चापागाईलाई पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले बीमा समितिको अध्यक्ष नियुक्त गरेको थियो ।
बिमा समितिको कार्यालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाईले ७० बर्षे समयमा बिमा पहुँच सात प्रतिशत मात्र रहनु दुखद पक्ष भएको बताए । बिमा पहुँच बृद्धि गर्ने कार्य विमक कम्पनीहरु मार्फत नै गर्नुपर्ने भन्दै कम्पनीहरुलाई ब्यवसाय बिस्तारका लागि सर्बसाधारणमा विश्वसनियता कायम गर्न उनले निर्देशन दिए ।
बिमा व्यवसायको ईजाजत झोलामा राख्न नदिएको भन्दै उनले ईजाजतको सही सदुपयोग नगरे नियामक निकाय चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
बिमा क्षेत्रलाई ब्यवस्थित गर्न थप नयाँ कानुनी प्रबन्ध जरुरी भएकोमा उनको जोड छ । कुनैपनि क्षेत्र सफल हुन कानुनी पक्ष आवश्यक हुने, नियामक निकाय सशक्त हुनुपर्ने र कर्मचारीको क्षमता अभिबृद्धि गरिनुपर्ने उनको धारणा छ ।
यसअघि नेपाल राष्ट्र बैंकको पोखरा शाखाका प्रमुख चापागाईले बीमा समितिको चार बर्षे कार्यभार सम्हाले लगत्तै चापागाईले सरोकारवाला निकायहरुसँग छलफलबाटै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनले मंगलबारदेखि लागु हुनेगरी नेपाल राष्ट्र बैंकको सम्पुर्ण जिम्मेवारी छाडेका थिए ।
बाग्लुङमा जन्मिएका चापागाईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए गरेका छन् । कार्यक्रममा बिमक संघ, नेपाल विमा सर्भेयर संघ,नेपाल पेसागत अभिकर्ता संघका प्रतिनिघिले विमाका चुनौति र अवस्थाका बारेमा नयाँ अध्यक्षलाई जानकारी गराएका थिए ।