सेयर बजार घट्यो भन्ने चिन्ता गर्न छाडी अब धमाधम यस्ता कम्पनीको सेयर उठाउँन थाल्नुस

Nov 09, 2016 merolagani

तिलक कोइराला
सेयर बजार घट्यो भन्दै गंभीर चिन्तामा पर्नुभएको छ ? त्यो बेकारको चिन्ता छाडी अब धमाधम राम्रा कम्पनीको सेयर किन्ने तयारी थाल्नुस, जुन राम्रा कम्पनीको सेयर मूल्य जत्ति तल झर्दै जान्छ त्यति धेरै किन्नुहोस् । यस्तो डरलाग्दो अबस्थामा पनि सेयर किन्ने सल्लाह दिने मुर्खता यसले गर्यो भन्नुहोला । त्यसो हैन, विवेक प्रयोग गरेर आफ्नै अध्ययन, बिश्लेषण र निर्णयमा सेयर किन्नुहोस् भनेको हो ।

 

किन घट्यो त बजार ?
अहिले बजारमा धेरै सेयर आपुर्ति भएको छ तर संस्थागत लगानीकर्ता र धेरै सेयर किन्नसक्ने हैसियत भएका लगानीकर्ताले खरिदमा चासो नदेखाउँदा सेयरको मूल्य तल गई नेप्सेमा गिरावट आएको हो ।

तरलतामा कमी, कर्जाको ब्याज बढेको अबस्था, अहिले बजार तल जाँदै गर्दा अझै तल जान्छ कि भनी नाफा भएकाले आफु सुरक्षित बस्ने उपाय खोजेर सेयर बेच्दा, घाटैमा रहेकाले पनि थप घाटा हुन नदिन खोज्दा, हकप्रद भर्न रकम जोहो गर्ने क्रम तीब्र हुँदाको असर, केही सार्वजनिक निश्काशनहरुमा ठूलो रकम परिचालन हुनु, केही एफपीओ आउने तयारी, देशको आर्थिक अबस्थामा आउनसक्ने संकटको पूर्व आँकलन, राजनीतिक अन्योल लगायतका कारणहरुले लगानीकर्तामा बिक्री गर्ने मानसिकता बढाएको बुझ्न सकिन्छ । यसले साना लगानीकर्तामा बढी त्रास र अन्योल उत्पन्न गराएको पाईन्छ । मंगलबारको सेयर बजारमा एक महिलाले हतारिदै आफुसँग भएको झण्डै तीस वटा कम्पनी सबैको सेयर तुरुन्त बेचिदिनुस भनेर एक सेयर दलाल कम्पनीको कार्यालयमा आदेश दिँदा त्यहाँ रहेका अन्य लगानीकर्ताहरुमा उत्पन्न भएको प्रतिक्रियाले पनि आम सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व गरेको देखिन्थ्यो ।

गत बर्ष र यस बर्ष थपिएका बोनस र हकप्रदको मात्रै हिसाब गर्ने हो भने पनि अर्ब भन्दा  बढी कित्ता सेयर बजारमा थपिएको छ भने मर्ज सकेर आएका कम्पनीहरुले पनि आपुर्ति बढाएका छन् तर नयाँ लगानीकर्ताको प्रबेश ठप्प हुने र पुराना, ठूला र संस्थागत लगानीकर्ताले रमिता हेर्ने अबस्थाले बजारलाई दिनदिनै ओरालोतर्फ लगिरहेको छ । 

साना आत्तिने, ठूला र संस्थागत रमिता हेर्ने ?

साना लगानीकर्ता बढी आत्तिएको र ठूला तथा संस्थागत लगानीकर्ता हात बाँधेर बसेको अहिलेको अबस्थाले बजारलाई निकै संबेदनशील मोडमा पुर्याएको छ ।

ठूला तथा संस्थागत लगानीकर्ताले बजार अरु तल जान्छ र अरु सस्तोमा सेयर किन्न पाईन्छ भनेर नै अहिले पर्खेर बसेको अबस्था छ । यदि राम्रा कम्पनीको सेयर मूल्य घट्नुको सट्टा बढ्न थाल्यो भने उनीहरु पनि अब त सेयर किन्नुपर्छ भन्दै बजारमा ओर्लने छन् ।  त्यसले बजारलाई चलायमान बनाउने छ । साना लगानीकर्ताको मात्र गतिबिधि अहिले बढी भएकाले दैनिक रुपमा कारोबार रकम ७०, ८० करोडको हाराहारीमा खुम्चिएको हो । 

हालै सामुहिक लगानी कोषका ईकाईहरु सर्बसाधारणमा जारी गरेका दुई क्यापिटलहरुले पनि बजारबाट सेयर उठाउनु पर्ने अबस्था छ तर कोही पनि संस्थागत लगानीकर्ताको सक्रियता देखिएको छैन ।

नियमनकारी निकाय निदाउँदाको असर 

यसमा बजार सुधार तथा बिस्तारका लागि धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, बिमा समिति, सिडीएससी लगायतका निकायहरुले चाल्ने कदमहरु ठप्प हुँदा पनि प्रभाव परेको छ । बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स, अहिलेका दलाललाई पचहत्तरै जिल्ला पठाउने, अनलाईन कारोबार प्रणाली स्थापना, सेयर दलाल मार्फत मार्जिन कर्जा, गैर आसावीय नेपाली र बिदेशी कम्पनीलाई सेयर बजारमा स्वागत गर्ने काम अनिश्चित हुँदा पनि बजार यसरी खस्कनलाई दबाब परेको छ । तर यी कुरा पनि ढिलो वा चाँडो हुने नै छन् ।


बजारको चाल बुझौ

सेयर बजार सघै झरिरहने छैन, बजार झर्दै गएर एउटा बिन्दुमा पुगेपछि फेरि माथि चढ्न थाल्छ । तर त्यो न्युनतम बिन्दु कुन हो अहिल्यै कसैले भन्न सक्दैन । एकैदिन सेयर बजार तल झरेर ध्वस्तै हुन्छ भनेर भन्न त सकिन्न तर लगानीकर्ताको मनस्थिति खस्किएपछि चानचुने कदमले बजारलाई फेरि सकारात्मक दिशामा लैजान गाह्रो पर्नसक्छ । तर दीर्घकालीन हिसाबले अहिलेको घट्दो बजारमा सेयर किन्ने हो भने भबिष्यमा फाईदा लिन सकिने संभावना भने धेरै छ । दीर्घकालीन हिसाब भन्नाले कम्तिमा एक बर्ष देखि बढीमा तीन बर्षका लागि गरिने लगानी हो ।

सेयर बजार बढ्दै गएर एकदिन फेरि ओरालो लाग्नेछ । त्यतिबेला पनि अहिलेको जस्तै अबस्था आउने हो । बजारको चाललाई राम्ररी बुझेर लगानी गरेमा घट्दो र बढ्दो दुबै खाले बजारबाट लाभ लिन सकिन्छ ।

आगामी दिनमा अर्थतन्त्र र सेयर बजार फैलिदै जाने हो, यो निश्चित छ । विश्वका अरु देशको सेयर बजार र नेपालको सेयर बजारको तुलना गर्दा पनि यसलाई यकिन गर्न सकिन्छ तर रातारात भने यो परिवर्तन हुँदैन । 

राम्राको सेयर घाटा खाएर नबेच्नुहोस्

मेरो त सल्लाह छ, सर्बसाधारण लगानीकर्ताले अहिले राम्रा कम्पनीको सेयर बेच्न बन्दै गर्नुहोस् । नराम्रा कम्पनीको सेयर छ भने नाफा वा घाटा होस् बेचेर राम्रा कम्पनीमा लगानी सार्नुहोस् । राम्रा कम्पनी यस्ता हुन्छन् जसले गत बर्षको नाफा र हकप्रदबाट धेरै पूँजी बढाए पनि यस बर्षको पहिलो त्रैमासमा आकर्षक प्रगति गरेको बित्तीय प्रकाशित गरेका छन् वा गर्नेवाला छन् र उनीहरुले यस आर्थिक बर्षको अन्त्यमा लगानीकर्तालाई अरु हंसिलो बनाउने हैसियत राख्छन् ।

यस्ता कम्पनीको सेयर किन्नुहोस् जसले बोनस घोषणा गरेर सेयरधनी दर्ता किताब बन्द गरेको छैन वा बोनस घोषणा गर्नेवाला छ तर सेयरमूल्य धेरै तल आईसकेको छ । बित्तीय अबस्था खराब भएका र हकप्रद मात्र दिने कम्पनीको सेयर किन्दै नकिन्नुहोस्, त्यसबाट धेरै फाईदा हुनसक्दैन ।

अहिले सस्तोमा राम्रा कम्पनीको सेयर किनेपछि बजार अरु घट्न पनि सक्छ तर नआत्तिनुहोस् । तपाइँमा धैर्यता अति आबश्यक छ ।

बजार तीब्र रुपमा घटेको बेला पनि  संकटग्रस्त र केही करोडवाला कम्पनीहरुको सेयर मूल्य भने उचालिएरै गएको देखिन्छ, त्यस्ता कम्पनीको सेयरबाट सधै टाढा रहनुहोस ्किनभने त्यस्ता कम्पनीले जहिल्यै पनि खतराको घण्टी बजाईरहेका हुन्छन् । यस्ता बलिया कम्पनी पनि अहिलेको सेयर बजारमा छन् जसले आगामी दुई बर्षसम्म एक सुका खुद नाफा गरेनन् भने पनि १० प्रतिशत बोनस मज्जाले दिनसक्छन्, सेयर मूल्य भने औसत तल छ । देशको अर्थतन्त्र नै ध्वस्त भयो भने ती कम्पनीहरुको नेटवर्थ नकारात्मक हुनसक्दैन । 

सेयरमूल्य ४५० रुपैयाँ देखि ७०० रुपैयासम्म र बोनस घोषणा भएका राम्रा बाणिज्य बैंक, सेयर मूल्य र बोनसको हिसाब गर्दा तुलनात्मक फाईदा रहेका निर्जिवन बिमा र जीवन बिमा, राम्रो पूँजी आधार र बढ्दो कमाई भएका लघुबित्त लगायतका कम्पनीहरुको धेरै मूल्य घटेर तल आएका सेयरहरु उठाएर दीर्घकालीन लगानी गर्दा तपाइँले भबिष्यमा राम्रो फाईदा लिन सक्नु होला । क्षणिक लाभहानीको हिसाब गरेर सेयरमा लगानी गर्ने तयारीमा हुनुहुन्छ भने डुब्ने खतरा पनि उत्तिकै छ ।

महंगो ब्याजमा कर्जा लिएर त सेयर बजारमा लगानी गर्दै नगर्नुहोस् किनभने भोलि सेयर बजार अरु तल गयो भने सेयर बेचेर न कर्जा तिर्न पुग्ने न त अरु उपाय नै लगाउन सकिने हल न चलको अबस्था आउनसक्छ । बैंकहरुले गर्ने मार्जिन कलले तपाइँमा तनाव अरु बढाउनसक्छ । 

कम्तिमा १० वटा कम्पनीको सेयर अलि अलि गरेर किन्नुहोस्

एकैचोटी, एउटै कम्पनीको सेयर आफुसँग भएको सबै पैसा खर्च गरी नकिन्नुहोस् । कम्तिमा १० वटा राम्रा कम्पनीको सेयर मूल्य घटेको बेला किन्नुहोस् । जति बजार घट्दै जान्छ, सेयर किन्ने क्रम पनि त्यति नै बढाउँदै जानुहोस् । बजार घटेर बढ्न थालेपछि भने सेयर किन्न कम गर्दै जानुहोस् र १० प्रतिशतले मूल्य बढेपछि सेयर बेच्न थाल्नुहोस् ।

नाफा घाटा तपाइँकै जिम्मेवारी

आफ्नो अध्ययन र मूल्यांकनको आधारमा सेयर किन्नुहोस् । अरुको बहकाऊमा हैन । भोलि धेरै घाटा लाग्यो भने अरुलाई दोष दिन पाउनुहुन्न र धेरै फाईदा भयो भने अरुलाई फाईदा बाड्नु पनि पर्दैन ।

ठूला र संस्थागत लगानीकर्ताले किने कि किनेनन् भन्ने हिसाव गर्नतिर पनि नलाग्नुहोस् किनभने उनीहरु पनि मौकाको खोजीमा छन् । सेयर बजार धेरै तल झरेका बेला उनीहरुले नै सस्तोमा सेयर उठाउँछन् र हल्ला गर्न थाल्छन् त्यसपछि सर्वसाधारण लगानीकर्ताले महंगोमा सेयर किन्नुपर्छ किनभने सस्तोमा पाईएको सेयर अरुले  उठाईसकेका हुन्छन् । साना लगानीकर्ता त जहिले पनि बजार बढ्न थालेपछि सेयर किन्छन् जुन उल्टो बुद्धि हो, त्यो बेला अहिलेको जस्तो सस्तोमा राम्रा कम्पनीको सेयर बेच्न कोही पनि आउँदैन ।

घटेको बेला घटेरै किन्नुहोस्
बजार घटेर अरु सेयर किन्न डराईरहेको बेला तपाइँमा राम्रा कम्पनीको सेयर सस्तोमा किन्ने साहस चाहिन्छ । त्यो साहस नै तपाइँको औजार हो । हकप्रदको हल्ला मात्र गर्ने कम्पनीहरुको सेयर उचालिएर किन्दै नकिन्नुहोस्, बोनस दिने कम्पनी छ भने पनि मूल्य घटाएरै किन्नुहोस् ।

दीर्घकालीन लगानी नै सर्बोत्तम विकल्प

ढुक्क भएर राम्रा कम्पनीमा दीर्घकालीन लगानी गर्नुहोस् आगामी तीन बर्षपछि मेरोलगानी डटकमले भनेर सेयर किनेको थिएँ, यत्ति फाईदा भयो भन्ने हिसाब गर्दैहुनुहुनेछ । बीचमै धेरै फाईदा आयो भने बेचेर फाईदा सुरक्षित गर्ने अबसर त सधैं रहिरहने नै छ । तर आफ्नो जोखिम बहन क्षमता, कम्पनीको आधारभुत अबस्था र देशको अर्थतन्त्रलाई भने सधै ख्यालमा राख्नुहोस् । सधै याद राख्नुपर्ने अर्को मुख्य कुरा सेयर बजार तुलनात्मक रुपमा जोखिमको क्षेत्र पनि हो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।