सरकारी अधिकारीहरुको मिलेमतो र बदमासीले एनसेलले ८ अर्ब ३६ करोड नगद लाभांस वापतको रकम विदेश लगेर नेपालका नीति निर्माताहरुलाई छक्याईदिएको चर्चा सर्बत्र छ । नेपाल राष्ट्र बैंक आफैले केही बर्षदेखि रोकेको ऐनसेलको लाभांश बिदेश लैजाने प्रक्रियालाई खोल्ने क्रममा ठूलो आर्थिक चलखेल भएको बताईन्छ ।
संसदको अर्थ समितिले लाभांश बिदेश लैजान, पूँजी बृद्धि गर्न र हक हस्तान्तरण सम्बन्धी काम रोक्नु भनी सरकारी निकायहरुलाई निर्देशन दिएको अबस्थामा कसरी नेपाल राष्ट्र बैंक र नेपाल दुरसंचार प्राधिकरणले खुसुक्क एनसेललाई लाभांश बिदेश लैजान अनुमति दिए ? यसमा गंभीर रहस्य लुकेको बताईन्छ । झण्डै १० करोड चुक्ता पूँजी देखाएको एनसेलमा बैधानिक प्रक्रियाबाट लगानी नआएको भन्दै त्यस कम्पनीको लाभांश लैजान उद्योग बिभागले पनि रोकेको थियो ।
देशलाई अर्बौ घाटा पर्ने गरी काम गर्ने नेपाल राष्ट्र बैंकका जिम्मेवार पदाधिकारी र नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष झामाथि तत्काल छानिविन गरी उनीहरुको सम्पतिको स्रोत खोज्नु पर्ने चुनौति अब खडा भएको एकथरीको तर्क छ । झा नेपाल आयल निगममा कार्यकारी निर्देशक रहँदा अर्बौ भ्रष्टाचार गरी अकुत सम्पति कमाएकोमा अहिले नेपाल दुरसंचार प्राधिकरण जस्तो संबेदनशील ठाउँमा बसेर त्यही प्रबृत्ति दोहोर्याएको बताईन्छ । राज्यलाई तिर्नुपर्ने अर्बौ कर तिर्न आनाकानी गरेको ऐनसेललाई किन यसरी रकम लैजान दिईएको हो भन्ने बारे प्राधिकरण र राष्ट्र बैंकले स्पष्ट जवाफ दिन सकेका छैनन् ।
एनसेलको बहुमत सेयर टेलिया सोनेराले सिंगापुरको एक्जियटालाई बेच्दा पूँजीगत लाभकर समेत नतिरेकाले उसैबाट लाभकर भराउन संसदीय समितिले निर्देशन दिएको थियो ।
झाले एनसेललाई लाभांश बिदेश लैजान दिनु भन्दै गत असारमा लेखेको पत्रलाई आधार बनाएर राष्ट्र बैंकले रकम लैजाने स्वीकृति दिएको देखिए पनि यसमा मिलेमतो रहेको आशंका गरिएको छ । आफुले बर्षौदेखि रोकेको र संसदीय समितिले नै कडा निर्देशन दिईरहेको बिषयमा आँखा चिम्लेर कसरी राष्ट्र बैंक एनसेलको पक्षमा उभियो भन्ने प्रश्न नै गंभीर छ । गभर्नर नेपालमाथि आक्षेप लागेपछि त्यसको खण्डन गर्न राष्ट्र बैंकले हतारमा पत्रकार सम्मेलन गर्नुले बिषयको गंभीरता अरु बढाईदिएको छ ।
गभर्नर नेपालको समेत मिलेमतो रहेको समाचार बाहिर आएपछि नेपाल राष्ट्र बैंकका नयाँ प्रबक्ता नारायणप्रसाद पौडेलले आफुलाई पानीमाथिको ओभानो देखाउने प्रयास गर्दै सोमबार हतारमा पत्रकार सम्मेलन गरेका थिए । उनले दुरसंचार प्राधिकरणको पत्रको हवाला दिदै त्यसैको आधारमा स्वीकृति दिईएको बताएर गलत कार्य नभएको दावी गरे ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निर्देशनमा प्राधिकरण र नेपाल राष्ट्र बैंकले एनसेललाई रकम बिदेश लैजान स्वीकृति दिएको बताईन्छ ।
यसैबीच प्रधानमन्त्री तथा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका ब्यापारी अजय सुमार्गीले अबैध रुपमा नेपाल ल्याएर नबिल लगायतका बैंकहरुमा राखिएको स्रोत नखुलेको तीन अर्ब भन्दा बढी रकमको भुक्तानी दिने चाँजोपाँजो पनि गभर्नरले मिलाउँदै गरेको बताईन्छ । एनसेलको लाभांश बिदेश लैजान र अजय सुमार्गीको नाममा बिदेशबाट आएको रकम भुक्तानी दिने कार्य रोक्न तत्कालीन गभर्नर डा. युवराज खतिवडाले निर्देशन दिएका थिए ।
..................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।