एभरेष्ट बैंकको ७० प्रतिशत बोनस समायोजन भई प्रति कित्ता सेयर मूल्य १८७६ कायम भएकोमा त्यसभन्दा तल घटेर १८४० रुपैयाँमा पहिलो कारोबार भई १७७० सम्म खस्यो । यसरी हेर्दा अघिल्लो दिनको प्रति कित्ता ३२०० हाराहारीको मूल्यमा सेयर बेचेर बोनस नखानेहरुले जितेको अबस्था देखिएको छ ।
बोनस समायोजन भएपछि पनि सेयरको भाऊ घटेको अबस्थामा घट्दो मूल्यमा सेयर किन्दा बोनस खाए सरह नै हुने अबस्था देखिएको छ । एभरेष्टले जारी गर्ने बोनस लगानीकर्ताको खातामा आउन अबको कम्तिमा चार महिना लाग्नसक्छ ।
७० प्रतिशत बोनस घोषणा हुँदा एभरेष्ट बैंकको प्रति कित्ता सेयर मूल्य ३७०० रुपैयाँसम्म पुगेकाले त्यो बेला सेयर किन्नेलाई कति नाफा भयो भन्ने हिसाब दीर्घकालीन लगानीमा रुपान्तरण गरि निकाल्नु बेश हुने देखिन्छ ।
त्यस्तै हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयर र साधारणसभा प्रयोजनका लागि आजै सेयरधनी दर्ता किताब बन्द भएकोमा नेप्सेले २६.२५१३ प्रतिशत मात्र बोनस हिसाब गरी मूल्य समायोजन गर्दा प्रति कित्ता मूल्य ९५० रुपैयाँ कायम भएको छ । हिमालयनले यसअघि बिक्री गरेको १४ प्रतिशत हकप्रदलाई समेत हिसाब गरी बोनस समायोजन गरिएको हो ।
हिमालयनले पुस २२ गते र एभरेष्टले पुस २३ गते साधारणसभा गर्दैछ । ती कम्पनीहरुले प्रस्ताव गरेको बोनस सेयर हिजोसम्म सेयर किन्नेले मात्र पाउँने छन् ।