बैंकहरु पटक-पटक मर्जमा जाँदा लगानीकर्ताले भोग्नुपर्ने हैरानी र संस्थापकहरुले सिक्नुपर्ने पाठ

Mar 14, 2017 Merolagani

तिलक कोइराला
बैंक तथा बित्तीय संस्थाहरु बलियो बन्न र बित्तीय क्षेत्रमा देखिने चुनौतिको सामना गर्न गाभिनु र अरुमा बिलय हुन जानुलाई सकारात्मक मान्नुपर्छ, यसलाई प्रोत्साहन पनि गर्नुपर्छ तर मर्ज र एक्विजिशनको नाममा लगानीकर्ताले पटक-पटक दुःख पाउनुलाई चाँही जायज मान्न सकिन्न ।मंगलबार साँझ यती डेभ्लपमेट बैंक(YETI) र महालक्ष्मी बिकास बैंक(MLBL)बीच आपसमा मर्जमा जाने सम्झौता हुँदा  यो कुरा उठाउनु  ज्यादै सान्दर्भिक हुन आएको छ ।

 

यतीको अर्कै कथा

पाँच बर्ष पहिले राष्ट्रियस्तरको मनकामना बिकास बैंक(MKDBL), हेटौडाको यती फाईनान्स(YFL) र काठमाडौको भ्याली फाईनान्सबीच मर्ज भएर त्यतिखेरको सबैभन्दा ठूलो बिकास बैंक यती बनेको थियो । तर त्यो मर्जरले लगानीकर्तालाई खुशी बनाउनुको सट्टा बैंक खराब कर्जाले थलिएर रुनु न हाँस्नु बनायो । तत्कालीन मनकामना बिकास बैंकमा सिताराम प्रसाइँ अध्यक्ष हुँदा लुकाईएको खराब कर्जा मर्जपछि देँखिदा त्यसलाई असुली गरेर स्वस्थ अबस्थामा आईपुग्न झण्डै पाँच बर्ष लाग्यो । बैंकले यसै बर्ष घाटामा रहेको जगेडा कोषलाई धनात्मक बनाई ५० प्रतिशत हकप्रद जारी गरेर साढे दुई अर्ब चुक्ता पूँजी पुर्याउने र आफै टिकेर बस्ने सोच बनायो तर केही जोर नचल्ने देखेपछि मालिकालाई साथी खोजेर मर्जमा जान बाध्य भयो ।

पाँच बर्ष अघि मर्ज भएर बनेको यतीका लगानीकर्ताले अहिलेसम्म एक पैसा लाभांश खान पाएका छैनन् । अब फेरि सेयर बन्धक बनेर लामो समयसम्म किनबेच गर्न नपाउने भएका छन् ।

  ... [यति र महालक्ष्मी विकास बैंक एकआपसमा गाभिने, स्वाप कति ?] ...

महालक्ष्मीको पनि मर्जपछि मर्जको पीडा

त्यसैगरी महालक्ष्मी फाईनान्स(MFL), मालिका बिकास बैंक(MDBL) र सिद्धार्थ फाईनान्स(SFL)बीच लामो मर्ज प्रक्रिया सकिएर दुई महिना अघि सेयर कारोबार खुलेको महालक्ष्मी बिकास बैंक(MLBL)को फेरि सेयर कारोबार रोक्का भएको छ । मर्जमा जाने सम्झौता भएर लामो समय कारोबार रोकिदैछ भन्ने थाहा पाएका केही लगानीकर्ताहरुले मंगलबार सेयर बेचेर पैसा निकालेका छन् भने गोप्य सूचनामा पहुँच नहुनेहरुको सम्पति फेरि बन्धक बनेको छ ।

आधा बर्षसम्म मर्जको पीडा सहेका महालक्ष्मीका लगानीकर्तालाई फेरि अर्को पीडा थपिने निश्चित भएको छ ।

भिबोर सोसाईटीको लफडा

पटक पटक मर्जमा गएर सबल बन्नुको सट्टा लगानीकर्तामा पीडा थपिरहेका अरु कम्पनीहरु पनि छन् । यसमा भिबोर सोसाईटी डेभ्लपमेन्ट बैंक(VSDBL) पनि अगाडि नै आउँछ ।

पाँच बर्ष अघि बीरगंज फाईनान्स र हिमचुली बिकास बैंक मिलेर एच एण्ड बी डेभ्लपमेन्ट बैंक(HBDL@) बन्यो । त्यतिखेरको बीरगंज फाईनान्स राम्रो कम्पनी थियो । मर्ज सकिएको केही समयमै गुड फर पेमेन्ट चेक काण्डले बैंकलाई झण्डै धरासायी बनायो । राष्ट्र बैंकले तत्कालीन कार्यकारी जसुदा सैंजु र संचालक समितिलाई बर्खास्त गरेर बैंकलाई आफ्नो नियन्त्रणमा लिई जोगायो ।

त्यसपछि सोसाईटी डेभ्लपमेन्ट बैंकसँग मर्ज भएर सोसाईटी डेभ्लपमेन्ट बैंक(SODBL@) बन्यो । तर टिक्न नसकेपछि आफु जस्तै संकटग्रस्त भिबोर डेभलपमेन्ट बैंक(VIBOR)सँग मर्जको सम्झौता गर्यो । घरजग्गामा सिमा बाहिरको लगानीले थलिएर राष्ट्र बैंकले उद्धार गरेको भिबोरमा गाभिएको भाजुरत्न फाईनान्सका लगानीकर्ताले पनि उस्तै पीडा भोगेका थिए । केही महिना पहिले बल्ल बल्ल मर्ज सक्याएर संयुक्त सेयर कारोबार थालेको भिबोर सोसाईटी डेभ्लपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ८१ करोड थियो ।

अब त बैंक बलियो भयो र आफै सक्षम भएर अगाडि जान्छ भन्ने धेरै लगानीकर्ताले आशा गरेका थिए तर धान्न सकेन र लुम्बिनी लिजिड. फाईनान्स(LFLC)सँग मर्जमा गएर लुम्बिनी बिकास बैंक बन्ने सम्झौता गरिएको छ । लुम्बिनी फाईनान्स राम्रो कम्पनी हो । तर प्रश्न फेरि पनि तेर्सिएको छ- भिबोर सोसाईटीको रोगलाई निदान गरेर सक्षम बिकास बैंकमा उदाउला कि फेरि अर्को मर्जको बाटो खोज्दै लगानीकर्ताको पीडामाथि पीडा थप्ला ? 

सिनर्जी अर्को उदाहरण

उस्तै कम्पनीहरु मर्ज भए पनि राम्रो बन्न नसकेको सिनर्जी फाईनान्स(SYFL) पनि एक उदाहरण हो । तत्कालीन बुटवल फाईनान्स(BFL) राम्रै कम्पनी थियो । एकताका त्यसको सेयर मूल्य सबैभन्दा धेरै उचालिने सेयरमा गनिन्थ्यो । केही बर्ष पहिले एल्पिक एभरेष्ट र सीएमबी फाईनान्ससँग मर्ज भएपछि उसको संस्थागत सुशासन र खराब कर्जाको अबस्था दयनीय बन्दै गएर ६० करोड भन्दा बढी जगेडा घाटामा गयो । अहिले केही सुधारिएको जस्तो अबस्था देखिए पनि जगेडा घाटा पुर्ति हुन सकेको छैन । हाल साढे ४७ करोड चुक्ता पूँजी रहेको कम्पनीले यही बर्ष राष्ट्र बैंकले तोकेको ८० करोड चुक्ता पूँजी पुर्याउनु पर्नेमा २५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । त्यसबाट ६० करोड मात्र चुक्ता पूँजी पुग्छ तर बजारमै साधारण सेयरलाई १३० रुपैयाँ हाराहारीमा पाईरहेकोमा हकप्रदमा प्रति कित्ता १०० रुपैयाँ कसले हाल्ने ? संस्थागत सुशासन र खराब कर्जामा सुधार गर्न नसक्दा उसलाई अरुसँग मर्ज वा बेचिनुपर्ने बाध्यात्मक अबस्था छ । त्यसका सेयरधनीले पनि फेरि दुख पाउने छन् ।

मर्जमा जाने कम्पनी र लगानीकर्ताको पीडा

मर्जको प्रक्रिया सक्न संस्थाका संचालक र कर्मचारीहरुको एउटा समूह कम्तिमा चार, पाँच महिनासम्म पुरै ब्यस्त हुनुपर्छ ।

सेयरधनीको पीडा एकातिर छ भने मर्जपछि कर्मचारीको दरबन्दी र जिम्मेवारी मिलानले अर्को समस्या थप्छ । संचालकहरुको अनुपात मिलाउनु कम्ता दुःखु हुँदैन । यी सबै कुरा मिलाएर संस्थालाई अगाडि बढाउँन लाग्दा सम्पति तथा दायित्वको प्रतिबेदन अर्थात डीडीएमा देखाईएको कुरामा फरक पर्यो भने त्यसले बर्षौंसम्म सताईरहन्छ । उनीहरु डरलाग्दो घाटा सहन बाध्य हुन्छन र लगानीकर्तालाई लाभांश हैन, रोगी भएको संदेश दिन्छन् । मर्जको प्रसब पीडाबाट पार पाएर कर्मचारी र संचालकहरु मिलाउँदैमा एक, दुई बर्षको संक्रमणकाल गुजार्नुपर्ने छ । बल्ल तल्ल तंग्रिएर अगाडि बढ्न खोज्दा राष्ट्र बैंकले परिवर्तन गर्ने नीतिले अर्को बाटो लाग्नुको विकल्प हुन्न । मर्जपछि बर्षौसम्म कुनै लाभांश दिन नसकेका रोगी कम्पनीहरुले एकपछि अर्को आफु जस्तै रोगी र कमजोर कम्पनीसँग मर्जको बाटो मात्र समातिरहँदा लगानीकर्ता निराश हुन्छन् ।

कतिपय कम्पनीहरुले मर्जमा जाने कम्पनीको सेयर धितो समेत राख्न नमान्दा लगानीकर्ताहरु दोहोरो मारमा पर्ने गरेका छन् । 

बल्ल तल्ल संयुक्त बित्तीय कारोबार खुले पनि त्यसको कयौं दिनपछि मात्रै  सेयर कारोबार खुल्छ । सेयर कारोबार चाँडै खोल्न बैंकका संस्थापक र ब्यवस्थापन उदासिन रहँदै आएका छन् ।  संयुक्त कारोबार सुरु हुँदा खेरी नै वा त्यसको १५ दिन भित्र सेयर कारोबार पनि खोल्न धितोपत्र बोर्डले दिएको निर्देशन पुरै कार्यान्वयन हुन सकेको छैन । राष्ट्र बैंकबाट मर्ज वा एक्विजिशनसम्बन्धी अन्तिम स्वीकृतिमा पनि अनाबश्यक ढिलाई हुने गरेकै छ, सेयर कारोबार चाँडै खोलेर लगानीकर्तालाई राहत दिने बारेमा चासो दिने गरेको छैन । मर्जमा जाने कम्पनीहरुले सैद्धान्तिक स्वीकृति पाएपछि सेयर कारोबार खोल्नुपर्ने आवाज उठे पनि  त्यसको सुनुवाई हुन सकेको छैन । 

के सिक्ने पाठ ? 

त्रिवेणी बिकास बैंक(TBBL)ले केही समय अघि पब्लिक डेभ्लपमेन्ट बैंक र ब्राईट डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्यो ।  आफैले चुक्ता पूँजी साढे दुई अर्ब पुर्याउने भन्दै हकप्रद पनि जारी गर्यो तर टिक्न नसक्ने देखेपछि बाणिज्य बैंक नै खोजेर जनतासँग मर्जमा गयो ।

सिद्धार्थ डेभ्लपमेन्ट बैंक(SDBL)ले २०७३ जेठमा एकता बिकास बैंक र नेपाल आवास फाईनान्सलाई आफुमा गाभी बिकास बैंकहरुमा बलियो बनेको समाचार प्रबाह भएको थियो तर एक बर्ष नपुग्दै एक्लै जान नसकिने निष्कर्षसहित जनता बैंकमा समाहित हुने निचोडमा पुग्यो । उसले हकप्रद समेत जोडेर दुई अर्ब २७ करोड पूँजी पुर्याउने बाँकी रकम यस बर्षको खुद नाफाबाट बोनस दिई दुई अर्ब ६० करोड चुक्ता पूँजी नघाउने स्पष्ट मार्गचित्र बनाएको थियो । तर पटक पटक मर्जमा गएर झंझट ब्यहोर्न चाहेन र हिम्मतका साथ जनता बैंकसँग मिसिन जाने निर्णयमा छाप लगायो । जनता बैंक राम्रो कम्पनी त हैन तर सिद्धार्थसँगैको त्रिबेणी भएपछि अब राम्रो कम्पनी बन्ने बाटोमा गएको छ । 

नेकपा एमाले निकटका ब्यक्तिहरु जनता, त्रिवेणी र सिद्धार्थ तीनवटैमा हावी रहनुले यो परिणाम ल्याएको हो भनिन्छ तर यसले दिएको शिक्षा चाँही सबैका लागि अनुकरणीय नै छ । त्यो हो, अब सानो मर्ज र एक्विजिशनले आगामी दिनमा देखिने चुनौति सामना गर्न सकिन्न । सानो झुण्डको बैंक हैन, पर्याप्त पूँजी आधार, देशभरि शाखा संजाल र कारोबार बिस्तार भएको बैंक बनाउने हो भने मात्र अबको बित्तीय चुनौति सामना र जोखिम ब्यवस्थापन गर्न सकिन्छ ।

पटक पटक मर्जमा जानुपर्ने गरी कमजोर कम्पनीसँग मिसिने हैन, बलियो र सक्षम कम्पनी खोजेर कमजोर कम्पनीहरुले मर्ज र एक्विजिशनको बाटो समात्नुपर्ने शिक्षा बिगतका असफलअभ्यासहरुबाट लिनुपर्छ । 

केही बर्षपछि बाणिज्य बैंक र लघुवित्त मात्रै कायम राख्ने सरकारी सोचाई प्रकट भईरहेको बेलामा दीर्घकालीन रणनीति बनाएर मर्ज र एक्विजिशनमा जानु नै उत्तम विकल्प हो । थोरै तर सबल संस्थाहरु मात्र रहँदा नियमन गर्न सहज हुने र त्यसो गर्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका विदेशी संस्थाहरुले राष्ट्र बैंकलाई दिएको दबाबलाई पनि यससँग जोडेर हेर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले १३० वटा संस्थाहरु आपसमा मर्ज तथा एक्विशिजन भएर ८८ वटाको अस्तित्व समाप्त भई ४२ वटामा झनुलाई ठूलो उपलब्धिको रुपमाा लिएको छ । बैंक अफ काठमाण्डु र लुम्बिनी बैंकवीचको मर्जलाई एउटा उदाहरणको रुपमा लिनसकिन्छ । त्यस्तै प्रभु समूहले खराब कम्पनीहरुलाई किनेर ठूलो बाणिज्य बैंकमा स्तरउन्नति गर्न लिएको हिम्मतिलो कदमको लेखाजोखा पनि चलिरहेको छ ।

 ७५ अर्ब भन्दा बढी रुपैयाँको हकप्रद र एफपीओको  बाढी आउने भएकाले अहिलेको बजारले त्यसलाई धान्न सक्दैन भन्ने चेत बैंक तथा बित्तीय संस्थाका संचालक र संस्थापकहरुमा आउन ढिला भईसकेको छ । अबको चार महिना भित्रमा चुक्ता पूँजी नपुर्याए राष्ट्र बैंकले गर्ने "भाँटे" कारबाहीको सामना गर्नु भन्दा बेलैमा निर्णय गरेकै ठीक ।

सिद्धार्थ डेभ्लपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले जनतासँग मर्जको सम्झौता गरेपछि मेरोलगानीसँग भनेका थिए - राष्ट्र बैंकबाट आगामी दिनमा आउनसक्ने नीतिगत परिवर्तन र समय अन्तरमा सक्षम बाणिज्य बैंकमै समाहित हुनुपर्ने दीर्घकालीन आबश्यकतालाई ख्याल गरेर पटक पटक मर्जमा जाने झंझटलाई समाप्त पारेका छौ ।

यस्तै शिक्षा अब पटक पटक मर्जमा जाने अरु बैंकहरुले पनि लिनु परेको छ । हेरौं, पटक - पटक गोता खाएका बैंकरहरुमा यो चेतना कहिले आउँछ र उनीहरु लगानीकर्तालाई थप पीडा नदिने निर्णयमा कहिले पुग्छन् ।

नोटः स्केचहरु ईन्टरनेटबाट लिईएको हो ।                           

        १३० संस्था मर्ज हुँदा कति संस्थाको अस्तित्व हरायो ?

       तीन कम्पनी मिलेर बलियो बन्यो सिद्धार्थ डेभलपमेन्ट बैक,जेठ २८ देखि एकिकृत कारोबार

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।