सेयर बजार उछालको संकेतः सेतो हात्ती बेचेर लैनो र ब्याँउने भैसी किन्ने बेला

Mar 26, 2017 Merolagani

मेरोलगानी टिप्पणी
सेयर बजार तल्लो बिन्दुमा रहेको बेला हिम्मतका साथ जसले सस्तोमा राम्रा र बलिया कम्पनीका सेयर किनेका थिए, ती लगानीकर्ताहरुलाई अहिले आफुले ठीक गरेछु भन्ने अबश्य लागेको हुनुपर्छ । जो त्यो मौकामा चौका हान्न चुके, बेला घर्कियो भन्ने पछुताउमा हुनसक्छन् तर बेला घर्किई सकेको छैन भन्ने कुरा आईतबारको सेयर कारोबारले पुष्टि गरेको छ ।


कयौं खर्च गरेर बर्षौ पाल्दा पनि प्रतिफल दिन नसकेका कम्पनी अर्थात सेतो हात्ती बेचेर अब लैनो र ब्याँउने खालका भैसी किन्ने बेला यही हो । आउने साधारणसभामाहरुमा मनै प्रफुल्लित हुने खालको बोनस दिनसक्ने संभावना र क्षमता भएका राम्रा, बलिया कम्पनीहरुको सेयर सस्तोम किन्ने अवसर घकिईसकेको छैन भन्ने कुरा फेरि एकपटक उजागर भएको छ ।

परिसूचकमा झण्डै ४८ अंकको बृद्धि देखिएर एक अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार हुनु ज्यादै उत्साहप्रद अबस्था हो । बजार पूँजीकरण एकैदिन ५४ अर्बले बढ्दा हजारौ लगानीकर्ताको सम्पति थपिएको छ । अघिल्लो साता सेयर मूल्य र कारोबार रकम लगातार बढ्दै आएर यस साताको सुरुको दिनमा पौनै दुई अर्ब कारोबार रकम पुग्नुले धेरै सकारात्मक संदेश प्रबाह गरेको छ । 

  सेयर मूल्य बढ्यो, नेप्से पनि बढ्यो मात्रै हैन, कारोबार रकम पनि बढेर ठूला र संस्थागत लगानीकर्ताहरु पनि सेयर किन्न बजारमा झरेका छन् भनेर खुशी हुनुपर्छ । यसले लगानीकर्ताको मनोबल अरु बढाईदिनसक्छ । तरलता, राजनीति लगायतका कुराहरु त सहायक कुरा मात्रै हुन् ।

साताको पहिलो दिन केही बाणिज्य बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर उच्च कारोबार हुनुले लगानीकर्ताहरु लैनौ र ब्याँउने भैसीको खोजीमा लागेको प्रष्ट देखिन्छ । पूँजी आधार बलियो र प्रगति गरेको संकेत दिएका त्यस्ता कम्पनीहरुमा खरिदकर्ताहरुको ओईरो लाग्नुले पूँजी बजारको परिपक्वताको संकेत गर्दछ । खासगरी मध्यमस्तरका बाणिज्य बैंकहरु जसको सेयर मूल्य ३०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म छ, त्यस्ता कम्पनीहरुमा लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित देख्नुले बजारको दीगोपनालाई आड दिन्छ । त्यस्तै बिमा र लघुवित्त कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।

माग र आपुर्तिको नियमलाई मात्रै हेरेर केही सेतो हात्ती कम्पनीका सेयर मूल्य पनि उचालिएको छ । यसलाई सेतो हात्ती तह लगाउने स्वभाविक अवसरको रुपमा लिनुपर्छ । जत्ति घाँस र पराल ख्वाएपनि नब्याउने अर्थात प्रतिफल नदिने र उल्टै मालिकलाई गरीब र रोगी बनाउने हात्ती बेचेर लैनो र ब्याँउने भैसी खोज्न लगानीकर्ताहरु लाग्न सक्नुपर्छ । त्यसो भयो भने मात्र सेयर बजार बढेको कुराले सबैलाई हर्षित बनाउनसक्छ ।

बाणिज्य बैंक, बिमा र अन्य केही कम्पनीहरुले तेस्रो त्रैमासमा गरेको प्रगतिका संकेतहरु चैत्रको दोस्रो साता नलाग्दै चुहिन थालेपछि लगानीकर्तामा राम्रो र सस्तो सेयर भएका कम्पनी खोज्ने उत्साह बढेको प्रष्टै छ । बाणिज्य बैंकहरुले कर्जाको ब्याज र कर्जा बढाएर गरेको प्रगति, गैरबैकिड. सम्पति र हकप्रदमा नबिकेको सेयर बेचेको समेतको हिसाब गर्दा तेस्रो त्रैमासको बित्तीय बिबरण उत्साहप्रद हुने आँकलन छ । कतिपय कम्पनीले गत बर्षकै प्रतिफल पनि बाड्न बाँकी रहेको अबस्थामा लगानीकर्ताहरुले चौतर्फी फाईदाको संभावना पनि हेरेका हुनसक्छन् ।

अहिलेको अबस्थामा मध्यम सेयर मूल्य भएका बाणिज्य बैंक, बिमा कम्पनी, बलियो पूँजी आधार भएका लघुवित्त र जलबिद्युत कम्पनीको सस्तो सेयर किनेर दीर्घकालीन लगानी गर्नेले बढीमा पाँच महिना भित्र राम्रो प्रतिफल पाउने कुरामा निश्चिन्त रहँदा हुन्छ । तर सेतो हात्ती पाल्ने र किन्नेको बारेमा यसै होला भन्न सकिन्न । सेतो हात्ती फालौ, लैनो र ब्याँउने भैसी नै खोजौ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।