सेयर ब्यापारीकोे रणनीति र कुहिराको काग बनिरहेका लगानीकर्ता

Feb 28, 2017 Merolagani

तिलक कोइराला

सेयर बजारमा आज किनेर पर्सी बेच्न मिल्ने सेयर नै प्रतिकित्ता ४३५ रुपैयाँ वा सो सरहमा पाईरहेको अबस्थामा कम्तिमा दुई महिनापछि बजारमा सुचिकृत हुने त्यही कम्पनीको सेयरलाई प्रतिकित्ता ६०१ रुपैयाँमा लिलाम स्वीकार गर्ने लगानीकर्ताको चेतनास्तर के होला ? अहिले सामाजिक संजाल यही प्रश्नले गर्माएको छ ।

कृषि बिकास बैंकको सेयर लिलाममा सहभागी हुने सबैले यसै गरे र त्यसमा सहभागी नहुने अरु लगानीकर्ताको चेतनास्तर पनि त्यही हो भनेर कदापी भन्न मिल्दैन तर ६०१ रुपैयाँको मूल्य कबुलले एउटा गंभीर प्रश्न चाँही जन्माईदिएकै छ । त्यो हो, दोस्रो बजारमा छिर्न चाहने र छिरेका कतिपय लगानीकर्ताहरु यति सोझा छन् कि उनीहरु अहिले नै "मुर्गा" बनिरहेका छन् ।

कृषि बिकास बैंकको लिलामको सेयर दुईहजार एक सय जनाले पाए, न्युनतम मूल्य कति ?

कसैले झुक्किएर गर्यो र यो नै पहिलो घटना हो भनेर भन्नु पनि गलत होे किनभने पहिलेका लिलामहरुमा पनि पटक पटक बजार मूल्य भन्दा धेरै माथि गएर सेयर कबुल गरिएका छन् । यसले लगानीकर्ताको चेतनाको स्तर त मापन गर्छ नै, बजारमा सस्तोमा हजारौ कित्ता किन्न पाईने अबसर हुँदाहुँदै किन यस्तो मुर्खता गर्छन  भन्ने प्रश्न पनि बारम्बार उठाईदिन्छ ।


यस्ता पनि लगानीकर्ता

सेयर बजारमा सुचिकृत कम्पनीको अबस्था नबुझन्े, आफुले पढे, सुनेका कुराहरुलाई तथ्यसँग नभिडाउने र हल्लै हल्लामा रमाउने लगानीकर्ताको जमातलाई सम्झाउन पनि कठिनै छ । कृषि बिकास बैंकको सेयर लिलामको नतिजा आउने बित्तिकै मेरोलगानी डटकमले समाचार प्रबाह गर्यो । सामाजिक संजालमा पनि त्यो समाचार साझा गरियो । त्यही समाचार साझा गरिएकै तलतिर एउटाले प्रश्न गर्यो - कट अफ प्राईस कति हो ?

समाचार खोलेर हेरे त स्पष्टसँग र सजिलै थाहा पाईन्थ्यो । तर त्यतिसम्म पनि जाँगर ती लगानीकर्तालाई चलेन । अहिले नेपालको सेयर बजारमा यस्तै समाचारको हेडलाईन हेरेर सेयर किन्न र बेच्न दौडिनेहरुको भीड छ । त्यो भीडलाई केही हल्लाखोरहरुले सजिलै उपयोग गरिदिन्छन ।

कसले भन्छ लगानीकर्तासँग पैसा छैन ?

कृषि बिकास बैंकको झण्डै २० लाख कित्ता सेयर लिलाममार्फत किन्न तीन अर्ब पैसा रातारात जम्मा भयो । फागुुन ११ र १२ गते एस क्यापिटलमा बोलपत्र पेश गर्नेहरुको भीड हेर्दा कसैले पनि नेपालीहरुलाई तरलता संकटले अत्याँएको अनुभुति गर्न सक्दैनथ्यो । अझ त्यस दिन थप बोलपत्र बितरण गरिएको भए भीड नियन्त्रण गर्न लाठिचार्ज नै गर्नेपर्ने अबस्था आउथ्यो होला भन्ने अनुमान गर्न सकिन्थ्यो । सेयर लिलामको बोलपत्र खोलिएको दिन टेबल र भुँईमा असरल्ल पारिएका खामहरुले नै सेयर बजारका लगानीकर्तासँग प्रशस्त पैसा रहेको पुष्टि गर्दथ्यो ।

नेपाल लाईफ र फरवार्ड माईक्रोमा ५६ अर्ब थन्किदा  पनि लगानीकर्ताको हातमा कहाँबाट पैसा आयो ? पैसा हुँदाहुँदै पनि लगानीकर्ताहरु दोस्रो बजारबाट सस्तोमा राम्रा कम्पनीहरुको सेयरमा दीर्घकालीन लगानी गर्न डराएका हुन् भन्ने प्रष्टै देखिएको छ । उनीहरु बजार अरु घट्छ भन्ने अनुमानमा नेप्सेको घटाई हिसाब गरेर मात्र बसेका छन्, त्यसको पुष्टि पछिल्ला दिनको कारोबार रकम घटाईबाट हुन्छ ।

ठूला कारोबारीको चालबाजी

सेयर बजार केही समय अघि उच्च बिन्दुमा पुग्दै गर्दा एकाथरी ठूला कारोबारीहरु सेयर बेचेर बाहिर निस्किए । उनीहरु वास्तविक रुपमा लगानीकर्ता हैन्, कारोबारी अर्थात सेयरका ब्यापारीहरु थिए । ब्यापारीको काम नैै नाफा आए बेच्ने, सस्तोमा पाए किन्ने हो । यसो गर्नु उनीहरुकाो दोष पनि हैन किनभने ब्यापार गर्ने नियतले बजारमा आएकाहरुले यसो गर्नु स्वभाविक हो । कसैले यहाँको सेयर बेचेर अष्ट्रेलियाको सेयर बजारमा लगानी गर्न पैसा लगे भने कसैले सेयर बजारबाट पैसा निकालेर अरु नै ठाउँमा थुपारे । सेयर बजारको सुचक अर्थात नेप्से २५०० पुग्छ भन्नेहरु हुन् वा अब सेयर बजार डेढ बर्षसम्म घटिरहन्छ भनेर अफवाह फैलाउने लगानीकर्ताका कथित नेताहरु नै किन नहुन, उनीहरुले बजार माथिबाट तल झर्दा केही दिन अगाडिसम्म पनि ठूलो परिमाणमा सेयर बेचिरहेका थिए ।

केही घरानियाँहरु त सामान्य लगानीकर्तालाई कहिल्यै सेयर बजारमा नफर्किने गरी, मनै अमिलो पार्न बाध्य बनाएर, चरम रुपमा निराश पार्ने रणनीति अख्तियार गर्ने हरकतमा पनि उत्रिए । यस्तो बेलामा केही सेयर दलालहरुले चाँही एकैदिन बजारलाई माथि चढाउने र हदैसम्म तल गिराउने खेल गरी लगानीकर्तालाई चाकाचुली खेलाए । घुम्ने पीड. खेल्दा -"भो, भो अब कहिल्यै खेल्दिन, रोकि देऊ' भने जस्तै अवस्थामा पुर्याएर भर्खरै बजारमा प्रबेश गरेका र साना लगानीकर्ताहरुलाई भागदौड गर्न बाध्य पारियो र घाटा खाएर पनि केही पैसा जोगाउन सकेकोमा ठूलो उपलब्धि हासिल भएको ठान्नुपर्ने बनाईयो ।

लगानीकर्ता त त्यो हो जसले कम्पनीको आधारभुत अबस्था बिश्लेषण गरेर दीर्घकालीन हिसाबले सेयर किन्छ  र कम्पनीको प्रगति आँकलन गर्दै लाभांश कुर्छ । फाईदाको अबस्थामा आफ्नो आर्थिक आबश्यकता पुरा गर्न सेयर बेच्छ । आज सेयर किनेर भोलि बेच्ने त ब्यापारी हुन, उनीहरुलाई आजको भोलि नाफा चाहिएको हुन्छ । वास्तवमा नेपालको सेयर बजारमा यस्तै ब्यापारीहरुको अझै बोलवाला भएकाले स्थायित्व आउन नसकेको हो । 

सेयर बजारका ठूला कारोबारीहरु (उनीहरुलाई लगानीकर्ता त भन्नै सकिन्न) ले आज आम लगानीकर्तालाई अत्याँउने, तर्साउने, अलि अलि भएको पैसा पनि रित्याएर बजारबाट भाग्न बाध्य पार्दैछन् । त्यसको दोष अरुलाई हैन, नयाँ र साना लगानीकर्तालाई नै जान्छ किनभने उनीहरु हल्ला, अफवाह र हावादारी कुराबाट निर्देशित भईरहेका छन् । सेयर बजारमा ३३५ रुपैयाँको हाराहारीमा पाईरहेको सेयर हुँदाहुँदै लिलाममा आएको त्यही कम्पनीको हकप्रद सेयरलाई ६०१ हाल्न मरिमेटछ्न भने उनीहरुलाई ठूला कारोबारीहरुले सजिलै मुर्गा बनाईहाल्छन् । यसको दोष ती कारोबारीलाई दिन मिल्दैन, घमाईलो दिनमा पनि कुहिराको काग जस्तै बन्न खोज्नेहरुलाई नै जान्छ् ।

अहिले कृषि बिकास बैंकको सेयर ठूलो संख्यामा हात पार्नेहरुले आफुसँग रहेको सो बैंकको पुरानो सेयर केही दिन भित्रैमा दोस्रो बजारमा हल्लाले मूल्य बढाएर बेच्ने प्रयास गर्नसक्ने छन् । एकातिर २० प्रतिशत बोनसको मूल्य समायोजन हुने र अर्कोतिर ५० प्रतिशत हकप्रद सुचिकृत भएर आउँदा आपुर्ति बढ्न गई मूल्य घट्नसक्ने संभावनालाई ख्याल गर्दै कारोबारीहरुले सेयर बेच्न अनेक रणनीति अख्तियार गर्नसक्ने छन् । त्यसबाट सतर्क रहँदै आम लगानीकर्ताले आफुले सस्तोमा किनेको सेयरलाई सुरक्षित राख्नु नै उचित हुनेछ किनभने कृषि बिकास बैंक चुक्ता पूँजी, जगेडा कोेष, खुद नाफा कमाई, प्रतिसेयर नेटवर्थ, शाखा संजाल, निस्क्रिय कर्जालगायत हर प्रकारले बलियो बैंक हो र यसमा गरिएको लगानी कुनै हालतमा असुरक्षित छैन तर अनाबश्यक रुपमा मूल्य उचालिएर सेयर किन्न हुँदैन ।

एक ठूला कारोकारीको चुनौति

ठूला कारोबारीहरुको भण्डाफोर गर्ने क्रम चलाईराखिएकै छ । आफुलाई लगानीकर्ताकै नेताको दर्जामा राख्ने एक जनाले भने - मैले अष्टेलियामा पनि सेयर किनबेच गरेको छु, सक्छौ भने मेरो नामै लिएर लेख ।

तर पनि हामी उनको नाम सार्बजनिक गर्दैनौ किनभने ब्यक्तिगत गोपनियताको हामी सम्मान गर्छौ । तर उनले आम नेपाली लगानीकर्ताको नेताको पगरी गुथेर यो चुनौति दिनु कतिसम्म जायज हो ? २०६५ सालमा सेयर बजारमा क्र्यासको अबस्था ल्याउन त्यतिबेला पनि अहिले जस्तै चालबाजी खेलेको संझिनेहरुले उनलाई राम्ररी चिनेका छन्, हामीले थप कुरा भनिरहनु पर्दैन ।

दोस्रो बजारमै सस्तोमा पाउँदा किन बेकारको रुवाबासी ?

साधारण सेयर अर्थात आईपीओ हाल्दा पर्ने लागत मूल्यमा दोस्रो बजारमा राम्रा, बलिया, सुरक्षित र आकर्षक प्रतिफल दिने कम्पनीको सेयर पाईराखिएको छ । दोस्रो बजारबाट त्यस्ता कम्तिमा १० वटा कम्पनी छानेर सेयर किन्नुहोस् भनि राखिएकै छ । तर कोही सुन्न तयार छैन । उनीहरु तछाड मछाड गर्दै कयौं गुणा महंगोमा एफपीओको मूल्य तिर्न तयार छन् । आईपीओ र एफपीओमा १० कित्ता पनि परेन भनेर रुवाबासी गर्नेहरुको पनि कुनै कमी छैन । नेपाल लाईफको एफपीओ र फरवार्ड माईक्रोले आउने साता फल चखाउने छ भने युनाईटड मोदीको आईपीओ र स्टान्डर्ड चार्टर्डको महंगो एफपीओमा पनि त्यही दृश्य दोहोरिनेवाला छ । स्टान्डर्ड चार्टर्डको एफपीओ महंगो भयो भन्ने हो भने त्यसमा सहभागी नहुने अधिकार आम लगानकिर्ताहरुसँग सुरक्षित छ तर एकातिर महंगो भयो पनि भन्ने र अर्कोतिर  तछाड मछाड गरेर आबेदन गर्ने दोधारे कुरा गर्न भने सुहाँउदैन । सस्तोमा राम्रो सेयर किन्ने अबसर जहिले पनि आईरहन्छ, त्यसैले सबै पैसा एउटैमा नखन्याउनुहोस् भनेर हामीले भन्दै आएका छौ तर यसपटक पनि त्यसलाई सुनिने छैन ।

हकप्रदको हल्लामा उचालिने मुर्खता

हकप्रदको हल्लामा उचालिएर सेयर नकिन्नुहोस्, फस्नुहोला भनि राखिएकै छ । अघिल्लो बर्ष ईक्रा रेटिड. ग्रेड चार पाएर बल्ल बल्ल साधारण सेयर निश्काशन गरेको कम्पनीले चारसय प्रतिशत हकप्रद ल्याउने भयो भनेर उचालिएर सेयर किन्ने ती लगानीकर्ता नडुबे को डुब्छ ? साढे दुईसय प्रतिशत हकप्रदको सूचनामा उचालिएर एउटा तीन जिल्ले बिकास बैंकको सेयर महंगोमा किन्नेलाई घाटा नलागे कसलाई लाग्छ ? अघिल्लो बिहीबार कुमारी बैंकले ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनसपछि फेरि २० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गर्यो भन्दा लगानीकर्ताहरुले उचालिएर त्यसको सेयर किने । अरु कम्पनीहरुको सेयर मूल्य घट्दा पनि कुमाारीको सेयर मूल्य बढेकै थियो । यसरी हकप्रदमा उचालिनेहरुले गोता नखाए कसले खान्छ ? झण्डै ७५ अर्बको हकप्रद र एफपीओ आएर राम्रो कम्पनीको सेयरको भाऊ प्रति कित्ता एक ढक आलु बराबरको मूल्य भन्दा तल आएपछि अहिले उफ्रिनेहरुले चाल पाउने होलान् ।

हामीलाई अझै गाली गर्नुहोस्, थप उर्जा प्राप्त हुनेछ

गुरुप्रसाद न्यौपानेका कम्पनीहरुमा संस्थागत सुशासनको अबस्था राम्रो छैन, मूल्य उचालिएर सेयर नकिन्नुहोस् भन्यौ, तर साधारण लगानीकर्ताको नामबाट हामीले सबैभन्दा धेरै गाली खायौं ।

दुई करोडवाला माईक्रोफाईनान्सको सेयर मूल्य प्रतिकित्ता पाँच हजार रुपैयाँसम्म उचालिएर नकिन्नुहोस्, त्यसको आधारभुत अबस्थाले मुल्य खाम्दैन भन्यौ, त्यहाँ पनि हामीलाई गाली गरियो ।

सेयर बजारमा दैनिक १० प्रतिशतले मूल्य बढाईएका कम्पनीको सेयरमा जोखिम छ, उचालिएर सेयर नकिन्नुहोस् भन्यौ, त्यसमा पनि गाली खायौं ।

सेयर बजार उचालिएर माथि पुगेको बेला उचालिएर सेयर नकिन्नुहोस् भन्यौ, बाँदर र बाख्राको कथा लेख्यौं, छोटो बाटो जाने कि लामो बाटो जाने भनेर सचेत गरायौं । बजार घटाउन लाग्यो भनेर आरोप लगाईयो । सामाजिक संजालमा थुप्रै टिकाटिप्पणी भयो, गाली गर्नेहरु कम थिएनन् ।

हकप्रदमा नउचालिनुस भनेर पटक पटक भन्दै आयौ, उचालिनेहरु रोकिएनन्, हामीलाई गाली गर्दै रहे । ७१ अर्बको हकप्रद र एफपीओ आउँदैछ, अहिले त्यो आँकडा ७५ अर्ब नाघ्न खोज्दैछ, बजारले धान्दैन भनेर तथ्य बिबरण नै प्रस्तुत गरिदियौं, केही लगानीकर्ताले मात्रै हैन, गनर्भरले नै हचुवा कुरा भनेर आलोचना गर्नुभयो ।

बिकृति उजागर गर्ने क्रममा हामीलाई आर्थिक प्रलोभन दिनखोज्ने, भौतिक आक्रमणको धम्की दिने र राजनीतिक पहुँचको दुरुपयोग गरेर समाचार प्रबाह रोक्ने घृष्टताहरु पनि गरिएका छन्, समय क्रममा त्यसको पनि नकाब उतार्ने नै छौ ।

आम लगानीकर्ताको हितमा लेख्दा अझै गाली गर्नुहोस्, त्यो नै हाम्रो सम्पति हुनेछ । गालीले हामीलाई बिकृति र बिसंगति उजागर गर्नमा अझै उर्जा प्रदान गर्नेछ । आम लगानीकर्तालाई सतर्क र सचेत गराउने महाअभियानबाट पछाडि फर्कने छैनौ । प्रशंसाले मान्छेलाई अन्धो (नेत्रहिनलाई अपमान गरेको हैन) बनाउने छ भन्ने हामीलाई राम्ररी थाहा छ ।

फेरि फस्छन उनैैको जालमा

अहिले सस्तोमा सेयर पाउँदा दोस्रो बजारमा प्रबेशै गर्न नचाहने, दोस्रो बजारबाट भाग्ने तर लिलाममा आएको हकप्रद सेयर र एफपीओमा उचालिएर भएभरको पैसा खन्याउनेहरुलाई कसले पाठ पढाउने ? ठूला कारोबारीहरुले जब सेयर बजार धेरै तल झर्यो, अब यहाँ भन्दा तल जादैन, तरलता संकट र राजनीतिक अन्योल सकियो भनेर यकिन गर्नेछन्, उनीहरुले भित्रभित्रै सेयर उठाईसक्ने छन् । अहिले सेयर बेचेर थुपारिएको पैसाले जब उनीहरुले कुस्त सेयर उठाईसकेका हुनेछन् अनि तिनैले फेरि बजार बढ्ने हल्ला चलाउने छन् । ठूला कारोबारीहरुले आफ्नो काम तमाम गरिसकेको त्यो बेला अहिले आफ्नो लगानी डुबाएर भागेका लगानीकर्ताहरु फेरि सेयर दलालको कार्यालयमा पाईला नैै राख्न नसकिने गरी भीड बनाएर झुम्मिने छन् । बजार जत्ति बढ्दै जान्छ, त्यसको चौतर्फी हल्लाले अहिले भागेका र नयाँलाई फेरि बजारले तान्नेछ । त्यो बेला फेरि सेयरका ब्यापारीहरुले अहिले सस्तोमा सेयर बेचेर भागेकाहरुलाई महंगोमा सेयर भिडाउने छन् र बजार घट्ने हल्ला फैलाउन थाल्नेछन् । उनीहरुले ५० वटा सेयर दलालको कार्यालयमा भाडाका मान्छे पठाएर, अनलाईन र पत्रिकाहरुमा प्रायोजित अन्तवार्ता प्रकाशन गराएर, सामाजिक संजालबाट भाडाका प्रयोगकर्ताबाट हल्ला गराएर लगानीकर्ताको मनोबल कमजोर पार्ने भुमिका खेलिरहने नै छन् ।

जबसम्म सचेत र परिपक्व लगानीकर्ता, सतर्क नियमनकारी निकाय र पूर्ण अनलाईन कारोबार प्रणाली हुँदैन, त्यतिबेलासम्म ठूला कारोबारीको यस्ता खेल र साना तथा नयाँ लगानीकर्ताको भागदौडको क्रम चलिरहने छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।