पहिलो घटना
सोमबारदेखि एउटा बाणिज्य बैंकलाई अर्को बाणिज्य बैंकले किन्दैछ भन्ने हल्ला जोडतोडले चल्यो । केही लगानीकर्ताहरु सोमबार त्यसैमा हो मा हो मिलाउँदै मूल्य १० प्रतिशत बढाएर शेयर किन्न दौडिए । त्यसको प्रभाव मंगलबार पनि देखियो तर हल्लालाई आधार दिने कुनै तथ्य फेला पर्न सकेन र बजार सुस्ताएसँगे त्यो शेयरको भाऊ पनि सुस्तायो । हल्ला चलाईएका दुबै बाणिज्य बैंकको शेयर किन्ने भन्दा बेच्ने कयौं धेरै देखिए, जो शेयर बेच्न दौडिए उनीहरु कारण थाहा पाएर हैन, हल्लाको प्रभाव नै मुख्य थियो भन्ने देखियो ।
भएको के रहेछ भने कुनै एउटा शेयर दलालको कार्यालयमा सोमबार त्यस बाणिज्य बैंकको शेयर अलि बढी संख्यामा किन्न सुरु भएछ । बजारमा अरु बाणिज्य बैंकको भन्दा सस्तो मूल्य भएकाले शेयर किनेर राख्दा केही फरक नपर्ला भन्ने सोचाई सुरुको शेयर किन्ने लगानीकर्ताहरुमा रहनु स्वभाविक छ । पछि त्यही कुरालाई लौ फलानो बैंकले किन्ने भएछ भन्ने तहमा हल्लाको बिकास गरिएछ र सारा बजा।र प्रभावित हुने गरी १० प्रतिशत मूल्य बढाएर किन्नेहरुको ओईरो लागेछ ।
दोस्रो घटना
मंगलबार दिउँसो दुई बजेसम्म शेयर बजारमा उत्साहपूर्ण नै कारोबार भईरहेको थियो । नेप्से बढेकै थियो र कारोबार रकम पनि अघिल्लै दिनको जसरी बढ्दै थियो । एक्कासी कसैले हल्ला चलाईदियो, लौ बेंक तथा बित्तीय संस्था सम्बन्धी ऐन अर्थात बाफियालाई बैंकर सांसदहरुले भने जस्तै हुबहु संसदमा लगिने भयो रे । त्यसपछि एक शेयर दलालबाट अर्को शेयर दलालको कार्यालयमा हल्ला फैलिएसँगै बजार तीब्र रुपमा घट्न थाल्यो, प्रायः सबै कम्पनीका शेयर मूल्य अघिल्लो दिनभन्दा तल आए र नेप्सेमा २० अंकको गिरावट आयो । जब हल्लाबारे मानिसहरुले बुझ्दै गए, बजार सम्हालिन थाल्यो र अघिल्लो दिनभन्दा ४ अंक तल आएर मात्र बजार बन्द भयो ।
अर्थ मन्त्रालयमा मंगलबार अपरान्ह ३ बजे पछि बस्ने गरी अर्थमन्त्रीस्तरको बैठक राखिएको थियो र त्यहाँ मन्त्रालय भित्रका बिषयहरुमा छलफल हुने कुरा तय थियो तर त्यसैलाई आधार बनाएर हल्ला फैलाउनेहरुले मौकाको फाईदा उठाए । अर्थ मन्त्रालयको प्रस्तावमा संसदको पूर्ण बैठकले फेरि अर्थ समितिमै फिर्ता गरेको बाफियाको मस्यौदालाई अर्थ मन्त्रालयले एकलौटी रुपमा संसदमा प्रस्तुत गर्ने आधार एकदम कमजोर छ । संसदले निर्देश गरेको बिषयहरुलाई अर्थ समितिले टुंगो लगाएपछि मात्र अब बाफियाको मस्यौदा फेरि संसदमा जानेछ । तर भएको चाँही के छ भने अर्थ समितिले बाफियाको बिबादित बिषयमा छलफल गर्नमै ढिलाई गरेको छ र यसले अन्योल अरु बढाएको छ ।
यी दुबै घटनाहरुमा मेरोलगानी डटकमले वास्तविकता पत्ता लगाउने र लगानीकर्तालाई सही जानकारी दिने प्रयास गरेको थियो । कतैबाट पनि हल्लालाई पुष्टि गर्ने गरी आधिकारिक कुरा नआएको बिषय पनि समाचारमा उल्लेख थियो ।
सिक्नुपर्ने पाठ
अरुले चलाएको हल्लाका पछाडि लागेर लगानी गर्ने र लगानी झिक्ने गर्न थाल्नुभयो भने तपाइँको कमाई क्षणभरमै गुम्न बेर छैन । हल्लाका पछाडि आधार छन् भन्ने यकिन नगरीकन कौवाले कान लग्यो भन्दै कौवाको पछि कुद्ने तर कान नछाम्ने प्रृबृत्ति लगानीकर्ताले त्याग्नैपर्छ । आफ्नै अध्ययन, बिश्लेषण र निर्णयले राम्रो कम्पनीको सस्तो शेयरमा लगानी गर्नेहरु अहिले आत्तिनु पर्दैन, राम्रो कम्पनीको सस्तो शेयरमा लगानी गर्नेहरुका लागि अहिले पनि सुबर्ण अवसर छ ।
कम्पनीहरुले भटाभटी लाभांश घोषणा गर्दै आफ्नो पूँजी बृद्धिका उपायहरु निकालिरहेकोबेला यो त लगानीकर्ताहरुले सम्पति बढाउने मौका हो । मुख्य प्रश्न यो हो कि तपाइँले दह्रो आत्मबिस्वास कायम गरेर राम्रो कम्पनीको सस्तो शेयरमा दीर्घकालीन लगानी गर्नुभएको छ कि छैन ?
खराब कम्पनी चिन्नुहोस्, सबैभन्दा राम्रोको शेयर किन्नुहोस्
शेयर बजारबाट लाभ लिन चाहनेले सबैभन्दा पहिले गर्नुपर्ने काम हो, कम्पनीको आधारभुत पक्षको अध्ययन । सुचिकृत कम्पनी मध्ये कुन खराब हो र कुन राम्रो हो भन्ने कुरा पहिले यकिन गरेपछि मात्रै राम्रा कम्पनीहरु छानी छानी शेयर किन्न सुरु गर्नुपर्छ नत्र यस्तो गोता पाईन्छ कि एकपटक फसेपछि शेयर बजारलाई जुवाघर भन्दै मुख नमीठो पारेर निस्कनेहरुकै नियति भोग्नुपर्छ ।
नेपालको शेयर बजारमा पनि थुप्रै राम्रा कम्पनी छन् र नराम्रा कम्पनी पनि उत्तिकै छन् । राम्रा कम्पनीहरु आफ्ना बारेमा हल्ला कम गर्छन तर नराम्रा कम्पनीहरु आफ्ना बारेमा खुबै हल्ला फैलाउँछन् र लगानीकर्तालाई भ्रममा पार्छन् अनि सर्वसाधारण लगानीकर्ता फस्ने त यस्तै कम्पनीमा हो ।
राम्रो र नराम्रो कम्पनी कसरी छान्ने ?
राम्रा र नराम्रा कसरी जाच्ने ?
१. सबैभन्दा पहिले कम्पनीहरुको बित्तीय बिबरण अध्ययन गर्न जान्नुपर्छ । बित्तीय बिबरण पनि यस त्रैमास, अघिल्लो त्रैमास, यस बर्ष र अघिल्लो बर्षको तुलनात्मक अध्ययन गरेपछि मात्रै सबै कुरा थाहा लाग्छ ।
२. कम्पनीका संचालक, प्रबद्र्धक र ब्यवस्थापकहरुको बारेमा राम्रो जानकारी हासिल गर्नुहोस् । मुद्धा र बिबादमा परेका, राम्रो छवी नभएका, खराब नियत भएका र शंकाष्पद ब्यवहार गरिरहेका संचालक, प्रबद्र्धक र ब्यवस्थापकहरु भएको कम्पनी भए त्यस्ता कम्पनीहरुले डुबाउनसक्छन् ।
३. माथिका दुई कुराहरुको अध्ययन गरिसकेपछि अर्को हेर्नुपर्ने पक्ष हो कम्पनीले गरेको प्रगति । तीन आर्थिक बर्षका बित्तीय बिबरणहरु भिडाउँदा कम्पनीले ब्यापार र खुद नाफा १५ डिग्री, ३० डिग्री र ६० डिग्रीको कोण बनाउँदै बढाएर लगेको छ र लाभांश बितरणमा पनि सोही अनुपात कायम गरेको छ भने मान्नुहोस्, त्यो कम्पनीको शेयरमा लगानी गर्नु सही छ । यसमा शेयर मूल्य, प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तुलना पनि उत्तिकै महत्वपूर्ण छ । राम्रो कम्पनी भन्दैमा मूल्य माथि उचालिएको बेला शेयर नकिन्नुहोस्, नत्र राम्रोमा पनि घाटा खानुपर्छ ।
४. नाम मात्रको बोनस दिने, हकप्रद मात्रै दिने र केही पनि नदिने कम्पनीहरुको शेयर किन्दै नकिन्नुहोस् । यस्ता कम्पनीहरु स्थिर वा पूँजी मात्रै बढाउँदै लगेका हुन्छन्, तपाइँसँग शेयर चाँही धेरै हुनसक्छ तर त्यो बेच्दा आउने पैसा निकै कम । बरु यस्ता कम्पनीको शेयर छन् भने बेचेर राम्रो प्रगति गर्दै गएको कम्पनीमा लगानी सार्नु निकै फाईदाजनक हुनसक्छ ।
५. मर्ज र एक्विजिशनमा जाने कम्पनीहरुको शेयर नकिन्नु नै बेश हुन्छ किनभने नेपालका नियमनकारी निकायहरुले लादेको नियम र मर्ज तथा एक्वििजिशन प्रक्रियामा हुने ढिलाईले यस्ता कम्पनीहरुको शेयर किनबेच लामो समयसम्म रोकिदा तपाईको लगानी फस्नसक्छ । आफुलाई आबश्यक परेको बेला आर्थिक गर्जो टार्न वा शेयर मूल्य बढेको बेला बेचेर नाफा सुरक्षित गर्न तपाइँ बन्चित हुनुहुने छ ।
६. नराम्रा कम्पनीहरुले बढी मिडियाबाजी वा हल्ला फैलाईरहेका हुन्छन् । राम्राहरु यसै राम्रा हुन्छन, अकबरी सुनलाई कसी लाउनु पर्दैन भने जस्तै हो । धेरै हल्लाखल्ला गर्ने कम्पनी भन्दा संस्थागत सुशासन राम्रो भएको, आफ्नो ब्यापार, सेवा सुबिधाको गुणस्तर बृद्धि र लगानीकर्ताहरुको हितमा सोच्ने कम्पनी खोज्नुहोस् ।