जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीका अनुसार सिद्धार्थ बैंकलाई पनि एक बराबर एक कित्ता सेयरको स्वाप रेसियो दिईएको छ । जनता र त्रिबेणीको स्वाप पनि एक बराबर एक नै थियो । जनता बैंकमा सिद्धार्थ डेभ्लपमेन्ट बैंक बेचिने गरी सम्झौता भएको हो ।
पूँजी र निक्षेप पर्याप्त भएपछि जनता बैंकलाई अब संस्थागत सुशासन र छवी सुधारेर उत्कृष्ट बाणिज्य बैंक बन्ने चुनौति थपिएको छ ।
अध्यक्ष रायमाझीले भन्नुभयो - अब जनता बैंकलाई जनताको उत्कृष्ट बाणिज्य बैंक बनाएर गुणस्तरीय सेवा र सुबिधा दिन्छौ ।
जनता र त्रिबेणीको मर्ज सकिए पछि सिद्धार्थलाई मिलाउने प्रक्रिया जारी रहने भएको छ । जनता र त्रिबेणी दुबैले साधारणसभा गरेर आपसमा गाभिने अन्तिम प्रस्ताव पारित गरी राष्ट्र बैंकमा पेश गरिसकेका छन् । जनता बैंकको नाममा आउने चैत्र १ गतेदेखि संयुक्त कारोबार गर्न दुबै बैंकका तर्फबाट तयारी तीब्र पारिएकको अबस्थामा राष्ट्र बैंकको स्वीकृति महत्वपूर्ण हुने देखिएको छ ।
जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय भएको थियो । अब सिद्धार्थलाई मिलाएपछि नै चुक्ता पूँजी आठ अर्ब पुग्ने भएकाले जनताद्धारा प्रस्तावित हकप्रदमा पुनर्बिचार हुनसक्ने रायमाझीले बताउनुभयो । सिद्धार्थको चुक्ता पूँजी एक अर्ब ४१ करोड रहेकोमा हकप्रद जारी भएपछि दुई अर्ब २७ करोड पुग्ने छ ।
जनता र त्रिबेणी मर्जर कमिटीका सहसंयोजक गौतमप्रसाद खनालले तीनवटै बैंक आपसमा मिलेपछि निक्षेप झण्डै ५० अर्ब र कर्जा ४३ अर्ब नाघ्ने बताउनु भयो । उहाँले जनतालाई सबल, सक्षम र उत्कृष्ट बाणिज्य बैंक बनाउने उद्धेश्यले मर्जर र एक्विजिशनको सम्झौता भएको जनाउनुभयो ।
सिद्धार्थ डेभ्लपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले आफुहरुले सजिलै चुक्ता पूँजी यसै बर्ष दुई अर्ब ६० करोड नघाउनसक्ने भए पनि जनता बैंकसँग एक्विशिजनमा जानुको बिशेष कारण रहेको खुलाउनु भयो । उहाँले राष्ट्र बैंकबाट आउनसक्ने नीतिगत परिवर्तन र समय अन्तरमा सक्षम बाणिज्य बैंकहरुमै समाहित हुनुपर्ने दीर्घकालीन आबश्यकताले जनतामा जाने निर्णयमा पुगिएको उल्लेख गर्नुभयो ।
जनता बैंकमा हिजो जेजस्तो नराम्रो भए पनि अहिले राम्रा ब्यक्तिहरु संचालक बनेको र उसको आन्तरिक अबस्था सुदृढ हुँदै गएकाले एक सय ११ शाखा र १००० कर्मचारीसहितको बाणिज्य बैंक बनाउन आफुहरुले पहल गरेको भण्डारीको भनाई छ ।