यस्तो मुर्खता किन ?
हकप्रदमा नबिकेर लिलाममा आएका सेयरहरुलाई बजार मूल्य भन्दा माथि गएर किन्न सिलबन्दी बोलपत्र पेश गर्ने मुर्खता गर्नेहरु पनि नभएका हैनन् तर अब आउने सेयर लिलामको बाढीले उनीहरुलाई पाठ सिकाउला नै । बहुसंख्यक सर्बसाधारण लगानीकर्ताका लागि भने सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने अवसरै अवसर आउनेवाला छ ।
कति आउँछ हकप्रद ?
कतिपय कम्पनीले हाल कायम चुक्ता पूँजीको दुईसय प्रतिशतसम्म हकप्रद निश्काशन गर्दैछन् । बाणिज्य बैंकहरु मध्येमा ५० प्रतिशत हकप्रद निश्काशन गर्ने पनि धेरै छन् । यसरी निश्काशन गरिएका सबै हकप्रदहरु नबिकेपछि आउने त लिलाममै हो । कृषि बिकास बैंकको मात्रै २६ लाख कित्ता हकप्रद सेयर बिकेन र लिलाममा आउँदै छ भन्ने सूचना आएको छ । हिमालयनले निश्काशन गरेको हकप्रद पनि पुरै बिकेन । अहिले ५० प्रतिशत हकप्रद निश्काशन गरिरहेका माछापुच्छ्रे र जनताको पनि लाखौं कित्ता हकप्रद सेयर बिक्ने स्थिति छैन । हकप्रद निश्काशन गरिसकेका बिकास बैंकहरु मुक्तिनाथ, मितेरी, काष्ठमण्डपको पनि पुरै हकप्रद बिकेको छैन । अरु कयौं कम्पनीहरुको हकप्रद जारी हुने क्रममै रहेको छ । केही बिमा कम्पनीहरुले पनि उल्लेखनीय रुपमा हकप्रद प्रस्ताव गरेर त्यसलाई जारी गर्न आबश्यक प्रक्रिया अगाडि बढाएका छन् ।
धितोपत्र बोर्डबाट हालै अनुमति पाएका कम्पनीहरुको हिसाव गर्ने हो भने १२ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद सेयर बजारमा आउँदैछ भने पाँच अर्बको हकप्रद सेयर जारी गर्ने स्वीकृति पाउन १२ कम्पनी धितोपत्र बोर्डको ढोका कुरेर बसेका छन् । यसमा धेरै हकप्रद सेयर ल्याउने घोषणा गरेको लक्ष्मी, नेपाल बंगलादेश, नेपाल एसबीआई, एभरेष्ट समेटिएका छैनन् । स्टान्डर्ड चार्टर्डको कुरा पनि छ । सिभिल, सेन्चुरी, मेगा र जनताले चुक्ता पूँजी पुर्याउन के अब गर्लान् भन्ने अर्को पनि छर्दैछ । चुक्ता पूँजी पुर्याएर आफै टिक्न प्रयास गर्ने बिकास बैंक र फाईनान्सहरुकै अबस्था हेर्दा पनि हकप्रदको बाढी अझै तीब्र होला भन्न सकिन्छ । त्यसमाथि बिमा कम्पनीहरुको हकप्रद र एफपीओको हिसाब अलग्गै छ ।
एकजना लगानीकर्ताले एउटा कम्पनीको हकप्रद भर्न त सजिलै सक्लान् तर १० वटा कम्पनीले धेरै परिमाणमा हकप्रद जारी गरे भने जस्तै ठूला लगानीकर्ता पनि थला पर्नसक्छन् । साधारण सेयरधनीमा भन्दा संस्थापकहरुमा यो समस्या चर्को देखिनसक्छ । हकप्रदको बाढी आउँदा यो अबस्था देखिने छ र सस्तोमा सेयर लिलाममा आउने संभावना पनि बढाएर लैजाने छ ।
आईपीओकै लागत मूल्यमा बाणिज्य बैंकको सेयर ?
तीनसय रुपैयाँदेखि चार सय रुपैयाँसम्म राम्रा बाणिज्य बैंककै सेयर लिलाममार्फत किन्न पाउने अबसर आउँदा सर्वसाधारण लगानीकर्तालाई पक्कै फाईदा हुनेछ । सोमबार सेयर लिलाम गरेको प्राईम कमर्शियल बैंकको हकप्रद सेयर ४६६ रुपैयाँमा लिलाम भएको प्रारम्भिक बिबरण हेर्दा आगामी दिनमा आउने सेयर लिलामीको बाढीले मूल्यलाई अरु सस्तो बनाउने संभावना छ । एकातिर सेयर बजार घट्दो क्रममा रहने र अर्कोतिर बजारमा आबश्यक तरलतामा कमी हुने हो भने आईपीओमा आबेदन गर्दा पर्ने लागत मूल्यमै कम्तिमा २० प्रतिशत बोनस दिने कम्पनीको सेयर ३०० देखि ४०० रुपैयाँका बीचमा लिलाममार्फत किन्छु भन्नेलाई असंभव नहोला ।
अहिले कुनै कम्पनीले साधारण सेयर (आईपीओ) आबेदन खोल्यो भने करोड रकम माग भएकोमा अर्बको आबेदन पर्छ । कतिपय कम्पनीमा त सबै आबेदकलाई १० कित्ताका दरले दिन्छु भन्दा पनि संभव हुँदैन । १० हजार कित्ता आबेदन गर्नेले मुस्किलले पाए भने १० कित्ता पाउँछन् । दुई महिनासम्मको ब्याज र आबेदनका क्रममा दौडधुपको हिसाब गर्दा प्रति कित्ता तीनसय रुपैयाँ भन्दा बढी नै लागत पर्नजान्छ । फेरि ती कम्पनीहरुले सेयर जारी गर्ने बित्तिकै लाभांश बाड्ने कुरा असंभव नै छ । तर यहाँ त त्यही आईपीओ लागत मूल्यमा राम्रा र सुरक्षित कम्पनीको सेयर किनेर १५ देखि २० प्रतिशत बोनस सेयर तत्कालै पाउने अबस्था छ ।
बिकास बैंक र फाईनान्सहरुको यसरी लिलाममा आउने सेयर त झन् सस्तोमा हात पार्न सकिने संभावना छ ।
कम्पनी पनि मालामाल
यसरी सेयर लिलाम गर्दा कम्पनीहरु पनि मालामाल भएकै छन् । लगानीकर्ताले हकप्रदमा आबेदन नगर्दा बाँकी रहेको सेयरलाई लिलाम गरी अंकित मूल्य बराबरको रकम पूँजीमा समाबेश गरेर बाँकी रकमलाई कम्पनीहरुले जगेडा कोषमा राख्छन् र अर्को बर्ष त्यसबाट बोनस सेयर बितरण गरी फेरि पूँजी बढाउँछन् । कृषि बिकास बैंककै हकप्रद लिाामबाट एक अर्ब जगेडा कोषमा गयो भने उसले यस बर्ष कमाउने खुद नाफा रकमले कम्पनीलाई झन् आड दिन्छ नै । लिलामको सेयर सस्तोमा किन्दा यसै बर्ष बोनस पनि पाउने, कम्पनीको जगेडा कोषमा जम्मा भएको रकमबाट आउने साधारणसभामा फेरि बोनस पाउने र सेयर मूल्य बढ्दा झन् मालामाल हुने दोहोरो तेहरो लाभ हुनसक्छ ।
लिलाममा कति मूल्य हाल्ने ?
बजार मूल्य प्रति कित्ता चार, पाँच सय भएको कम्पनीको हकप्रदमा नबिकेको साधारण सेयर लिलाममा आयो भने त्यसमा कम्तिमा एकसय रुपैयाँ घटाएर बोलपत्र पेश गर्नुहोस् । त्यो भन्दा सस्तो बजार मूल्य रहेको कम्पनी छ भने मूल्य घटाईको अनुपात मिलाउनुहोस् । कम्पनीको अबस्था र बजार मूल्य हेरी कम्तिमा १० देखि २० प्रतिशत मूल्य घटाएर सेयर लिलाम सकार्ने बोलपत्र पेश गर्नुहोस् । धेरै कित्ता सेयर लिलाममा आएको छ र बजार घट्दो क्रममा रहेको छ भने त्यसमा तपाइँको दाऊ लाग्नसक्छ । लिलाममा आफुलाई सेयर परेन भने पनि केही चिन्ता नगर्नुहोस्, सात दिन भित्रमा पैसा फिर्ता आईहाल्छ । पैसा भए सस्तोमा सेयर किन्ने अबसर जहिले पनि आईरहन्छ ।
सस्तोमा सेयर किन्न पाउँदा किन रोईकराई ?
बोनस, हकप्रद र एफपीओ मार्फत बजारमा सेयर संख्या थपिने र आपुर्ति बढेको छ । यस्तो अबस्थामा लगानीकर्ता थपिने र माग बढ्ने स्थिति भएन भने मूल्य घट्ने नै हो । यसले सस्तोमा बलियो र सुरक्षित कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेहरुलाई नयाँ अवसर सिर्जना गरिदिन्छ । सेयर बजारका एकथरी लगानीकर्ताहरु नेप्से घट्यो भन्दै रुवाबासी गरिरहने छन् तर बुद्धिमान लगानीकर्ताहरु यही बीचमा छानी छानी राम्रा कम्पनीको सेयर सकेसम्म सस्तोमा किनेर आफ्नो भबिष्य सुरक्षित बनाईरहेका हुनेछन् ।