शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नवौं वर्षमा प्रवेश
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन्ने नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्नुका साथै नयां बसपार्क देखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसंगको सहकार्यमा बृक्षारोपण गरेको जनाएको छ । बार्षिकोत्सवको अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती हुँदै बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निर्माण गरि उक्त भवनमा केन्द्रिय कार्यालय संचालन गर्दै वित्तीय साक्षरता अभिबृद्धि गर्दे लक्ष्य बैंकले लिएको छ ।
हाल १० जिल्ला कार्यक्षेत्र रहेको बैकले २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बैंकले ग्रामिण क्षेत्रमा बैंकिङ्ग सुविधा पहुंचमा जोड दिएको जनाएको छ ।
चुक्ता पूँजी १ अर्व १० करोड रुपैंया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ अर्व २० करोड निक्षेप संकलन तथा आठ अर्व १७ करोड कर्जा प्रवाह गरी २६ करोड आठ लाख रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले एक लाख ३० हजार भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा दिंदै आएको विज्ञप्तीमा उल्लेख छ ।
युनाईटेड फाईनान्स लिमिटेड २३ औं बर्षमा प्रवेश
उता युनाईटेड फाईनान्सले पनि स्थापनाको २२ औं बर्ष पुरा गरी २३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । संस्थागत समाजिक उत्तरदायित्व वहन गर्ने क्रममा फाईनान्स र युनाईटेड फाइनान्स कर्मचारी कल्याणकारी कोषको संयुक्त पहलमा “वित्तीय साक्षरता” का लागी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
त्यसै गरी नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम, मेडिको डेन्टल होमको सहयोगमा निःशुल्क दन्त परिक्षण शिविर लगायत पशुपति मन्दिर परिसरमा पशुपति विकासकोषका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्ने भाँडा हरु हस्तान्तरण गरिएको फाइनान्सले जनाएको छ ।
फाइनान्सले एचआईभि संक्रमित अनाथ बालबालिकालाई लच्छित गरि सफलता एचआईभि शिक्षा सदन, किर्तिपुरका २३ जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको विज्ञप्तीमा उल्लेख छ । यस कम्पनीको नेपालगञ्ज शाखाले वातावरण प्रदुषण नियन्त्रण गर्ने लक्ष्य सहित सुर्खेत रोडमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
फाइनान्सले कर्मचारीहरु हेमन्त राज काफ्ले, मिठ्ठु लामा र लवाङ्ग र्दोजे लामाका साथै शेयरधनीहरु डा.माधव कुमार श्रेष्ठ र डा. सुन्दलाल श्रेष्ठलाई कदरपत्रले सम्मन गरेको छ । ग्राहकवर्गको निरन्तर सेवालाई उच्च प्राथमिकता दिदै अघि बढ्ने प्रतिबद्धता फाईनाइन्स जनाएको छ ।