कम्पनीले लाभांस लगायतका प्रस्ताव पारित गर्न यहि फागुन ३० गते नवौ बार्षिक साधारणसभा राखेको छ । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले लाभांश पाउनेछन ।
साधारण सभा प्रयोजनका लागि टेलिकमले फागुन १५ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीले प्रदान गर्ने नगद लाभांशको हकदार बन्न फागुन १२ गतेसम्म सेयर किनिसकेको हुनुपर्नेछ ।
कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। त्यसबाट कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो।
९१.४९ प्रतिशत शेयर सरकारको स्वामित्व रहेको कम्पनीको करिब सात अर्ब रुपैयाँ सरकारको ढुकुटीमा जाने छ भने अन्य लगानीकर्ताले ६५ करोड दश लाख रुपैयाँ मात्रै पाउनेछन् । जसमा ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषले पाउनेछन् । सर्वसाधारणको भागमा भने ३३ करोड ९६ लाख रुपैयाँ मात्रै पर्नेछ ।
साथै, साधारण सभामा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि लैजादैछ ।
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात अर्ब ९१ करोड ८६ लाख ५९ हजार ६०६ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ५८ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ भने ६२५ रपैयाँ ४५ पैसा छ ।