ठूला र संस्थागत लगानीकर्ताहरु कुनै कम्पनी मर्ज वा एक्विजिशनमा जान लाग्यो भन्ने सूचना पहिल्यै थाहा पाएर शेयर बेचेर बाहिर निस्कन्छन् किनभने उनीहरुले आफ्नो सम्पति धेरै लामो समयसम्म बन्धक रहन्छ भन्ने बुझेका हुन्छन् । उनीहरुलाई आफ्नो सम्पति बन्धक बनाएर राख्नु छैन, कम्तिमा ६ महिना भित्रमा त उनीहरुले त्यो पैसा अर्कै कम्पनीमा लगानी गरेर कयौं कमाईसकेका हुनेछन् । जब उनीहरुले शेयर बेचिरहेका हुन्छन् सर्वसाधारण लगानीकर्ता चाँही पछि सूचना थाहा पाएर के के न पाईन्छ भन्दै मूल्य उचालिएर शेयर किनिरहेका पाईन्छन् । यो घातक हुने गरेको मेरो अनुभव छ ।
एक बर्ष पहिले कमजोर र साना कम्पनीहरुको शेयर सस्तो थियो । त्यतिखेर त्यस्ता कम्पनीहरुमा लगानी गर्दा मर्ज वा एक्विशिजनमा गए ठूलो कम्पनीसँग मिसिदा स्वाप रेसियो कम भए पनि बढी मूल्य पर्छ भन्ने सोच्न सकिन्थ्यो तर अहिले कमजोर खालका साना कम्पनीहरुको पनि शेयर मूल्य उचालिएर माथि पुगेकाले ठूला कम्पनीहरुले दिने स्वाप रेसियोले धान्दैन र कम्तिमा ६ महिना कुरेर शेयर कारोबार खुल्ने समय कटाउँदा पनि घाटै खानपर्ने अबस्था हुनसक्छ । त्यसैले अहिले मर्ज र एक्विजिशनमा जाने कम्पनीहरुमा हतारमा मूल्य उचालिएर तछाड मछाड गरी लगानी नगरेकै राम्रो ।
यसो भन्दा यो त मर्ज र एक्विजिशन बिरोधी पो रहेछ भन्नुहोला । त्यसो कदापी हैन । मर्ज र एक्विजिशनले कम्पनीहरुलाई बलियो बनाउँछ । मर्ज र एक्विजिशनको हिसाब गर्दा एकमा एक जोड्दा दुई हैन तीन हुन्छ भन्ने सुत्र लगाईन्छ । तर सधै त्यसो पनि हुन्न । हेटौडाको यती फाईनान्स मर्जमा जानु अघि राम्रै कम्पनी थियो तर पछि मनकामना बिकास बैंक र भ्याली फाईनान्ससँग मर्जमा गएर यती डेभ्लपमेन्ट बैंक बनेपछि के भयो ? पूँजी र निक्षेप त बढ्यो तर जगेडा कोष र निस्क्रिय कर्जाको भारी कति लामो समयसम्म बोक्नु पर्यो भन्ने उदाहरण हाम्रै अगाडि छ । बिकास बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंक भन्ने धाक मात्रै लगाएर के गर्नु ? पाँच बर्ष हुँदा पनि लगानीकर्तालाई केही लाभांश खुवाउन सकेको छैन । बल्ल बल्ल निस्क्रिय कर्जाको भारी कम गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन लगानीकर्तालाई फेरि हकप्रदको भारी बोकाएकै छ । त्यतिखेर मर्जको हल्लामा ती तीन संस्थाको शेयरमा लगानी गरेकाहरुलाई आज शेयर मूल्य चार सय रुपैयाँ हाराहारीमा पुग्दा केही आश पलाए पनि लाभांश पाउन कम्तिमा अर्को एक बर्ष कुर्नु नै पर्नेछ ।
प्रभु समूहले धेरै खराब संस्थाहरुको उद्धार त गरेको छ तर अरुले तयार पारेको दल दलमा आफै फस्न पुगेकाले ग्राण्डलाई मर्ज गरेको लामो समयसम्म शेयर कारोबार खोल्न सकेको छैन । मर्जले राम्रै हुन्छ भन्नेलाई प्रभुको यो चालाले पनि शंका उब्जाईदिएको हुनुपर्छ । प्रभु फाईनान्स र किष्ट बैंकदेखिका लगानीकर्ताको पीडा हेर्ने हो भने मर्ज र एक्विजिशनमा जाने कम्पनीको शेयर किनेको राम्रो कि नराम्रो भन्ने कुरा स्पष्ट हुनसक्छ ।
त्यस्तै पीडा बैंक अफ काठमाडौ र लुम्बिनीका लगानीकर्ताको पनि हुनसक्छ । दुबै कम्पनीले सुरुमै शेयर स्वाप रेसियो र अन्य आधारभुत कुराहरु तय गरेर मर्जमा गई शेयर कारोबार रोकेका थिए । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाई गत असार मसान्तबाट बैंक अफ काठमाडौ लुम्बिनीको नाममा संयुक्त बैंकिड. कारोबार पनि सुरु भयो तर शेयर कारोबार कहिले खुल्ने हो अझै टुंगो छैन । अझै बैंक अफ काठमाडौले आईएलएफसी, श्री ईन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस फाईनान्सलाई गाभ्न खोज्दा लामो समय शेयर कारोबार रोकिएको पीडा संझने बैंक अफ काठमाडौका लगानीकर्तालाई त असह्यै नै होला ।
मेगा बैंक र पश्चिमान्चल बिकास बैंकका लगानीकर्ताहरुले लामो समयको प्रतीक्षापछि शेयर कारोबार गर्न पाए तर उनीहरुको पनि धैर्यताको बाँध फुट्ने नै अबस्था आईसकेको थियो । शेयर बजार उचालिएर १८८१ को बिन्दुमा पुगेको बेला मेगाको कारोबार खुलेकाले बढेको बजारमा त्यस बैंकका लगानीकर्ताहरुले किनबेच गर्न पाउँदा घाटा नाफा बराबर वा केही बढी नै भयो होला ।
सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकको मर्ज पुरा भएर समयमै शेयर कारोबार खुल्दा दुबै बैंकका लगानीकर्ता मालामाल भए । यसमा चाँही एकमा एक जोड्दा तीन भयो होला । त्यसो हुनुमा दुबै कम्पनीको बित्तीय अबस्था राम्रो हुनु, संस्थागत सुशासन कायम रहनु र शेयर बजार बढेकै बेला लगानीकर्ताले किनबेच गर्न पाउँदा शेयरको भाउ उचालिएर प्रति कित्ता ५९४ बाट १४०० रुपैयाँ नाघ्नु हो । तर शेयर बजार तीब्र ढंगले ओरालो लागेको बेला कारोबार खुलेको भए यसै होला भन्न सकिन्नथ्यो ।
तपाइँ भन्नुहोला, छोटो समयका लागि लगानी गर्ने र साना लगानीकर्ताका लागि मर्ज वा एक्विजिशनमा जाने कम्पनीको शेयर किन्नु घातक हुन्छ । एकहदसम्म ठीकै सोचाई हो । तर लामो समयसम्म शेयर कारोबार नखुल्दा त्यस्ता कम्पनीहरुको धेरै शेयर किनेर बस्ने ठूला लगानीकर्ताको पनि ढाडै भाच्चिन्छ । बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिएर किनिएको ठूलो परिमाणको शेयर बैंकमा बन्धक हुन्छ । न प्रमाण पत्र साट्न मिल्छ, न त बेचेर कर्जा नै तिर्न सकिन्छ । ब्याज तिर्दा तिर्दा हैरान भएर सबैभन्दा बढी पीडित त ठूला लगानीकर्ता नै हुन्छन् । त्यसैले नराम्रा कम्पनीहरु मर्ज वा एक्विजिशनमा जाने भए भन्दैमा हतारोमा महंगो मूल्यमा शेयर किन्नेहरु घाटैमा पर्नेछन्, चाहे उनीहरु साना, नयाँ, पुराना वा ठूला लगानीकर्ता नै किन नहुन् ।
मर्ज वा एक्विजिशनकै कारण शेयर बन्धक बन्दैन थियो भने लाखौ लगानीकर्ताले बजारको घटाई बढाईको लाभ लिनसक्थे, पोर्टफोलियो परिवर्तन गर्नसक्थे, महंगो ब्याजमा लिएको कर्जा तिरेर सस्तो ब्याजमा कर्जा दिने कम्पनीमा शेयर धितो कर्जा सार्न सक्थे वा बजारमा हुने जोखिम ब्यवस्थापनको उपाय अबलम्बन गरी आफुलाई सुरक्षित पार्न सक्ने थिए । तर मर्ज वा एक्विजिशनकै नाममा लामो समयसम्म शेयर कारोबार रोकिएकाले उनीहरु यसबाट बंचित भए ।
यसको मतलव यो हैन कि मर्ज वा एक्विजिशनमा जाने तयारी गरेका राम्रा कम्पनीको पनि शेयर किन्नु हुन्न । मज्जाले किन्ने हुन्छ तर मूल्य तल रहेको अबस्थामा आफुँसँग दीर्घकालीन लगानी गर्ने रकम छ भने मात्र । पीडाको अनुभुति नै गर्नुछ भने जे गरे पनि भयो ।
अब राष्ट्र बैंकले हालै जारी गरेको मर्जर तथा एक्विजिशनसम्बन्धी निर्देशनले सबै समस्या समाधान गरिदियो भन्नुहोला । मर्ज वा एक्विशिजन पीडित लगानीकर्ताको हकमा आशा गर्ने धेरै ठाउँ त्यसले पनि दिएको छैन । राष्ट्र बैंकले गाभ्ने, गाभिने वा एक्विजिशनको प्रक्रियामा रहेका सम्बन्धित संस्थाहरु सहमत भएको अवस्थामा राष्ट्र बैंकमा अन्तिम स्वीकृतिको निवेदन पेश गरे पश्चात् मात्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सक्ने विकल्प त अगाडि सारेको छ तर लम्बे प्रक्रियाको तगारो फेरि हालिएकाले आशा गरिए अनुरुप लगानीकर्ताले राहत पाउन सक्ने छैनन् ।
शेयर बजारमा अनाबश्यक चलखेल होला कि भनी मर्ज वा एक्विजिशनको प्रारम्भिक सम्झौता हुँदाको बखतमा शेयर कारोबारमा रोक लगाउनु जायज छ तर जब ड्यु डिलिजेन्स अडिट र स्वाप रेसियो तय हुन्छ अनि मर्ज वा एक्विजिशनको अन्तिम सम्झौता हुन्छ, त्यसपछि शेयर कारोबार खुला गर्नुपर्छ । अहिलेको पाराले लगानीकर्ताको हित संरक्षण हुँदैन । भारतमै मर्ज वा एक्विजिशनको सम्झौता भएर स्वाप रेसियो तय हुनासाथ शेयर कारोबार खुल्छ भने यहाँ महिनौ शेयर रोक्का रहनुपर्ने किन ? राम्रा कुरा त अरुबाट पनि सिक्नु नि ।
कति समयमा मर्ज वा एक्विजिशन सक्नुपर्ने हो र कति समय भित्रमा शेयर कारोबार चालु भईसक्नु पर्ने हो भन्ने समयावधि तोकिनु पर्दथ्यो, राष्ट्र बैंकले परिमार्जित ब्यवस्थामा त्यसलाई स्पष्ट गर्न सकेन । कम्पनीका संचालकहरुले गर्ने निर्णयको जिम्मेवारी सर्वसाधारण लगानीकर्ताले पनि लिदै अनन्तकालसम्म पीडा ब्यहोरेरै बस्नपर्ने यो कस्तो ब्यवस्था ? निमायक र कम्पनीका संचालकहरुको कारणले आम लगानीकर्ताले ब्यहोर्नु परेको आर्थिक हानीको क्षतिपुर्ति दावी गर्न कहाँ जाने ?
राष्ट्र बैंकले नयाँ ब्यवस्था गरिसके पछि पनि कतिपय बैंक तथा बित्तीय संस्थाहरुले सर्वसाधारण लगानीकर्ताहरुको पीडा समाधान गर्ने तर्फ चासो दिने संकेत देखाएका छैनन् । लामो समयसम्म लाखौ सर्बसाधारणको सम्पति बन्धक बनाएर बस्नेहरुलाई दबाब नपुगेकैले यो बेथिति भएको हो भन्ने कुरा स्पष्ट छ । नेपाल राष्ट्र बैंकले नीतिमा परिमार्जन गरेर केही खुकुलो ब्यवस्था गरे पनि सर्वसाधारण लगानीकर्ताको पीडाले उसलाई त्यत्ति पोलेको देखिन्न भने नेपाल धितोपत्र बोर्ड यस सवालमा निदाएरै बसेको छ । समस्या समाधानका लागि पीडित लगानीकर्ताहरु नै अब नजागी हुन्न ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।