बैंक अफ काठमाण्डु(BOK) र लुम्बिनी बैंक(LUBL) गाभिएर बैंक अफ काठमाण्डु लुम्बिनी बनेको हो ।
बैंक अफ काठमाण्डु लुम्बिनीले आगामी चैत्र ३ गते बोलाएको २२ औं साधारणसभामा बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकलाई स्वीकार्य हुने नाम परिवर्तन गर्नुपर्ने शर्त बमोजिम नाम परिवर्तनको प्रस्ताव गरिएको बैंकको भनाई छ । उसले अब पुरानै नाम बैंक अफ काठमाण्डु बनाउन प्रस्ताव गरेको छ ।
संस्थापकहरुको हिस्सा ४४ प्रतिशतबाट ५१ प्रतिशत बनाउन थप ६२ लाख आठ हजार १३२ कित्ता संस्थापक सेयरहरु प्रिमियम मूल्यमा जारी गर्ने राष्ट्र बैंकले मर्जरको स्वीकृति दिंदा राखेको पूर्व शर्तको पालना गर्न पनि साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।बैंक अफ काठमाण्डु लुम्बिनी सर्बसाधारणको हिस्सेदारी धेरै अर्थात ५५ प्रतिशत भएको बैंक हो ।
बैंकले २३ प्रतिशत बोनस सेयर जारी गर्ने र संस्थापक ४ र सर्बसाधारणका तर्र्फबाट ४ संचालकहरुको निर्वाचन गर्ने पनि प्रस्ताबमा उल्लेख गरेको छ ।
कसरी पुग्छ आठ अर्ब ?
पाँच अर्ब ६२ करोडचुक्ता पूँजी रहेको बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ६० करोड खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा कायम गरेको छ । यो प्रति सेयर आम्दानी उसले गत बर्षको खुद नाफाबाट जारी गर्ने २३ प्रतिशत बोनस समेतको हिसाब हो ।
उसले आठ अर्ब चुक्ता पूँजी कायम गर्न एक अर्ब ७६ करोडको पूँजी थप्नुपर्छ तर अन्य कम्पनीहरुलाई मर्ज र एक्विििजशन गर्ने प्रस्ताव साधारणसभामा नराखेकाले बोनस सेयर नै एक मात्र विकल्प देखिएको छ । उसले ६२ लाख कित्ता संस्थापक सेयर बेचेबाट आउने प्रिमियम रकम र यो बर्षको खुद नाफाको समेत हिसाब गरी एक अर्ब ७६ करोड पूँजीमा थपिने आँकलन गरेको हुनसक्छ ।