सेयर बजारमा ट्रेड मात्रै गर्नेहरु उच्च जोखिममा छन् -श्रीजेश घिमिरे, प्रमुख कार्यकारी,एनएमबी क्यापिटल

Sep 15, 2016 merolagani

हामी नियमित १२ देखि १५ प्रतिशत प्रतिफल सजिलै दिनसक्छौ
एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले भर्खरै मात्र आफ्नो दोस्रो योजनाको सार्वजनिक बिक्री खुला गरेको छ । एनएमबी हाइब्रिड फण्ड एल वान नामक यो योजनाको बिक्री शुक्रबार बन्द हुदैछ । यसै सन्दर्भमा प्रस्तुत छ, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेसँग सुरेन्द्र थापाले गरेको कुराकानीः

एनएमबि क्यापिटल अहिले के काममा व्यस्त छ ?

अहिले हाम्रो म्युचुअल फण्डको सेकेण्ड स्किम एनएमबी हाइब्रिड फण्ड एल वान खुलेको छ । त्यो भर्ने अन्तिम म्याद शुक्रबारसम्म हो । त्यो बाहेक त हाम्रो नियमित काम नै हो । ईस्यु म्यानेजर, अन्डर राइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, शेयर रजिष्ट्रार र सिडिएसको डिपोजिटरी पार्टिसिपेन्टको काम गरिरहेको छौ ।

दोस्रो योजना एनएमबी हाइब्रिड फण्ड एल वानको मुख्य विशेषताहरु के हो ?

यो योजना अलिकति कम जोखिमको उपकरण हो । यसमा आधा भन्दा थोरै बढी शेयरमा लगानी हुन्छ भने बाँकी चाही बन्ड, डिभेन्चर, फिक्स डिपोजिट लगायतका उपकरणहरुमा लगानी हुन्छ । यसले स्थिर प्रतिफल दिन्छ । यो कम जोखिम भएको उपकरण हो । हाम्रो पहिलो एनएमबि सुलभ फण्ड हो, त्यसमा शेयर तथा इक्विटी बढी भएकाले जोखिम पनि बढी र रिटर्न पनि बढी आउने खालको हो ।

के आधारमा यो योजना अरु भन्दा कम जोखिमपूर्ण छ ?

सबैभन्दा पहिला म्युचुअल फण्डमा लगानी गर्दा त्यसको उद्धेश्य हेर्नुपर्छ । लगानी त सबैले लगानी नै गर्ने हो । जुन फण्डले बन्ड, डिभेन्चर, फिक्स डिपोजिट जस्ता मनि मार्केट उपकरणहरुमा लगनी गर्यो भने कम जोखिम भयो, शेयरको त मूल्य तल माथि भईरहन्छ । जति बढी शेयरमा बढी लगानी हुन्छ, त्यसमा अलिकति बढी जोखिम हुन्छ नै । तर सँगसगै त्यसबाट आउने प्रतिफल पनि अलि बढी हुन्छ ।

यो दोस्रो स्किममा जोखिम नै छैन भन्ने होईन, जोखिम छ । तर यसलाई न्युनिकरण गर्न आफ्नो फण्डको ५० देखि ६० प्रतिशत मात्र शेयरबजारमा लगानी गर्छ । अरु रकम चाहि फिक्स ईन्कम अर्थात ब्याज प्राप्त हुने उपकरणमा मात्र लगानी गर्छ । जसले गर्दा शेयर मार्केट धेरै तलमाथि भएपनि केही फरक पर्देन र हामीले सोचे अनुसार १२ देखि १५ प्रतिशतको प्रतिफल सजिलै बाड्न सक्छौ । यो दोस्रो योजनामा हामीले धेरै जोखिम नलिने उद्धेश्य लिएकाले लाभांशको सबालमा त्यही अनुसार सोच्नुपर्छ भन्छौ । 

अब अहिले प्रायःजसो वाणिज्य बैकहरुले मर्चेन्ट बैंक खोलेका छन् । साथै नयाँ नयाँ योजना समेत ल्याउने क्रममा छन् । यसले सेयर बजारमा कस्तो प्रभाव पार्ला ?

म्युचुअल फण्ड आउने वित्तिकै एकहदसम्म बजार आफै स्वतः संस्थागत हुन जान्छ । यसले जहिले पनि संस्थागत र व्यवसायिक निर्णय लिन्छ । भारत, अमेरिकामा हेर्नोस्,संसारका जुनसुकै विकशित होस वा अविकशित देशमा, जहाँ म्युचुअल फण्ड छन्, त्यहाँको बजार आफै संस्थागत भएका छन् ।

एक हिसाबले एउटा म्युचुअल फण्डले अर्कोसँग प्रतिस्पर्धा गर्यो भन्ने सोच्ने हो भने त्यो गलत हो । हरेक फण्डको आ,आफ्नै उदेश्य हुन्छ, हामीले जारी गरेका दुई वटा फण्डकै भिन्न भिन्न उद्धेश्य छन् । त्यसैले लगानीकर्ताले जोखिम मूल्याङकन गर्नुपर्छ । पर्फर्मेन्स हेर्नुपर्छ । कसैले दश प्रतिशत, कसैले पन्ध,्र कसैले बीस र तीस प्रतिशत नै रिर्टन देलान् तर यसमा तीस प्रतिशत प्रतिफल दिदैमा त्यो नै राम्रो भन्ने हुँदैन । किनभने दश प्रतिशत प्रतिफल दिनेको उद्धेश्य के थियो त ? उसले सात प्रतिशतको लक्ष्य राखेकोमा दश प्रतिशत प्रतिफल दियो भने त्यो त राम्रो हो नि । सामान्यतयाः ईक्विटी हाल्ने फण्डको जोखिम बढी हुन्छ र रिटर्न पनि बढी हुनसक्छ । हाम्रो यो प्रोडक्ट भनेको लो टु मिडियम रिक्स हो भने रिटर्न चाँही मिडियम टु हाई हो ।

 

उसो भए कस्ता लगानीकर्ताले तपाइँहरुको यो सामुहिक लगानी कोषको ईकाई किन्ने त ?

यो कस्तो खालको लगानीकर्ताका लागि हो भने जसले चाही औसत प्रतिफल चाहान्छ र बजार बुझेको पनि छैन् । म्युचुअल फण्डमा लगानी गर्ने भनेकै दोस्रो बजार नबुझेकाले नै हो । जुनसुकै फण्डमा छिर्दा पनि त्यसको उद्धेश्य हेर्ने हो । जोखिम बहन क्षमता व्यक्ति, व्यक्तिमा फरक हुन्छ । यसले चाही नियमित एक प्रकारको स्थायी प्रकृतिको प्रतिफल दिने हो । यसको उद्धेश्य भनेको आफुले लगानी गरेको फण्ड लुज नगर्ने, लुज गर्ने स्थिति आयो भने रिटर्नमा मात्र लुज गर्ने । बैंकले दिने रिटर्न भन्दा यसले केही हदसम्म माथि रिटर्न चाहिन्छ भन्ने लगानीकर्तालाई सबैभन्दा उपयुक्त प्रोडक्ट हो ।

जस्तो आईपिओ खुल्दा जसरी लगानीकर्ताहरुको ओईरो लाग्छ , म्युचुअल फण्डमा त्यस्तो हुँदैन किन ?

यसमा हामीले पनि बुझ्नु पर्ने कुरा के भने म्युचुअल फण्डको बिषयमा लगानीकर्ताले जुन किसिमको जानकारी राख्नुपर्ने हो त्यो भईसकेको छैन । हामीसँग फण्ड नै कति छन र ? सिमित नै छन् नि । भारतमा म्युचुअल फण्डको १२ लाख करोड भन्दा माथिको विजिनेश छ । हरेक कम्पनीको चालिस, पचास वटा फण्ड छन् । जब सेयर मार्केटको बुझाई बढ्दै जान्छ तब म्युचुअल फण्डको बुझाई बढ्दै जाने हो । हाम्रै पहिलेको र अहिलेको फण्डको अबस्था हेर्दा लगानी गर्ने मान्छेको बुझाईमा धेरै भिन्नता आएको छ । आईपीओमा हाल्ने भनेको एउटा कम्पनीमा रिक्स लिने हो । तर म्युचुअल फण्डमा पुरै योजनामा सहभागी हुने हो । यसमा विविधता पनि छ । एक हजार रुपैयाँ मात्र लगानी गर्न पनि सकिन्छ, आठ करोड रुपैयाँसम्म हाल्न पनि सकिन्छ । आज के आईपीओ भर्नेले हजार रुपैयाँ लगानी गर्न पाउँछ त ? आज दोस्रो बजारमा पनि हजार रुपैयाँले कतिवटा शेयर किन्ने सम्भव छ, त्यो पनि छैन् । पाँच हजार दश हजारले पनि सम्भव छैन । म्युचुअल फण्डले उठाएको पैसा दोस्रोबजारमा लगानी गर्छ । आईपीओमा पनि लगानी गर्छ । यसको मतलव त्यो हजार रुपैयाँ लगानी क्षमता भएको मान्छेले पनि हामी मार्फत दोस्रो बजारमा सहभागिता जनाउन सक्छ । यो कुरा बुझाउँदै र बुझ्दै गएपछि हाम्रो ईक्विटीमा लगानी गर्नेहरु पनि पक्कै बढ्छन् ।

 

ब्रोकर कमिशन घटेपछि म्युचुअल फण्डहरुलाई कस्तो फाईदा भएको छ ?

म्युचुअल फण्डको खर्च भनेको पनि लगानीकर्ताले नै व्यहोर्ने हो नि । कमिशन घट्ने वित्तिकै हाम्रो जुन शेयर किनबेच गर्दा ठूलो खर्च हुने हो त्यो घटेको छ । त्यसले फण्डको नाफा स्वतः केही बढ्ने भैहाल्यो । त्यसले हाम्रो आम्दानीमा केही हदसम्म सहयोग गरेपनि मुख्य कुरा फण्डको परफरमेन्स नै हो । परिस्थिति बुझेर लगानी गर्न सक्यो भने त्यसले राम्रो नाफा दिन्छ ।

 आर्थिक बर्षको अन्त्यतिर नाफा सुरक्षित गर्न म्युचुअल फण्डहरुले धेरै सेयर बेचेका थिए भन्ने सुनिएको थियो ? उनीहरुले फेरि बजारमा त्यो पैसा लगानी गरे त ?

हामीले अरु फण्डको बारेमा भन्न सक्दैनौ । हाम्रो बारेमा भन्नुहुन्छ भने असारमसान्तसम्म हामीसँग २० प्रतिशत लाभांश बाड्ने रकम थियो । लाभांश दिने कति भन्ने थाहा थिएन् । जति पनि फण्ड छ, सबै आफ्नै कार्ययोजनामा चल्छन् । महिना महिनामा होईन कि हामीलाई ठिक लाग्यो भने विहान बेचेर बेलुका किन्न सक्छौ । मलाई लाग्दैन कि असारमसान्तमा नाफा देखाउनका लागि बेच्ने र साउनमा किन्ने हुन्छ । अर्को, हेनुपर्ने कुरा के भने देखि हामीले अहिले लाभांशलाई हेरेर बसेका छौ । म्युचुअल फण्डको हेर्ने भनेको एसेट अन्डर म्यानेजमेन्ट हो नि,नाभ कहाँ पुग्यो भनेर हेर्ने हो नि त । दुईटा कुरा हेर्नुपर्यो हामी रियलाइज गेन र अनरियलाइज गेन भन्छौ । अर्को कुरा नाभ । जस्तो एनएमबी म्युचुअल फण्डले हामीले पहिलो स्किमको २० प्रतिशत बोनस घोषणा गर्र्यो । हामीसँग २५ प्रतिशत बाड्न सक्ने क्षमता थियो । त्यो केही पनि नबेचेर बसेको भयो । हाम्रो नाभ त बढ्थ्थो होला । म्युचुअल फण्डको सिद्धान्त भनेकै पुनः लगानी हो ।

फण्डले त्यस्तो मसान्त, मसान्तलाई टार्गेट गरेर किन्ने बेच्ने हुँदैन । सबैको आ आफ्नै लक्ष्य र योजना हुन्छ । हामीले राखेको लक्ष्य भेटियो भने जुनसुकै समयमा पनि किन्ने, बेच्ने हुन्छ । हामी योजनावद्ध रुपमा अगाडि बढ्ने हो । हामीले बार्षिक रुपमा आर्थिक बर्षको क्यालेन्डरमा चल्दैनौ, महिना महिनामै चल्ने हो ।

हामीले वित्तीय सूचाकं र वित्तीय आधारहरु महिनै पिच्छे प्रकाशित गर्छौ । नाभ त हाम्रो वेभसाइटमा हप्तै पिच्छे प्रकाशित हुन्छ । त्यो चाँही लगानीकर्ताले हेर्नुपर्छ । कहिले पनि यो फण्ड राम्रो कि त्यो फण्ड राम्रो भन्नु भन्दा पनि समय अनुसार फण्डको उद्धेश्य निर्धारण हुन्छ ।

अहिले सन्दर्भमा म्युचुअल फण्डहरुले मार्केट मेकरको भुमिका निर्वाह गर्न सकेनन् भनिन्छ नि ?

सबैभन्दा पहिला के भन्छु भने म्युचुअल फण्डले घोषित, अघोषित रुपमा मार्केट मेकरकै भुमिका खेलिरहेका हुन्छन् । उदारणका लागि भुकम्प पश्चात एक महिना बजार पुरै बन्द भयो । म्युचुअल फण्डहरुले नै बजार खुलाउन जोड गरे । बजार खुलेपछि तीन दिन खसेर चौथो दिनदेखि निरन्तर बढ्न थाल्यो । लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा त्यतिबेला गरेको निर्णय गलत भयो त ? म्युचुअल फण्ड आफ्नो योजनामा चल्छ । बजार बढेको बेला सबै बेचौ, खसेको बेला सबै किनौ भन्ने हुदै हुदैन् । डबलै फाइदा हुने भएपनि सबै बेच्न मिल्दै मिल्दैन् ।

गएको आठ महिनामा हेर्ने हो भने बजार घटेको देखिएको थिएन तर केही दिन अगाडि भएको करेक्सन जायज थियो । संसारको कुन बजार छ, करेक्सन नभएको ? खालि त्यतिबेला आएका केही समाचारहरुले बजार खसाल्न केही टेवा दिएका हुन् । अर्को तर्फबाट हेर्दा म्युचुअल फण्डहरुले लगानीकर्ताको रकम उठाएर लगानी गर्ने हो । बजारलाई टेवा पुर्याउन अरु कसैले हामीलाई विश्वास गरेर दिएको पैसा खन्याउन मिल्छ ? जनताको पैसा उठाएर तिम्रो पैसाको उचित व्यवस्थापन गरेर म तिमिलाई रिटर्न दिन्छु भनेर गरेको व्यवसाय हो नि । भोलि कुनै सेयर किन उठाईयो भनेर जस्टीफाई गर्न सकिएन भने त यो म्युचुअल फण्ड बजार बाँकी रहन्छ ?

अन्त्यमा,अहिलेको शेयर बजारलाई कसरी हेर्नुभएको छ ? बजारमा आउने नयाँ लगानीकर्तालाई यहाँको के सुझाब छ ?

संसारभरका लगानीकर्ता जहिले पनि स्मार्ट नै हुन्छन् । हामीले जे भनेपनि मुख्य कुरा के हो भने अहिले मार्केटमा ईन्भेष्टर भन्दा ट्रेडरको संख्या बढ्दै गएको छ । टे«डरको संख्या बढ्नु भनेको बजारमा छिर्ने निस्किहाल्ने हो । लगानी गर्ने भनेको त हामीले कम्पनीलाई लगानी गर्ने हो नि । हामीले लगानी गर्दा कम्पनीको उचित विश्लेषण, कम्तिमा ६ महिना, बर्ष दिनको योजना बनाएर लगानी गर्ने हो । कम्पनीले कमाएर दिने हो । हामीले यो कम्पनी राम्रो होला भनेर किन्ने हो । कम्पनीले कमाउने नाफा, बाड्ने लाभांश हेरेर लगानी गर्ने हो । शेयरमूल्य हेरेर होइन् । कम्पनीको अवस्था, ब्याजदर, आर्थिक गतिविधि हेरेर लगानी गर्नुपर्छ ।
अहिलेको समयमा म के भन्छु भने छोटो अवधिमा केही भन्न सकिदैन । एउटा समय निर्धारण गरेर लगानी गर्नुपर्छ । केहीगरी बजार खस्क्यो भने घाटा धान्न सक्नेगरी लगानी गर्नुपर्छ । भोलि बजार बढ्ने, घट्ने अनिश्चत नै हुन्छ । तर बजार स्थिर हुने आधारहरु हेर्नुपर्छ । कम्पनीहरुले राम्रो परफमेन्स गरेकै छन्। आर्कषक लाभांश दिएकै छन् । तपाई कुनै कम्पनीमा लगानी गर्नुहुन्छ भने कमसेकम एकबर्ष उसलाई काम गर्न दिनुहोस । बजारमा ट्रेड मात्र गर्ने तपाईको उदेश्य हो भने तपाईको लगानी उच्च जोखिममा हुन्छ । उनीहरु उच्च जोखिममा छन् ।

 

 ध्यानाकर्षणः यहाँ प्रकाशित कुनै पनि सामाग्री मेरोलगानी डटकमको अनुमति नलिई अरु अनलाईन मिडियाले आंशिक वा पूर्ण रुपमा पुनः प्रकाशन नगर्नुहुन अनुरोध छ । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।