यसरी खुल्यो रहस्य
सेयर बजारमा भौतिक सेयर प्रमाण पत्रहरु कारोबार भईरहेको बेला अरुण भ्याली कम्पनीले नै एउटै प्रमाणपत्र दोहोरा, तेहेरो छापेर बिक्री गरेको थियो । त्यस्ता सेयर प्रमाण पत्रहरु लिएर लगानीकर्ताहरु सेयर अभौतिक गराउन अरुणभ्यालीको कार्यालय थापाथली पुग्दा सेयर प्रमाण पत्र नै नक्कली भएको खुलेको हो । अरुण भ्यालीका एक कर्मचारीका अनुसार कयौं प्रमाणपत्रहरुमा सेयरधनीको नाम, सेयरधनी नम्बर र सेयर प्रमाणपत्र नम्बर सक्कली भए पनि निजको नाममा सेयर नै नभएको पाईएको छ । उनका अनुसार नक्कली सेयर प्रमाण पत्रका कारण कम्तिमा १५ हजार कित्ता सेयरहरु अभौतिक गराउन समस्या परेको छ ।
एउटा उदाहरण हेरौंः
अरुण भ्यालीको यो एउटा नक्कली सेयर प्रमाण पत्र हो । सेयरधनी नम्बर ५३ का शक्ति पाण्डेले दोस्रो बजारमा बेचेको यो ९९० कित्ता सेयरको प्रमाण पत्र नम्बर १४०, ०५४ उल्लेख गरिएको छ । २०७१ असार १७ गते प्रमाण जारी भएको छ ।
यसलाई पटक पटक, फरक फरक सेयर दलालहरु मार्फत बेची अन्त्यमा रिना श्रेष्ठले किनेको र कम्पनीले कागजी प्रमाण पत्रमा निजको नाममा हक हस्तान्तरण भएको सहि छाप लगाएर २०७१ साल कार्तिक २६ मा प्रमाणित गरेको देखिएको छ ।
तर अहिले सो सेयर डिम्याट गराउन जाँदा सम्बन्धित सेयरधनीको खातामा सेयर नै नभएको जवाफ कम्पनीले दिएपछि नक्कली सेयर कारोबारको रहस्य खुलेको हो । एक दिन अघि सेयर किनबेच भएको छ भने भोलिपल्टै सेयर प्रमाण पत्र छापिएर आएको छ । सम्बन्धित सेयरधनीको नाममा सेयर नामसारी र हक हस्तान्तरण भएको कम्पनीले बकाईदाले प्रमाणित पनि गर्नु अनि अहिले सेयर डिम्याट गर्ने क्रममा सेयरकै बैधानिकतामाथि प्रश्न उठ्नुले नक्कली कामको रहस्योद्घाटन गरेको छ । संस्थापकहरुको सेयर टुक्र्याउन बनाईएका अनुसुचीहरुमा पनि धेरै बदमासी भएको बुझिएको छ ।
अरुण भ्यालीको गंभीर बदमासी
एउटै ब्यक्तिको सेयर दोहोरो तेहेरो प्रमाण पत्र छपाई गरी दोस्रो बजारमा बिक्री गर्दा अहिले गंभीर समस्या देखिएको हो । स्रोतले भन्यो - कम्तिमा १० जना सेयरधनीको नाममा सयौं दोहोरो, तेहेरो प्रमाण पत्र छपाई गरी बेचिएको छ र सबै प्रमाण पत्रको हिसाव गर्ने हो भने हजारौ कित्ता हुनसक्छ ।
अरुण भ्यालीमा यस्ता गंभीर खालका बदमासीहरु मिलाउन नसक्दा कम्पनी सचिव छिटो छिटो फेरबदल हुने गरेका छन् । हालै लेखा शाखामा काम गर्ने रंजु अधिकारीलाई कम्पनी सचिव बनाईएको छ र उनले पहिलेका कम्पनी सचिवले गरेको काम आफुलाई थाहा नभएको र दोहोरो, तेहेरो प्रमाण पत्रको सवाल भएकाले सेयर किनबेच गर्ने सेयर दलालले नै मामिला मिलाउनु पर्ने भन्दै पंक्षिने गरेकी छन् । मेरोलगानी डटकमले रेकर्ड गरेको कुराकानीमा उनले भनिन्, मलाई धेरै कुरा थाहा छैन ।
धेरै सेयर दलालको टाउको दुखाई
अरुण भ्यालीको दोहोरो, तेहेरो प्रमाण पत्र बिक्री अहिले पनि धेरै सेयर दलालहरुको टाउको दुखाईको बिषय बनिरहेको पाईएको छ । प्रायः जसो सेयर दलालको कार्यालयमा अरुण भ्यालीले गरेको नक्कली कामका कारण कागजी राफसाफ, नामसारी र अभौतिकिीकरण नमिलेका कयौं प्रमाण पत्रहरु भेटिएका छन् । सेयर दलालहरुले समस्या समाधानको पहल गरे पनि लगानीकर्ताको हक सुरक्षित हुन सकेको छैन ।
५५ नम्बर सेयर दलालका कर्मचारी ऋषिराम खतिवडाले मेरोलगानी डटकमसँग भने, दोहोरो प्रमाण पत्र भएको दुई वटा केस हामीसँग छन्, अरुण भ्याली कम्पनीले दोहोरो प्रमाण पत्र छापेर बदमासी गर्दा हामीलाई पनि समस्या परेको छ ।
बदमासी गर्न र मिलाउन आफै सेयर रजिष्ट्रार
बिगतमा नेशनल हाईड्रोपावरले आफ्नो कम्पनीको सेयर रजिष्ट्रारको काम आफै गर्दा जसरी नक्कली सेयर प्रमाण पत्रको कुरा आएको थियो, अहिले ठ्याक्कै त्यस्तै समस्या अरुण भ्यालीमा देखिएको छ । यस्ता गंभीर खालका बदमासी गर्न र समस्या आईहाले मिलाउन सजिलो हुने भएकाले अरुण भयालीले सेयर रजिष्ट्रारको काम पनि आफै गर्ने गरेको छ । नक्कली सेयर प्रमाण पत्रको कुरा कडा रुपमा उठाउने बित्तिकै अरुण भ्यालीले त्यस्ता प्रमाण पत्रहरु किनदिएर गुनासो गर्नेलाई पैसा दिएर पठाउने गरेको छ भने कतिपयको सेयर नै खातामा मिलाई दिने छ । अहिलेसम्म कम्तिमा १५ हजार भन्दा बढी कित्ताको नक्कली कारोबार वापतको पैसा र सेयर मिलाईएको बताईन्छ ।
सेयर बजारमा अहिले अभौतिक सेयर मात्र बिनबेच हुने भएकाले अरुण भ्यालीको बदमासीबाट नयाँ लगानीकर्ताहरु कम पीडित बन्नु परेको छ तर पुरानाको पीडा भने झन् बल्झिदै छ । अरु कम्पनीहरुले आफ्नो सेयर रजिष्ट्रार आफै बन्न छाडेर मर्चेन्ट बैंकर र क्यापिटलहरुलाई जिम्मा लगाए पनि गुरुप्रसाद न्यौपानेको कम्पनी अरुण भ्याली, अपी, रिडी लगायतले आफ्नो सेयर रजिष्ट्रारको काम आफै गर्नुको रहस्य नियतबश गरिएको बदमासी मिलाउने नै हो ।
बदमासीमा कम्पनीको प्रत्यक्ष संलग्नता भएकाले अहिले भित्रभित्रै मिलाउने प्रयास भईरहेको बुझिएको छ । नेप्से र धितोपत्र बोर्डमा उजुरी गर्न खोज्नेलाई जसरी भए पनि रोक्नु भन्ने गुरु सरको आदेश छ, एक कर्मचारीले समाचारमा नाम उल्लेख गरिदिए जागिर जाने भन्दै गोप्य राखिदिन आग्रह गर्दै बताए ।
एक लगानीकर्ताले मेरोलगानी डटकमसँग भने- मैले किनेको अरुण भ्यालीको सेयरमा नक्कली सेयर प्रमाण पत्र परेछ । पछि मैले म त अब धितोपत्र बोर्ड जान्छु भनेर चेतावनी दिए पछि खातामा सेयर हालिदिएछन् ।
बाहिरी जिल्लाका सेयरधनीको पनि सेयर बेचिएको आशंका
अरुण भ्यालीमा काठमाडौमा रहेका सेयरधनीको सेयर प्रमाण पत्र नै दोहोरो, तेहेरो बिक्री भएको अबस्थामा बाहिरी जिल्लामा रहेका कयौं सेयरधनीको प्रमाण पत्र पनि उनीहरुलाई थाहै नहुने गरी बेचिएको बताईन्छ । उनीहरुले पहिले आफुले लिएको प्रमाण पत्र बोकी सेयर डिम्याट गराउँन आए भने नक्कली प्रमाण पत्र काण्ड अझै गंभीर रुपमा देखिने स्रोतको दावी छ ।
सेयरको मूल्य बढाएर धमाधम नक्कली सेयर बिक्री
अरुण भ्यालीले पहिले एक बराबर एक सेयर हकप्रद जारी गर्ने बहानामा सेयर मूल्य बढाएर हजारौ कित्ता नक्कली सेयर बेचेको बुझिएको छ । हकप्रद सेयर आउने भयो भन्दै दोस्रो बजारका लगानीकर्ता अरुण भ्यालीको सेयर किन्न ओईरिएको बेला बदमासी गर्नेहरुले मौका छोपेका थिए । त्यही मौकामा गुरुप्रसाद न्यौपानेले पनि आफ्ना बिस्वास पात्रहरुको नाममा राखिएको धेरै कित्ता सेयर बेचेर पैसा उठाएका थिए । त्यतिखेर सेयर किनेका कयौंले न त हकप्रद भर्न पाए, न त हालसम्मको बोनस र नगद लाभांश नै पाएका छन् । केही फाईदा होला कि भनी लगानी गरेको सावाँ रकम बराबरको सेयर नै अहिले आएर नपाउने संभावना बढेपछि उनीहरु आक्रोशित हुनु स्वभाविक हो ।
सेयर अडिट गराउँदा डरलाग्दो आँकडा
अरुण भ्यालीको बित्तीय अबस्था नै शंकाष्पद रहेको समाचार मेरोलगानी डटकमले यसअघि नै पटक पटक प्रकाशित गरिसकेको छ । कम्पनीका एक कर्मचारीले बिल भौचर नभएका र वास्तविक खर्च नगरिएका १२ करोड रुपैयाँको हिसाब मिलान गरेको रहस्य मेरोलगानी डटकम खोलेका थिए । अहिले आएर आर्थिक हरहिसाब मात्रै नभएर सेयरको हिसाबमा पनि गंभीर बदमासी भएको सार्बजनिक भएको छ । स्वतन्त्र लेखापरीक्षकबाट सेयर अडिट समेत गराउने हो भने बदमासीको डरलाग्दो आँकडा देखिने प्रष्ट छ ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।