एकै वर्षमा कमाउँछु भनेर शेयरमा लगानी गर्नेहरु टाटै पल्टिन सक्छन्

Jul 29, 2016 Merolagani

- नारायणप्रसाद सापकोटा
अहिले नयाँ लगानीकर्ता बजारमा प्रबेश नगरेकै राम्रो
यो साता उद्योगपति तथा सेयरका लगानीकर्ता राजेन्द्र खेतानले फेसबुक स्टाटसमा मा लेखे - 'शेयर बजार परिसूचक नेप्से २००० विन्दुमा पुग्नेछ ।' केही समयअघि उनले नेप्से १ हजार ७ सयमा पुग्ने घोषणा गरेका थिए । खेतानको घोषणालाई उद्यमी ज्ञानेन्द्रलाल प्रधानले समर्थन गरे । अहिले बजार १९ सय अंक नजिक छ ।

 

अहिलेको नेपाली सेयर बजारको सकारात्मक पक्ष यसको कारोवार उच्च हुनु हो । कारोवार रकम एक दिनमा नै २ अर्ब ७५ करोड पुग्यो । बिहीबारको कारोवार पनि २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बिहीबार नेप्से १ हजार ८ सय ७७ अंकमा छ ।

नेप्से हरेक दिन हरियो देखिएर बजार उकालो लाग्ने होइन । जतिसुकै मूल्य बढेको बजारमा पनि रातो चिन्ह सहित बजार ओरालो लागेको देख्न पाईन्छ । यो क्रम नेपालको सेयर बजारले पनि समातेको छ ।

बैंकको न्युन व्याजदर र संस्थागत लगानीकर्ताको प्रवेशले स्टकको भाउ बढाएको हो । साधारण सेयरको मूल्य देखाउने फ्लोट सुचक अझै पनि १ सय ३९ अंकमा नै छ । २०६५ भदौलाई आधार मान्दा नेप्से धेरै माथी गएको मान्न सकिंदैन । त्यसपछि बजार घटेर २ सय ९२ सम्म झरेको थियो । यो न्युन विन्दु भनेको नेपाली सेयर बजार ‘क्रयास’ भएको हो ।

तर, अहिलेको बजारमा भाउ वृद्धि लगातार हुनु भनेको डरलाग्दो हो । यसले नयाँ लगानीकर्तालाई डुबाउन सक्छ । बजार त बढेर नै जाने हो । तर यसरी लगातार होइन । अहिले नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने समय होइन । तर बजार बढेको बेलामा कोही पनि यस्तो सुझाव सुन्न चाहँदैन ।

जुनबेला बजार क्रयास भएको थियो त्यो समयमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको व्याजदर १५ प्रतिशतको हाराहारीमा पुगेर उच्च थियो । अहिले व्याजदर तीन प्रतिशतको हाराहारीमा झरेको छ । यो न्युन विन्दु हो । न्युन व्याजदर नै बजारमा सेयरको भाउ बढाउने पहिलो कारण हो ।

व्याजदर

व्याजदर र सेयर बजारको सम्वन्ध जहिले पनि विपरित हुने गर्दछ । व्याजदर बढेको बेला सेयरको मूल्य घट्ने र घटेको बेला सेयर मूल्य बढ्ने गर्छ । यो प्रवृत्ति नेपाली सेयर बजारमा पनि पटक पटक देखिईसकेको छ । विश्वभरिकै बजार र व्याजदरको सम्वन्ध विपरित हुन्छ ।

नेपालमा बैंकले लगानी गर्ने क्षेत्र पाएपछि यो दर माथि जानेछ । अहिले बैंकमा तरलता थुप्रिएको छ । लगानी गर्ने ठाउँ कम छन् । लगानीकर्तालाई पनि बैंकमा पैसा राख्दा भन्दा सेयरमा लगानी गर्दा बढि आम्दानी हुन्छ । कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा हुने अवस्था छ । बजारमा सेयरको भाऊ बढेर हुने नाफा र कम्पनीले दिने लाभांशलाई हेर्दा सस्तो दरमा कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । यसैले अहिले बजारमा सेयरको भाउm बढेको हो ।

म्युचुअल फण्ड

अहिलेको सेयर बजारमा दुई, चार जना लगानीकर्ता मिलेर मूल्य घटाउन र बढाउन सक्दैनन् । केही साना कम्पनीमा बाहेक बजार पूर्ण रुपमा बजारमा नै निर्भर छ । संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) को प्रवेशले बजारले नया“ उत्साह र औजार पाएको छ ।

सामूहिक लगानी कोष संचालनले बजारलाई नयाँ गति दिएको छ । यस्ता कोष सञ्चालनमा आएपछि बजारमा सेयरको मूल्य निर्धारण पूर्णतया बजारबाट नै हुनेछ । अहिले पनि धेरै लाभ नआउने देखेर नेपाल टेलिकमको सेयर मूल्य नबढ्नु यसको उदाहरण हो । सेयरको मूल्य घटेको बेलामा यस्ता कोषले खरिद गर्ने छ भने बढेको समयमा बिक्री गरि बजारलाई सन्तुलित बनाई राख्नेछ । अहिले वाणिज्य बैंकहरुले स्थापना गरेका यस्ता कोषले सेयरमा लगानी गर्न थालेपछि पनि स्टकको भाउm आकाशिएको हो ।

लाभकर परिवर्तन

बजारमा अहिले सेयरको नाफामा बुझाउनुपर्ने पुँजीगत लाभकर पनि अवैज्ञानिक छ । जति अवधि सेयर होल्ड गर्नेले पनि उही दरमा पूँजीगत लाभकर बुझाए पुग्छ । यसलाई बैज्ञानिक बनाउन एक वर्ष भन्दा घटि अवधिमा सेयर होल्ड गर्नेलाई बढि र लामो समय होल्ड गर्नेलाई घटि कर लगाउनुपर्छ । सँगसँगै तत्काल सेयर किनबेचमा संलग्नलाई बढि दर तोक्नुपर्छ । यसबाट तत्कालको ‘सट्टेबाजी’ मा संलग्न हुनेलाई निरुत्साहित गर्नेछ र दीर्घकालका लागि सेयर किन्ने प्रोत्साहित हुनेछन् । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरले विभिन्न शीर्षकमा उठाउने शुल्क घटाउनु सकारात्मक छ । तर ब्रोकरले पनि राम्रो आम्दानी गरिराख्नुपर्छ । यसबाट लगानीकर्तालाई उत्साहित गर्नेछ ।

मार्जिन लेन्डिङमा नीतिगत स्थिरता जरुरी

चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन लेन्डिङलाई नियन्त्रण नगरे पनि नीतिगत स्थिरता दिएन । मार्जिन लेन्डिङ एक पटक तोकेपछि चलाईरहनु भनेको बजारलाई अस्थिर बनाएर नियन्त्रणमा लिनु हो । राष्ट्र बैंकले यसपटक पनि मार्जिन लेन्डिङ कर्जाको सिमा परिवर्तन गरेर नीतिगत अस्थिरताको सन्देश दिएको छ ।विगतमा राष्ट्र बैंकले यस्तै नीतिगत अस्थिरताबाट सेयर बजारलाई खेलाउँदै आएको थियो ।

पछिल्लो समय स्टक ब्रोकर मार्फत लगानीकर्तालाई कर्जा दिने मार्जिन लेन्डिङको प्रस्ताव अगाडि आएको छ । धितोपत्र बोर्डको पाँच वर्षे गुरुयोजनामा पनि ब्रोकर मार्फत मार्जिन लेन्डिङ गर्ने व्यवस्था छ । स्टक ब्रोकरको क्षमता अभिवृद्वि नगरी तत्कालै यो व्यवस्था कार्यान्वयनमा ल्याउन संभव छैन । यसका लागि स्टक ब्रोकरको पूँजी, पुर्वाधार र जनशक्तिको क्षमता बढाउनुपर्ने हुन्छ । लगानीकर्तालाई सेयर धितो राख्न बैंक तथा वित्तीय संस्थामा धाउनुभन्दा सक्षम ब्रोकर मार्फत नै लगानी गर्ने व्यवस्था बढि सरल हुन्छ । भारतमा ब्रोकरले नै लगानीकर्तालाई कर्जा दिन्छन् ।

अनलाईन कारोवार आवश्यक

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सञ्चालनमा आएपछि बजारमा कारोवार बढेको हो । यसले कागजी प्रमाणपत्रको युग समाप्त गरी डिजिटल जमानामा स्टक बजारलाई प्रवेश गराउने पहिलो चरणको काम पुरा गरेको छ । बजार आधुनिक युगमा प्रवेश गर्न सकेको छैन । बजारलाई पूर्ण रुपमा आधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउन अनलाईन कारोवार सुरु गर्नूपर्छ । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले तत्कालै अनलाईन कारोवार सुरु गर्दैन भने निजीस्तरको स्टक एक्सचेन्ज स्थापना गर्नुपर्छ ।

एनआरएनको लगानी

गैरआवासीय नेपाली (एनआरएन)लाई सेयर बजारमा लगानी गर्न दिने घोषणा भएको धेरै भैसकेको छ । तर एनआरएनको लगानी बजारमा आउन सकेको छैन । पोर्टफोलियो व्यवस्थापन कम्पनी मार्फत एनआरएनले लगानी गर्न सक्ने भनिए पनि कार्यान्वयनमा ल्याउन ढिलाई गरिएको छ ।
एनआरएनको लगानी सुरु गर्दै अब बजारमा विदेशी लगानीकर्तालाई पनि बाटो खुला गर्नुपर्छ । यो सधैं खुम्चिएर बस्ने कार्यले स्तरोन्नति हुनै सक्दैन । अर्थतन्त्रको ऐना स्टक मार्केट हो । यो मार्केटमा विदेशी लगानी नहुनु भनेको अगाडि बढ्न नखोज्नुु हो ।

भविष्यमा आधारित बजार

सेयर बजार भनेको भविस्यमा मुलुकको भविस्य कस्तो रहन्छ त्यसबाट कम्पनीको अवस्था निर्धारण हुन्छ भन्नेमा निर्भर रहन्छ । भविस्य आशावादी नभएमा बजार पनि घटिरहन्छ । भविस्य सकारात्मक भए बजार पनि बढिरहन्छ । सेयर बजार तत्काल कम्पनीले दिने नाफा, व्यवस्थापन, सकारात्मक भविस्यमा आधारित हुन्छ । यसको आधार भनेको राजनीति नै हो । राजनीति सकारात्मक भए आर्थिक विकास तीव्र हुन्छ । यो बेलामा कम्पनीको नाफा पनि बढ्छ । लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ र सेयरको मूल्य पनि उकालो लाग्छ । यही आधारमा अहिलेको बजार बढेको हो । सेयर बजार प्राविधिक विश्लेषणमा मात्रै आधारित हुन सक्दैन ।

बजारका लागि आवश्यक पुर्वाधार र आधुनिकताका लागि सरकारी निकायले प्रयास गर्नुपर्छ । बजारमा प्रतिस्पर्धा नहुने अवस्था, झन्झटिलो व्यवस्था अन्त्य गर्ने तर्फ नियामक निकाय लाग्नुपर्छ । आवश्यक पुर्वाधार तयार भएपछि बजारले निर्धारण गरेको मूल्यमा चिन्ता लिन जरुरी छैन । मूल्य बढ्ने घट्नका लागि हो भने भाउ घटने बढनका लागि हो ।

बजार के होला ?

राष्ट्र बैंक र धितोपत्र बोर्डले बजारलाई घटबढ गराउने नीतिगत खेल नखेलेमा बजार उकालो तर्फ नै लाग्नेछ । जब सम्म बैंकमा निक्षेप र कर्जाको व्याजदर बढ्दैन, त्यतिबेला सम्म बजार उकालो लाग्छ । जब व्याजदर बढ्छ त्यसपछि बजार ओरालो लाग्न सुरु गर्नेछ ।

मुलुकको भविस्य सकारात्मक देखिएपछि सेयरको मूल्य बढ्ने हो । बजार पनि केही घटबढ् हुँदै भाउ बढ्ने तर्फ नै अगाडि बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी बढाउने राष्ट्र बैंकको निर्देशनले बजारमा सेयरको संख्या बढाउने छ । यो संगै वाणिज्य बैंकहरुले स्थापना गर्ने म्युचुअल फण्डको संख्या पनि बढ्दैछ । यसले बजारमा संस्थागत लगानी बढाउनेछ । लगानी बढनुको अर्थ भाउm पनि बढ्नेछ । बजार नबुझ्नेहरुले म्युचुअल फण्डको स्किम (सेयर) किन्नु उत्तम हुन्छ । नयाँ लगानीकर्ता पनि फण्डको स्किममा लगानी गर्ने र प्राथमिक निस्काशनमा एक सय रुपैयाँ अंकित सेयरमा पैसा हालेर बाजरमा प्रवेश सुरु गर्नु राम्रो हुन्छ ।

दीर्घकालमा करोडपति

सेयर बजारमा लगानीगर्नेहरु धैर्य गरेर बसेमा एक, दुई वर्षमा हैन, कम्तीमा १० वर्ष कुर्ने हैसियत राख्ने हो भने सेयरमा लगानीगर्ने हरेक व्यक्ति करोडपति हुनेछन् ।

यसका लागि कम्पनीको अध्ययन,व्यवस्थापनको व्यवसायिकतालाई भने बुझ्न सक्नुपर्छ । एकै वर्षमा कमाउँछु भनेर लगानी गर्नेहरु भने टाटै पल्टिन सक्छन् । घरजग्गामा जस्तो मुखका आधारमा सेयरको मूल्य तोकिंदैन । बजारले यसको मूल्य निर्धारण गर्छ ।

(आर्थिक पत्रकार सापकोटा नेपालको शेयर बजार क्रयास भएर २९२ को बिन्दुमा झरेको बेलाका भुक्तभोगी  पनि हुन् । उनको यो लेख nsapkota.blogspot.com बाट निजकै सहमतिमा साभार गरिएको हो )

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।