सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरी यसैमार्फत जारी सूचनामा नागरिक लगानी कोषको ३ लाख ९९ हजार ९४० कित्ता संस्थापक शेयर २१ दिने सूचना दिएर लिलाममा निकालिएको हो । यस शेयर बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीले मात्र किन्न सक्ने गरी प्रति कित्ता तीन हजार पाँच सय रुपैयाँ न्युनतम मूल्य तोकिएको छ । गोप्य सिलबन्दी पत्र मार्फत शेयर किन्न चाहनेले कम्तिमा २५ हजार कित्ता वा त्यसको १० ले भाग जाने संख्यामा वा सबै शेयरका लागि आबेदन गर्नसक्ने जनाईएको छ । खरिदकर्ताले आफुले माग गरेको सम्पूर्ण शेयर बराबरको रकम बुझाएको भौचर बोलपत्रसाथ पेश गर्नुपर्ने भएको छ ।
नागरिक लगानी कोषको साधारण शेयरको मूल्य हाल प्रति कित्ता पाँच हजार दुई सय रहेको र यत्ति धेरै संख्यामा उसको शेयर किन्ने अबसर बिरलै आउने हुनाले बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरु शेयर खरिदमा चर्को प्रतिस्पर्धामा आउने संभावना छ । यसअघि नेपाल बैंकले केही कम्पनीसँग शेयर खरिद बिक्रीको भित्री कुराकानी चलाएको भए पनि त्यसलाई बीचमै छाडेर खुला बोलकबोल मार्फत बिक्री गर्न कस्सिएको हो ।
नेपाल बैंकले नागरिक लगानी कोषको यो शेयर बिक्रीबाट कम्तिमा एक अर्ब ४० करोड प्राप्त गर्ने छ । बैंकले अघिल्लै बर्ष यो शेयर बेच्ने प्रयास गरेको भए पनि अर्थ मन्त्रालय र नागरिक लगानी कोषबाट स्वीकृति आउन ढिलाई भएकाले यस आर्थिक बर्षमा मात्र बिक्रीको सूचना बाहिर आएको हो ।
नेपाल बैंकले गत आर्थिक बर्षमा झण्डै तीन अर्ब रुपैयाँ खुद नाफा कमाएको कुरा केही दिनअघि बैंक स्रोतले मेरोलगानी डटकमलाई जानकारी दिएको थियो । सो खुद नाफा पश्चात बैंकको जगेडा कोष केही करोडले धनात्मक भएको छ । पूँजी कोष १० प्रतिशत भन्दा माथि पुगेको छ । बैंकले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई कुनै लाभांश बाड्न नसक्ने देखिन्छ । यो बर्ष नेपाल बैंकले धेरै कर्मचारीलाई बिदाई गर्ने र नयाँ कर्मचारी भर्ना गर्ने क्रम चलिरहेको हुँदा आम्दानी गरेको धेरै रकम त्यसमै खर्च हुने बुझिएको छ । बैंकले २३.७४ प्रतिशत हकप्रद बेचेर चुक्ता पूँजी आठ अर्ब पुर्याउने प्रस्ताव पारित गरिसकेको छ ।
नेपाल बैंकले आफ्नो बित्तीय अबस्थामा सुधार ल्याउन गत बर्ष नेपाल ईन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटलको शेयर र बिभिन्न स्थानमा रहेका घरजग्गा बेचेर खुद नाफा बढाएको थियो । केही बर्ष अघि निस्क्रिय कर्जाको भामिनसक्नु भारी र संस्थागत कुशासनको कारणले नेपालको सबैभन्दा जेठो नेपाल बैंक बिघटनको डिलमा पुगेको थियो भने बिश्व बैंक र नेपाल राष्ट्र बैंकले क्रमश सुधार गरी साधारणसभा गरेर नयाँ ब्यवस्थापनलाई जिम्मा लगाएको थियो । त्यस यता नयाँ संचालकहरु र कार्यकारी प्रमुखमा देबेन्द्रप्रताप शाहले कार्यभार सम्हालेपछि बैंक सुधारोन्मुख अबस्थामा गएको छ । बैंकमा रणनीतिक साझेदार ल्याउने बारेमा पनि छलफल चलिरहेको बुझिएको छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।