बुटवल पावर कम्पनीले सेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ फेस भ्यालुमा ३७० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४७० रुपैयाँ एफपिओ निष्काशन गर्ने अनुमति माग गरेको हो ।
एफपीओ मध्ये ५ प्रतिशत बराबर अर्थात आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई २ लाख ४ हजार ५० कित्ता छुट्याएको छ । एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजना आयोजनामा लगानी गरिने बताइएको छ ।
यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने प्रकृयामा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजनाको सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।
एक अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बुटवल पावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा ६० प्रतिशतले बढेर १३ करोड ९ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी ७ दशमलव ७४ रुपैयाँ कायम गरेको छ ।