गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने

Jan 26, 2017 Merolagani

- परमेश्वर अधिकारी

जनता बैंक(JBNL)का प्रबद्र्धक गुरुप्रसाद न्यौपानेले माछापुच्छ्रे बैंकसँग मर्जको सम्झौता क्रममा ईन्साईडर ट्रेडिङ गरेर आफ्ना नातेदार र आफ्नै कम्पनीको नाममा दोस्रो बजारबाट सेयर किनी गैरकानुनी काम गरेको प्रमाणित भएको छ । नेपाल राष्ट्र बैंकले  छानविन गर्न निर्देशन दिएपछि जनता बैंकले गठन गरेको छानविन समितिले न्यौपानेले बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन विपरित कसुर गरेको ठहर गरेको छ ।


स्रोतका अनुसार गत बर्ष असोजको दोस्रो सातामा माछापुच्छे् र जनता बैंकबीच मर्जमा जाने प्रारम्भिक सम्झौता भएको थियो । पहिलो सातामा नै मर्जमा जाने पक्कापक्की भए लगत्तै, मर्ज सम्झौता सार्वजनिक नहुँदै गुरुप्रसाद न्यौपानेले आफ्नी श्रीमति सुमित्रादेबी न्यौपाने, छोरा संजीव न्यौपानेकी श्रीमति सिर्जना खड्का, नाति शास्वत न्यौपाने र आफ्नै कम्पनी सिद्धकाली ईन्भेष्टमेन्टको नाममा बजारबाट ठूलो कित्ता जनता बैंकको सेयर पटक पटक गरी उठाएका थिए । सेयर दलाल नम्बर २५, ४८ लगायतका कम्पनी मार्फत सेयर किनिएको थियो । गुरुप्रसाद न्यौपानेको यही इृन्साईडर ट्रेडिड. र जनता बैंकको बित्तीय अबस्था शंकाष्पद देखिएको लगायतका भित्री कारणहरु बुझेर माछापुच्छे्ले जनतासँगको मर्ज एकतर्फी रुपमा रद्ध गरेको थियो । 

 

 सेयर किनिएका केही कारोबार बिबरण

 

राष्ट्र बैंकले छानविन गर्न पत्र काटेपछि राजीनामा

गुरुप्रसाद न्यौपाने जनता बैंकका संस्थापक र हाल संचालकको हैसियतमा छन् । आफै संचालक रहेको कम्पनीको साधारण सेयर आफ्नै नातेदार र कम्पनीको नाममा किनेर बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन र धितोपत्र सम्बन्धी ऐन विपरितको कसुर गरेको उजुरी परेपछि राष्ट्र बैंकले छानविन गर्नु भनी जनता बैंकलाई पत्र काटेको थियो । न्यौपानेले भने राष्ट्र बैंकले पत्र काटेको तर जनता बैंकमा आईपुग्नु अगावै राजीनामा गरेका थिए, जसलाई संचालक समितिले स्वीकृत गरेको थियो ।

 

उनले राष्ट्र बैंकको छानविन र बैंकिङ कसुर लाग्नबाट बच्न राजीनामाको चलाखी गरे पनि त्यो अब असंभव देखिएको छ ।

गैरकानुनी काम भएकै हो : छानविन समिति

राष्ट्र बैंकले पत्र काटेपछि जनता बैंकले संचालक नारायणप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरेको छानविन समितिले गुरुप्रसाद न्यौपानेले बाफिया र धितोपत्र ऐन प्रतिकुल काम गरेको ठहर गरी प्रतिबेदन संचालक समितिमा बुझाईसकेको छ । छानविन समितिका संयोजक घिमिरेले मेरोलगानी डटकमसँग सुरुमा कुरा गर्दा आफुलाई केही थाहा नभएको, तपाइँले यो कुरा कहाँबाट थाहा पाउनु भयौ  ? जस्ता उल्टो प्रश्न गरी पन्छिन खोजे तर पछि बारम्बार फोन गरेर सोधिएपछि उनले सबै कुरा खोलेर भने- 'कानुन विपरित काम भएको ठहरसहित मैले संचालक समितिमा प्रतिबेदन पेश गरिसकेको छु, अब जे हुन्छ, संचालक समितिको बैठकबाट हुन्छ ।'

घिमिरे नागरिक लगानी कोषका बरिष्ठ अधिकारी हुन् र जनता बैंकमा उनी कोषका तर्फबाट प्रतिनिधित्व गर्दै संचालक भएका हुन् । सरकारी अधिकारी कै संयोजकत्वमा गठित छानविन समितिले दोषी ठहर गरेपछि जनता बैंकमा न्यौपानेको कानुनी हैसियत समाप्त भएको मात्रै छैन, अब कस्तो सजायको भागिदार बन्नुपर्ने हो भन्ने प्रश्न झन् गहिरिएर गएको छ । 

जनता बैंकका कम्पनी सचिवले पनि छानविन समितिले प्रतिबेदन संचालक समितिमा पेश गरेको तर त्यसमाथि निर्णय हुन बाँकी रहेको जनाएका छन् । 

कानुनले के भन्छ ?

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)को दफा ११ को प्रतिबन्धात्मक ब्यवस्था हेर्दा न्यौपानेले आफै संचालक रहेको कम्पनीको सेयर दोस्रो बजारबाट किनेर सोझै बैंकिङ कसुर गरेको ठहर्छ । सो ऐनको उफदफा १ मा बैङ्क वा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैङ्क वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवार वा आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन वा लेनदेन गर्न हुँदैन । तर नयाँ शेयर जारी गरेको अवस्थामा यो प्रतिबन्ध लागू हुने छैन, भनिएको छ ।

सोही दफाको उपदफा २ मा कसैले उपदफा (१) को विपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले जफत गर्नेछ भन्ने कुरा स्पष्ट रुपमा किटानी गरिएको छ ।

'उप दफा ३ ले उपदफा (२) बमोजिम जफत भएको धितोपत्र समितिले उचित ठह¥याएको किसिमबाट बिक्री वितरण गर्न सक्ने छ' भनेको छ ।

धितोपत्र ऐनले झन् कडा सजाय

आफु भन्दा राम्रो माछापुच्छे बैंकसँग आफ्नो जनता बैंक मर्जमा जाने पक्का गरेपछि भित्रभित्रै आफ्नो परिवारको नाममा सेयर किनेर ईन्साईडर ट्रेडिङ गरेका न्यौपानेमाथि धितोपत्र सम्बन्धी ऐन, कानुनले झन् दोषी ठहर्याएको छ । माछापुच्छ्रेसँग मर्ज भएमा सेयरको भाउ बढ्छ भन्ने भित्री सूचनाका आधारमा उनले यसरी सेयर किनेको स्पष्ट हुन्छ ।

धितोपत्र सम्बन्धी ऐन २०३२ ले यस्तो कार्यलाई कसुर मानी कडा सजायको ब्यवस्था गरेको छ ।

ऐनको परिच्छेद–९ को धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय शीर्षकमा भनिएको छः

दफा ९१. भित्री कारोबार : (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आपूmलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

स्पष्टीकरण - यस उपदफाको प्रयोजनको लागि “भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन ।

दफा ९२ ले भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिको परिभाष गरेको छ । यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ – (क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, (ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, (ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति ।

दफा १०१ ले दण्ड सजायको ब्यवस्था गरी दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने किटान गरेको छ ।

कति सेयर जफत हुनसक्छ ?

गुरुप्रसाद न्यौपानेले सेयर दलाल नम्बर ४८, २५ लगायतका दलाल कम्पनीहरु मार्फत आफ्नी श्रीमति सुमित्रादेबी, बुहारी सिर्जना खड्का, नाति शास्वत र आफै अध्यक्ष रहेको सिद्धकाली ईन्भेष्टमेन्ट कम्पनीको नाममा झण्डै तीन लाख कित्ता सेयर किनिएको दावी राष्ट्र बैंकमा परेको उजुरीमा गरिएको बताईएको छ । बाफियाले यसरी गैरकानुनी रुपमा किनिएको सबै सेयर जफत हुने स्पष्ट गरेको छ ।

न्यौपानेकै पक्षमा संचालकहरुको लबिङ

कानुनले ईन्साईडर ट्रेडिङ गरी आफै संचालक रहेको कम्पनीको सेयर किनबेच गर्नेको सेयर जफत हुने स्पष्ट ब्यवस्था गरेको भए पनि जनता बैंककै संचालक समितिमा रहेका रमेशप्रसाद न्यौपाने र अन्य एक संचालकले सेयर जफत गर्नु नहुने पक्षमा लबिङ सुरु गरेको बताईन्छ । रमेशप्रसाद न्यौपाने गुरुकै नातेदार हुन । यस बारेमा रमेशप्रसाद न्यौपानेसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

कहाँबाट आयो सेयर किन्ने यति धेरै पैसा ?

गुरुप्रसाद न्यौपानेले अपी, अरुण काबेली, त्रिशुली गल्छी लगायतका जलबिद्युत आयोजना निर्माण गर्ने नाममा सर्बसाधारणबाट संकलन गरेको रकम सेयर बजारमा परिचालन गरेको बारेमा मेरोलगानी डटकमले यसअघि पटक पटक समाचार प्रबाह गरिसकेको छ । जनता बैंकको साधारण सेयर किन्न पनि सोही पैसा परिचालन भएको बताईन्छ । न्यौपानेले संचालन गरेका जलविद्युत आयोजनाहरुमा संस्थागत सुशासन अत्यन्त कमजोर रहेको र सर्बसाधारणको लगानी दुरुपयोग गरिएको छ । आयोजनाहरुको ठेक्का आफ्ना बिशुद्ध पारिवारिक कम्पनीहरुलाई मिलाएर गंभीर बदमासी गरिदै आएको छ ।

के भन्छन् गुरुप्रसाद न्यौपाने ?

जनता बैंकको साधारण सेयर आफ्ना परिवारको नाममा किनेर ईन्साईडर ट्रेडिङ गरेका गुरुप्रसाद न्यौपानेले मेरोलगानी डटकमलाई केही पनि कुरा नभन्ने अडान लिए । केही गंभीर बिषयमा तपाइँको भनाई जान्नु छ भनी भेटेर कुरा गर्न टेलिफोनबाट समय माग्दा उनले सुरुमा टार्ने प्रयास गरे । त्यसपछि टेलिफोन कुराकानीमै प्रतिक्रिया माग्दा उनले भने, 'तपाइँलाई मेरो खोजीनीति गर्नु किन पर्यो ? मैले तपाइँलाई किन भन्नु पर्यो ? मेरो बारेमा जनता बैंकमा भएको घटनाबारे समाचार लेख्दै नलेख्नुहोस् ।'

बुहारी सिर्जना खड्काको नाममा जनता बैंकको साधारण सेयर किनिएको बारेमा श्रीमान संजीव न्यौपानेले बुबा र आफुबीचमा अंशबण्डा भईसकेकाले सिर्जनाको नाममा रहेको साधारण सेयर जफत नहुने दावी गरे ।

तपाइँको आमाको नाममा पनि जनता बैंकको सेयर किनिएको छ नि भन्ने प्रश्नमा उनले त्यसमा आफुले केही भन्न आबश्यक नरहेको उल्लेख गरे । 

तर उनीहरुले अब जे बहानाबाजी गरे पनि कानुनी कारबाहीबाट बच्न नसक्ने भएका छन् । 

नोटः टेलिफोन कुराकानीका रेकर्डहरु सुरक्षित छन् ।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।