हकप्रद र बोनसको पछि मात्रै कुद्नेले तत्कालीन किष्ट, मर्जमा गएका कुमारी र एनसीसी बैंकबाट नसिकी नहुने पाठ

Sep 19, 2016 Merolagani

तिलक कोइराला

सेयर बजारमा अहिले एकाथरी लगानीकर्ताहरु बोनस सेयर र हकप्रद भन्ने बित्तिकै हुरर्र कुद्ने प्रबृत्ति छ । खासै नाम नसुनिएका कम्पनीले पनि हकप्रद ल्याउने भयो भन्ने बित्तिकै लगानीकर्ताहरु त्यसको सेयर किन्न ओईरिन्छन्, बोनस आउने भयो भने त झन् उग्र । तर सुरक्षित लगानीका लागि बिगतबाट पाठ नसिकी नहुने अबस्था छ ।

 केही बर्ष पहिले राष्ट्र बैंकले अहिले जस्तै अनिबार्य रुपमा पुँजी बृद्धिको योजना दिएको थियो । त्यही मेसोमा त्यतिखेर राम्रै बित्तीय अबस्थामा देखिएको किष्ट बैंक(KIST)ले दुई अर्ब रुपैयाँ पूँजी बृद्धिको सिमा पार गर्न २०६६ कार्तिक ५ गते १५० प्रतिशतको अनुपातमा हकप्रद प्रस्ताव गर्यो । लगानीकर्ताहरु उचालिएर सेयर किने । पछि बैंकको अबस्था के भयो ? सबैलाई थाहा नै छ, टिक्न नसकेपछि प्रभुकै शरणमा जानु पर्यो ।


त्यस्तै केही महिना अघि एक आपसमा गाभ्न,े गाभिने सम्झौता गरेर अहिले अलग अलग बाटो समात्ने बिचार गरिरहेका कुमारी(KBL) र एनसीसी बैंक(NCCB)ले पनि दुई अर्ब चुक्ता पूँजी पुर्याउँन जगेडा कोष समेत उपयोग गरी उल्लेखनीय रुपमा बोनस प्रस्ताव गरे । कुमारीले ३३ प्रतिशत बोनस सेयर प्रस्ताव गर्यो । लगानीकर्ताहरु उचालिएर सेयर किने र बोनस खाए, तर बोनस खाएपछि सेयर मूल्य तल झरेर बोनस खाएको सेयर समायोजन गर्दा पनि घाटामै परे । त्यस्तै एनसीसी बैंकले पनि जगेडा कोष उपयोग गरी ३८ प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी दुई अर्ब पुर्यायो । त्यसका लगानीकर्ताले पनि बोनसको लोभमा उचालिएर सेयर किनेको भन्दा तलैको भाऊ पाए । दुबै बैंकको अहिले सेयर कारोबार बन्द भएकाले त्यसपछिको नाफा घाटाको हिसाब अलि फरक पर्ला । तर दुबै बैंकले त्यसपछि ३३ र ३८ प्रतिशत बोनस सेयर दिने क्षमता अहिलेसम्म बनाएका छैनन् । त्यतिखेर कुमारी र एनसीसीले दिएको बोनस सेयरको मात्रा तुलनात्मक रुपमा अन्य बाणिज्य बैंक भन्दा धेरै हो । 

यी तीन वटै बैंकको बिगतको हकप्रद र बोनस सेयर बितरणको घटनाक्रम बर्णन पछि यहाँ भन्न खोजिएको मुख्य कुरा स्पष्ट गरिन्छ कि कम्पनीको बास्तबिक ग्रोथ वा प्रगतिको आाकलन नगरी एकपटक मात्र दिएको हकप्रद र बोनसको लहै लहैमा कुद्दा धोका पाईनसक्छ । अहिले हकप्रद जारी गर्ने कतिपय कम्पनीहरु यस्ता छन् जसले सेयर संख्या त बढाउँछन् तर हालकै चुक्ता पूँजी कायम रहेको अबस्थामा पनि आम्दानी बढाउनसक्ने क्षमता राख्दैनन् । त्यसैले त्यस्ता कम्पनीमा पूँजी थप्नु भनेको लगानीलाई खेर फाल्नु हो । 

अहिले पनि त्यही पुरानै प्रबृत्ति लगानीकर्तामा देखिएको छ । दीर्घकालीन लगानीका हिसावले कम्पनीको प्रगतिसँग उसले प्रस्ताव गर्ने बोनस र हकप्रद दाँजेर नहेरी हतारिनुले किष्ट, कुमारी र एनसीसीमा पाए जस्तै धोका पाईन सकिने संभावना हुन्छ । अघिल्लो बर्ष भन्दा कम्पनीको अबस्था राम्रो भएको छ, ब्यापार र नाफा बढाएका छन्, जोखिम न्युनीकरण उपायहरु अबलम्बन गरेका छन्, प्रति सेयर आम्दानी बढाएका छन्, अन्य बित्तीय सूचकहरु पनि सुध्रिएका छन् र आगामी बर्ष झन् राम्रो हुने आधार छ भन्ने यकिन गरेर मात्र लगानी गर्नुपर्छ ।

किष्टले १५० प्रतिशत हकप्रद त घोषणा गर्यो तर उसले प्रगति गर्नुको सट्टा आफै धरासायी भएर गयो । हकप्रदको बहानामा सेयर मूल्य उचालेर बेच्नेहरुले कमाए होलान् तर धेरै सर्बसाधारण लगानीकर्ता फसे । कुमारी र एनसीसीले पनि ३३ र ३८ प्रतिशत बोनसको अघिल्लो किर्तिमानलाई तोड्ने गरी अहिलेसम्म आफ्नो क्षमता सुधार गरिसकेका छैनन् । सुरुमा प्राथमिक सेयर भरेर बसेका लगानीकर्ताहरुको हिसाब त अलग्गै कुरा हो ।

बाणिज्य बैंकको चुक्ता पूँजी दुई अर्ब, बिकास बैंकको ६४ करोड र फाईनान्सको २० करोड पुर्याउन् त्यतिखेर संचालकहरुलाई जस्तो आपत् परेको थियो, त्यस्तै आपत् अहिले पनि परेको छ र उनीहरु अनेक उपाय लगाउँदै छन् । त्यतिखेर हकप्रदको प्रस्ताव आउने बित्तिकै लगानीकर्ताहरु सेयर बेचेर भाग्ने स्थिति बनेको थियो, बजार घटेकाले लिलाममा राखिने हकप्रद पनि बिक्न गाह्रो हुन्थ्यो । अहिले अबस्था फेरिएको छ । सेयर बजार उकालिएको, लगानीकर्ताको संख्या बढेको, बजार आधुनिकीकरण भएको, पर्याप्त तरलतालगायतका धेरै कारणले बजार बलियो अबस्थामा छ र लिलाममा राखिने सेयर पनि बजारमूल्य भन्दा माथि गएर बिक्री भईरहेको छ । सेयर मूल्य बढेकाले हकप्रद हाल्नेलाई प्रति कित्ता एक सय रुपैयाँ लगानी गर्दा बजार मूल्यको हिसाब गर्दा कयौं गुणा फाईदा नै छ । 

चार वटा बिकास बैंकलाई आफुमा मिलाएको एनसीसीले गत बर्षको खुद नाफा र चालु आर्थिक बर्षको कमाईबाट मुस्किलले ८ अर्बको चुक्ता पूँजी सिमा पार गर्न सक्ला भन्न सकिन्छ तर कुमारीले मर्ज तोडेकाले अब आपत् पर्ने वाला छ । कसैले उसलाई किनेनन् भने सकेसम्मको हकप्रद नै उसको मुख्य विकल्प हो । कुमारीसँग अब विकल्प खोज्ने धेरै समय पनि बाँकी छैन । कुनै बलियो बैंकसँग बेचिने हल्ला चलाएर सेयर बेच्ने उपाय त कुमारीका संस्थापकहरुले खोजिरहेका होलान् तर राष्ट्र बैंकले मर्ज प्रक्रिया भंग भएको घोषणा र सेयर कारोबार नखोलिदिएकाले पर्नु पीर परेकै होला । 

कम्पनीको पूँजी बृद्धिको बाध्यतामा सर्बसाधारण लगानीकर्ताहरु हकप्रद र बोनसको बहानामा उचालिएर सेयर किन्न आबश्यक छैन । पूँजी बृद्धि हुँदा आम्दानी र नाफा बढ्छ कि बढ्दैन हेरौं । कम्पनीको ग्रोथ र आफ्नो जोखिम बहन क्षमता हेरी बिस्तारै लगानी गर्दा पनि नेपालको सेयर बजारबाट फाईदा लिनसक्ने ठाउँ धेरै छ । धेरै राम्रा कम्पनी छन्, छानी छानी सेयर किन्न सकिन्छ ।

राष्ट्र बैंकको सोच पूँजी बृद्धि योजना बाध्यात्मक रुपमा लागु गरेर बैंक तथा बित्तीय संस्थाहरुको संख्या घटाउने भए पनि हकप्रद बिक्ने भएपछि कम्पनीहरुले राष्ट्र बैंकको सोचाई विपरितको बाटो लिएका हुन् । कतिपय कम्पनीका संचालकहरुलाई हकप्रदको भारी अहिल्यै थाम्न नसकिने अबस्थाको भईसकेको बुझिन्छ भने राष्ट्र बैंकले एक बर्षपछि अर्को पूँजी बृद्धिको योजना ल्यायो भने के होला ? सोचनीय बिषय छ । तर क्रमशः प्रगति गर्दै गएको कम्पनीको सेयर सस्तो छ, उसले बोनसबाटै वा थोरै हकप्रद जारी गरे पनि आफै चुक्ता पूँजी पुर्याउँनसक्छ भने मज्जाले दीर्घकालीन लगानी गर्दा हुन्छ । यसो हुँदा पनि हकप्रद दिने भन्दा बोनस दिने कम्पनी खोजौ । 

अनिबार्य पूँजी बृद्धिको कारणले बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बीमा सबैले बोनस नै दिने हो । केही समयभित्र हकप्रदको पनि अरु बाढी आउनेवाला छ । राम्रा कम्पनी छानी छानी सस्तोमा सेयर किन्न पाउने अबस्था हुँदाहुँदै हतारिनु किन ? कति बोनस देला, कति हकप्रद ल्याउला मात्रै हैन, हिजो कस्तो अबस्थामा थियो, आज कस्तो अबस्थामा छ र भोलि उसको बित्तीय अबस्था कस्तो होला भन्ने कुरालाई पनि उत्तिकै ख्याल गरौं । सेयर किन्न हतारिनु पर्ने र बेचेर भागिहाल्नुपर्ने दुबै खाले अबस्था अहिले छैन् । सबै कुरा अध्ययन गरेर बुद्धिमत्तापूर्वक दीर्घकालीन लगानी गरौं ।

ध्यानाकर्षणः यस सामाग्रीलाई मेरोलगानी डटकमको सहमति बिना अन्य संचार माध्यमले पुनः प्रकाशन, प्रसारण नगर्नुहुन अनुरोध छ । 

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।