कुमारी बैंकका कम्पनी सचिव नरेन्द्र छतकुल्लीका अनुसार राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिंदै गर्दा सेयर स्वाप पनि टुंगो लागेको हो । अब साधारण सभाबाट प्रस्ताव पारित गराएर एक्वायर प्रकृयालाई अन्तिम रुप दिनका लागि राष्ट्र बैंकमा आवश्यक प्रकृया अघि बढाइने उनले जानकारी दिए ।
छतकुल्लीका अनुसार चार वटै संस्थालाई प्रति सय कित्ता बराबर कुमारीको ८५ कित्ता सेयर आदान प्रदान गर्ने निर्णय भएको हो । सेयर स्वाप अनुपात संयुक्त प्राप्ति समितिको बैठकले गरेको उक्त निर्णय अनुसार अरु प्रकृया अघि बढन् उनले जानकारी दिए । एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले गत असोज १७ गते सोमबार काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।
कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफुमा विलय गर्ने सम्झौता यस अघि नै गरेको थियो । चारवटा संस्थालाई एक्वायर गरी प्रस्तावित ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब २७ करोड रुपैंया पुग्नेछ ।
अहिले कुमारीको चुक्ता पूँजी दुई अर्ब ६९ करोड रुपैंया छ । राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउनका लागि बैंकले थप एक अर्ब ७३ करोड पूँजी थप्नु पर्ने हुन्छ । चालु आर्थिक वर्षमा ९० करोड रुपैंया बराबरको बोनस बितरणको लक्ष्य लिएको बैंकले अरु कुनै संस्थालाई एक्वायर अथवा मर्जर गरी चुक्ता पूँजी आठ अर्ब रुपैंया पुर्याउन सक्ने देखिन्छ । चालु आर्थिक वर्षको समाप्ति नजिकसम्ममा राम्रो प्रगति देखिए बैंकले फेरी थोरै मात्रामा हकप्रद जारी गर्न सक्ने पनि विकल्प छ । तेस्रो त्रैमास पछि बैंकले कुनै न कुनै विकल्प अघि सार्न सक्छ ।