कम्पनीको साधारण सभामा बोल्नेहरु यसरी हुन्छन् मालामाल, तपाई पनि जाने कि ?

Aug 25, 2017 Merolagani

- परमेश्वर अधिकारी
पब्लिक कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विबरण प्रकाशित गरेपछि अब लाभांस घोषणा र साधारण सभाको मिति तय गर्ने क्रम सुरु भएको छ । यससंगै त्यससंग सम्बन्धित एउटा धन्दा अब फस्टाउनेवाला छ । त्यो हो, साधारणसभामा बोल्ने र एकै दिनमा हजारौं रुपैंया कमाउने धन्दा । यस्ता धन्दा चलाउनेहरुको कमाई थाहा पाउनुभयो भने तपाइँ चकित हुनुहुने छ । 

कम्पनीले साधारणसभा बसाली लेखा परीक्षण पारित गराउनु, नयाँ लेखा परीक्षक नियुक्त गर्नु, लाभांस पारित गर्नु तथा कम्पनीका अन्य महत्वपूर्ण विषयमा छलफल गराउनु सामान्य कुरा हो । साधारणसभामा प्रस्तुत भएका विषयबस्तु बारे शेयरधनीले निर्धक्क भएर समर्थन, बिरोध र आलोचना गर्न पाउनु पनि उनीहरुको नैसर्गिक अधिकार हो । तर, यसको आबरणमा कम्पनीका साधारणसभामा बोल्ने पेशेवरहरुको धन्दा भने सर्वसाधारण लगानीकर्तालाई आश्चर्यचकित पार्ने खालको हुन्छ ।

कसरी चिन्ने धन्दावाल वक्ता ?

दुई चार वटा कम्पनीको साधारण सभामा तपाई पुग्ने सोचमा हुनुहुन्छ भने यस्ता धन्दामा सक्रिय हुनेहरु कुन् कुन् कम्पनीको साधारण सभामा पुगे र कसरी बोले भनेर सजिलै पत्ता लगाउन सक्नु हुनेछ । तपाई आफ्नो कम्पनीले गर्ने साधारणसभामा पुगेर एउटा कुरा याद हुनुपर्छ, पहिलो साधारणसभामा बक्ताको रुपमा देखिएका ब्यक्ति दोस्रो कम्पनीको साधारणसभामा पनि त्यसैगरी बक्ताको भुमिका निभाईरहेका हुन्छन् । ती ब्यक्ति वास्तविक रुपमा लगानीकर्ता नभई कम्पनी संचालक वा ब्यवस्थापनको दलाल हुनसक्ने बलियो संभावना हुन्छ । फरक फरक कम्पनीहरुको साधारणसभामा बक्ता बनेर उभिने ती ब्यक्ति धन्दावाल, पेशेवर वक्ता वा भत्ता पचाउनेवाला हुनसक्छन् ।

कसरी बोल्छन् ?

उनीहरु साधारणसभामा कम्पनी व्यवस्थापनको बिरोध नहुने गरी बोल्छन् । एकाध सामान्य विषयमा असहमति जनाए जस्तो पनि गर्छन किनभने उनीहरु आफु सिधै संचालकको मतियार बनेर बोलेको कुरा अरुले थाहा नपाउँन भनी सामान्य हेक्का राख्छन् । तर पछि कुरा फुस्कदै गएपछि प्रष्ट भईहाल्छ ।  कसै कसैले त संचालक समितिले ल्याएका प्रस्तावहरु पारित गराउने नियतले कथा काली हाली, हँसाउने बुंदा राखेर  लामो भाषण पनि गर्ने गर्छन् । एकै दिन धेरै कम्पनीको साधारण सभा परेको रहेन छ भने उनीहरु केही समय बस्छन्, अरुको पनि कुरा सुन्छन्, एकैदिन धेरै कम्पनीको साधारणसभा परेको रहेछ भने कहाँ फुर्सद हुनु र ? बोल्यो टाप कस्यो । उनीहरुलाई समयको अति चापाचाप हुन्छ किनभने सबैको साधारणसभामा बोल्न पुग्नै पर्छ ।

उनीहरु साधारणसभाको निर्धारित वक्ता हुन् किनभने उनीहरुले बोल्ने कुरा एक साता अघि नै तय भईसकेको हुन्छ । उनीहरुलाई केबल बोल्नु छ, आफुले बोलेपछि काम सकियो, भत्ता पाक्यो । उनीहरुलाई न त सभा अवधिभर बस्ने फुर्सद नै हुन्छ, न त अरुको कुरा सुन्ने नै धैर्यता । पहिले नै तयार पारिएको विषयवस्तुलाई मिठास थपेर बोल्ने कला भने  तारिफ गर्न लायक नै हुन्छ । उनीहरुले आफ्नो भाषणमा कसले के प्रतिक्रिया जनाइरहेको छ भन्नेमा चासो पनि दिदैनन् किनभने धाराप्रवाह भाषण गर्दा उनीहरु सयौं पटक लगानीकर्ताहरुको हुटिड. खाएर अभ्यस्त भईसकेका हुन्छन् ।

नूनको सोझो गरेर व्यवस्थापनलाई चोखो बनाउन हरपल प्रयास गरेर त्यसबाट आम्दानी गर्नु नै मानौ उनीहरुको मुख्य धर्म हो । वर्षौंदेखि यस्तै धन्दा गर्दै आएका र पछिल्ला दिनमा त्यही संस्कारमा रमेका  यस्ता व्यक्तिहरु भाषण कला प्रस्तुत गर्न तछाड मछाड गर्छन् । लामो समयसम्म एउटै विषयलाई यताबाट उता अनि उताबाट यता घुमाउन खप्पिस हुन्छन् । सुरुमा कलात्मक ढंगले बोले पनि उनीहरुको भाषण केहीबेर पछि पट्यारलाग्दो हुन्छ र सञ्चालक र व्यवस्थापकहरुको स्तुतिगानमा केन्द्रित हुन्छ ।

कतिपय बक्ताहरु एकोहोरो धारा प्रबाह ब्यवस्थापनको पक्षमा बोल्दा मन्च तल बसेका लगानीकर्ताहरुलाई नै खपिनसक्नु हुन्छ । लगानीकर्ताहरुले भत्ता पच्यो, भाषण छोट्याउँ भन्ने आबाज थाम्न नसक्ने गरी उठाएपछि मात्र उनीहरु भाषण सकेर कुलेलम ठोक्छन् ।

यस्ता वक्ताको शेयर कति हुन्छ ?

पब्लिक कम्पनीको साधारणसभामा बोल्नका लागि शेयरधनी हुनु पर्ने व्यवस्था अनिवार्य छ । यसका लागि कम्पनीको पक्षमा साधारण सभामा वकालत गर्ने प्रायः दलालहरुले सबैजसो सुचिकृत कम्पनीहरुको १० कित्ताका दरले शेयर खरिद गर्ने गरेका हुन्छन् । उनीहरु सबै कम्पनीको साधारण सभामा बोल्ने भएकाले सबै कम्पनीको शेयर ठूलो परिमाणमा किनेर लगानी गर्ने लगानीकर्ता भए यो दलाली धन्दामा आउनु पर्ने बाध्यतामा उनीहरु आउनुपर्ने नै थिएन । यस आधारमा उनीहरुले ३ सय कम्पनीको १० कित्ताका दरले ३ हजार कित्ता शेयरमा एक पटक केही रकम लगानी गरेका हुन्छन् वा त्यही शेयरलाई यताबाट उता गरेर घुमाउँदै शेयरधनीको परिचय बनाउँछन् ।

कमाई थाहा पाएर बेहोस् हुनुहोला

अहिले नेप्सेमा सुचिकृत कम्पनीको संख्या २ सय ४० हाराहारीमा छ । कम्पनीको साधारण सभा र साधारण सभा पहिलेको छलफल तथा तयारी कार्यक्रममा सहभागी भएर सभामा कम्पनीका संचालकको पक्षमा बोलिदिए वापत त्यस्ता दलालहरुले कम्पनीको अवस्था हेरी प्रति कम्पनी दुई देखि १० हजार रुपैंयासम्म असुल गर्ने गर्छन ।

औसतमा ७ हजार रुपैंयाको दरले २ सय ४० वटा कम्पनीको सभामा बोले वापत यस्ता दलालहरुले कमाउने  रकम प्रति ब्यक्ति बार्षिक १७ लाख रुपैंयाभन्दा माथि हुन आउँछ । पुर्वाभ्यासको आधारमा केहीले यो भन्दा धेरै रकम पाउँछन भने केहीले थोरै । तर उनीहरुको यो कमाई सभामा उपस्थित सर्वसाधारणलाई भुल्याए वापतको अनि लगानी नगरी आएको कमाई हो । अब वर्ष दिनमा सधैंजस्तो व्यस्त अनि बिना लगानी गतिलो आम्दानी हुने भए पछि भइएन त मालामाल ? मुलुकका शीर्ष व्यक्तित्वहरुको भन्दा धेरै कमाई वर्ष दिनमा नै हुने भए पछि यस्ता दलालहरुलाई साधारण लगानीकर्ताको के चिन्ता ? न उमेरको हदबन्दी, न केही होला भन्ने सवाल । 

कतिपय कम्पनीहरुको साधारणसभामा शेयरधनीका लागि उपहार र मीठो खानाको बन्दोबस्ती पनि गरिएको हुन्छ । त्यसको लाभ पनि यस्ता दलाल बक्ताहरुले नउठाउने कुरै भएन । कुनै कुनै कम्पनीले लेखापरीक्षण प्रतिबेदनमा सुको कमाई नभएको, करोडौ घाटामा रहेको देखाएका हुन्छन्, सर्वसाधारण शेयरधनीले केही लाभांश पाउँदैनन् तर यस्ता दलाल बक्ता र संचालकहरु सधै मालामाल हुन्छन्, कम्पनी नाफा बाठ घाटामा होस् के मतलव, भत्ता त आईहाल्छ । 

वास्तविक लगानीकर्ताले बोल्नै पाउँदैनन्

धेरै पब्लिक कम्पनीका संचालक र ब्यवस्थापकहरुले सही नियत नै काम गरेका छन् र नेपालको शेयर बजारमा सुचिकृत त्यस्ता कम्पनीहरुको संस्थागत सुशासन र प्रगतिको अबस्था पनि संतोषजनक नै छ । यहाँ बदमास संचालकहरुको पक्ष पोषण गर्नेहरुको सबालमा मात्र धन्दावालको उपयोगको चर्चा गरिएको हो । 

साधारणसभामा बोल्ने सबै शेयरधनी यस्तै पेशेवर हुन्छन् भन्न खोजिएको कदापी हैन । कतिपय शेयरधनीले व्यवस्थापक र सञ्चालकहरुका बदमासीको खुलासा गर्दै समग्र सर्वसाधारण शेयरधनीका पक्षमा बुलन्द आवाजहरु उठाईरहेका हुन्छन् । कम्पनीका कमजोरीहरु देखाउँदै सुधार गर्नु पर्ने पक्ष र विकल्पहरु पनि उनीहरुले सुझाई रहेका हुन्छन् । तर पहिले नै किनेर साधारणसभामा बोल्न लगाइएका दलाल वक्ताहरुको काम चैं आम लगानीकर्ताको पक्षमा बोल्नेको तेजोबध गर्नु नै हो । आम लगानीकर्ताहरुमा भ्रम कसरी छर्न सकिन्छ र ब्यवस्थापनको जय जयकार कसरी गर्नुपर्छ भन्ने कुरा उनीहरुलाई पहिले नै राम्ररी पढाईएको हुन्छ ।

साधारणसभा औपचारिकता मात्रै

साधारणसभामा बोल्नका लागि एक साता पहिले नै बोल्नु पर्ने विषयवस्तुको आशय सहित कम्पनीमा नाम दर्ता गर्नु पर्ने हुन्छ । यो कुरा आम लगानीकर्तालाई त्यति धेरै थाहा नहुने मात्र हैन, साधारणसभा कहिले हुँदैछ भन्नेसम्म हेक्का हुँदैन र जानकारी राख्नेलाई पनि एक साता पहिले भाषण र नाम टिपाउने महत्वकांक्षा हुँदैन । केही गरी साधारणसभाको बारेमा थाहा पाएर अरु लगानीकर्ता सभामा पुगे पनि धन्दावाल दलालहरुका अगाडि उनीहरु केवल श्रोता अनि दर्शकका रुपमा मात्र सिमित हुन्छन् । उनीहरुले सातादिन पहिले नै बोल्नका लागि कम्पनीमा आफ्नो नाम टिपाउनु पर्ने रहेछ भन्ने कुरा साधारणसभा स्थलमा पुगेपछि मात्रै थाहा पाउँछन् ।

यसरी हुँदै आएको धन्दावाल बक्ता राख्ने बिकृति हटाउँन र साधारणसभालाई शेयरधनीहरुको हित संरक्षण र कम्पनीको बिकासबारे मन्थन गर्ने स्थल बनाउँन सम्बन्धित कम्पनी र नियमनकारी निकायहरुको ध्यान जानै पर्ने देखिएको छ । 

मेरोलगानी डटकममा प्रकाशित कुनै पनि समाचार सामाग्री पुनः प्रकाशन नगर्नुहुन अन्य संचार माध्यमहरुलाई आग्रह गरिएको छ । अनुमति लिएर भने आंशिक वा पूर्ण रुपमा पुनः प्रकाशन गर्न सकिने छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।