बैसाख १२ को महाभुकम्पमा सारा मानिसहरु जसरी घर बाहिर निस्किएर सडक र चौरमा बास बस्न गए । जो कमजोर घरमा बसेका थिए वा खतरापूर्ण सडकमा हिहिरहेका थिए, उनीहरु मध्ये कयौंको ज्यान गयो वा घाईते भए । जो बलियो र सुरक्षित घरमा बसेका थिए, उनीहरुलाई पनि कम्पनले बेस्सरी हल्लायो तर घर छाडेर भागेनन् । महाभुकम्पका पराकम्पनहरु गई नै रह्यो र बैसाख १३ र २९ गतेका ठूला पराकम्पनहरुले पनि ठूलै क्षति गर्यो । अब त भुकम्प आउँदैन होला भन्नेहरु झुक्किएर पछिल्ला पराकम्पनहरुमा परे र लगातारका साना पराकम्पनहरुले मानिसहरुलाई त्रसित बनाईरह्यो ।
भुकम्प र त्यसका पराकम्पनहरुले मानिसलाई अरु सुरक्षित र ब्यवस्थित भएर जीवनयापन गर्न प्रोत्साहित गरेको हुन्छ । गत बर्षको भुकम्पपछि भौतिक संरचनाहरुलाई भुकम्प प्रतिरोधी बनाउन र जोखिमयुक्त संरचनाहरु भत्काउने लहर नै चलेको छ । आफ्नो शरीर र सम्पतिको बिमा गर्नुपर्ने चेतना पनि भुकम्पले नै बढाईदिएको छ र बिमा कम्पनीहरुको कारोबार र नाफा पनि त्यसै बेलादेखि बढेको छ ।
त्यस्तै १८८८ अंकमा पुगेको सेयर बजारमा यसपटक आएको लगातारको भुकम्पले ४८४ अंकको क्षति पुर्याउँदा सेयर मूल्य घटेर लगानीकर्ताले चार खर्बको सम्पति गुमाए । आधारभुत अबस्था कमजोर रहेका कम्पनीहरुमा लगानी गरेका र आँत्तिने लगानीकर्ताहरुलाई यसपटकको सेयर बजारको भुकम्पले नराम्रो क्षति गर्यो । बैसाख १२ पछि बैसाख १३ र २९ ले बेस्सरी हल्लाए जस्तै सोमबार र मंगलबार पनि लगानीकर्ताहहरुलाई ६५ अंक र ४० अंकको पराकम्पनले बेस्सरी हल्लाएको हुनुपर्छ । ठूला कम्पनहरु गएपछि यस्ता पराकम्पनहरु आईरहनु स्वभाविक हो र लगानीकर्ताहरु छिटफुट रुपमा भागदौड गरिरहने छन् जबसम्म स्थिति सामान्य बनिसक्दैन तर जो बलियो आधार भएको र राम्रो कम्पनीको सेयरमा लगानी गरेर बसेको छ, उसलाई यस्ता भुकम्प र पराकम्पनहरुले खासै क्षति गर्दैन र सेयर बेचेर बाहिर पनि निस्केको छैन ।
भुकम्पको पराकम्पनहरु कम हुँदै गएपछि मानिसहरु आफ्नो दैनिकीमा फर्किने गर्छन । सेयर बजारमा यसपटकको घटाई जस्तो ठूलो क्षतिको अनुभव गर्नेहरु कमै थिए तर जव उनीहरुलाई यस्ता घटनाहरु सामान्य लाग्न थाल्छ, सेयर बजारमा घटबढ भईरहने रहेछ भन्ने अनुभुति हुन्छ, उनीहरु फेरि बजारमा फर्किएर किनबेचको सामान्य प्रक्रियामा सामेल हुन्छन् । तर सबैले ख्याल गर्नुपर्ने कुरा चाँही यो हो कि सोमबार र मंगलबार जस्तो फराकिलो अन्तरसहितको उतार चढाव अर्थात पराकम्पनहरु भने गईरहनसक्छन ।
बैसाखको भुकम्पको बेलामा सेयर बजारमा पनि त्यही स्केलको भुकम्प गएकै थियो । अहिले जस्तै त्यतिबेलाको बजार घटाईको बेलामा पनि बजार यत्तिमा झर्छ भन्ने ज्योतिषहरु सक्रिय नै थिए । अनेक कुराको अभाव हुने, अर्ततन्त्र ध्वस्तै हुने, बिमा कम्पनीहरु उठ्नै नसक्ने जस्ता हल्लाहरु चलाईएकै थिए । तर हल्ला, अफवाह, अनुमान र आशंकाहरु एक, एक गर्दै असफल भए । कहाँको सेयर बजार कहाँ पुग्यो । बजार सुधार तथा बिस्तारको काम त ऐतिहासिक नै भयो, लगानीकर्ताहरुको ओईरो लागेर सेयर दलालहरुको कार्यालयमा थामिनसक्नुको भीड भयो ।
गत सालको भुकम्पले सिर्जना गरेको अवसरलाई समात्न सक्नेहरुले बेस्सरी कमाए । एउटै सेयरमा तेब्बर नाफा भयो, त्यसरी नाफा गरेर जसले सेयर बेचे, उनीहरुले फाईदा सुरक्षित गरे होलान् जसले सेयर बेचेनन् उनीहरुको सम्पतिमा अहिले केही ह्रास जस्तो देखिए पनि दीर्घकालमा अरु धेरै फाइृदा हुने नै छ ।
अभौतिक सेयर कारोबार र राफसाफले ल्याएको परिवर्तनको जगमा सेयर बजारमा सुधार तथा बिस्तारका युगान्तकारी कदमहरु चालिने क्रम रोकिएको छैन, बरु अरु तीब्र हुनेवाला छ । अनलाईन कारोबार प्रणालीको स्थापना, गैरआवासीय नेपाली र बिदेशी संगठित संस्थालाई नेपालको सेयर बजार खुला, हाल खासगरी काठमाडौमा मात्र केन्द्रित सेयर दलालहरुलाई पचहत्तरै जिल्लामा परिचालन, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, बजार निर्माताको भुमिका खेल्ने संस्थाहरुको सेयर बजार प्रबेश, राफसाफ बैंकको संख्या थप, बदमासी गर्नेलाई कडा कारबाही, बिमा कम्पनीहरुको पूँजी बृद्धिको निर्णय, सेयर बजारसम्बन्धी चेतना बिस्तारले थपिने लगानीकर्ता, रियल सेक्टरका कम्पनीहरुले ल्याउने आईपीओ लगायतका कयौं आशलाग्दा परिवर्तनहरु आगामी दिनमा हुने नै छन् । यी कुराहरु भएको अबस्थामा अहिलेको नेप्से कहाँ पुग्छ, सेयरको भाऊ बढेर कति फाईदा होला ? हिसाब गर्दै गरौला ।
अहिलेलाई चाँही लगानीकर्ताले तत्काल के गर्ने भन्नेमै केन्द्रित रहने हो ।
यसपटक झट्का खाएकाहरुले पनि कमजोर र खराब कम्पनीहरुमा गरिएको लगानीलाई सुरक्षित र बलियो कम्पनीमा सारी सुरक्षित हुनैपर्ने पाठ सिकेको हुनुपर्छ । भुकम्पको बेला झ्याल र छतबाट हाम्फाल्नेहरुले क्षति ब्यहोर्नु पर्यो । हकप्रदको बहानामा उचालिएका, बजारमा सेयर संख्या कम भएकाले नियोजित रुपमा मूल्य बढाईएका, लाभांश दिनै नसक्ने, संस्थागत सुशासन निकै कमजोर रहेका कम्पनीहरुमा गरिएको लगानी झिकेर राम्रो कम्पनीमा सार्ने बेला यही हो । ती कमजोर र खराब कम्पनीहरुले यस्तो संकटको बला भार थाम्न सक्दैनन् भन्ने कुरा प्रमाािणत भईसक्यो भने किन त्यसैमा अल्झिरहने ?
नयाँ लगानीकर्ता सेयर बजारमा प्रबेश गर्ने बेला पनि यही हो । राम्रा कम्पनीहरुको सेयर मूल्य घटेर निकै तल आएको, झण्डै -झण्डै साधारण सेयर अर्थात आईपीओ आबेदन गर्दा पर्ने लागतमा आईपुगेको अबस्थामा आफ्नो लगानी क्षमता र जोखिम ब्यवस्थापनको पाटो बिचार गरी दीर्घकालीन लगानी गर्ने बेला हो यो ।
कुन कम्पनीको सेयर किन्ने भन्ने सवालमा धेरै लगानीकर्ताहरु अहिले अलमलमा हुनसक्छन् । यसमा मेरोलगानी डटकमको सुझाव छ,-कम्तिमा १० वटा राम्रा कम्पनीहरुको सूची बनाउनुहोस् । यसमा राम्रा बाणिज्य बैंक, बिकास बेंक, बिमा, जलविद्युत कम्पनीहरु पनि परेको राम्रो हो । प्रति सेयर मूल्य ५०० देखि ७०० सम्म रहेका बाणिज्य बैंकहरु छान्नुहोस्, जसले गत बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्नै बाँकी छ, अहिले सेयर किन्दा त्यो पाईन्छ र हकप्रद जारी गर्ने अबस्था भए त्यो समेत हिसाब गर्दा प्रति सेयर लागत अझै कम पर्नसक्छ । सेयर मूल्य घटेर बजार राताम्मै भएको बेलामा सेयर किन्ने र जोखिम मोल्ने हिम्मत भएन होला तर अब राम्रा कम्पनीको सेयर मूल्य नबढ्दै मौका छोप्नुहोस् तर धेरै उचालिएर किन्दै नकिन्नुहोस् ।
कस्तो कम्पनीाको सेयर किन्ने भन्ने बारेमा केही थप कुराहरु पनि जान्नुहोस् । मूल्य आम्दानी अनुपात ३० गुणा भन्दा कम रहेको, अघिल्लो बर्ष भन्दा ब्यापार, निक्षेप, कर्जा बढाउँदै लगेको, निस्क्रिय कर्जा घटाएको, संचालन नाफा र खुद नाफा बढाएको, चुक्ता पूँजी धेरै भएको र त्यसै आधारमा जगेडा कोषमा पनि रकम पर्याप्त रहेको, अघिल्ला बर्षहरुमा भन्दा बोनस सेयर बितरण अनुपात बढाउँदै लगेको र यसपटक अरु धेरै बोनस सेयर दिने संभावना भएको, संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली राम्रो रहेको कम्पनी होस् ।
आफुसँग भएको पैसा सबै खर्च गरेर एकैपटक सेयर किन्दै नकिन्नुहोस् । आफुसँग भएको पैैसालाई तीन भाग लगाउनुहोस् र एक भाग रकम बराबरको रकम एकपटकमा खर्च गर्ने गरी १० वटा राम्रा कम्पनीको सेयर ५० देखि १०० कित्ताका दरले किन्नुहोस् । सेयर मूल्य घटाएरै किन्नुहोस् । बजार अरु घटेमा आउने दिनहरुमा दोस्रो भागको रकम खर्च गरेर सेयर किन्नुहोस् र बजार अरु तल जान थाल्यो भने रोकिनुहोस् तेस्रो भागको रकम आफुसँग जगेडा राख्नुहोस्, सस्तोमा राम्रो कम्पनीको सेयरमा लगानी गर्ने अवसर जहिले पनि आउँछ ।
तपाइँ ब्यापारी भएर कि लगानीकर्ता भएर सेयर बजार छिर्दै हुनुहुन्छ ? ब्यापारी भएर आजको भोलि दोब्बर फाईदा हुन्छ भन्दै छिर्न खोज्नु भएको हो भने तपाइँ ब्यापक घाटामा पर्नसक्नुहुन्छ, लगानीकर्ता भएर छिर्न लाग्नु भएको हो भने कम्तिमा तीन बर्षसम्मका लागि लगानी गर्दैछु भनेर सोच्नुहोस्, फाईदा भएको अबस्थामा बीचमै बेच्ने विकल्प त सधैं खुल्ला नैै रहन्छ । अरुको लहै लहैमा हैन, अध्ययन गरेर, बुझेर , कम्पनीको आधारभुत अबस्था थाहा पाएर, देशको अर्थतन्त्रको आधारभुत अबस्था बिश्लेषण गरेर, सेयर बजार जोखिमको क्षेत्र हो भन्ने ख्याल गरेर लगानी गर्नुहोस् । घाटा भए अरुले घाटा पुर्ति गर्न पैसा दिदैनन्, नाफा भए अरुलाई बाँड्न पर्दैन ।