कृषि विकास बैंकको हकप्रद बाँडफाँड,२० लाख कित्ता लीलामीमा जाने,स्वर्ण जयन्तीमा के भयो ?

Jan 20, 2017 merolagani

कृषि विकास बैंक (ADBL) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता सेयर लीलामीमा जाने भएको छ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो जसमध्ये आवेदन नपरेको १९ लाख ६८ हजार कित्ता लीलामी गर्ने भएको हो ।



बैंकले अग्राधिकार सेयर बाहेकको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैंयाको ५० प्रतिशतले हुने १ अर्ब ९६ करोड ८८ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको थियो । जसमध्ये एक करोड कित्ता अर्थात एक अर्ब रुपैयाँ सरकारले जम्मा गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख ८८ हजार कित्ता अर्थात ९६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयरमा ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको बैंकको बिक्री प्रबन्धक एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी पूर्णचन्द्र दाहालका अनुसार सर्वसाधरणका लागि जारी गरेको करिब ९७ करोड रुपैयाँ बराबरको हकप्रद सेयरमा ७७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकका दुई लाख ३२ हजार सेयरधनीहरु भएपनि एक लाख ४० हजारले मात्र आवेदन बुझाएका छन् । बैंकले आवेदन नपरेको १९ लाख ६८ हजार कित्ता केही दिनमा लीलामीमा निकाल्ने भएको छ ।

कृषि बिकास बैंकले पहिले गाउँ गाउँमा ऋणीहरुलाई सेयर बितरण गरेको थियो । ती मध्येका कयौंको मृत्यु भएको र नजिकका हकवालाले हकप्रद किन्ने प्रक्रियामा चासो नदिदा पनि आबेदन कम भएको हुनसक्ने संभावना ब्यक्त गरिएको छ ।

देशभर २५० शाखा संजाल रहेको कृषि बिकास बैंकले जिल्ला जिल्लाबाट हकप्रदको आबेदन संकलन गरेको थियो ।
बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव समेत गरेको छ । तीन अर्ब ९३ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको पचास प्रतिशत हकप्रद पश्चात पूँजी ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी सात अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

पूँजी योजना राष्ट्र बैंकमा बुझाएको छ । उसले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैंया खुद नाफा गरेको थियो ।
पहिलो त्रैमासको विवरण अनुसार खराब कर्जा ३.८३ प्रतिशत रहेको बैकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय २१ रुपैयाँ २३ पैसा छ ।

कृषि विकास बैंकले मनायो स्वर्ण जयन्ती

कृषि विकास बैंकले शुक्रबार आफ्नो स्थापनाको पचास बर्ष पुरा गरेको छ । स्वर्ण जयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिएका छन् ।

महराले अर्थमन्त्रालयले हालै ल्याएको सम्बृद्ध नेपालको लागि दीगो आर्थिक विकास अभियानलाई सहयोग पुग्ने गरी काम गर्न बैंकलाई निर्देशन दिए ।

किसानलाई कर्जा दिनको लागि स्थापना भएको कृषि विकास बैंकले २०६२ सालदेखि बाणिज्य बैंकको रुपमा सेवा सुरु गरेको थियो । विगतमा अति राजनीतिक हस्तक्षेपको कारण वित्तीय अवस्था कमजोर रहेको बैंकको अहिले वित्तीय स्वास्थ्य भने राम्रो बन्दै गएको छ ।

बैंकको ५० औ वार्षिक उत्सवको अवसरमा लामो समय काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । बैंकले सेवालाई आधुनिकरण गर्दै लैजाने उद्देश्यले मोबाइल बैकिङ तथा भिसा कार्डको शुरुवात गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।