नेपालको सेयर बजारलाई कायापलट गर्नसक्ने अपेक्षित पाँच परिवर्तन

Oct 19, 2016 Merolagani

तिलक कोइराला
नेपालको सेयर बजार भर्खरै बामे सर्दैछ । मेरोलगानी डटकमले गरेको एक अध्ययन अनुसार नेपालमा सरदर पाँच हजार जनाले दोस्रो बजारमार्फत दैनिक सेयर किनबेच गर्ने गरेका छन् । केही सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताले धेरै परिमाणमा सेयर किनबेच गर्दा ब्यक्तिगत लगानीकर्ताको कारोबार दायरा अत्यन्त सानो छ । यी पाँच परिवर्तन भएमा बजारमा लाखौ लगानीकर्ता थपिने मात्रै हैन, नेपालको सेयर बजार नै दोब्बर हुने आँकलन गरिएको छ । 

१. गैरआवासीय नेपाली र बिदेशीको प्रबेश

नेपालको धितोपत्र बजारलाई आधुनिकीकरण गर्न ऐतिहासिक कदम चालिरहेको धितोपत्र बोर्डले कात्तिक ३ गते गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा प्रबेश गराउने उद्धेश्यले कार्यबिधि बनाउन समिति गठन गरेर नयाँ चरणको सुधारको पहल कदमी लिएको छ ।

बजेट बक्तब्यमा उल्लेख भएको कुरालाई ब्यवहारमा लागु गराउन र गैरआसायीय नेपालीहरुको प्रबेश हुुँदा अर्थतन्त्रमा पर्ने प्रभाव समेत अध्ययन गर्न उसले दुई महिनाको समयावधि दिएर सर्बपक्षीय समिति बनाएको हो । यसले गैरआवासीय नेपालीलाई मात्रै हैन, बिदेशीहरुलाई पनि नेपालको सेयर बजार खुला गर्न आधार तयार पार्ने अपेक्षा गर्नु सान्दर्भिक हुन आउँछ । त्यसो भयो भने झण्डै दुई लाख गैर आवासीय नेपालीहरु नेपालको सेयर बजारमा प्रत्यक्ष रुपमा जोडिने छन् र बिदेशी कम्पनीहरुको पनि सहभागिता हुँदा बजारको आकार ब्यापक हुनेछ ।

अहिले नेपालको सेयर बजारमा गैर आवासीय नेपालीको सहभागिता छैन त ? अबश्य छ, घुमाउरो बाटोबाट उनीहरुले लगानी गरेका छन् । धितोपत्र बोर्डले बनाउने कार्यबिधि लागु भएपछि उनीहरु खुल्लमखुल्ला रुपमा बजारमा प्रबेश गर्नेछन्, त्यसबाट उनीहरुको लगानीलाई बैधानिकता प्राप्त हुनेछ । बैधानिक रुपमा लगानी गर्न र नाफा भएको रकम लैजान पनि पाउने हो भने नेपालको सेयर बजारमा लगानी गर्न गैरआवासीय नेपालीहरुको तछाड मछाड हुनेछ र करोडौ डलर ओईरिने छ । बिदेशबाट अर्बौ रकम सेयर बजारमा आउँदा अहिले पाँच सय रुपैयाँमा पाईरहेको बाणिज्य बैंकको सेयरको भाऊ कति पुग्ला अनुमानकै बिषय हो ।

२. अनलाईन ट्रेडिड.

धितोपत्र बोर्डले गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा औपचारिक रुपमा प्रबेश गराउने हो भने अनलाईन कारोबार प्रणाली अनिबार्य हुने नै छ । यसका लागि केही बर्ष अघि नै म्याद नाघेको थोत्रो कारोबार प्रणालीलाई जतिसक्दो चाँडो मिल्काउनैपर्छ । आधुनिकीकरण पनि गर्छु भन्ने र स्मरणशक्ति नै गुमाएर बेला बेलामा हिसाब किताब नै गोलमाल गर्ने प्रणाली राख्ने हो भने सुधार र आधुनिकीकरण नारामै मात्र सिमित हुनेछ । धितोपत्र बोर्डले अन्र्तराष्ट्रिय बजारमा प्रयोग भई प्रमाणित, बिस्वसनीय, गैरआवासीय नेपाली र बिदेशी लगानीकर्ताको प्रबेशलाई सहज पार्र्ने अनलाईन कारोबार प्रणाली ल्याउन नेप्सेलाई निर्देशन दिएको लामो समय भईसकेको छ तैपनि त्यस दिशामा के प्रगति भएको छ, थाहा छैन ।

अनलाईन कारोबार प्रणाली भएमा गैरआवासीय नेपालीले आफु कार्यरत रहेकै देशबाट सेयर किनेर सेयर दलाललाई रकम भुक्तानी गर्नसक्छन् । गैर आवासीय नेपालीलाई मात्रै हैन, नेपालमै रहेका अरु लगानीकर्ताले पनि दैनिक रुपमा सेयर दलालको कार्यालयमा नधाईकन सेयर किनबेच गर्नसक्छन् । यसबाट काठमाडौको आफ्नो घरमा बसेर मात्रै हैन, ईन्टरनेट सुबिधा भएको नेपालको कुनै पनि डाडाँ वा कुना कन्दरामा रहेका नेपालीले पनि ल्यापटप वा मोबाईलको सहायताले सेयर बजारमा दैनिक कारोबारमा सहभागी हुनसक्छन् । यसले सेयर बजारमा जोडिने नेपालीहरुको संख्या ह्वात्तै बढाउने छ । अहिले झण्डै छ लाखले हितग्राही खाता खोलेकोमा लाखौं लगानीकर्ता थपिने छन् । पढे लेखेका र युवा पुस्ताको बढ्दो उपस्थितिले सेयर बजारलाई नयाँ उचाई दिने ठोस आधार छ ।

त्यतिखेर लगानीकर्ताको बिबरण (केवाईसी) अद्यावधिक गर्ने, पहिचान कार्ड बितरण गर्ने ब्यवस्थित एजेन्सीको भने आबश्यकता खटकिने छ । अहिले सीडीएससीलाई लगानीकर्ता पहिचान कार्ड बितरणको प्रबन्ध मिलाउन भनिए पनि कछुवाकै ताल हुँदा उसले सबै काम गर्नसक्ने क्षमता राख्ला कि नराख्ला भन्ने प्रश्न उब्जिएको छ ।

३. बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स

गैरआवासीय नेपालीलाई पनि सहभागी गराउने र अनलाईन ट्रेडिड. पनि सुरु गर्ने हो भने बाणिज्य बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिनु अनिबार्य आबश्यकता बन्न जान्छ । लगानीकर्ताको हितग्राही खातामा बैंक खाता संयोजन गर्नुपर्छ र सेयर तथा रकम राफसाफका लागि सीडीएससी, नेपाल क्लियरिड. हाउसबीचको समन्वयमा ब्यापक तयारीको पुर्वाभ्यास हुनैपर्छ । त्यस अबस्थामा अहिले जस्तो एउटा क्लियरिड. बैंकलाई मात्रै च्यापेर काम चल्दैन, कम्तिमा ५,७ वटा क्लियरिड. बैंक थप्नैैपर्छ ।

सेयर बजारको काम गर्ने सोचका साथ अहिले अधिकांश बाणिज्य बैंकले आफ्नै सहायक कम्पनीको रुपमा क्यापिटलहरुको स्थापना र संचालन थालिसकेका छन् । सेयर दलालको लाईसेन्स पाईनेमा निश्चिन्त भएर उनीहरुले पूर्व तयारी गरिरहेका हुन् । सहायक कम्पनीमार्फत काम गर्छन भने बाणिज्य बैंकलाई मात्रै हैन, पर्याप्त पूँजी र पूर्वाधार भएका बिकास बैंकलाई पनि सेयर दलालको लाईसेन्स दिनैपर्छ । आबश्यक पूँजी, जनशक्ति र पुर्वाधार जुटाएर आउँछन् भने कम्पनी र ब्यक्तिहरुलाई पनि थप सेयर दलाल लाईसेन्स दिएर नियमनको पाटोलाई प्रभावकारी बनाउनुपर्छ ।

देशब्यापी रुपमा ब्यापक शाखा संजाल भएको राष्ट्रिय बाणिज्य बैंकले निक्षेप सदस्यको काम गर्ने गरी सहायक कम्पनीलाई अगाडि बढाउन खोजेको छ भने कृषि बिकास बैंक पनि कोष ब्यवस्थापन कम्पनीलाई क्यापिटलको रुपमा रुपान्तरण गर्ने तयारीमा लागेको बुझिएको छ । सरकारको स्वामित्व भएकै बाणिज्य बेंक अघि सरेको अबस्थामा अरु निजी बाणिज्य बैंकहरु यसमा झनै आक्रामक हुनु स्वभाविक छ ।

नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई दोस्रो बजारमा बजार निर्माताको रुपमा भित्र्याउने घोषणालाई ब्यवहारमा उतार्न आनाकानी गरिएको अबस्था हेर्दा निजी क्षेत्रलाई नै बढी अबसर दिँदा सर्बसाधारण लगानीकर्ताले बढी सुबिधा पाउने र सुधार तथा बिस्तारको काम चुस्त दुरुस्त हुने कुरामा आश्वस्त हुन सकिन्छ ।

४. सेयर दलाललाई पचहत्तरै जिल्लामा परिचालन

बाणिज्य बैंकहरुलाई सेयर दलालको लाईसेन्स दिएर अहिले संचालनमा रहेका सेयर दलालहरुलाई बन्द भई जाउनु भनी अफ्ठेरो पार्ने काम गर्नु घातक हुनेछ । उनीहरुलाई पूँजी, पुर्वाधार, प्रबिधि, जनशक्ति र क्षमता अभिबृद्धि गर्न प्रोत्साहित गरी तत्कालै पचहत्तरै जिल्लामा परिचालन गर्नुपछ । अहिले संचालनमा रहेका ५० वटा सेयर दलाल कम्पनीहरुले बर्षौदेखि हासिल गरेको ज्ञान, शीप र अनुभवी जनशक्तिलाई भरपुर उपयोग गर्नुपर्छ । नेपालको सेयर बजार धरासायी बनेको बेलामा समेत टिकेर सेयर दलालहरुले लगानीकर्ताको सेवाका साथ आफ्नो ब्यवसाय गरेका छन्, नेपालको पूँजीबजार बिस्तारमा उनीहरुको पनि महत्वपूर्ण योगदान छ, यद्यपी केही बदमासहरु पनि होलान् तर धेरै राम्रा छन् ।

हाल काठमाडौ र केही मुख्य शहरहरुमा मात्र सिमित रहेको सेयर कारोबार दलालहरुको देशब्यापीकरणले चारैतिर  फैलिने छ । लाखौ नेपालीहरु एकैचोटी सेयर बजारमा छिर्नेछन् । त्यसका लागि सेयर दलालहरुलाई मात्र पठाएर हुन्न, सेयर रजिष्ट्रार र निक्षेप सदस्यको सुबिधा दिने संस्थाहरु र राफसाफ गर्ने बैंकको शाखा पनि एकसाथ पठाईनुपर्छ ।

नेप्सेले केही सेयर दलालहरुलाई बाहिर पठाए पनि उनीहरुले काम गर्न सकेनन् र लगानीकर्ताले भरपर्दो र गुणस्तरीय सेवा पाउनबाट बंचित हुनुपरेको अबस्था छ । अहिले देखिएका समस्याहरुको अध्ययन गरी ब्यापक तयारीका साथ सेयर दलालहरुलाई जिल्ला जिल्लामा पठाउनुपर्छ ।

अहिलेका केही दलालले राजधानीमा रहेको एउटा कार्यालयबाट समेत लगानीकर्तालाई राम्रो सेवा दिन र संस्थागत सुशासन कायम गर्न सकेका छैनन् भने बाहिर पठाउँदा झन् के गर्लान् भन्ने प्रश्न पनि उठ्नसक्छ, त्यस्तालाई पूँजी र क्षमता बढाउन बाध्य पार्नुपर्छ र सक्षमलाई तत्कालै पठाईहाल्नुपर्छ किनभने जिल्लाका लगानीकर्ता सेयर बजारमा किनबेच गर्न नपाएर धेरै पीडित छन्, उनीहरुलाई छिटो राहत चाहिएको छ ।

५. सेयर दलालमार्फत मार्जिन कर्जा

नेपाल स्टक एक्सचेन्जले सेयर किनबेचमा बेला बेलामा देखिने समस्या समाधान गर्न अक्सन मार्केट र ट्रेड ग्यारेन्टी फण्डको ब्यवस्था गर्न आबश्यक कार्यबिधिको मस्यौदासहित धितोपत्र बोर्डमा सिफारिस गरिसकेको अबस्था छ । अब त्यसका साथै सेयर दलालकै कार्यालयमा लगानीकर्तालाई मार्जिन कर्जा उपलब्ध गराउने ब्यवस्था हुनुपर्छ । अहिले अभौतिक सेयर कारोबारपछि सेयर धितो कर्जा केही सहज भए पनि कतिपय बैंक तथा बित्तीय संस्थामा जाँदा लगानीकर्ताले झंझटबाट मुक्ति पाउन सकेका छैनन् । दलालकै कार्यालयबाट सहज रुपमा मार्जिन कर्जा पाए भने लगानीकर्ताको हौसला अरु बढ्ने छ, दैनिक कारोबार रकम तीन अर्ब भन्दा माथिको हुनसक्छ । कमिशन घट्यो भनेर चिन्तामा परेका दलालहरुलाई पनि कारोबार रकम बढ्दा फाईदा बढेर गुनासो बन्द हुनसक्छ । तर दलाल मार्फत परिचालन भएको मार्जिन कर्जा दुरुपयोग भए, नभएको नियमन गर्ने प्रभावकारी ब्यवस्था हुनुपर्छ । अलिकति गड्बड गरे पनि तत्कालै दलालको लाईसेन्स निलम्बन र दोषीमाथि कानुनी कारबाही चलाईहाल्नुपर्छ, नत्र बदमासहरुले सेयर बजारलाई बदनाम गराउनसक्छन् ।

अपेक्षित परिणाम यस्तो हुनसक्ला ?

उल्लेखित पाँच अपेक्षित परिवर्तनहरु भएको खण्डमा अहिलेको सेयर बजारमा संलग्न सक्रिय लगानीकर्ताको संख्या तेब्बर, नेप्से कम्तिमा पाँच हजारको बिन्दुमा, दैनिक कारोबार पाँच अर्बमाथि, बजार पुँजीकरण पचास खर्ब, सामान्य खालको बाणिज्य बैंकको सेयरको भाऊ प्रति कित्ता दुई हजार रुपैयाँ माथि पुग्न सक्छ । त्यस्तो भएमा अहिले राम्रो कम्पनीमा एक लाख रुपैयाँ लगानी गरेकाले लाखौ रुपैयाँको सम्पति जोड्नसक्छ ।  । अहिले यो कुरा भन्दा कोरा कल्पना जस्तो त लाग्ला तर भारतमा १० रुपैयाँ प्रति कित्ताको सेयर मूल्य २३ हजार रुपैयाँ पुगेको छ, नेपालमै युनिलिभर, राष्ट्रिय बिमा कम्पनीको सेयर मुल्य दजाँउँदा पनि त्यो संभव रहेको देखिन्छ । बिकशित भईसकेको सेयर बजारमा भन्दा बामे सर्दै गरेको सेयर बजारमा लगानी गरेर कमाउने संभावना बढी हुने हुँदा उल्लेखित पाँच ऐतिहासिक परिवर्तनहरु भएको खण्डमा लगानीकर्ताको पनि कायापलट नै हुनेछ । पूँजी बजारको लाभ धेरै भन्दा धेरै जनतामा पुग्नेछ ।

लगानीकर्ताहरुकै तर्फबाट दबाब सिर्जना गरिए यी परिवर्तनहरु चाँडै नै होलान् । यत्ति चाँही ठोकुवा गरेर भन्न सकिन्छ कि धितोपत्र बोर्ड र नेप्सेका चरणबद्ध सुधार योजनाहरुलाई पछ्याउँदै सुरक्षित कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेले पछुताउनु पर्ने अबस्था अबश्य नै आउने छैन । नेपालको सेयर बजारको भबिष्य राम्रो छ भन्दैमा हल्लामा उचालिएर कमजोर कम्पनीमा लगानी गर्नबाट भने सबैलाई साबधान बनाउनु परेको छ । जोखिमको मात्रा पनि उच्च छ ।  देशको अर्थतन्त्रको अबस्था, सुचिकृत कम्पनीहरुको आधारभुत पक्ष, राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिले पार्ने असरलाई पनि उत्तिकै ध्यानपूर्वक हेर्नुपर्छ । 

मेरोलगानी डटकमको अनुमति बिना अन्य मिडियाहरुले यसलाई प्रयोग नगर्नुहोला ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।


comments powered by Disqus

Load More

बाणिज्य बैंकहरुको कति आउँदैछ हकप्रद शेयर ? (बिबरणसहित)

May 27, 2016

तिलक कोइराला र परमेश्वर अधिकारी

१४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । औपचारिक निर्णय गरी नियमनकारी निकायबाट स्वीकृति पाउन बाँकी र स्वीकृति पाए पनि लगानीकर्ताले आबेदन दिन बाँकीको हिसाव गर्दा यो रकम बराबरको हकप्रद आउने निश्चित भएको हो । त्यसमा निर्णय नगरिसकेका तर हकप्रद शेयर जारी गर्ने संभावना भएका बैंकहरु र प्रिमियमको समेत हिसाव गर्ने हो भने ३० अर्ब रुपैयाँसम्म लगानीकर्ताले हकप्रदका लागि खर्चिनुपर्ने देखिएको छ ।