चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म २८ करोड रुपैयाँ मात्र खुद नाफा गरेको प्रभु बैंकले दोस्रो त्रैमाससम्ममा भने त्यसलाई बढाएर एक अर्ब नघाएको स्रोतले बताएको छ । उसले खराब कर्जा असुली गरी जोखिम कोषमा राखेको रकम फिर्ता ल्याउनुका साथै संचालन मुनाफा पनि ह्वात्तै बढाएको सुत्रको भनाई छ ।
खराब बर्जाले डुबेको ग्राण्ड बैंकलाई आफुमा गाभ्दा केही मात्रामा निस्क्रिय कर्जा बढेर ७.५४ पुगेकोमा अहिले दोस्रो त्रैमासमा त्यो घटेर साढे चार प्रतिशत हाराहारीमा ओलिएको बताईन्छ । प्रभुले ग्राण्डले परिचालन गरेका कर्जाहरुको धितो लिलामी गर्नुका साथै अन्य कर्जा असुलीमा पनि कडाई गरेर फड्को मारेको सुत्रको भनाई छ ।
झण्डै ७० अर्ब निक्षेप जम्मा पारेको प्रभुले ५६ अर्ब जत्ति कर्जा परिचालन गरेको बुझिएको छ । अहिले कयौं बैंक तथा बित्तीय संस्थाहरु लगानीयोग्य रकम नभएर छटपटाईरहेको बेला प्रभुमा भने पर्याप्त तरलता रहेको देखिन्छ । बैंक स्रोत भन्छ, हामीलाई तरलता समस्या छैन, पर्याप्त मात्रामा लगानीयोग्य रकम छ, कसरी सुरक्षित लगानी गर्ने भन्ने मात्र समस्या हो ।
उसको पूँजी कोष पहिलो त्रैमासमा खुम्चिएको थियो तर दोस्रो त्रैमासमा त्यसलाई पनि सुधार गर्ने प्रयास भएको छ ।
हाल पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
(प्रभु बैंकको प्रगतिको आधिकारिक बिबरण हेर्न भने उसले प्रकाशन गर्ने दोस्रो त्रैमासको बित्तीय बिबरण पर्खनै पर्ने हुन्छ । अनौपचारिक स्रोतमा आधारित रहेर यो समाचार तयार पारिएको हो । )