नेपालको पूँजी बजार पुर्ण स्वचालित हुन नसकिरहेको सन्दर्भलाई जोड्दै राष्ट्र बैंकका गभर्नर नेपालले दक्षिण एशियाली मुलुक धेरै अघि बढेको र त्यसबाट पाठ सिक्नु पर्ने बताए । पूँजी बजारको विकासले मुलुक कति विकसित छ भनेर झल्काउने भएकाले अब अटोमेटेड प्रणालीबाट बजार परिपक्व बनाउनु अपरिहार्य रहेको उनको भनाई थियो ।
युवा जनशक्तिलाई अहिले पूँजी बजारका सम्बन्धमा जानकार बनाउन सके भोलि त्यहि व्यक्ति लगानीकर्ता बन्ने भन्दै सरकारीस्तरबाट यो कामको सुरुवात गरिनु पर्ने गभर्नरको भनाई थियो ।
खराब नियत भएका कम्पनीहरु आफ्नो स्वार्थ पुरा गराउन सुचिकरण हुने गरेको भन्दे नियमकले त्यसलाई चनाखो भएर व्यवस्थापन गर्न सक्नु पर्नेमा उनले जोड दिएका थिए । बजारलाई जुवाघर सम्झिने परिपाटीले नयाँ लगानीकर्ता त्रसित हुने गरेको भन्दै उनले जुवा खेल्दा लगानी शुन्य हुने भए पनि पूँजी बजारमा घटबढ मात्र हुने भन्दै क्षमता अनुसार कारोबार नभई लगानी बढनउँदै लैजानु पर्ने सुझाव लगानीकर्तालाई दिए ।
नेप्सेका अध्यक्ष रामजी रेग्मीले नेप्से मात्र नभई धितोपत्र बोर्ड, सिडिएससी, दलाल व्यवशायी लगायत सबै पक्ष पुर्ण स्वचालित भएमा मात्र बजार स्वचालित हुने भन्दै समन्वयमा जोड दिए ।सरकारी स्वामित्वमा रहँदा प्राविधिक पक्षहरुको खरिदमा ठुलो समस्या हुने गरेको भन्दे उनले नेप्सेलाई केही हदसम्म निजीकरण गरिनु पर्नेमा जोड दिए ।
राजधानी केन्द्रित पूँजी बजारलाई देशव्यापी बनाउन सके मात्र बजार विकास भएको मान्न सकिने भन्दै त्यसमा आफुहरु विभिन्न मोडलमा गृहकार्य गरिरहेको बताएका उनले सम्बन्धित सबै पक्षको सहयोगमा मात्र उक्त काम पुरा हुने विश्वास व्यक्त गरे ।
नेप्सेका अध्यक्ष रेग्मीले पूँजी बजार सुपरिवेक्षण तथा नियमन कमजोर रहेका कारण अनेकौं अनियमितता तथा घोटालाका खबरहरु आईरहेको भन्दै चुस्त नियमनमा जोड दिए । साथै उनले पूँजी बजारको विकासमा सरकारको दायित्व नदेखिएको भन्दै उनले प्रष्ट खाका बनाइनुपर्ने धारण व्यक्त गरे ।
नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले रियल सेक्टरलाई बजारमा भित्र्याउने सम्बन्धमा छलफल अघि बढाइएको बताउँदै मार्केट मेकरलाई पनि बजार प्रवेशको व्यवस्था मिलाउन गृहकार्य भैरहेको बताएका थिए । पूँजी बजारका समस्याका सम्बन्धमा सबै पक्ष जानकार भएर पनि आवश्यक काम गर्न पहल कदमी लिन नसकिएको भन्दै उनले लगानीकर्ताको हितका साथै समग्र अर्थतन्त्रमा टेवा पुर्याउन सकरात्मक हुनु पर्नेमा जोड दिएका थिए ।