म्युचुअल फण्डको पोर्टफोलियो अध्ययन गरेर लगानीको तरिका सिक्नुस

Feb 26, 2017 Merolagani

तिलक कोइराला

केही लगानीकर्ताको दिन नेप्से कहाँ पुग्ला भन्ने हिसाब गरेर र त्यसमा अनुमान लगाएरै बित्छ । सेयर बजार बढेको दिन अब नेप्से सूचक बढेर कहाँ पुग्ला भन्ने आँकलन गर्नखोज्ने बिज्ञको भीड लाग्छ भने घटेको बेला मार्केट क्रयासै हुन्छ, घटेर यहाँसम्म पुग्छ भन्नेहरुको पनि कमी हुँदैन । तर यी दुबै ध्रुबमा बसेर आफ्नो बिज्ञता पस्कनेहरुलाई अर्ब-अर्बको लगानी गर्ने सामुहिक लगानी कोष(म्युचुअल फण्ड)हरुले सित्तैमा सिकाईरहेको कुरा सिक्ने जाँगर पनि हुन्न । 

आईतबार धेरै सामुहिक लगानी कोषहरुले माघ महिनाको आफ्नो हिसाब किताब प्रस्तुत गरेका छन् । त्यसमा एकखालको समान बिश्लेषणले काम गरेको देखिन्छ । त्यो हो डाईभर्सिफाई अर्थात लगानीलाई एउटै कम्पनीको सेयरमा केन्द्रित नगरी फरक फरक कम्पनीमा बाड्नु । त्यसमा पनि मध्यमस्तरका तर भबिष्यमा बृद्धि हुनसक्ने संकेत भएका कम्पनीहरुमा बढी लगानी । एभरेष्ट बैंक, स्टान्डर्ड चाटर्र्ड बैंक, युनिलिभर नेपाल जस्ता कम्पनीहरु राम्रा भए पनि सामुहिक लगानी कोषहरुले यी तीन कम्पनीको सेयर नगण्य मात्रामा मात्र किनेका छन् । किन होला ? यसको मुख्य कारण जोखिम ब्यवस्थापन नै हो ।

 राम्रा तर मध्यम खालका बाणिज्य बैंक त म्युचुअल फण्डहरुको रोजाईमा त परेकै छ, त्यसमा उनीहरुले राम्रा बिकास बैंक, फाईनान्स, बिमा र जलबिद्युतलाई पनि उत्तिकै महत्वका साथ हेरेका पाईएको छ । 

म्युचुअल फण्डहरुले सेयर बजारको अबस्था र जोखिम मुल्यांकन गर्न बिज्ञहरुको टोली नै परिचालन गरेका हुन्छन् । उनीहरुले पनि हामी लगानीकर्ताहरुकै पैसा परिचालन गरेर सेयर किनबेच गर्ने हो । सर्बसाधारणको लगानी सुरक्षामा ध्यान दिदै प्रतिफलको आँकलन र जोखिम कम गर्ने उपायहरु अधिक मात्रामा अबलम्बन गरिएको हुन्छ । 

 

यसरी हेरौं

सिद्धार्थ क्यापिटलको सिद्धार्थ लगानी बृद्धि योजना १ ले ८५ वटा कम्पनीको सेयर किनेकोमा उसलाई आईपीओमा प्राप्त भएको जलबिद्युत लगानी तथा बिकास कम्पनीको ४८ हजार ३८७ कित्ता बाहेक सबैभन्दा धेरै सेयर सिटिजन्स बैंकको ४० हजार ९९९ र सेन्चुरी बैंकको ४० हजार ७९७ रहेको देखिन्छ । सिटिजन्सको प्रति कित्ता ४२२ रुपैयाँ र सेन्चुरीको लागत मूल्य २९० रुपैयाँ परेको देखिन्छ । त्यसपछि चिलिमे हाईड्रोको ३५ हजार कित्ताको प्रति कित्ता औसत मूल्य ७४६ रुपैयाँ देखिन्छ ।

अब एनआईबीएल म्युचअल फण्डको प्रगति फण्डतर्फ नजर लगाऔं । उसले सबैभन्दा धेरै नेपाल टेलिकमको सेयर २० हजार ४३५ कित्ता सेयर प्रति कित्ता ६६० रुपैयाँ औसत मूल्यमा किनेर राखेको छ भने दोस्रो धेरै सेयर बैंक अफ काठमाण्डु लुम्बिनीको १४ हजार ६५० कित्ता प्रति कित्ता ५२६ रुपैयाँ औसत मुल्य छ । उसको तेस्रो ठूलो पोर्टफोलियो हेर्ने हो भने नेपाल बैंकको १३ हजार ६१८ कित्ता छ जसको परल मूल्य ३५८ रुपैयाँ छ ।

एनआईबीएल म्युचअल फण्डकै समृद्धि फण्ड १ को हेर्ने हो भने पनि जलबिद्युत लगानी तथा बिकास कम्पनीको आईपीओमा परेको एक लाख २२ हजार ८०० कित्ताको औसत प्रति कित्ता मूल्य १८६ रुपैयाँ छ भने केही म्युचअल फण्डको ठूला कित्ता छाडेर हिसाब गर्दा सबैभन्दा धेरै बैंक अफ काठमाण्डु लुम्बिनीको ६६ हजार ९४६ कित्ताको औसत प्रति कित्ता मूल्य ५२६ रुपैयाँ देखिन्छ । त्यसपछि तेस्रोमा नेपाल टेलिकमको ५२ हजार ५१५ कित्ताको औसत मूल्य प्रति कित्ता ६६० रुपैयाँ देखिन्छ ।

सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको एनएमबी सुलभ ईन्भेष्टमेन्ट फण्ड १ को ईकाई र जलबिद्युत उत्पादन तथा बिकास कम्पनीको सेयर छाडेर हिसाब गर्ने हो भने सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयर ४४ हजार ५३ कित्ता औसत प्रति कित्ता मूल्य ९७५ रुपैयाँ परेको देखिन्छ भने दोस्रोमा एनसीसी बैंकको ३९ हजार ८३७ कित्ता औसत मूल्य प्रति कित्ता ३६३ रुपैयाँ र तेस्रोमा सिटिजन्स बैंकको ३५ हजार ८६६ कित्ताको औसत मूल्य प्रति कित्ता ४२२ रुपैयाँ परेको देखिन्छ । उसले ९४ वटा कम्पनीहरुमा लगानी बिबिधिकरण गरेको छ र सबैभन्दा कम सेयर सबैभन्दा महंगो कम्पनी युनिलिभरको ८० कित्ता मात्रै देखिन्छ ।

एनएमबी सुलभ ईन्भेष्टमेन्ट फण्ड १ को ७५ करोडको कोषबाट ६७ वटा कम्पनीको सेयर किनिएको देखिन्छ, जसमा नेपाल टेलिकमको ४४ हजार २९४ कित्ता औसत मूल्य प्रति कित्ता ६६० रुपैयाँ, दोस्रो सानिमा बैंकको २१ हजार ९८३ कित्ता औसत मूल्य प्रति कित्ता ४५३ रुपैयाँ र तेस्रो नबिल बैंकको संस्थापक सेयर २१ हजार ६२८ कित्ता औसत मूल्य ९७५ रुपैयाँमा किनिएको देखिन्छ ।

को सँग कति पैसा बाँकी ?

एनएमबी हाईब्रिड फण्ड एल १ ले दोस्रो बजारबाट सेयरहरु उठाउँनै बांकी छ । उसले अहिलेसम्म नबिल, ईन्भेष्टमेन्ट बैंकको संस्थापक र नेपाल टेलिकमको सेयर मात्र किनेको छ । पुस मसान्तसम ३० करोड बराबरको सेयर किनेको उसले माघ मसान्तसम्ममा ३२ करोड पुर्याएको छ भने एक अर्बको कोष भएको कम्पनीको बैंक मौज्दात ४७ करोड रुपैयाँ रहेकाले आगामी दिनमा उसले बजारबाट सेयर उठाउने संभावना छ ।

एक अर्बको कोष रहेको सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको बैंक मौज्दात ३६ करोड छ । उसले पनि घटेको बजारबाट छानेर सेयर किन्ने संभावना छ ।

एनएमबी सुलभ ईन्भेष्टमेन्ट फण्ड १ को ७५ करोडको कोषमा २८ करोड जत्ति बैंकमा नगद रहेकाले बजार घटेको बेला उसले पनि लगानी गर्नसक्ने ठाउँ छ ।

त्यस्तै एनआईबीएल प्रगति फण्डको ७५ करोडको कोषमा ५७ करोड रुपैयाँ बैंक मौज्दात देखिन्छ भने उसको अर्को समृद्धि फण्ड १ को एक अर्बको कोषको ११ करोड मात्र बैंक मौज्दात रहेको देखिन्छ ।

सिद्धार्थ लगानी बृद्धि योजना १ को ५० करोडको कोषको ३१ करोड रुपैयाँ बैंक मौज्दात देखिन्छ । यो पुरानो म्युचुअल फण्ड भएकाले पहिले किनेका सस्तो सेयर नाफा गरेर बेची नाफा धेरै गरेको छ । उसले अझै ८४ करोडको सेयर धारण गरिरहेको छ ।


म्युचुअल फण्डहरुले आफुसँग कोषमा भएको सबै पैसा सेयर बजारमै खन्याउँछन् भन्ने पनि अनिबार्य छैन । उनीहरुले मुद्धती निक्षेप, सरकारी बण्डहरु लगायत बिभिन्न ठाउँमा लगानी गरेका हुन्छ्न ।

साधारण लगानीकर्ताले सिक्नुपर्ने कुरा

बजारिया हल्लाबाट आतंकित हुने साधारण लगानीकर्ताले कि त म्युचुअल फण्डहरुको ईकाई किनेर बस्नु कि त उनीहरुले सिकाएको कुरा जानेर लगानी गर्नु बेश हुने छ । कम जोखिम रहेका तर भबिष्यमा राम्रो गर्नसक्ने मध्यमस्तरका कम्पनीहरु छानेर लगानी बिबिधिकरण गर्नु नै अहिले सेयर बजार घटेको बेला अबलम्बन गर्नुपर्ने उपाय हो ।

म्युचुअल फण्डहरुले जस्तै राम्रा, मध्यमस्तरका कम्पनीहरु छानेर लगानी बिबिधिकरण गरिएको अबस्थामा जोखिमबाट धेरै नै बच्न सकिन्छ । दोस्रो बजार पनि सुरक्षित छ भनेर लगानी गर्न खोज्नेहरुले म्युचुअल फण्डहरुको लगानी प्रबृत्ति पछ्याए केही फरक पर्दैन । बेला बेलामा कम्पनीहरुको अबस्थामा आउने फेरबदल हेरेर पोर्टफोलियो परिवर्तन चाँही गरिरहनुपर्छ, जुन म्युचुअल फण्डहरुले पनि गर्छन ।

 

सेयर किन्दा अपनाउन सकिने जोखिमबाट बच्ने उपाय


कम्पनीहरुको दोस्रो त्रैमासिक बित्तीय बिबरण राम्ररी अध्ययन गर्नुहोस् । अघिल्ला बित्तीय बिबरणहरुसँग तुलना गर्नुहोस् । सेयर बजारमा कारोबार हेर्नुहोस् ।

गत बर्षको खुद नाफाबाट १५ प्रतिशत भन्दा माथि बोनस दिएको, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको (प्रतिसेयर आम्दानीले हालको सेयर मूल्यलाई भाग गरेर निकाल्ने(, प्रति सेयर आम्दानी २० रुपैयाँ भन्दा माथि रहेको, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै भएको, नेटवर्थ धेरै रहेको, प्रति सेयर मूल्य ४०० रुपैयाँ वा सो भन्दा तल रहेको, निस्क्रिय कर्जा २ प्रतिशत भन्दा तल रहेको, ब्यापार बढाउँदै लगेको कम्पनीको सेयर अहिले घटेको मूल्यमा थोरै थोरै किन्दै जानुहोस ।

आफुसँग भएको पैसा सबै खर्च गरेर एउटा मात्रै कम्पनीको सेयर एकैपटक किन्नुभयो भने तपाइँ धेरै जोखिममा पर्नुहुनेछ, डुब्न पनि सक्नु हुनेछ ।सेयर किन्दा सबै पैसा एकैपटक खर्च नगर्नुहोस्, राम्रो कम्पनीको सेयर सस्तोमा किन्ने मौका सेयर बजारमा जहिले पनि आईरहन्छ । एउटै कम्पनीको सेयर हैन, कम्तिमा १० वटा राम्रा कम्पनी छानेर जत्ति बजार घट्छ, उत्ति सेयर किन्नुहोस् ।

हल्लाको भरमा मूल्य उचालिएका कम्पनीहरुमा लगानी गर्दै नहुर्नुहोस् । संस्थागत सुशासन नभएका, बिबादमा परेका संचालकहरु भएका र खराब कम्पनीहरुको सेयरको भाऊ सस्तो छ भन्दैमा त्यसमा लगानी गर्दै नगर्नुहोस्, त्यस्ता कम्पनीमा सेयर छ भने पनि बेचेर अर्को राम्रो कम्पनीमा लगानी सार्नुहोस् । पोर्टफोलियो फेरबदल पनि जोखिमबाट बच्ने अर्को उपाय हो ।

नोटः प्रस्तुत चित्र ईन्टरनेटबाट लिईएको हो । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।