नेपालको पूँजी बजार औपचारिक रुपमा सुरु भएको ३० बर्ष नाघिसकेको अबस्थामा अहिले मुलुकले यस्तै युगान्तकारी ब्यक्तित्वको खोजी गरिरहेको छ जसले पूँजी बजारको आधुनिकीकरणको नेतृत्व गर्न सकोस । पूँजी बजारका बारेमा पर्याप्त ज्ञान र अनुभव हासिल गर्नुभएका डा. रेबतबहादुर कार्कीसँग केही गरौं भन्ने दृढ ईच्छाशक्ति त छ नै, उहाँलाई अघि बढ्न समयको आबश्यकता, सरोकारवाला र सारा लगानीकर्ताहरुको पनि दह्रो साथ छ । उच्च पदमा आसिन हुनेहरुले यस्तो अबसर बिरलै पाउँछन् । त्यसमाथि आफ्नो ब्यक्तिगत लोभ र मोह त्यागेर डा. कार्की जसरी अगाडि बढ्न खोजिरहनु भएको छ, कुनै प्रलोभन र धम्कीले पनि उहाँलाई गलाउन सक्ने देखिन्न ।
जसरी नेपालको सेयर बजारको संस्थागत बिकास गर्न डम्बर डुंगेलले नेतृत्वदायी भुमिका खेल्नुभयो र उहाँले नै उमारेर हुर्काएको नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डको बिरुवा आज जसरी फैलिदै छ, नेपालको समग्र सेयर बजारको आधुनिकीकरणका लागि डा. कार्कीलाई त्यो भन्दा बढी अवसर छ । अहिले उहाँले खेलेको भुमिका नेपालीका सन्तान दर सन्तानले बर्षौपछि सम्म पनि स्मरण गरिरहने छन् ।
डा. कार्कीलाई काम गर्नबाट रोक्न र थप कदमहरु चाल्न नदिन अनेक खालका ब्यवधानहरु खडा गर्न खोजिएकै हो तर उहाँ अहिलेसम्म डगमगाउनु भएको छैन । यस्ता ब्यवधानहरु हिजो डम्बर ढुंगेललाई कति थिए होलान् । पक्कै पनि आज भन्दा धेरै चुनौति ढुंगेलले सामना गर्नुभयो होला तर राष्ट्र बैंकको कर्मचारीको हैसियतमा उहाँले जत्ति भुमिका खेल्नुभयो, आज धेरैले उहाँको योगदानको स्मरण गर्छन । अहिले त लगानीकर्ता धेरै सचेत भईसकेका छन्, मिडिया र सामाजिक संजालको भुमिका औधी प्रभावकारी छ ।
डा. कार्की धितोपत्र बोर्डमा पुगेपछि नै नेपालको सेयर बजारले आधुनिक फड्को मार्न थालेको हो, यसमा उहाँको एकल प्रयास मात्रै पर्याप्त नभई धितोपत्र बोर्डको सम्पूर्ण प्रशासनिक संयन्त्र चलायमान भएकाले संभव भएको हो । तर उहाँले साहसिक नेतृत्व नदिएको भए यो संभव थिएन भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यही धितोपत्र बोर्डको संयन्त्रले एउटा सामान्य काम गर्न महिनौ लगाउने गरेको थियो भने त्यो कसरी आज फटाफट हुन्छ भन्ने उदाहरण नै काफी छ । सर्बोच्च नियमनकारी निकायको नेतृत्व अगाडि सरेपछि त्यसका पार्टपुर्जाहरु चयानमान हुन थाल्छन् र संस्थाले गति लिन्छ भन्ने यसबाट देखिन्छ ।
डा. कार्की धितोपत्र बोर्डमा गएपछि कयौं बर्षदेखि एकादेशको कथा बनिरहेको सेयर प्रमाणपत्रको अभौतिकीकरण संभव भएको हो । उहाँले लौ अगाडि बढ, परेको म ब्यहोरुला भनेर नघच्घच्याएको भए अहिले पनि लाखौ लगानीकर्ताहरुले कागजी प्रमाणपत्रको सास्ती ब्यहोरिरहेका हुने थिए । पूँजी बजार क्षेत्रमा भईरहेका अनेक बदमासीहरु नियन्त्रण गर्न धितोपत्र बोर्डले पहलकदमी गरेको छ, सेयर किनबेचमा हुने जाल झेल समाप्त पारेको छ, सुचिकृत कम्पनीहरुलाई जिम्मेबार बनाईएको छ, लगानीकर्ताले किनेको सेयर र पैसा समयमा आफ्नो खातामा पाउने गरेका छन्, मार्केट डेब्थको सुबिधा लगानीकर्ताले हेर्न पाएका छन् भने साधारण सेयर आबेदनमा बहु आबेदन र एकल चेक भुक्तानीबाट हुँदै आएको बदमासी नियन्त्रणमा आएको छ । गैरजिम्मेवार बनेका केही कम्पनी र केही सेयर दलालहरुले अब जिम्मेबार भएर राम्ररी काम गर्न थालेका छन्, बदमासहरु कारबाहीमा पर्ने क्रम बढेको छ । प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुलाई एउटा मापदण्ड भित्र राखेर उनीहरुले संकलन गर्ने पूँजीको सही सदुपयोग गर्न, गराउन र लगानीकर्ताको हित संरक्षण गर्न महत्वपूर्ण आधारहरु खडा गरिएका छन् । आश्बा प्रणाली लागु हुँदा माघ १ गतेदेखि नेपालका सेयर लगानीकर्ताहरुले नौलो र अरु सहज भएको अनुभुति गर्ने नै छन् । धितोपत्र बोर्डले प्रस्तुत गरेको २५ वटा उपलब्धिको चाड.लाई केलाउने हो भने पनि धेरै यस्ता बिषयहरु छन्, जुन कार्कीको नेतृत्व र दृढ ईच्छाशक्ति विना संभवै थिएन ।
स्टक ब्रोकर एशोसियशनको साधारणसभामा सुरबिर पौडेल र बाबुराम श्रेष्ठले धितोपत्र बोर्डमा आफ्नो कार्यकालमा धेरै उपलब्धिपुर्ण काम भएको दावी गर्दा किन उहाँहरु हाँसोको पात्र बन्नुभयो र डा. कार्कीको वाहवाही भयो भन्ने कुराको संकेत नै काफी छ । उहाँहरुसँग पदमा बस्दा केही गरौं भन्ने दृढ ईच्छाशक्ति पनि थिएन र आजको जसरी माग राख्ने र छिटो काम गर्न दबाब दिनेहरु पनि पर्याप्त देखिएनन् । त्यसैले सुरबिर पौडेल, बाबुराम श्रेष्ठ र डा. कार्कीमा आकाश पातालको फरक छ ।
खेत जोत्ने हलीले हिड्ने गोरुकै पुच्छर निमोठेको देखिन्छ । डा. कार्कीले काम गर्नुहुन्छ भनेरै लगानीकर्ता र अरु सरोकारवालाहरुले उहाँको अगाडि माग पत्र राखेर दबाब दिएका हुन् । धितोपत्र बोर्डबाट काम हुँदैन भन्ने भान परेको भए शायद उहाँकोमा माग पत्र लिएर जानेहरु पनि कमै हुने थिए । सानातिना आलोचनाहरु हुनुलाई डा. कार्कीले पनि नकारात्मक रुपमा लिनु भएन । संसारका महानतम नेतृत्वहरुले पनि आलोचना खेपेकै हुन्छन् । जसले आलोचनालाई सहज रुपमा ग्रहण गरेर अगाडि बढ्छ, त्यो नै महान बन्छ ।
धितोपत्र बोर्ड पुरै स्वतन्त्र नभएको, कतिपय सवालमा अर्थ मन्त्रालयको सहमति र निर्णय पर्खनु पर्दा चाहे अनुसार काम हुन नसकेको यथार्थ हो । बोर्डले निर्देशन गरे अनुसार कतिपय निकायले काम गर्ने गरेका छैनन्, त्यो पनि सत्य हो । अटेरी गर्न खोज्ने त्यस्ता पक्षहरुलाई पनि आफुसँगै हिडाउन सक्नु र उनीलाई आफै सक्रिय भएर काम गर्नसक्ने बनाउनुमा नै उहाँको पनि सफलता निर्भर छ । यदि उहाँलाई कसैले कामै गर्न दिएन र उहाँले प्रयास गर्दा पनि सक्नु भएन भने, सार्वजनिक आब्हान गर्दा उहाँलाई साथ दिन हजारौ लगानीकर्ताहरु एक घण्टाको बीचमा बोर्ड परिसरमा भेला हुनसक्छन् र बहुसंख्यक सेयर दलालहरु पनि उहाँकै साथमा छन् । नेप्सेबाट सहयोग भएन भन्ने सवालमा पनि उहाँले पहिले नेप्सेकै अधिकारीहरुलाई बोलाएर उनीहरुको गुनासो सुनी समाधानको पहल गर्नुपर्छ, उसको पनि जायज गुनासो छ भने सम्बोधन गर्नुपर्छ । त्यसो गर्दा पनि समाधान भएन भने अर्थ मन्त्रालयमा जानुपर्छ । को बाधक हो, को साधक हो लगानीकर्ताले पनि छु्ट्याउने नै छन् ।
नेपालको धितोपत्र बजारको सर्वोच्च अभिभावक हो - धितोपत्र बोर्ड । उसले आफु मातहतका सबैको अभिभावकत्व लिएर संरक्षण दिने र बिकासका लागि प्रेरित गर्न सक्नुपर्छ । लगानीकर्ताहरुको हकहित सुरक्षामा सबैभन्दा धरै ध्यान त जानैपर्छ नै, साथै नेपाल स्टक एक्सचेन्ज, सेयर दलाल, मर्चेन्ट बैंकर, सुचिकृत कम्पनी लगायतका सरोकारवालाहरुले पनि उत्तिनै आश गरेका हुन्छन् भन्ने हेक्का हुनुपर्छ ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डमा माग पत्र र अल्टिमेट दिएको कुरालाई पनि उहाँले अन्यथा लिनु भएन, त्यो पनि उहाँकै समर्थनका लागि भएको काम हो । लगानीकर्ताहरुले अपेक्षित परिवर्तनहरु चाँडै होस् भनेर माग गर्नुलाई उहाँले आफ्नै समर्थनमा भएको कदम पो मान्न सक्नुपर्छ । यसले उहाँलाई अरु शक्ति दिन्छ । यस्ता दबाब र आलोचनाहरुलाई सकारात्मक रुपमा लिएर देश र जनताको पक्षमा निरन्तर अघि बढ्नसक्नु नै नेतृत्वको खुवी हो । ब्यक्ति कहिल्यै पूर्ण हुँदैन, उसले गर्ने सबै निर्णयहरु सबै समयमा सही नै हुन्छन् भन्न पनि सकिदैन । टिप्पणी र आलोचनाहरुलाई केलाएर नेतृत्वदायी निकायमा बस्नेले सधै आफुलाई जोखिरहनुपर्छ, तब मात्रै गल्तीबाट बच्न सकिन्छ ।
डा. कार्की पनि माग र आलोचनाहरुलाई समेट्दै निरन्तर अगाडि बढ्न खोजिरहनु भएको देखिन्छ । पूर्ण अनलाईन सेयर कारोबार प्रणाली, बाणिज्य बैंकहरुलाई सेयर दलाल लाईसेन्स, गैर आवासीय नेपाली र बिदेशीलाई नेपालको सेयर बजारमा भित्र्याउने, अहिलेका सेयर दलालको पूँजी, पुर्वाधार र क्षमता बृद्धि गरी देशैभरि पठाउने, बजार निर्माता ल्याउने, लगानीकर्ता पहिचान कार्ड जारी गर्ने, सेयर बजारलाई आबश्यक र समयानुकलका ऐन, कानुन, नियमावली र निर्देशनहरु बनाउने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा आउन प्रोत्साहन गर्ने जस्ता गहनतम जिम्मेवारीहरु उहाँले पुरा गर्ने बाँकी छ । अझ टाढाको सपना देख्ने हो भने नेपालको पूँजी बजारलाई विश्वसँग जोड्न सकिन्छ, बिश्व धितोपत्र बोर्डको सदस्य भईसकेको अबस्थामा नेपाल धितोपत्र बोर्डले त्यो सपना देख्नु स्वभाविक छ ।
उहाँको दृढ ईच्छाशक्ति र सरोकारवालाहरुको दह्रो साथले माथिका यी कामहरु उहाँको कार्यकाल भित्रै भए भने उहाँ नेपालको पूँजी बजार आधुनिकीकरणको पिता बन्नुहुने पक्का छ । नेपालको सेयर बजारसँग सरोकार राख्नेहरु हरेकले आफ्नो मनमा उहाँको शालिक खडा गर्नेछन् । यसका लागि उहाँको दृढ ईच्छाशक्ति, आम लगानीकर्ताहरु, सरोकारवालाहरुको माग, दबाब र समयको आबश्यकताको संयोजन उत्तम अबसर हो । यो उत्तम अबसरलाई सदुपयोग गर्न उहाँ चुक्नुहुन्न भन्ने बिस्वास आम लगानीकर्तालाई छ ।