मृत्यु भएका ब्यक्तिको नाममा रहेको कृषि बिकास बैंकको सेयरको हकप्रद कसरी भर्ने ?

Nov 13, 2016 Merolagani

- तिलक कोइराला
कृषि बिकास बैंक(ADBL)ले आफ्नो चुक्ता पूँजी बढाउँन जारी गरेको ५० प्रतिशत हकप्रद सेयरमा मंसिर ७ गतेसम्म आबेदन दिने म्याद रहेको छ । गत असोज ९ गतेसम्म सेयर किनेर नामसारी गराएका सेयरधनीहरुले ५० प्रतिशत हकप्रदको आबेदन दिनसक्ने छन् तर त्यस अगावै मृत्यु भएका सेयरधनीको नाममा कसले हकप्रद भर्ने ? यो समस्या चर्को रुपमा रहेको पाईन्छ ।

कृषि बिकास बैंकले केही बर्ष अगाडि आफ्ना ऋणीलाई समेत सेयर वितरण गरेर गाउँ गाउँमा आफ्ना सेयरधनी फैलाएको थियो । त्यसरी सेयरधनी बनेका ऋणीहरु मध्ये अहिले कयौंको मृत्यु भईसकेको छ । मृत्यु भईसकेका आफ्ना हजुरबुबा, बुबा, आमा वा नजिकका नातेदारका नामको कृषि बिकास बैंकको सेयरको हकप्रद कसरी भर्ने भन्ने चिन्तामा रहेकाहरुका लागि मेरोलगानी डटकमले केही उपायहरु सुझाएको छः 

कृषि बिकास बैंकको हकप्रद सेयर निश्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका अनुसार यसका दुईवटा उपाय छनः

पहिलोः मृतकको नाममा रहेको सेयर नजिकको हकवालाको नाममा नामसारी गरेर हकप्रद भर्न सकिन्छ । सेयर धनी दर्ता किताब बन्द भईसकेको हुनाले अब नामसारी गराएर हकप्रद भर्न संभव छैन । 

दोस्रोः मंसिर ७ गते आउन अब केही दिन मात्र बाँकी रहेकाले नजिकका हकवालाले मृतककै नाममा हकप्रद भरेर पछि नामसारी गराउनु एक मात्र विकल्प हो ।  मृतकका नाममा हकप्रद भर्दा आबश्यक बिबरण मृतककै राखी हस्ताक्षर गर्ने स्थानमा हस्ते जनाई नजिकका नातेदारले सही गर्नुपर्नेछ ।

यसरी हकप्रदको आबेदन गर्दा मृत्यु दर्ता प्रमाण पत्र भने साथमा राख्नु अनिबार्य छ । 

मृतकको नाममा बोनस समेत जोडी हाल १०० कित्ता सेयर रहेको छ भने ५० कित्ता सेयर माग गर्न पाईन्छ र त्यस वापतको प्रति कित्ता एक सय रुपैयाँले रकम बुझाएर आबेदन पत्रसाथ पेश गर्नुपर्नेछ । कृषि बिकास बैंकका नजिकका शाखा कार्यालयमा गएर यससम्बन्धी प्रक्रिया पुरा गर्न सकिने छ । यदि आबेदन पत्र प्राप्त गर्नसक्नु भएको छैन भने कृषि बिकास बैंकको वेभसाईट www.adbl.gov.np र एस क्यापिटलको वेभसाईट www.acecapital.com.np बाट डाउन लोड गरी वा अनलाईनै ओबदन पत्र भर्न सकिने ब्यवस्था पनि गरिएको छ ।

हकप्रद भर्ने सूचना हेर्न यहाँ जानुहोस् ।

अहिले नजिकका नातेदारले मृतकको नामको हकप्रद भरे पनि पछि सेयर नामसारी गराउने बेलामा भने आफु नै सबैभन्दा नजिकको हकवाला रहेको कुरा निबेदकले प्रमाणित गर्नसक्नुपर्ने एस क्यापिटलले जनाएको छ । यसका लागि नजिकका हकवाला काठमाडौ आउनु पर्ने र सेयर रजिष्ट्रार एस क्यापिटल र नेपाल स्टक एक्सचेन्जमा गएर प्रक्रिया पुरा गर्नुपर्नेछ । 

कृषि बिकास बैंकका दुई लाख भन्दा बदी संख्यामा सेयरधनी छन् । 

कृषि बिकास बैंकले हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड रुपैयाँको ५० प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । मृतकहरुको हकप्रद नबिक्ने र कतिपय सेयरधनीले सूचना नपाई बेलैमा हकप्रद भर्न नसक्दा वा अन्य कारणले पाँच लाख कित्ता भन्दा बढी हकप्रद सेयरमा दावी नपर्नसक्ने अनुमान गरिएको छ ।

कृषि बिकास बैंक देशभर साढे दुई सय शाखा संजाल भएर गाउँ गाउँमा फैलिएको बैंक हो । उसले गत बर्ष दुई अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएर प्रति सेयर आम्दानी ५६ रुपैयाँ कायम गरेको छ ।

सरकारी हस्तक्षेप नहुने र ब्यवस्थापन अझै चुस्त दुरुस्त हुने हो भने देशब्यापी २५० शाखा संजाल र पर्याप्त सम्पति रहेको कृषि बिकास बैंकले आगामी दिनमा सबै बाणिज्य बैंकलाई उछिन्नसक्छ । यसका लागि प्रमुख कार्यकारी लिलाप्रकाश सिटौलाले कसरी आफ्नो क्षमता देखाउँछन् भन्ने चासो सेयरधनीमा रहेको पाईन्छ । 

 

 

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।