प्रणालीबाट शेयर बाँडफाँट हुने गरेको छ र धेरै रकम फसाउनु पनि बेकार देखिएको छ ।  यस्तो बेला आफु र आफ्नो परिवारका नाममा थोरै रकमको आबेदन गर्नुहोस्, सानो र थोरै कित्ता साधारण शेयर निश्काशन गर्ने कम्पनीको आईपीओ आबेदनमा धेरै रकम फसाएर फाईदा छैन  ।


२३. राम्रा कम्पनीको साधारण शेयर निश्काशन हुँदा तपाइँले प्रति कित्ता एक सय रुपैयाँमा किन्ने अबसर पाउनु भएको थियो भने त्यस्ता कम्पनीको शेयर मूल्य जत्ति महंगो भए पनि नबेची राख्दा नै फाईदा हुन्छ । सुरुमा लगानी गरिएको एकसय रुपैयाँको शेयरले बोनस र नगद लाभांश प्राप्त गर्दा र शेयरको हालको मूल्य हिसाव गर्दा तपाईलाई कयौं गुणा फाईदा भईसकेको छ र आगामी दिनमा अरु धेरै लाभ हुनेछ । बेच्न नै मन लाग्यो वा पैसाको चर्को आबश्यकता भयो भने बोनस र हकप्रद वापत प्राप्त भएका केही शेयरहरु बेच्दा ठीकै हुन्छ ।

 

२४. बिगतमा खराब अबस्थामा पुगेर क्रमशः सुधार हुँदै गरेका कम्पनीहरुको शेयर मूल्य तल छ भने त्यस्ता कम्पनीहरुमा पनि थोरै लगानी गरेर राख्दा भबिष्यमा फाईदा हुनसक्छ ।


२५. मार्केट डेब्थ मात्रै हेरेर शेयर किन्ने र बेच्ने कार्य नगर्नुहोस् । कतिपय घटनाहरुमा खराब कम्पनीको शेयर बेच्नुपर्दा मार्केट डेब्थको किन्नेतर्फ कम मूल्यमा शेयर किन्न बसेको शेयर संख्या धेरै देखाईन्छ र बढी मूल्यमा किन्न बसेको शेयर संख्या कम राखेर शेयरको भाऊ बढाईन्छ । यस्तो बेला बेच्नमा राखिएका शेयर संख्या अति न्युन वा कम हुन्छ । थोरै कित्ता राखेर बढी मूल्य देखाईएको पाईन्छ । शेयरको कृत्रिम अभाव सिर्जना गराएर माग र आपुर्तिको नियमलाई प्रभावित पारी कमसल शेयर महंगोमा बेच्नेहरु पनि हुन्छन् ।
अर्कोतर्फ राम्रो कम्पनीको शेयर किन्नेहरुले बिक्रीमा धेरै कित्ता देखाएर किन्न बसेको तर्फ शेयर नै नदेखाई सस्तोमा शेयर उठाउने खेल गरेका हुन्छन् । मार्केट डेब्थ सर्बसाधारण लगानीकर्ताको पहुँचमा पुगेपछि त्यसमा भ्रम सिर्जना गर्ने कामहरु पनि भएका छन् । यस्ता अपाकृतिक कारोबारबाट नयाँ र साना लगानीकर्ताहरु बच्नुपर्छ ।


२६. शेयर बजारमा बुझेर लगानी गर्नु चाँही राम्रो कुरा हो तर आफुले गर्दै आएको ब्यापार ब्यवसाय, नोकरी सबै छाडेर लाग्ने मुर्खता चाँही नगर्नुहोस् । यसरी सबै ध्यान शेयर बजारमै लगाउनुभयो भने तपाइँको ब्यापार ब्यवसायको कारोबार चौपट्ट हुन्छ र नोकरी पनि समस्यामा पर्नसक्छ । भोलि शेयर बजारमा समस्या आउने बित्तिकै जीवन गुजाराको विकल्प खोज्नु पर्दा अनेक तनाब झेल्नुपर्छ । दीर्घकालीन हिसाबले गरिएको सुरक्षित शेयर लगानीमा दिनदिनै घटबढ् हुने बजार हेरेर चिन्ता गर्नुपर्ने र हौसिनु पर्ने आबश्यकता छैन । तर कम्पनीले जारी गर्ने सूचना र प्रगति बिबरण चाँही थाहा पाईराख्नुपर्छ । 

 

निष्कर्ष

 सुरक्षित लगानी गरिएको अबस्थामा नेपालको शेयर बजारमा आगामी दिनहरुमा गुमाउने भन्दा कमाउन सकिने संभावना नै बढी छ । कागजी प्रमाणपत्रको युग समाप्त भएर पूर्ण अभौतिक शेयर किनबेच, शेयर प्रमाण पत्र नामसारीमा हुँदै आएको जाझेलको समाप्ति, चार कार्य दिनमा किन्नेको डिम्याट खातामा शेयर जम्मा हुने र शेयर बेचेको चार कार्य दिनमा लगानीकर्ताको हातमा पैसा हुने, संस्थागत लगानीकर्ता र सामुहिक लगानी कोषहरुको बढ्दो उपस्थिति, नयाँ निश्काशन भएको साधारण शेयर पनि अब सिधै डिम्याट खातामा आउने जस्ता ऐतिहासिक सुधार कदमहरुले लगानीकर्तामा आत्मबिस्वास बढाएको छ र शेयर बजारलाई उचाईमा पुर्याएको छ । बैंकहरुमा पर्याप्त तरलता, अन्यत्र लगानी जान नसक्ने अबस्था, लगानीकर्ताहरुमा फैलदो चेतनाले पनि बजार बिस्तारलाई आड दिएको छ । शेयर दलाल कमिशन घटेपछि लगानीकर्तामा अरु हौसला बढेको हो, यसबाट कारोबार रकम पनि अभुतपूर्व रुपमा बढेको छ । 

बाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स, अनलाईन ट्रेडिड., क्लियरिड. बैंक थपिने, जिल्ला जिल्लामा ब्रोकरको शाखा बिस्तार हुने, अरु धेरै लगानीकर्ताहरु शेयर बजारमा जोडिने, शेयर दलाल मार्फत शेयर धितो कर्जा उपलब्ध हुने, बजार बिस्तारका अरु धेरै कुरा हुने संभावना रहेकाले सुरक्षित लगानी गर्नेहरुको दिन सुनौलो छ । तर असुरक्षित लगानी गरिए बर्षौसम्म पछुताएर बस्नुपर्ने कुरामा पनि उत्तिकै ध्यान दिनु आबश्यक देखिन्छ ।

स्पष्टिकरणः यो सामाग्री शेयर बजारका नयाँ लगानीकर्ताहरुको सचेतनाका लागि हो, शेयर बजार घटाउने, बढाउने कुरासँग यसको कुनै सम्बन्ध छैन । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।