उनले ६७० कित्ताका लागि आबेदन गरेका रहेछन्, परिणामले १० कित्ता परेको देखायो । उनकी श्रीमति र छोरीको नाममा कुनै परिणाम फेला परेन ।
यही कुरा मैले उनलाई सुनाएँ र १० कित्ता सेयर परेकोमा - लौ बधाई छ भने । ती मित्र त मैले बधाईका लागि दिएको हातसँग हात मिलाउनुको सट्टा उल्टै टेबलमा मुठ्की बजार्न पो थाले । थामिनसक्नु रीस उठेछ, मलाई हान्न खोजेको मुठ्की टेबलमा बजारियो ।
कुरा बुझ्दै जाँदा ती मित्र आक्रोशित हुनुको जायज कारण रहेछ । १५ प्रतिशत बार्षिक ब्याज दरमा ऋण काढेर तीन जनाको नाममा लगानी गरेको १२ लाख रुपैयाँले जम्मा १० कित्ता सेयर पर्नु र त्यसको हिसाब गर्दा प्रति कित्ता दुई हजार चार सय ७१ रुपैयाँ लागत हुनु ।
६७ हजार ७६० कित्ता सेयर ५७ हजार १२६ जनालाई भाग लगाउनु मुस्किलको कुरा थियो । चिठ्ठाबाट ६७७६ जनाले मात्र पाउन सके, त्यो पनि मुस्किलले १० कित्ता मात्र । यस्तो अबस्थामा सेयर परेन र धेरै सेयर पाईएन भनेर गुनासो गर्नु बेकार हो ।
नेपाल एसबीआई बैंकले प्रस्ताब गरेको २८ प्रतिशत बोनस समायोजनपछि आईतबार उसको सेयर मूल्य प्रति कित्ता ११२० रुपैयाँ कायम भएको थियो । आफुले तीन जनाको नाममा आबेदन गर्दा बल्ल बल्ल एक जनाको नाममा १० कित्ता सेयर पर्नु र त्यसको प्रति कित्ता लागत मूल्य नै २४७१ रुपैयाँ पर्नुले उनलाई रीस उठ्नु स्वभाविक हो । तर दोष न त सेयर निश्काशन गर्ने एसबीआईलाई दिएर हुन्छ, न त बिक्री प्रबन्धकलाई नै दोषी देखाउन मिल्छ । बजारमा सस्तोमा सेयर पाईने अबस्थामा महंगो मूल्यमा भरभरको पैसा खन्याएर आबेदन गर्ने ती मित्र आफै दोषी थिए । तर रिसाएका बेला यो कुरा भनिहाल्न मलाई निकै गाह्रो भयो ।
अहिले साधारण सेयर (आईपीओ) र थप नयाँ साधारण सेयर (एफपीओ) मा लगानीकर्ताहरुको ओईरो लागेको बेला दोस्रो बजारमै सस्तोमा सेयर किन्न पाईएको छ भन्ने कुरा कतिपयलाई थाहा नहुनसक्छ । कतिपयलाई हकप्रद भर्नुभन्दा मूल्य समायोजन भएको बेला दोस्रो बजारबाटै सेयर किन्दा सस्तो पर्छ भनेर सम्झाउन पनि गाह्रो छ । कुनै कम्पनीले चार सय प्रतिशत हकप्रद दिने भयो रे भन्दैमा बित्तीय अबस्था नहेरी दैनिक १० प्रतिशत सेयर मूल्य बढाएर किन्न त्यसैको पछाडि कुद्ने जमातलाई बुझाउनु मुस्किलको बात छ ।
यही बर्ष आकर्षक बोनस सेयर पाउनसक्ने बाणिज्य बैंकको सेयर मूल्य साँढे चार सय रुपैयाँ हाराहारीमा आईपुगेको छ भने अर्को बर्ष कम्तिमा २० प्रतिशत लाभांश पाउन सक्ने ग्यारेन्टी भएको कम्पनीको सेयर मूल्य २३० रुपैयाँमा ओलिईसकेको छ । यस्तो अबस्थामा अहिले आईपीओमा आबेदन गर्ने भन्दै आगामी दुई तिन बर्षसम्म कुनै लाभांश दिन नसक्ने कम्पनीमा पैसा खन्याउन तछाड मछाड गर्नुको के अर्थ ? साधारण सेयरलाई भन्दा संस्थापक सेयरलाई कयौं बढी मूल्य हालेर लिलाम सकार्नेहरु पनि रहेको भीडमा सबैलाई कुरा बुझाउन पनि झन् गाह्रो छ ।
आईपीओ र एफपीओ भन्दैमा सबै कम्पनीमा गरिएको लगानी सुरक्षित र लाभदायक हुँदैन र दोस्रो बजारबाट सेयर किन्दा सबैमा घाटै हुने र डुब्ने संभावना पनि हुँदैन भनेर कसले बुझाई दिने ? अहिले थोरै कित्ता आईपीओ निश्काशन गरेका कम्पनीहरुमा आबेदन गरेका धेरैको रित्तो हात भएको छ । बैंक र सहकारीको ब्याज हिसाब गर्दा पनि घाटै भएको हुनुपर्छ तर दोस्रो बजारबाट आईपीओकै लागत मूल्यमा पाईने राम्रो कम्पनीको सेयर किन्दा अहिले मुल्य अरु तल झरेर घाटै भए पनि आउने सात, आठ महिना भित्र आकर्षक लाभांश खाएर बढेको मूल्यमा सेयर बेची नाफा सुरक्षित गर्नसकिने संभावना प्रचुर छ । प्रश्न यत्ति हो, आफुसँग पैसा छ कि छैन र बलियो, राम्रो कम्पनी छनौट गर्न सकिन्छ कि सकिन्न ?