कृषि विकास बैंकको सेयर लिलाम : आईपीओ कि एफपीओ ?

Feb 24, 2017 Merolagani

पछिल्ला दिनमा कम्पनीहरुले हकप्रदमा नबिकेको सेयर लिलाम गर्ने क्रम तिब्र बन्दै गर्दा कृषि विकास बैंक (ADBL) को सेयर लिलाम प्रकृया मिनि आईपीओ जस्तै बनेको छ । सामान्यतया कम्पनीहरुले एक साता सेयर लिलाम गर्दा सिमित आवेदनबाट सेयर बेच्दै आएकोमा कृषि विकास बैंकको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर बोलकबोलमा किन्नेहरुले झण्डै १० हजार आवेदनबाट झण्डै दुई अर्ब रुपैंयाको सेयर आवेदन गरेका छन् ।

धेरै आवेदन परेका कारण बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलले पनि सोही अनुसार बोलकबोल खुल्ला गर्ने तयारी गरेको छ । क्यापिटलका अनुसार बैंकको सेयर लिलामीमा सहभागि हुनका लागि नौ हजार दुई सय २१ जनाले आवेदन दिएका छन् ।

थोरै आवेदनको तुलनामा धेरै आवेदन खोल्दा धेरै समय लाग्ने भन्दै क्यापिटलले बोलकबोल खोल्न सुरु भएको भोलिपल्ट साँझसम्ममा अन्तिम नतिजा बाहिर आउने आँकलन गरेको छ । सेयर लिलामको सूचनामा शुक्रबार नै सेयर लिलामको बोलकबोल खोलिने उल्लेख भए पनि शिवरात्रीको अवसरमा सार्वजनिक बिदा भएका कारण आइतबार मध्यान्ह तीन बजेबाट बोलकबोल खोल्न सुरु गरिने क्यापिटलले जनाएको छ । उसका अनुसार सोमबार बेलुकासम्ममा अन्तिम नतिजा सार्वजनिक हुने सम्भावना छ ।

फेस भ्यालुका आधारमा बैंकले लिलाम गरेको सेयरको मूल्य १९ करोड ६८ लाख ५७ हजार रुपैंयाको मात्र हो । यो रकम कृषि विकास बैंकको चुक्ता पूँजीमा जोडिने छ । अरु कम्पनीहरुले यसरी सेयर लिलाम गर्दा माग गरिएको भन्दा केही बढी मात्रामा आवेदन पर्दै आएकोमा कृषि विकास बैंकको लिलाम भएको सेयरमा बोलकबोल गर्नेको संख्या १० हजार नजिक पुगेको हो । एउटा आवेदनबाट १० हजार कित्तासम्म मात्र सेयर माग गर्न सकिने व्यवस्था हुँदा झण्डै दुई अर्ब रुपैंयाको आवेदन पर्नुलाई क्यापिटलले मिनि आईपिओको संज्ञा दिएको छ । गुड फर पेमेण्ट चेकबाट परेको आवेदनको आँकडा कति छ भन्ने विषय बोलकबोल खोल्दा मात्र थाहा हुने भएकाले कति रकमको आवेदन पर्यो भन्ने यकिन विबरण नआए पनि पौने दुई अर्बभन्दा बढी रकमको आवेदन परेको अनुमान गरिएको हो ।

अहिलेसम्म भएका सेयर लिलामीमा एक पटकमा सेयर बिक्री नभएर फेरी लिलामी प्रकृयामा गएका देखि सबै आवेदकले आवेदन गरेको मूल्यमा सेयर पाएका उदाहरणका अघि कृषि विकास बैंकको सेयर लिलामी प्रकृया भने साधारण सेयर निष्काशन जस्तै बनेको हो । अझ यसलाई अहिले कम्पनीहरुले निष्काशन गरेको एफपीओको रुपमा हेरिएको छ । एफपीओमा प्रिमियम जोडेर निश्चित मूल्य तोकिए पनि यहाँ भने मूल्य बढाबढको अवस्था छ ।

धेरै सेयर माग्ने अनि अधिकतम मूल्यमा आवेदन गर्नेलाई बोलकबोलमा प्राथमिकतामा राखिएका कारण साना अनि न्युन मूल्यमा आवेदन गर्ने लगानीकर्ताले सहजै बैंकको सेयर पाउने अवस्था देखिएको छैन । त्यसमा पनि आवेदकको संख्या हजारौं हुँदा मूल्यमा तिब्र प्रतिष्पर्धा हुने भएकाले बैंकको लिलामीको सेयर उच्च मूल्यमा नै बिक्री हुने आँकलन गरिएको छ ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर माघ २७ देखि फागुन १२ गतेसम्म लिलाममा राखिएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।