सेयर दलालले सेयर किनेको बिल दिएर पैसा लियो तर सेयर आएन, अब के गर्ने ?

Mar 24, 2017 Merolagani

तिलक कोइराला

तपाइँले सेयर दलाललाई खरिद आदेश दिई दोस्रो बजारबाट सेयर किन्नुभयो । सेयर दलालले सेयर किनेको बिल तपाइँलाई पठायो र किनेको सेयर वापत दलाललाई पैसा पनि बुझाउनु भयो तर सेयर आएन । अब के गर्ने ? यस पटक हामीले यो समस्याको समाधानबारे सुझाएका छौ ।

खरिद आदेश दिएर सेयर किनी रकम बुझाए पनि लगानीकर्ताको हितग्राही अर्थात डिम्याट खातामा सेयर नआउनुमा बिबिध कारण हुनसक्छन् । यसमा मुख्य कारण चाँही सेयर बिक्री गरेको ब्यक्तिसँग सेयर नभएर वा उसले सेयर बेचेको प्रक्रिया नमिलेर क्लोज आउटमा परी खरिदकर्ताले सेयर नपाएको हुनसक्छ । निर्धारित समय सिमा भित्र सेयर बिक्री गर्ने दलालले सम्बन्धित लगानीकर्ताबाट निर्देशन पुर्जी प्राप्त गर्न सकेन वा बिक्रीकर्ताको खातामा बेचिएको सेयर नै छैन भने खरिदकर्ताले सेयर पाउन सक्दैन । यसलाई सेयर कारोबारको भाषामा क्लोज आउटमा परेको भनिन्छ ।


यस्तो अबस्थामा के हुन्छ ?

खरिदकर्ताले सेयर दलाललाई खरिद आदेश दिएको पनि सही हुन्छ । खरिदकर्ता दलालले सेयर खरिद गरेको पनि सही नै हुन्छ र उसले खरिद गरेको बिबरण अर्थात बिल खरिद गर्ने लगानीकर्तालाई दिएर त्यसको भुक्तानी लिएको पनि सही नै ठहरिन्छ तर सेयर बेच्नेबाट सेयर नै आएन भने बिक्रीकर्ता दलालले खरिदकर्ता दलाललाई सेयर दिन सक्दैन । समस्या यहीँ परेको हुन्छ । खरिदकर्ता दलालले आफ्नो पुल एकाउन्टमा सेयर पाउन नसकेपछि खरिद गर्ने लगानीकर्ताको खातामा सेयर हालिदिन सक्दैन । यस्तो अबस्थामा सेयर दिन नसक्ने लगानीकर्ताबाट जम्मा सेयर मूल्यको २० प्रतिशत जरिवाना लिएर बिक्रीकर्ता दलालले खरिदकर्ता दलाललाई दिनुपर्छ । त्यो २० प्रतिशत रकम खरिद गर्ने लगानीकर्ताले पाउँछ ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९, तेस्रो संशोधन, २०७३ समेतले क्लोज आउटमा परी सेयर राफसाफ गर्न नसक्ने लगानीकर्तालाई कारबाही प्रक्रिया तोकिएको छ ।

बिनियमावलीको नियम २१ को उपनियम २ ले क्लोज आउटमा परेको सेयर दलालले खरिदकर्ता दलाललाई २० प्रतिशत रकम थपेर बुझाउनु पर्ने ब्यवस्था गरेको छ ।

तपाइँले यस्तो घटनाको सामना गर्नुभएको छ ?

कतिपय लगानीकर्ताले सेयर किनेको बिबरण प्राप्त गर्छन र सो अनुसारको बिल हेरी दलाललाई पैसा बुझाउँछन् । पछि क्लोज आउटमा परेको थाहा पाई दलालले खरिद गर्ने लगानीकर्तालाई सेयर आएन भनेर जानकारी दिनसक्छ । कतिपयले प्राबिधिक समस्या पर्यो भनेर टारिदिन पनि सक्छन् वा दोस्रो बजारबाट तपाइँकै नाममा सस्तो मूल्यमा किनेर खातामा पठाई दिन पनि सक्छन् ।

सेयर किन्ने आदेश दिएर रकम नबुझाई सकेका लगानीकर्ताहरुको हकमा भने सेयर दलालहरुले सेयर नआएको जानकारी दिएर बिक्रीकर्ता दलालसँग आफै कुरा मिलाएर २० प्रतिशत रकमको हिसाब मिलाएका पनि हुनसक्छन् किनभने सेयर दलाललाई निर्धारित समयमा रकम नबुझाउने लगानीकर्ताले मेरो सेयर किन आएन भनी कडा कुरा गर्न सक्दैनन् । यसैको फाईदा सेयर दलालहरुलाई हुन्छ ।

यसमा कतिपय सेयर दलालहरुले आपसमा सहमति गरेर क्लोजआउटमा परे वापत लाग्ने २० प्रतिशत जरिवाना सम्बन्धित सेयर बिक्री गर्ने लगानीकर्ताबाट असुल पनि नगर्ने र खरिद गर्ने लगानीकर्तालाई पनि नदिने सहमति पनि गर्ने गरेका पाईएको छ । त्यो चाँही नियमको उल्लंघन हो । खरिद गर्ने लगानीकर्ताले क्लोज आउटमा पर्दा पाउने रकमको दावी नगर्दा पनि यस्तो भएको हुनसक्छ । कतिपय अबस्थामा दिनुपर्ने र लिनुपर्ने लगानीकर्ताको मिलेमतोमा पनि क्लोज आउटको रकम मिलाईएको पाईन्छ । तर कतिपयले भने यस्तो रकम दावी गर्नुपर्ने कुरा नै थाहा पाएका हुन्नन् ।

सीडीएससी प्रबक्ता सबिना पुजारीले यसरी क्लोज आउटमा परेको लगानीकर्ताबाट खिची सेयर बिक्री गर्ने दलालले खरिद गर्ने दलाललाई बुझाएको रकम सेयर खरिद गर्ने लगानीकर्ताले नै पाउने बताईन । उनले यसरी रकम लिने दिने काम सेयर दलालहरुले नै गर्दै आएको र क्लोज आउटमा परेको रकम आफुले नपाएको भन्ने गुनासो र उजुरी कुनै पनि लगानीकर्ताले अहिलेसम्म नगरेको उल्लेख गरिन् ।

२९ नम्बरको सेयर दलाल कम्पनी त्रिशुल सेक्युरिटिजका नबराज सुबेदीले आफुकहाँ क्लोज आउटका सात वटा घटनामा २० प्रतिशत रकम लेनदेन भएको जानकारी दिए । उनले लगानीकर्ता र सेयर दलालका वीचमा भएको टेलिफोन कुराकानी स्पष्ट नसुनिँदा पनि क्लोज आउटमा पर्नुपर्ने अबस्था आउने भन्दै धेरै सावधानी अपनाउन थालिएको बताए ।

३९ नम्बर सेयर दलाल सुमेरु सेक्युरिटजका प्रेम अग्रबालले कहिले सेयर लगानीकर्ताको तर्फबाट त कहिले सेयर दलालको तर्फबाट क्लोज आउटमा पर्ने खालका घटना हुने गरेको जानकारी दिए । उनले थुप्रै पटक २० प्रतिशत जरिवाना रकम लेनदेनको कारोबार भएको जानकारी दिदै भने -२० प्रतिशत जरिवानाको सट्टा १० प्रतिशत हुँदा राम्रो हुने थियो किनकि बजार एक दिन १० प्रतिशत मात्रै बढ्ने नियम हामी कहाँ छ । भारतमा पनि बजार एकदिन उच्चतम जति अंकले बढ्न पाउँछ, त्यति नै जरिवाना लाग्ने नियम छ ।

कतिपय सेयर दलालले भने प्राप्त हुन नसकेको सेयर दोस्रो बजारबाट किनेर क्लोज आउटमा परेका बिक्रेताबाट रकम तिराएर खरिदकर्तालाई सेयर दिलाईदिने गर्दै आएको बताए ।

नियोजित पनि हुनसक्छ क्लोज आउट

भुलबश क्लोज आउटमा परेर रकम तिर्नुपरेको घटनालाई अन्यथा भन्न नमिले पनि कतिपय बेला जानाजानी क्लोज आउटमा परेर जरिवाना रकम तिर्ने तर आफ्नो खातामा भएको सेयर खरिदकर्तालाई नदिने घटना पनि हुनसक्छ । सेयर बेचेपछि सोही दिन कुनै कारणले सेयर बजार उच्च दरले बढ्यो वा सम्बन्धित कम्पनीको बारेमा आएका समाचार वा हल्लाले मूल्य त्यही दिन १० प्रतिशतले बढ्यो र अर्को दिन पनि त्यसैगरी बढ्ने संभावना देखियो भने कतिपय लगानीकर्ताहरु क्लोज आउट वापतको रकम तिरेर सेयर बचाउँन तिर लाग्ने गरेको पनि पाईएको छ । यसरी सेयर बचाएर ५० प्रतिशत नाफा गरेकाहरु पनि भेटिएका छन् । सेयर बजार घटेको बेला भने यसरी नियोजित रुपमा क्लोज आउट गर्नेहरु देखिन्नन् ।

सेयर किनबेच भएको तेस्रो कार्य दिन (टी प्लस थ्री) भित्र सेयर र रकमको फस्छ्यौट गरिसक्नु पर्ने नियम सीडीएससीले लागु गरेको छ । समयमा रकम र सेयर नबुझाउने लगानीकर्तालाई सम्बन्धित सेयर दलालले नै कारबाही गर्नसक्ने अधिकार छ ।

समग्रमा भन्दा सेयर खरिद आदेश दिई सेयर किनिएको बिलका आधारमा दोस्रो दिन भित्रमा रकम बुझाएका लगानीकर्ताले तेस्रो दिन भित्रमा सेयर पाएनन् भने २० प्रतिशत जरिवाना रकम दावी गर्न चुक्नुहुन्न, नत्र त्यो रकम अर्कैले खाईदिन्छ र सेयर किन्ने लगानीकर्ता  सेयर नपाएर ठगिन्छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।