झिमरुक विकास बैंकलाई आफुमा मिलाएपछि अब ज्योतिको यात्रा कतातिर हुन्छ ?
म यो बैंकमा आवद्ध हुनु पहिले नै यो सम्झौता भएको थियो । यस मर्जले बैंकलाई अगाडि बढ्न केही आधार दिएको छ । विगतमा देखिएका समस्याहरु अहिले सुल्झिएका छन् । खराब कर्जालाई उचित ढंगले व्यवस्थापन गर्न सकेका छौं । एसेस्टको पोर्टफोलियोको समिश्रण अनि त्यसका जोखिमलाई उचित व्यवस्थापन गर्न सक्नु नै हाम्रो उपलब्धि हो । एसेस्ट, यिल्ड र डिपोजिटको पोर्टफोलियो अहिले एकदमै राम्रो अवस्थामा छ । यसले गर्दा वाणिज्य बैंकहरु ९ प्रतिशतको कल एकाउण्टमा समेत आत्तिन पर्ने अवस्थामा हामी वाणिज्य बैंकको लोन स्वाप गर्न सक्ने हैसियतमा आएका छौं । सिसिडी अनुपात ७५ प्रतिशतभन्दा तल छ जसले गर्दा पनि निक्षेप र कर्जाप्रवाहमा सन्तुलन गर्दै अघि बढ्न हामीलाई सहज भएको हो । प्रथम त्रैमासिक वित्तीय विबरणमा पनि यसका केही संकेतहरु आएका छन् र समग्रमा राम्रो अवस्था देखिएको छ ।
तर पनि ज्योतिको पहिलो त्रैमास सन्तोषजनक देखिएन नि ?
व्यवसाय बिस्तारको कुरा गर्ने हो भने म तपाईको कुरामा केही हदसम्म सहमत छु । त्यो बाहेक अरु विषयमा गत वर्षको यसै अवधिको तुलनामा झण्डै एकसय ६० प्रतिशतको प्रगति हुँदा नराम्रो भन्न नमिल्ला कि ? ठूलो ऋणहरुका कारणले पनि केही हकसम्म व्यवसाय बिस्तारमा संकुचन देखिएको हो । यस्ता अरु पनि समस्याहरु छन्, व्यवस्थापकीय रुपमा यस्ता लोनलाई निष्कर्षमा पुर्याउन नसक्नु लगायत कारणले दशक लामो यात्रामा ज्योतिले केही हदसम्म व्यवसाय बिस्तार गर्न नसकेको हो । तर विगत पाँच छ महिनाको अवधिमा यी सबै विषय सुधारिएका छन् । यसले अब राम्रो बाटो समाति सकेको हुनाले हामी राम्रो गन्तव्यमा पुग्छौं भन्ने हाम्रो सोच हो । अब दोस्रो त्रैमासमा हामी तपाईले भनेको अपेक्षा भन्दा माथि उक्लिएर प्रगति विबरण सार्वजनिक गर्छौं, ढुक्क हुनु भए हुन्छ ।
ज्योति बिकास बैंकको पूँजी वृद्धिको अबको बाटो के हो ?
९९ करोडको हाराहारीमा रहेको अहिलेको पूँजी बोनस बितरण पश्चात एक अर्ब ११ करोडको हाराहारीमा पुग्छ । त्यस पछि शतप्रतिशत हकप्रदबाट हामी २ अर्ब २२ करोडको पूँजी भएको बैंक बन्नेछौं । यस बीचमा केही वित्तीय संस्थाहरुसँग कुरा पनि चलिरहेको छ सहकार्य गरेर अघि बढ्नका लागि । २५ करोडको हाराहारीमा हामीले कमाईलाई नै पूँजीकृत गर्ने योजना भएकाले पाँच छ करोड रुपैंया पूँजी थप गर्न हामी कुनै संस्थाको सहयोग लिन्छौं ।
भने पछि तपाईहरु मर्जमा जाने सम्भावना अझै छ ?
आफ्नो अस्तित्व गुमाउने गरी हामी मर्ज वा एक्वायरमा जाँदैनौं । विगतमा पनि लामो समय हाम्रो बैंकको शेयर कारोबार हुन नसकेको तितो यथार्थलाई ध्यानमा राखेर नै हामी अब मर्जरमा नजाने नीतिमा अघि बढेका हौं । कुनै राम्रो किसिमको सानो संस्थालाई एक्वायर गरेर हामी अढाई अर्बको पूँजी भएको राम्रो बैंकका रुपमा स्थापित हुन्छौं । मर्ज हाम्रो विकल्प हैन, यसका लागि एक्वायरको बारेमा स्वापमा हामी लचिलो भएर जाने सोच छ ।
हाम्रो विकास बैंकले साथ नछाडिदिएको भए त तपाईले भनेको जस्तै हुने रहेछ नि हैन ?
हाम्रो योजना नै त्यही थियो । तर एउटा भनाई छ ‘मर्जर्स आर लाईक कर्पोरेट म्यारिज’ यस्तै भयो । बिवाह गर्न बसेको जग्गेबाट बेहुली भागे जस्तै भयो । हाम्रो विकास बैंकले विशेष साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गराउन नसके पछि हामीले अरु विकल्प सोच्नु परेको हो । हिजोका दिनमा हामीसँग रहेको ठूलो ऋणलाई देखाएर नै हाम्रो विकास बैंकले फरक बाटो समातेको थियो । तर आजका दिनमा यदि त्यो मर्जर भएको थियो भने सम्भवत वहाँहरुले समस्याको विषय उठान गर्न पाउनु हुने थिएन । आजका दिनमा ज्योतिमा नआएकोमा पछुतो छ होला साथीहरुलाई जस्तो मलाई लाग्छ । किनकी वहाँहरुले जे कुरा औल्याउनु भएको थियो, त्यो त अहिले समाधान भैसकेको छ ।
पूँजी एकाएक दोब्बरभन्दा धेरै बढ्दा त्यही अनुपातमा कमाई बढाउन कति चुनौती देख्नु भएको छ ?
यसमा हामी काल्पनिक भन्दा व्यवहारिक भएर ठोस योजना बनाएर अघि बढ्ने हो । यसै अनुसार नै कामहरु भएका छन् । बोल्ने कुराप्रति जिम्मेवार त हुन पर्यो नि । विगतमा कुनै पनि वित्तीय संस्थाले २० प्रतिशतको प्रगति गर्दा मनग्गे हो भन्ने बुझाई थियो । तर अहिले त एकाएक चार गुणाले त्यसलाई बढाउनु पर्ने अवस्था आयो । रातारात यस्तो प्रगति गर्न नसकिने हैन, तर यसले स्क्रिनिङमा समस्या निम्त्याउँछ । यसले गर्दा पूँजी चार गुणा बढे अनुसारको प्रगतिलाई खराब कर्जाका रुपमा रुपान्तरण हुन नदिने गरी प्रतिशेयर आम्दानीको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेमा निरन्तर गृहकार्य गरिरहेका छौं ।
यसका लागि चुनौती छन्, खरिद ऐनका कारण कतिपय ऋणमा हामी हात हाल्न सक्दैनौं । तर जलविद्युत आयोजनामा ५० करोडसम्मको ऋण प्रत्याभुत गरेर गएको अवस्थाले हामीलाई पुरातनवादी सोचमा आधारित रहेर आम्दानी वृद्धि गर्नु पर्ने अवस्थाबाट बाहिर निस्किन सक्ने बनाएको छ । यसमा राम्रो बैंकहरुसँगको सहकार्यमा मात्र यो काममा अघि बढ्छ । हामी प्रतिशेयर आम्दानी कुनै पनि हालतमा सन्तुलन गर्दै त्यसलाई अझै बढाउने मार्गमा लाग्छौं । अघि पनि मैले भने ज्योति विकास बैंकमा यो आधार देखेर नै म केही वाणिज्य बैंकमा आवद्ध हुन आएका प्रस्ताव छाडेर यहाँ आएको हुँ । मिलेर काम गर्न सक्नु ठूलो कुरा हो, यो संस्थामा त्यो वातावरणले पनि मलाई हौस्याएको छ । दोस्रो त्रैमासमा व्यवसाय बिस्तारको वास्तविक रुप देख्ने कुरा अघि भनिसके, यो वर्षको अन्त्यसम्ममा ज्योति विकास बैंकले हिड्ने बाटो के हो र यसले कसरी आफुलाई उत्कृट रुपमा स्थापित गर्छ भन्ने संकेतका सबै प्यारामिटर्स हेर्न पाउनु हुनेछ ।
हकप्रद निष्काशनको प्रक्रिया सरलीकृत गर्न रेटिङ गर्नु पर्ने व्यवस्था हटाए पनि संस्थापकहरुको कारणले ढिलाई भैरहेको छ नि ?
खासमा यो संस्थापक र साधारण भनेर वर्गीकरण गर्ने प्रणाली नै उचित हो भन्ने मलाई लाग्दैन । ढिलाईका कुरा गर्दा संस्थापकको आयश्रोतलाई अनिवार्य गरिएकोले केही ढिलाई भएको होला, यसलाई सकरात्मक मान्नु पर्छ । तर अहिले शेयर बजार क्रमिक रुपमा ओरालो लागेका कारण कतिपय संस्थाका संस्थापकहरुले बजारको अवस्था के होला भन्ने आँकलन गर्दै हतार गरेर लगानी गर्न डराईरहेको अवस्था हो । बजार अहिलेको अवस्थामा रहने र केही सकरात्मक बाटोमा जाने हो भने धितोपत्र बोर्डमा गएर प्रक्रिया रोकिराखेका संस्थाका साथीहरु पनि सकारात्मक बन्छन् भन्ने लाग्छ । तर विकल्पका रुपमा त संस्थापक शेयर पनि लिलामबाट बिक्री गर्ने अवस्था हुन्छ । यसले साधारण लगानीकर्तालाई पनि अन्यौलतामा धकेल्ने भएका कारण संस्थाहरुले पनि संस्थापकहरुलाई पर्खिरहेका हुन् । र संस्थापकहरुले हकप्रदमा पैसा त हाल्छन्, अहिलेको बजारले पनि त्यसलाई प्रोत्साहित गर्छ । एनसीसीको हकप्रद लामो समय रोकिएर केही ढिला गरेर आएको उदाहरण त हामीसँग छ नि ।
अब ज्योतिको सम्बन्धमा कुरा गर्दा सबै संस्थापकहरु सकरात्मक हुनुहुन्छ । संस्थापकको हकमा तोकिएको मापदण्ड पुरा गर्नुपर्ने शेयरधनीको संख्या आधा दर्जनभन्दा कम छ भने वहाँहरु सबै जना तयारी अवस्थामा हुनुहुन्छ, हाम्रो हकप्रद तीब्र गतिमा प्रक्रियामा जान्छ ।
बैंक तथा वित्तीय संस्थाले लगानीको विविधिकरण गर्न सकेका छैनन् भनिन्छ, ज्योतिले के गर्दैछ ?
कुनै पनि बैंक तथा वित्तीय संस्थाले निशुल्क रुपमा सेवा दिन सक्दैनन् । कुनै न कुनै रुपमा आम्दानी हुनै पर्छ तर जिम्मेवारीबाट हामी पन्छिनु पनि हुँदैन । अब मुलुकको विकासका लागि गर्ने लगानीका सम्बन्धमा हामी मात्र त जिम्मेवार हुन सक्दैनौं, नियमकले पनि त्यसै अनुसारको व्यवस्थाका लागि नीति नियम त बनाइदिन पर्यो नि ।
हामीले व्यवसायिक उत्तरदायित्व बहन गर्दै देशको पनि सेवा गर्ने हो । अघि भनेजस्तै सेवा गर्दा गर्दै हामीले हाम्रो
प्रतिशेयर आम्दानीलाई त खस्किन दिनु भएन । कमाई बढी हुने अनि सुरक्षित क्षेत्रमा मात्र हामी लगानी गर्छौ, अब असुरक्षित अनि कमाई पनि नहुने क्षेत्रमा बैंक वित्तीय संस्थाले किन लगानी गर्छन ? यसैले हो विविधिकरणका मुद्धामा बहस चलेको । म आफ्नै उदाहरण दिउँ ? ग्लोबल आईएमई क्यापिटलबाट बाहिरिए पछि म केही समय जलविद्युत क्षेत्रमा सक्रिय भएँ र मेरो अनुभव के हो भने दशौं वर्षसम्म कुनै पनि जलविद्युत आयोजनाको निर्माण सुरु हुन नसक्ने अवस्थाहरु देखियो । अब प्रतिफल लिने बेलामा निर्माण नै सुरु नहुने क्षेत्रमा किन लगानी अभिवृद्धि गर्ने ? हामीले नेटवर्थ राम्रो भएको, इक्विटि अफ फण्ड डिपोजिट गर्न सक्नेखालका राम्रा आयोजनामा मात्र लगानी गर्ने हो । जसले व्याजको जोखिम मात्र वहन गर्नु परोस न कि पुरै व्यवसायको । नत्र त हामीले नै सहायक कम्पनी खोलेर काम सुरु गरे भैहाल्यो नि ।
अब कृषिको कुरा गर्दा राष्ट्र बैंकले १५ प्रतिशतसम्म जाउ भनेको छ, म रहेको संस्थाले पहिले नेपालगञ्जमा त्यसै अनुसार कृषिमा लगानी बिस्तार गर्ने कामलाई तिब्र बनायो । जस अन्तरगत ५० हजारदेखि १५ लाखसम्म कृषि कर्जा दियौं, तर अहिले न त्यो झुपडी भेटिन्छ, न त्यो मान्छे भेटिन्छ । दिनभरी हाम्रा स्टाफ त्यही ५० हजारको व्याजका लागि दौडधुप गरिरहेका छन् । ग्लोबल आईएमई बैंकले यस्तै समस्याका कारण यस्ता कर्जा दिने काम नै अहिले बन्द गरेको छ, सोध्नु भए हुन्छ । यो त सरकार अनि नियमकले नीति नियमबाट सहज बनाइदिए त हामीले लगानी बिस्तार गर्ने हो । नत्र हामी आफु जोखिमको काम गर्दैनौं । बचतको व्याज अनि लगानीकर्ताको नेटवर्थ त बचाउनु पर्यो । अनि मात्र तेस्रो प्राथमिकतामा यस्ता काम गर्ने हो । यस्तो वाताबरण नबन्दा समस्या रहिरहन्छ ।
आजको मितिमा दुईअर्ब पूँजी भएका वाणिज्य बैंकको भुमिका अब अढाई अर्बको पूँजी बन्ने विकास बैंकसँग त रहेन नि ?
हिजो दक्षताका हिसावमा विकास बैंकहरुको भुमिका अलि संकुचित बनाइएको मेरो अनुभव हो । आज नन्फण्डेड विजनेश गर्न विकास बैंकरुलाई खरिद ऐनले दिँदैन । जसले गर्दा सरकारको सुरक्षा कोषहरुमा हाम्रो कुनै सहभागिता हुन पाउँदैन । संसदबाट विधेयक संसोधन गरेर गए मात्र यो विषयमा एकरुपता आउन सक्छ, अरु विकल्प छैन । बैंकर्स संघ मार्फत यो विषय उठान गर्ने तयारी त छ, तर कानुन फेर्ने कुरा त्यति सहज त छैन । एलसीको हकमा हामीले एउटा वाणिज्य बैंकसँग सहकार्य गरेर काम गरिरहेका छौं भने स्टक हाइपोथेसिसमा लोन दिनलाई राष्ट्र बैंकले रोक लगाएको छ । विकास बैंकलाई कोलाटरल बेसमा मात्र कर्जा प्रवाह गर्न भनिएको छ । अब यसमा के हुन्छ भन्ने त भोलिका दिनले देखाउँछ । यी तीन कुरामा विकास बैंकले बाटो पाउने हो भने भुमिकामा पनि एकरुपता आउँछ ।
चार गुणाले पूँजी वृद्धि भए पछि बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिमा पुर्ण बिराम लाग्ने हो ?
हामी यहाँ अहिले नियमकले तोकेको चुक्ता पूँजीको मात्र कुरा गरिरहेका छौं । मेरो बिचारमा यो नै अन्तिम विन्दु हैन । किनकी हिजोका दिनमा दुई अर्ब पूँजी बनाउन वाणिज्य बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको थियो । तर त्यो बेलामा नै नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो चुक्ता पूँजी पौने चार अर्ब बनाई सकेको थियो । व्यवसाय बिस्तार गर्नका लागि उनीहरुले पूँजीलाई पनि बढाएर लगेका थिए । ज्योति विकास बैंक नै ६४ करोड पूँजी बनाउनु पर्ने मापदण्ड हुँदा ७४ करोड पूँजी भएको बैंक भएर बसेका थियौं । भनाईको तात्पर्य यो हो कि नियमकको मापदण्डले पूँजीलाई एउटा विन्दुमा पुर्याए पनि प्रगति गर्दै जाने संस्थाहरुले पूँजी वृद्धिको क्रमलाई निरन्तरता दिन्छन् र हाम्रो हकमा पनि कुरा त्यही नै हो । अढाई अर्ब पूँजीले हामी २० देखि २५ अर्बको व्यपार गर्न सक्छौं र यो कुनै ठुलो कुरा हैन । हामीले अलि ठूलो आयोजनामा सहभागी हुन पर्यो भने अहिलेको बीस पच्चीस अर्बले दिँदैन र सकिँदैन । एउटै आयोजनामा सबै पैसा लगानी गर्ने पनि कुरा भएन । अहिले हामीले पहिलो अढाई अर्ब पुर्याउनु छ, तर हाम्रो यात्रा यतिमा नै रोकिँदैन । हाम्रो लक्ष्य वाणिज्य बैंक बन्ने हो ।
नियमकले तोकेको पूँजी बल्ल पुर्याउने अनि आलटाल गरेर बस्ने भन्ने भएको भए त अहिले नै मर्जरमा गएर अस्तित्व विलय गरिन्थ्यो होला । किनभने राष्ट्र बैंकले नयाँ संस्था जन्माउन मात्र रोक लगाएको छ, भएको संस्थाको क्षमता बिस्तारमा कुनै रोक लगाएको छैन । त्यही भएर बैंक तथा वित्तीय संस्थाले ४ गुणा पूँजी बढाए पछि ‘ह्वाट नेक्ष्ट ?’ भन्ने प्रश्न संस्थासँग हुन्छ तर नियमकको मापदण्डमा मात्र हुँदैन । क्षमता बिस्तारको प्रक्रिया निरन्तर चलिरहन्छ । अन्तर्राष्ट्रिस्तरमा स्तरमा सञ्चालित संस्थाको पूँजीका अगाडि हाम्रो अवस्था ज्यादै सानो हो । चार गुणाले पूँजी वृद्धिको कुरा भएकाले ठूलो फड्को मार्नु परेको जस्तो लागेको मात्र हो ।
ज्योति विकास बैंकले पहिलो त्रैमासमा कस्तो गर्यो प्रगति ?
ज्योति बिकास बैंकको झण्डै १२ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद प्रस्ताव
ज्योति बिकास बैंकको पनि खुल्यो सेयर कारोबार,झिमरुक गाभिएपछि सेयर मूल्य कति ?
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।