पहिलो दिन आइतबार २० गुणाभन्दा बढीको आवेदन परेको शेयरमा दोस्रो दिन सोमबार मात्र १ अर्ब १८ करोड रुपैंयाभन्दा बढीको आवेदन परेको हो । भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गरेको कम्पनीको शेयरका लागि पहिलो दिन १७ हजार वटा आवेदन गरेकोमा सोमबार थप २६ हजार आवेदन परेको हो । मंगलबार र बुधबारसम्ममा अझै धेरै आवेदन पर्ने सम्भावना छ । ठुलो रकमको आवेदन बुधबार मात्र पर्ने भएका कारण पनि साधारण शेयर माग गर्नेहरु डेढ सय गुणाको हाराहारीमा पुग्ने आंकलन गरिएको छ ।
लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । निष्काशित ४ लाख कित्ता साधारण शेयरमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँड भैसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकएनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति समेत गरेको छ ।
कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र बढीमा ४ हजार कित्ता अर्थात चार लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ ५ आइतबारदेखि खुल्लेको शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयरका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका निम्न स्थानहरुबाट आवेदन दिन सकिनेछ ।
आरएसडिसी लघुबित्त कस्तो कम्पनी हो ?
आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त 'घ' वर्गको राष्ट्रिय स्तरको 'थोक लघुकर्जा' प्रदायक वित्तीय संस्था हो ।
रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको सन्दर्भमा १० करोडको पूँजीलाई कम्पनीले ६० करोड बनाउनु पर्ने हुन्छ ।
आरएसडिसी लघुवित्तमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १ सय ७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दै आएको छ ।