सेयर लगानीकर्ताले थाहा पाउनैपर्ने तीन कुरा, तर नियामक आँखा चिम्लिरहेका छन्

Sep 04, 2016 merolagani

रविन्द्र भट्टराई


सुन्दा सामान्य लाग्न सक्छन् तर सेयर लगानीकर्ताका लागि यी तीनवटै विषयले निकै महत्व राख्छन् । यद्यपि, नियामकले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएका छैनन् या भनौं, नियामक मुकदर्शक बनेका छन् । लगानीकर्ता बिचरा बनेका छन् । तर, अब नियामक निकायले यी विषयमा आँखा पुर्याउनैपर्छ ।


१. जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने हरेक लगानीकर्तालाई कम्पनीले परियोजनाको अवधि र सरकारलाई परियोजना हस्तान्तरण गर्ने समयबारे जानकारी दिनैपर्छ । तर, दिने गरिएको छैन । आन्तरिक खपतका लागि निर्माण गरेका जलविद्युत् आयोजना निर्माण अनुमति पाएको ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने बाध्यकारी नियम छ । सोहीअनुसार सम्झौता गरिएको हुन्छ । तर, कसरी हस्तान्तरण हुन्छ र हस्तान्तरणपछि सर्वसाधारणको सेयर के हुन्छ भन्ने स्पष्ट नियम छैन । नियमसंगत काम गर्दा आयोजना सरकारलाई हस्तान्तरण गर्नैपर्छ, जुन कुरा सम्र्पूण सेयर लगानीकर्ताले थाहा पाउन आवश्यक छ । चाहे संस्थापक होस या सर्वसाधारण सेयरधनी । तर, जलविद्युत् कम्पनीले थाहा दिँदैनन् ।


जलविद्युत कम्पनीलाई सेयर निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले समेत यो सूचना अनिवार्य गर्ने कुरामा आँखा चिम्लिदिएको छ । सूचनामा पारदर्शिता खोज्ने बोर्ड सेयर निष्कासनको स्वीकृति दिँदा विवरणपत्र, आह्वानपत्र तथा अन्य सूचनामा यो कुरा स्पष्टसँग उल्लेख गराउन किन चाहँदैन ? अबका जलविद्युत कम्पनीका निष्कासनमा ठूला अक्षरमा देखिने गरी यति वर्षपछि यो आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ भनेर हरेक सूचनामा लेख्ने व्यवस्था गरिनुपर्छ ।


२. कम्पनी सञ्चालनको महत्वपूर्ण जिम्मेवारी यसको सञ्चालक समितिमा हुन्छ । सञ्चालक समिति सेयरधनी (कम्पनीका मालिक) का प्रतिनिधि हुन् । कम्पनी ऐन २०६३ अनुसार कम्पनीमा कम्तिमा तीन बढीमा एघारजनासम्म सञ्चालक हुने व्यवस्था छ । कम्पनीका सेयरधनीको सम्पत्ति बढाउने या डुबाउने भन्ने यिनकै हातमा हुन्छ । यसैले सञ्चालक समितिलाई ‘डाइरेक्टरस आर द ड्राइभर अफ द कम्पनी’ पनि भनिन्छ । बाँकी सेयरधनी वा मालिक त केवल गाडीका यात्रुजस्ता मात्रै हुन् । सेयरमा लगानी गर्नुभन्दा अगाडि सञ्चालक को–को छन् र उनीहरू अन्य कहाँ–कहाँ आबद्ध छन् भन्ने जान्नु निकै महत्वपूर्ण हुन्छ । प्रायशः नियामकले पनि सर्वसाधारण लगानीकर्तालाई सेयर किन्नुअघि कम्पनीको सञ्चालकका बारेमा बुझ्न सल्लाह दिन्छन् । धितोपत्र बोर्डले पनि बारम्बार यो कुरा दोहो¥याउँछ । तर, सञ्चालकका बारेमा बुझ्ने कसरी ?


वेबसाइटमा कतिपय कम्पनीले सञ्चालकको फोटो राखेका हुन्छन् । फोटो वार्षिक प्रतिवेदनमा पनि हुन्छ । के यो फोटोले उसको योग्यता, अनुभव, ऊ संलग्न रहेको अन्य पेसा, व्यवसाय आदिलाई बताउँछ ? बताउँदैन । धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र बिमा समितिलाई सर्वसाधारणको लगानीको चिन्ता भए हरेक कम्पनीले सञ्चालक र कार्यकारी प्रमुखको विस्तृत व्यक्तिगत विवरण (बायोडाटा) यिनको वेबसाइटमा अनिवार्य राख्नुपर्ने व्यवस्था गर्नुपर्छ, जसबाट सर्वसाधारणले सञ्चालकबारे केही मात्र भए पनि बुझ्ने मौका पाउँछन् ।


राष्ट्र बैंकले बैंकका सञ्चालकका बारेमा सबैभन्दा बढी बहस गर्छ । बैंकका सञ्चालकले बैंकिङ कुरा कम बुझेका कारण धेरै बैंक समस्यामा परेको गुनासो हालका तथा यसअघिका गभर्नरले बारम्बार बताउँदै आएका छन् । केही समयअघि जारी गरिएको मौद्रिक नीतिमा बैंकका सञ्चालकलाई ‘सञ्चालक शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने जनाएको छ तर राष्ट्र बैंक स्वयंले बैंकका सञ्चालकको विस्तृत विवरण बेवसाइटमा अनिवार्य राख्नुपर्ने व्यवस्था भने गर्न सकेको छैन । राष्ट्र बैंक सेयरधनीको विषयमा कम सम्बन्धित छ । निक्षेपकर्ताको अधिकारको विषयमा बढी चिन्तित छ । तर, के बैंकमा निक्षेप राख्नेले चाहिँ सञ्चालकको बारेमा बुझ्न आवश्यक छैन ? यसको जवाफ राष्ट्र बैंकले दिनुपर्छ ।


३. नेपालमा सञ्चालन गरिएका म्युचुअल फन्ड बन्दमुखी (क्लोज इन्डेड) हुन् । यी निश्चित समयका लागि सञ्चालित छन् । अहिले सञ्चालनमा रहेका फन्ड ५ देखि ७ वर्ष अवधिका छन् । समय सकिएपछि फन्डको सबै सम्पत्ति बिक्री गरेर दायित्व र खर्च कटाएर बाँकी रहेको पैसा इकाइ धनी (सेयरधनी) लाई फिर्ता गरिन्छ । यसरी बाँकी रहेको पैसालाई खुद सम्पत्ति मूल्य पनि भनिन्छ । तर, यी म्युचुअल फन्डले हरेक महिना प्रकाशित गर्ने वित्तीय विवरणमा धितोपत्र बोर्डबाट कोष सञ्चालन गर्न स्वीकृति पाएको मिति उल्लेख गर्छन् तर कोष कहिलेसम्म सञ्चालन हुने भन्ने उल्लेख गर्दैनन् ।

यसैगरी, कोषका इकाइ दोस्रो बजारमा पनि कारोबार हुने भएकाले यी इकाइको अवधि (समय) सकिनुभन्दा कति दिनअघि सम्म दोस्रो बजारमा किनबेच गरिन्छ भन्ने पनि उल्लेख गरिएको हुँदैन । समयावधि तोकिएका फन्डले लगानीकर्तालाई यी दुईवटा सूचना अनिवार्य दिन आवश्यक हुन्छ । यी फन्डले हरेक महिना प्रकाशित गर्ने वित्तिय तथा लगानी विवरणमा दुबै मिति स्पष्टसँग लेखिनुपर्छ । तर, लगानीकर्ताले अनिवार्य पाउनुपर्ने सूचना नपाइरहँदा पनि धितोपत्र बोर्ड रमिते बनिरहेको छ ।
तर, खुलामुखी (ओपन इन्डेड) म्युचुअल फन्डलाई भने सञ्चालन अनुमति नै पर्याप्त हुन्छ किनकि यसको समयावधि हुँदैन । नेपालमा खुलामुखी फन्ड कसैले पनि सञ्चालनमा ल्याएका छैनन् ।

भट्टराई सेयर बजार विश्लेषक हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।