‘बजारबाट भाग्ने हैन, जम्ने सुनौलो समय यहि नै हो’ - छोटेलाल रौनियार, लगानीकर्ता एवं विष्लेषक

Aug 08, 2016 Chhote Lal Rauniyar

लगानीकर्तालाई मेरो आग्रह, नआत्तिनुस्, यो पढ्नुस्
शेयर बजार बढ्छ, बढ्दै जान्छ, सधैं हरीयो मात्र हुन्छ, वास्तविकता बुझे पनि बजारको नियम घटबढ हुने थाहा भए पनि आफुलाई नै भ्रमित पार्ने एउटा परिधि भित्र बस्छौं, हुन्छौं । हामीलाई यो स्वीकार्य हुँदैन कि बजार केही समय धेरै अंकले बढ्छ भने कम समयको लागि केही अंकले मात्र घट्छ । बढेको बजार करेक्सन हुनु बजारको वास्तविकता र नियमित प्रकृया नै हो । शेयर बजारको व्युटी र ब्लेसिंग पनि यहि नै हो ।

हामी यो वास्तविक्ता बुझ्न र आत्मसाथ गर्न तयार छैनौं भने हामी सधैं नै दुखी हुन्छौं र बजारमा राम्ररी कामगर्न सक्दैनौं । करेक्सन केही व्यक्तिलाई दुखदायी र पीडादायक हुन्छ भने लगानीकर्ताको लागि मोलमोलाई गर्दै कम मुल्यमा रोजी रोजी राम्रो शेयरमा लगानी गर्ने सुभ अवसर पनि हो ।

जो लगानीकर्ता ११७५ को उच्चतम विन्दुमा थिए, उनीहरुले २९२ अंक सम्म बजार झर्दा पनि त्यो बेलाको डरलाग्दो, प्रतिकुल, भिषण परिस्थितीको पीडा भोगेर दृढताका साथ अडिग भएर तत्कालिन अवस्थाको सामना गर्दै आज पनि शेयर बजारमा लगानी गरिरहेका छन् । (जिना यहाँ मर्ना यहाँ, इसके सिवा जाना कहाँ ?) यो गीतमा भने भनिए तत्कालिन समयमा नेप्से ११७५ अंकमा पुगेका बेला शेयरमा लागनी गर्नेहरु २९२ अंकमा आउँदा पनि धैर्य भएर बस्न सकेका कारण नै अहिले सुरक्षित छन् । तिनै २९२ अंकको अनुहार हेरेका उनीहरुले अहिले १८८१ को बजारलाई पनि देखे र अहिले पनि बजार करेक्सन भएर १६७५ मा झर्दा आजको शेयर बजारका योद्धाहरु पनि उनीहरु नै बनेका छन्, हाम्रा अग्रज र सम्मानित लगानीकर्ता पनि उनीहरु नै हुन् ।

आजका हामी लगानीकर्ताहरु उनीहरुबाट सीप र प्रेरणा लिंदै अलिकति पनि विचलित नभई ‘बजार बढ्यो भने मात्तिने अनि बजार घट्यो भने आत्तिने’ भन्दा शान्त, सौम्य अनि अनुशासित लगानीकर्ताको रुपमा उभिन सक्यौं भने हामी पनि शेयर बजारबाट उनीहरु जस्तै धेरै फाइदा लिंदै आफुलाई एउटा सम्मानित लगानीकर्ता भनेर स्थापित गर्न सक्छौं ।

२०७३ साउन १३ गते १८८१ अंकमा रहेको नेप्से साउन २४ गते सोमबारसम्म आईपुग्दा १६७५ अंकमा झरेको छ । यसबिचमा बजार २०६ अंकले घट्यो भने कारोबारमा पनि कमी आयो ।

यसरी बजारमा देखिएको उतारचढावले शेयर बजारसंग सम्बन्धित सबै जना खास गरी शेयर कारोबारी र नयाँ लगानीकर्ता धेरै चिन्तित र त्रसित छन् । अहिले साउन महिनामा धेरै जसो कम्पनीहरुको चौथो त्रैमासिक वित्तीय विबरण आउने क्रम चल्दै गर्दा बजार हरीयो हुनु पर्ने समयमा त्यसको ठीक विपरित सुचांक घट्न गई समग्र बजार राताम्मे हुन पुग्यो । जसका कारण लगानीकर्ताले अहिलेको बजारको गहिरो विष्लेषण गर्न नितान्त जरुरी छ ।

के के कुरा बिचार गर्ने ?

१) नेप्से सुचांक पछिल्लो १ महिनामा बिना कुनै करेक्सन २५० अंकले माथि चढेको थियो, यो करेक्सन नैसर्गिक थियो,जुन भयो पनि । केही लगानीकर्ताले यो करेक्सनका दौरान प्यानिक प्रफिट बुक गरे भने केही लगानीकर्ताले आत्तिएर त्रसित भई घाटा व्यहोरेर आफ्नो पूँजी टुट्याएर शेयर बेचे । यस्ता करेक्सन शेयर बजारको लागि नितान्त जरुरी हुन्छ र यसले बजारलाई झन दिगो र बलियो बनाउँछ भन्ने बुझ्नु पर्छ ।

२) धितोपत्र बोर्ड र नेप्सेले बजार उचाईमा लम्किरहेका बेला लगानीकर्तालाई पटक पटक सचेत गराउनु, बारम्बार शेयर बजार धेरै बढ्यो, ठुला र विबेकशील लगानीकर्ता अधिकांस शेयर बिक्रि गरेर सुरक्षित भए भने केही साना तथा नयाँ लगानीकर्ता शेयर बजारमा नबुझि पसिरहेका छन् भनेर सचेत गराउनु साथै उनीहरुसंग जोखिम बहन गर्ने क्षमता पनि थोरै मात्र देखिन्छ भन्नुले पनि बजारमा असर देखिएको हो । यो भन्दा पनि एक कदम अघि बढेर कालो धन र १० लाख भन्दा बढीको चेकको कुरा ल्याएर बजार आतंकित हुने गरी चाहिने भन्दा बढी प्रचार प्रसार गर्नु पनि बजारको अहिलेको दुर्भाग्य हो ।

३) यस पछि पनि गत बिहीबार एउटा दैनिक पत्रिकामा पूँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्षले पूँजी वृद्धिसंगै बोनस र हकप्रद मार्फत शेयरको संख्या बढ्ने हुँदा प्रतिशेयर आम्दानी घट्छ अर्थात लगानीकर्ताले पाउने प्रतिफल घट्छ बढ्न सक्दैन भन्ने अभिव्यक्ति सहितको लेख सार्वजनिक हुनुले बजारमा नकरात्मक असर पार्यो । यसले गर्दा खास गरी कालो धनको विषयले कालो भुतको रुप धारण गर्दा पनि लगानीकर्ताको मनोबलमा गिरावट आयो र लगानीकर्ता त्रसित हुँदै धमाधम आफ्नो शेयर बेच्न थाले । यो पनि बजारका लागि दुर्भाग्यको विषय बन्यो ।

४) ग्लोबल आइएमई बैंकले चेक पर्जेजबाट ब्रोकरहरुलाई दिइराखेको ५ करोडको सुविधा राष्ट्र बैंकले स्थगित गरायो । यसबाट पनि लगानीकर्ता केही हदसम्म हच्केको वा बिच्केका हुन सक्छन् । तर यसमा पनि केलाएर हेर्ने हो भने झन राम्रो कुराको सुरुवात हुने देखिन्छ । किनभने ब्रोकरहरुले चर्को व्याजदर तिरेर यो सुविधा अस्थायी रुपमा प्रयोग गर्दै आएका थिए । अब यो ओभरड्राफ्टको रुपमा परिणत भएर ब्रोकरहरुले फेरी त्यहि रकम प्रयोग गर्न सक्छन्, यो कुनै ठुलो मुद्धाको विषय नै हैन । ओभरड्राफ्ट लिने प्रकृया समेत अघि बढिसकेको प्रसंग अझै सान्दर्भिक हुन सक्छ ।

५) नेपालको शेयर बजार सबै नियमक निकायदेखि लगानीकर्तासम्म सबैको मनमा मनोवैज्ञानिक असर यो छ कि २०६५ सालमा नेप्से ११७५ अंकमा थियो र त्यो २९२ अंकसम्म झरेर ४ वर्षको दौरानमा पत्याउनै नसक्ने पाराले चरम विन्दु १८८१ मा पुगेकाले यो वास्तविक हैन, अति नै भयो, ठुला र चलाख लगानीकर्ता आफ्नो शेयर बेचेर बजारबाट बाहिरिए, साना अनि नयाँ लगानीकर्ता फसे, उनीहरुको लगानी डुब्न सक्छ भन्ने असर सबैमा परेको छ ।

यसको फलस्वरुप माथि उल्लेखित विभिन्न कुराहरुले गर्दा सोमबार नेप्सेमा तिब्र गिरावटका कारण सर्किट लागेर निर्धारित समय भन्दा पहिले नै कारोबार बन्द हुने स्थितमा पुग्यो । यो सबै बिना कुर्नै आधार लगानीकर्ता आत्तिएर शेयर बिक्रि गर्न खोज्दा भएको दुर्घटना हो, जुन कुरा नहुनु पर्ने थियो ।

किन घट्यो त बजार ?

शेयर बजारका नियमकहरु धितोपत्र बोर्ड तथा नेप्सेले लगानीकर्तालाई हतोत्साहित बनाउने गरि आफ्नो उपस्थिती देखाउनु हुँदैन जसले बजारलाई नकरात्मक असर पारोस् । अहिले बजार घट्नुको प्रत्यक्ष सम्बन्ध राख्ने कुनै पनि आधार सहितको समाचार नै छैन । बोलिचालीका भाषमा एक पछि अर्को व्यक्तिबाट फैलिएको हल्ला नै बजार घट्नुको मुख्य कारण हो ।

शेयर बजारमा अहिले भैरहेको विभिन्न नकरात्मक टिका टिप्पणी, भए नभएका कुराहरुको अनावश्यक प्रचारबाजी गर्ने, नचाहिने विषयलाई महत्व दिने, जोड घटाउ गर्ने हाम्रो बानी छ । यसले गर्दा हामी आफैंले आफैंलाई आतंकित अनि शसंकित बनाउँछौं र आफ्नो इच्छा शक्ति, दृढता अनि मनोवल पनि गिराउँछौं । यति मात्र नभई चिने जानेका साथीहरु जसले शेयरमा लगानी गरेका छन् उनीहरुसंग पनि यस्तै नकारात्मक कुराहरु आदान प्रदान गर्छौं, जसले आफ्नो जस्तै उसको पनि मनोबल गिर्छ । यसरी एक जनाबाट अर्को जना गर्दै यस्ता नकरात्मक कुरा बाहिर आए पछि नकारात्मकताले विशाल रुप लिन्छ जुन कुरा अहिले भैरहेको छ। हामी शेयरका लगानीकर्ताले नकरात्मक कुराहरुमा पनि सकरात्मक सोच राखेर विष्लेषण गर्ने हो भने त्यसबाट धेरै राम्रा कुराहरु निस्किन्छन् र त्यसको सकरात्मक असर शेयर बजारमा देखिन्छ । जसले लगानीकर्तालाई चिन्तित भएर बस्नु पर्ने अवस्थामा पुग्न पनि दिंदैन ।

यहाँ मैले अघिल्लो पटक नेप्से ११७५ अंकमा पुगेर २९२ अंकमा पुग्दाको सन्दर्भलाई जोड्न खाजेको छु, जसले लगानीकर्तालाई धैर्य हुन मद्धत पुर्याओस् ।

पहिले नेप्से ११७५ मा हुँदा बैंकिंग क्षेत्रको सुचक सबै भन्दा उच्चतम विन्दुमा थियो । अरु उपसमुहरुमा यसको प्रभाव र असर कम थियो । त्यो बेला स्टण्र्ड चार्टर्ड बैंकको प्रतिकित्ता शेयर ९ हजार रुपैंया भन्दा माथि, नबिलको ६ हजार भन्दा माथि, इन्भेष्टमेण्ट बैंकको ३ हजार ८ सयको हारहारीमा थियो । अहिले नेप्से सुचांक १६७५ मा आउँदा स्टाण्र्ड चार्टर्ड बैंकको प्रतिकित्ता शेयर मुल्य ३ हजार ३ सय, नबिलको २ हजार २ सय र इन्भेष्टमेण्ट बैंकको १ हजार रुपैंया मात्र छ । यसले के जनाउँछ भने अहिलेको बजारमा पनि बैंकहरुको शेयर मुल्य अण्डर भ्याल्लुड हो, जसले लगानी गर्न हिचकिचाउनु पर्ने अवस्था देखिंदैन । बजारमा अहिले देखिएको उतार चढावले पनि बैंकमा भएको लगानीलाई खासै असर नकरात्मक पार्दैन ।

बजार सुचांक बढ्नमा राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको ४ गुणा पूँजी वृद्धि गर्ने निर्णय गर्यो । जसले बजारलाई एउटा उचाईसम्म पुर्यायो । अनिवार्य डिम्याट शेयरको मात्र कारोबार हुने प्रणालीले राफसाफ प्रकृयामा सहजता आउँदा पनि बजारले उचाई लिन सहयोग पायो । कागजी शेयर प्रमाण पत्रको युगको झण्डै समाप्ती हुनुु, राफसाफ ३ दिनमा पुरा हुनु, मार्केट डेफ्थ बाट शेयर बेच्ने र किन्नेको प्रत्यक्ष भेट हुनु, ब्रोकर कमिशन दरमा ४० प्रतिशतले कटौती हुनु, बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी लगायत सुचिकृत कम्पनीहरुको राम्रो प्रगती भएको वित्तीय विबरण प्रकाशित हुनु, राम्रा कम्पनीमा हकप्रद भरेर भए पनि उच्च प्रतिफल लिन सक्नु, बोनस तथा नयाँ शेयर अर्थात एफपिओबाट पनि राम्रो प्रतिफल लिन सक्नु लगायत कारणले पनि बजारलाई गत साताको उचाईमा पुर्याउन टेवा पुर्याएको हो ।

साथै बजारमा अन्य सुधारका कामहरु निकट भविष्यमा नै हुँदैछन्, चाहे नागरिक लगानी कोषलाई मार्केट मेकरका रुपमा भित्र्याउने सन्दर्भ होस् वा पुर्ण स्वचालित कारोबार प्रणाली वा स्टक ब्रोकरलाई राजधानीबाट बाहिरसम्म डोर्याउने विषय होस् यसले पनि बजारलाई थप उत्साहित बनाउने आधार हुन ।

ब्रोकरहरुलाई मार्जिन ल्याण्डिंग, वाणिज्य बैंकलाई ब्रोकरको अनुमती दिने, नेप्सेमा नयाँ प्रणाली तथा पुर्वाधार बिस्तार गर्ने क्रममा अन्तर्राष्ट्यि स्तरमा टेष्टेड प्रणाली भित्र्याउने, सिडिएससीको बलियो उपस्थितीसंगै देशव्यापी रुपमा शेयर कारोबार हुन सक्ने अवस्था छिट्टै श्रृजना हुने, गैर आवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने लगायतका कारणहरुले गर्दा शेयर बजारको भविष्य उज्वल भएको हुनाले लगानीकर्ता बजारतर्फ आकर्षित भएका हुन् ।

अहिले कोही पनि लगानीकर्ता शेयर बेचेर बाहिरिएका छैनन् । तर बजारमा चलेको निरर्थक हल्लाका कारण आत्तिएका भने पक्कै हुन् । बजारको नियमित प्रकृया अन्तरगत नै शेयर खरिद बिक्रि भैरहेको छ ।

बजारमा चलाइएको हल्ला सन्दर्भमा कालो धन र कालो भुतको विषयमा धन भनेको धन नै हो, लक्ष्मीजी नै हो र धन कालो र सेतो हुँदैन । खाली स्रोतको मात्र कुरा हो । यसको लागि पहिले देखि नै नियमकहरु छन्, र ती निकायले आफ्नो काम गरिरहेका छन् । धितोपत्र बोर्डले यसलाई सधैं जसो हाइलाइट गर्नुपर्ने जरुरी छैन कि जस्तो लाग्छ ।

१० लाख रुपैंया माथिको चेकको सन्दर्भमा शेयर बजारमा धेरै कम रकमको शेयर कारोबार हुँदाको कुरा हो, जुन बेलाको शेयरको भाउ थोरै थियो । १० लाख रुपैंयाको थ्रेसहोल्डलाई समयको माग अनुसार अहिलेको कारोबारको आकार अनुसार रुपान्तरित गर्नु जरुरी छ । केही समय अघि सम्म २० लाख रुपैंया माथिको व्यापारलाई अनिवार्य भ्याटको दायरामा ल्याउने व्यवस्थालाई पनि परिमार्जन गरेर भ्याटको दायरा ५० लाख रुपैंया पुर्याइनुले पनि यसलाई उजागर गर्छ ।

किन छ सम्भावना पूँजी बजारमा ?

वाणिज्य बैंकको प्रशंगमा राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बैंक र वित्तीय संस्थाको पूँजी अनिवार्य रुपमा ४ गुणाले बढाउनु पर्ने व्यवस्था नेपालको प्रगतीको लागि अत्यन्त जरुरी थियो । सोही अनुरुप २०७४ साल असार मसान्त भित्रमा तोकिएको पूँजी बिस्तार गर्नका लागि बोनस, हकप्रद र नयाँ शेयर निष्काशन भैरहेका छन् । बैंक र वित्तीय संस्थाहरुको प्रतिशेयर आम्दानी नघटोस भन्नका लागि सबै बैंकहरुले व्यवशाय बिस्तारका क्रममा देश भरीमा १ सय २० भन्दा बढी शाखाहरु बिस्तार गरिसकेका छन् भने धमाधम अरु शाखा पनि बिस्तार हुने क्रम जारी नै छ ।

बैंकहरुले म्युचुअल फण्ड, माइक्रोफाइनान्स र शेयर रजिष्ट्रार लगायत क्षेत्रमा पनि काम गरिरहेका छन्, यो क्षेत्रमा बैंकहरुले हात हाल्ने क्रम पनि बढ्दै छ । यसले पनि बैंकहरुको आम्दानीलाई वृद्धि गर्न टेवा पुर्याइरहेको छ । फेरी वाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको जिम्मेवारी पनि दिने सन्दर्भमा बहस चलिरहेका छन् र यो छिट्टै निष्कर्षमा पुग्दैछ । यसरी बैंकहरुले आफ्नो क्षमता र प्रभावकारिता अनुसार काम गर्ने प्रकृतिमा बढोत्तरी गरि समग्र मुलुकको अर्थतन्त्रलाई नै टेवा पुग्ने क्षत्रमा लगानी अभिवृद्धि गरिरहेका छन् ।

यसको फलस्वरुप बैंकहले गरेको प्रगती गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरणदेखि नै देखिन थालि सकेको छ । जहाँ बैंकहरुको प्रतिशेयर आम्दानी पनि पूँजीसंगै बढेर लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने क्षमता बनाएका छन् ।

आजको दिनमा पनि म भन्न चाहन्छु कि वाणिज्यहरुको शेयर मुल्य अझै पनि अण्डर भ्याल्युड छ । यस अर्थमा आजको दिनमा बैंकहरुको शेयरमा लगानी गर्नु सुरक्षित छ भन्ने मेरो बुझाई हो । यसको आधार के हो भने आज लगानी गर्दा लगानीकर्ताले वार्षिक १० प्रतिशतको व्याजदर, वार्षिक मुद्रा अवमुल्यनको दर औसतमा पाँच छ प्रतिशत जोडेर हुने खर्च भन्दा पनि बैंकहरुमा गरेको लगानीले दिने प्रतिफल उच्च हुन्छ । यसमा अलिकति पनि शंका नगर्दा हुन्छ ।

त्यस्तै बीमा क्षेत्रमा जीवन र निर्जीवन बीमा कम्पनीहरु दुवैको पूँजी अत्यन्त कम छ । राष्ट्र बैंकले जस्तै बीमा समितिले आगामी दिनमा पूँजी वृद्धि गर्दा जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको ४ अर्ब बनाउन आवश्यक प्रकृया अघि बढाएको अवस्था छ । यसमा अलिकति थपघट हुन सक्ने आधारहरु पनि छन् । र बीमा क्षेत्रमा पनि शंका गर्नु पर्ने अवस्था छैन ।

नेपालमा निर्जीवन बीमा कम्पनीको संख्या जम्मा डेढ दर्जनको हाराहारीमा मात्र छ । यी कम्पनीहरुको पूँजी हेर्दा औसतमा ३० करोडदेखि ३५ करोडको हाराहारीमा रहेको देखिन्छ । यस आधारमा डेढ दर्जन निर्जीवन बीमा कम्पनीहरुको पूँजीलाई जोडेर हेर्ने हो भने जम्मा ५ अर्ब ५० करोड जति पूँजी लगानी भएको छ । यो अहिलेको एउटा वाणिज्य बैंकको हाराहारीको रकम मात्र हो । अहिलेको व्यवस्था अनुसार नयाँ बीमा कम्पनी स्थापना गर्न पनि नपाउने व्यवस्था छ । भनाईको तात्पर्य यो हो कि, नेपालको बीमा व्यवशायमा अब अहिलेका कम्पनीको हिस्सा खोस्न थप नयाँ कम्पनी आउने छैनन् ।

भुकम्प पछि कतिपय क्षेत्रमा बीमालाई अनिवार्य गराइएको छ । यसले बीमा कम्पनीहरुको व्यवशाय पनि निरन्तर बढेको देखिन्छ भने आगामी दिनमा पनि यसले निरन्तरता पाउने अवस्था छ । यसरी बढेको बीमा व्यवशायबाट आउने प्रतिफल कम्पनीका लगानीकर्ताले पनि पाउँछन् भने हकप्रद र नयाँ शेयर निष्काशनबाट कम्पनीहरुले पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

त्यसै गरि जीवन बीमा कम्पनीहरुको संख्या छ सात वटा मात्र छ । उनीहरुको पनि चुक्ता पूँजी थोरै छ । नेपालको कुल जनसंख्याको तीन चार प्रतिशत जनसंख्याले मात्र जीवन बीमाको सेवा लिइरहेका छन् । जबकी यो जीवन बीमा दर छिमेकी मुलुक भारतमा २० प्रतिशत भन्दा माथि छ । यस आधारमा पनि जीवन बीमा क्षेत्रको सम्भावना अधिक भएकाले कम्पनीहरुले क्षमता तथा पूँजी बिस्तारका लागि बोनस, हकप्रद, नयाँ शेयर निष्काशनका प्रकृयालाई निरन्तरता दिंदै जान्छन् यो संगै उनीहरुको व्यवशाय बिस्तार पनि तिब्र हुने कुरालाई नकार्न सकिन्न ।

आउने पाँच छ वर्षमा बीमा क्षेत्रले अहिलेको भन्दा धेरै प्रगती गरिसकेको हुनेछ भने अहिलेको भन्दा धेरै जनसख्या बीमा सेवाको पहुँच भित्र आइसकेको हुनेछ । यसमा छोटो समयका लागि र लामो समयका लागि लगानीकर्ताले गर्ने लगानीले उच्चतम प्रतिफल पाउँछन्, यो कुरा पक्का हो । अब अहिले १ दिन बजारमा सामान्य संकुचन आयो भनेर किन आत्तिने ?

यदि अहिलेकै सन्दर्भमा कुरा गर्ने हो भने लगानीकर्ता जुन लक्ष्य लिएर बजारमा प्रवेश गरेका छन्, उनीहरु रित्तोहात बाहिरिन खोज्दै छन् । किनभने गत आर्थिक वर्षको सुचिकृत कम्पनीहरुले लगानीकर्तालाई बितरण गर्ने प्रतिफलको प्रसंग सुरु हुँदै गर्दा ती लगानीकर्ता बाहिरिन खोज्नु अनि आत्तिनु भनेको हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । किनकी आज शेयर बेचेर निस्कियो, भोलि सबै कम्पनीको लाभांसको कुरा आउन थाले पछि बजारले फेरी आफ्नो स्थान बनाउने छ, अनि जो अहिले बाहिरिन चाहन्छन् उनीहरुलाई बल्ल पछुतो हुनेछ ।

चौथो त्रैमासिक वित्तीय विबरण निकालेका झण्डै दर्जन वाणिज्य बैंक, २ दर्जन बढी विकास बैंक, फाइनान्स कम्पनीको वित्तीय विबरणले अहिले बजार झर्नु पर्ने कुनै आधार देखाउँदैन, बरु उल्टै उनीहरु विगतको भन्दा उच्चतम प्रतिफल दिन सक्ने आधार बनाएर उदाइ रहेका छन् । यस आधारमा प िनगत आर्थिक वर्षको बोनसले मात्र पनि अहिलेको बजारलाई यथास्थानमा राख्न सक्छ भन्ने मेरो बुझाई हो र बीमा कम्पनीहरुको हकमा पनि यो कुरा लागु हुन्छ । अहिले त एक सातामा बजार झण्डै ११ प्रतिशतले मात्र करेक्सन भएको छ, यहि अवस्थामा अब बजार अडिन सक्ने हो भने पनि सुचिकृत कम्पनीहरुले औसतमा २५ प्रतिशतको हारहारीमा लगानीकर्तालाई प्रतिफल दिन सक्छन् र त्यो बेला फेरी नेप्सेले ऐतिकासिक रेकर्ड बनाउने निश्चित ।

अहिलेको शेयर बजार कुवाबाट समुद्रको रुपमा परिणत भैसकेको छ । गागर सागरमा परिणत भैसकेको छ । पहिले हजारको संख्यामा सिमित रहेका लगानीकर्ताको संख्या अहिले लाखौंमा पुगिसकेको छ । माझिले चिच्याउँदैमा उर्लिएर आएको बाढी रोकिन्न, किनकी अहिले नेपालको शेयर बजार दशक पहिलेको भन्दा धेरै आधुनिक र आकारका हिसाबले पनि बिशाल भैसकेको छ ।

हाम्रो छिमेकी मुलुक भारतको शेयरको सुचांक २ सय देखि ३ सयको हारहारीबाट बढेर आजको दिनमा २७ हजार अंकभन्दा माथि पुगेको छ । त्यसै गरि दक्षिण एशियाली मुलुकका बंगलादेश, श्रीलंका लगायत मुलुकमा पनि शेयर बजार परिसुचक ४ हजार ५ सय अंकभन्दा माथि छन् । यदि नेपालको शेयर बजारको उचाई तोकेर कति अंकमा गएर बस्नु पर्ने भन्ने आधार सहितको जवाफ कोहीसंग छ भने बजार घट्नु र बढ्नुको पनि उसले प्रष्ट जवाफ दिन सक्नु पर्छ । हैन भने धितोपत्र बोर्डले पनि सोमबार एकाएक किन लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गर्दै विज्ञप्ती निकाल्यो त ? उसले पनि भनेको छ कि बजार घट्नु पर्ने कुनै कारण छैन, तर बढ्नका लागि गत आर्थिक वर्षको प्रतिफल काफी छ ।

वास्तविकता यहि हो कि बजार कति बढ्ने भन्ने कुरालाई कसैले अन्दाज गर्न सक्दैन, बिना कुनै कारण अचानक बजार घट्दा बोर्डले अन्तिम समयमा चासो देखाउनु सकरात्मक छ, लगानीकर्ताले पनि किन बजार घट्यो त ? यसको खास कारण के हो भनेर वास्तविकता त बुझ्न पर्छ । मेरो भनाई यत्ति हो कि अहिले बजार कुनै कारणले घटेको हैन, धितो पत्र बोर्डले पनि विज्ञप्तीबाट यस्तै भनेको छ । लगानीकर्ता आत्तिनु पर्ने कुनै जरुरत छैन । अहिले घटेको बजार पनि अब आउने प्रतिफलले रिकभर गर्न सक्छ आत्तिनु पर्ने कुनै काराण छैन, बरु सस्तोमा शेयर किन्ने मौका पाउनु भएको छ, यसको सदुपयोग गर्नुहोस् । 

- यस लेखका लेखक रौनियार लगानीकर्ता एवं विष्लेषक हुनुहुन्छ ।


यो लेख तयार गर्दै गर्दा धितोपत्र बोर्डले कालोधनका सम्बन्धमा फैलाइएको समाचार निरर्थक भएको भन्दै त्यस्तो कुनै अनुसन्धान नगर्ने प्रष्टोक्ति सहितको विज्ञप्ती जारी गरेको छ ।

यो पनि पढ्नुहोस् ।

धितोपत्र बोर्डले भन्यो - 'लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था छैन्', यस्तो छ बोर्डको विज्ञप्ती

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।