गत वर्षको भदौ १ गते सेयर बजार परिसुचक नेप्से ११५९.९३ अंकमा रहेकोमा यस पटक भदौ २६ गते सोमबार नेप्से परिसुचक १८१८.६९ अंकमा पुगेको छ । राम्रा कम्पनीमा लगानी गरेकाहरुले यसबीचमा ६ गुणासम्म सम्पति बढाएर मालामाल भएका छन् । यसलाई तीन वटा आधारमा ब्याख्या गरिएको छ ।
सेयर मूल्य बढ्दा मालामाल
मेरोलगानी डटकमले नमूनाका रुपमा छनौट गरेका ३० वटा राम्रा कम्पनी मध्ये अधिकांशको सेयर मुल्य बढेर लगानीकर्ता नाफामा परेका छन् । यसमा निर्जिवन बिमा कम्पनीमा लगानी गरेकाहरुको सेयर मूल्य पाँच गुणा भन्दा बढीले बढेर लगानीकर्तालाई फाईदै फाईदा भएको अबस्था छ भने कतिपय बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्तमा पनि लगानीकर्ताले औधी कमाएका छन् । जस्तै शिखर ईन्स्योरेन्सको प्रतिकित्ता सेयर एक बर्ष अघि ९७५ रुपैयाँमा किनेका लगानीकर्ताले अहिले ३५३० रुपैयाँ पाएका छन्, यसमा २५०० रुपैयाँ भन्दा बढी रकम फाईदा भएको छ । एक बर्ष अघि सनराईज बैंक ४८७ रुपैयाँ प्रति कित्तामा किनेकाले अहिले ९८८ रुपैयाँ पाएका छन् ५०१ रुपैयाँ सिधै नाफा भएको छ । एक बर्ष अघि मुक्तिनाथ बिकास बैंक ५९५ प्रति कित्ताको दरले किनेकाहरुले १००४ रुपैयाँ भन्दा बढीले नाफा कमाएका छन् । एकबर्ष अघि १५४६ रुपैयाँ प्रति कित्ताका दरले डिप्रोक्स लघुबित्तको सेयर किनेकाहरुले अहिले मूल्य ३१३५ पुग्दा १५८९ रुपैयाँ कमाएका छन् ।
सबैको मूल्य कहाँ बढेको छ र, घटेको पनि छ भन्नुहोला, जसको सेयर मुल्य घटेको छ, त्यसमा लगानी गर्नेहरु पनि धेरै नाफामा छन् । बोनस सेयरको हिसाव गरेर हेरौंः
बोनस सेयरले झन् धेरै फाईदा
बोनस सेयर समेत जोडदा नाफा थामिनसक्नु नै हुन्छ । माथि सेयर मूल्य ५ गुणासम्म बढेर औधी नाफा भएका कम्पनीका लगानीकर्ताले बोनस सेयर समेत जोडे भने तपाइँ आफै चित्त खानुहुन्छ । शिखर ईन्स्योरेन्सले दिएको २४ प्रतिशत बोनस, सिद्धार्थ ईन्स्योरेन्सको २५ प्रतिशत, नेपाल ईन्भेष्टमेन्ट बैंकका ३३ प्रतिशत, सानिमा बैंकको २० प्रतिशत, मुक्तिनाथ बिकास बैंकको ३२ प्रतिशत लगायत सबै कम्पनीको बोनस पनि माथिको सेयर मूल्यमा जोड्नुभयो ? अब हिसाव गर्नुहोस्, । हो, सबै नाफामा छन् । त्यसमा पनि गत बर्षको खुद नाफाबाट यस बर्ष दिन बाँकी बोनस पनि जोड्नुहोस् । अब तपाइँले चित्त खानुभयो ?
यत्ति मात्रै कहाँ हो र , हकप्रदको हिसाव गर्ने बाँकी छ । त्यो पनि हेर्नुृहोस् ।
हकप्रदको आँकडा
माथि सेयर मूल्य बढेर औधी नाफा भएको पनि हेर्नु भयो र बोनस सेयरले झन् थामिनसक्नु भएको पनि देख्नु भयो । अब कम्पनीहरुले गत बर्ष घोषणा गरेका हकप्रद जोड्नु भयो भने सेयरबाट कमाउनेहरुको हिसाव किताब राख्न अलग्गै लेखापालको ब्यवस्था गर्नुपर्ने हुनसक्छ । छनौटमा परेका ३० मध्ये अधिकांश कम्पनीले हकप्रद जारी गरेका छन् वा यस बर्ष पनि जारी गर्दैछन् । एक सय रुपैयाँमा हकप्रद भर्दा उनीहरुले कम्तिमा पाँच सय मूल्य पर्ने शेयर पाईरहेका छन् ।
शेयर मूल्य बढेको, बोनस थपिएको, हकप्रदको बम्पर परेको हिसाव त निकाल्यौ । अब दीर्घकालीन लगानी गर्ने लगानीकर्तालाई कसरी फाईदा भयो भन्ने कुरा थाहा पाउन केही अध्ययन गरौं । उदाहरणका लागि ५९५ रुपैयाँ प्रति कित्ताका दरले मुक्तिनाथ बिकास बैंकको १०० कित्ता सेयर किनेका लगानीकर्ताको हातमा अब सुरुको १०० कित्ता, अघिल्लो बर्षको बोनस ३२, गत बर्षको हकप्रद ६६, यस बर्षको अनुमानित बोनस कम्तिमा ३० गरी २२६ कित्ता हुन्छ ।
५० प्रतिशत हकप्रदपछि मूल्य समायोजन हुँदा बुधबारको मूल्य १६०३ रुपैयाँबाट घटेर १००० रुपैयाँ नै प्रति शेयर मूल्य कायम भयो भने पनि ६० हजार रुपैयाँ एक बर्ष अघि लगानी गरेर दुई लाख २६ हजार रुपैयाँ सजिलै आम्दानी भएको हुनेछ । मुक्तिनाथ क्रमशः प्रगति गर्दै आएको, संस्थागत सुशासन राम्रो रहेको र लगानीकर्तालाई लाभांश पनि दिल खोलेर बाड्ने कम्पनी भएकाले उसको अबस्था खस्केला भनेर शंका मान्नु पर्दैन । मुक्तिनाथ मात्रै हैन, अरुको अबस्था पनि बलियो नै छ । यस्तै, नेपाल ईन्भेष्टमेन्ट बैंकको सवालमा तत्काल मूल्य घटे पनि दीर्घकालीन हिसाबले सबैभन्दा सुरक्षित छ ।
यसमा नगद लाभांशको अर्को पाटो छ भने सेयर बजार तलमाथि हुँदा लिईएको लाभको अलग्गै हिसाब हुनसक्छ ।
सेयर मूल्य बढेको, बोनस र हकप्रद पाएको मात्रै कुरा गरियो, कम्पनीको बित्तीय अबस्था चाँही हेर्नु पर्दैन ? भन्नुहोला । त्यो पनि हेरौं ।
हामीले छानेका कम्पनीमा पूँजी आधार राम्रो भएका र प्रति शेयर आम्दानी आकर्षक रहेका कम्पनीहरु छन् । कम्पनीको ग्राोथ नभएका र शेयर मूल्य धेरै बढेका कम्पनीहरुलाई हामीले अध्ययनमा समेटेका छैनौ । बिमांकीय मूल्यांकन नभएका कम्पनीहरु बाहेक सबैको प्रति शेयर आम्दानी २० रुपैयाँ भन्दा माथि नै छ । त्यस्ता कम्पनीमा लगानीकर्ताको लगानी जोखिममा छैन भन्ने कुरा चुक्ता पूँजी, जगेडा कोष र अन्य आधारभुत सूचकहरुले स्पष्ट गर्छन । यी कम्पनीहरुले आगामी दिनमा अझै धेरै राम्रो गर्नसक्ने प्रशस्त संभावना छ ।
अध्ययनको निष्कर्ष
सेयर बजार चाहे उकालो लागोस् वा ओरालो, तपाइँको लगानी बलियो, सुरक्षित र राम्रो लाभांश दिने कम्पनीमा नै हुनुपर्छ, त्यसो हुँदा कहिल्यै पनि आत्तिनु पर्दैन । संस्थागत सुशासन र बित्तीय आधार राम्रो नभएका, घाटामा गएका, सेयर मूल्य धेरै उचालिएका, बोनस सेयर दिन नसक्ने, हकप्रदको मात्रै हल्ला गर्ने, संस्थापकहरु खराब भएका कम्पनीमा तपाइँको लगानी रह्यो भने यसरी मालामाल हुने हैन, बर्षौसम्म पुर्पुरोमा हात राखेर बस्नुपर्छ । अरुले करोडौं कमाईसक्दा तपाइँ चाँही ऋणले थलिएर सुस्केरा हाल्दै हुनुहोला । त्यसैले अरुको लहै, लहै र हल्लामा हैन, आफ्नै अध्ययन बिश्लेषणले बेलैमा राम्रो कम्पनी छानौं, दीर्घकालीन लगानी गरौं, भबिष्यमा ढुक्कको प्रतिफल प्राप्त गरौं ।
नेपालको सेयर बजार बिस्तारित हुने चरणमा छ, दीर्घकालीन लगानी गर्नेले कहिल्यै घाटा खानु पर्दैन । फरक यत्ति हो, धेरै नाफा भए पनि सेयर नबेच्नेको नाफा डिम्याट खातामा हुन्छ, बेच्नेको हातमा पैसा हुन्छ ।
अरुले कमाए भन्दैमा उचालिएर सेयर नकिन्नुहोस् । अरुले हात्ती चढे भन्दैमा आफु चाही धुरी नढ्नु, लडिएला । प्रगति भन्ने कुरा बिस्तारै हुँदै जाने हो ।
नोटः तथ्य बिबरणहरु कम्पनीहरुले प्रकाशित गरेका सूचना र बित्तीय बिबरणहरुमा आधारित छन् ।
ध्यानाकर्षणः यहाँ प्रकाशित कुनै पनि सामाग्री मेरोलगानी डटकमको अनुमति नलिई अरु अनलाईन मिडियाले आंशिक वा पूर्ण रुपमा पुनः प्रकाशन नगर्नुहुन अनुरोध छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।