नेप्से बढोस् वा घटोस्ः जोखिम ब्यवस्थापनको पहिलो शर्त-राम्रो कम्पनीमा दीर्घकालीन लगानी

Apr 03, 2017 Merolagani

तिलक कोइराला

सेयर बजार सधै बढिरहँदैन र घटि पनि रहँदैन भन्ने पर्याप्त उदाहरण सोमबार मध्यान्ह पछिको सेयर कारोबारबाट अझ प्रष्ट रुपमा लगानीकर्ताले अनुभुत गरेकै हुनुपर्छ । कम्पनीहरुको अबस्था वा नीतिगत परिवर्तनको कुनै कारण वा आर्थिक, राजनीतिक, प्राकृतिक घटनाले सेयर बजारलाई प्रभाव पार्छ तर माग र आपुर्तिले सन्तुलनमा राखेको हुन्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । सेयर बजार सूचक सीधा रेखामा कहिल्यै हिड्दैन भन्ने कुराको यकिन पनि यसबाट हुन्छ ।

उकालो लागिरहेको बजारमा बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय सार्बजनिक गरेपछि नयाँ उछाल देखा पर्यो । आईतबार र सोमबार मध्यान्ह अघिको बजारको म्याराथुनलाई पछिल्लो घण्टाको कारोबारले सन्तुलनमा ल्याउने काम गर्यो । माग ज्यादा र आपुर्ति कम हुँदा मूल्य बढ्ने र मूल्य बढेपछि सेयर बेच्नेहरु आएर माग र आपुर्तिलाई सन्तुलनमा राख्ने काम गर्दछन् भन्ने कुरा सोमबारको अन्तिम घण्टाहरुमा भएका कारोबारले पुष्टि गरेको छ ।

                                          सोमबारेको सेयर कारोबारको नेप्से चित्र

बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धिको निर्णयको प्रभावले ती बर्गका कम्पनीहरुको सेयर उठाउनेहरुको चाप बढ्दा बाणिज्य बैंकहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण घटेको छैन । तेस्रो त्रैमास सकिनै लाग्दा कुन कम्पनीले कति खुद नाफा गरे भन्ने चर्चा हुने क्रम सुरु हुँदा लगानीकर्तालाई स्थानीय चुनाव, तरलता अभावको समाप्ति, सेयर दलालहरुको शाखा बिस्तार, अनलाईन कारोबार प्रणाली स्थापनाको गृहकार्य लगायत धेरै कुराले प्रभाावित पारेको छ र उनीहरुको मनोबल बलियो बनेको छ भन्ने देखिन्छ ।

बजार एकोहोरो बढेर जानु हुँदैनथ्यो । सोमबार मध्यान्ह अघिकै परिदृश्य दोहोरिएर तेस्रो सर्किट ब्रेक लागेको भए बजार डरलाग्दो अबस्थातिर गएको मान्न सकिन्थ्यो तर सोमबारको अन्तिम घण्टाका कारोबारले अघिल्लो दिनदेखि बढेको अबस्थालाई सन्तुलनमा ल्याउन भुमिका खेल्यो । यसले नयाँ लगानीकर्ताहरुलाई तथ्य बिश्लेषण गरी संयमित भएर लगानी गर्ने आधार खडा गरेको छ । सेयर किन्न र बेच्न पयाप्त अवसरहरु बजारले दिएको छ ।

कारोबार रकम हेर्दा लगानीकर्ताहरुसँग सेयर किन्न पयाप्त रकम रहेको प्रमाणित  हुन्छ भने पुराना देखि नयाँ, सानादेखि ठूला र ब्यक्तिगतदेखि संस्थागत लगानीकर्ताहरु बजारमा प्रबेश गरेर आआफ्नो रणनीति अनुसार किनबेच गरिरहेकै छन् ।

बढेको बजारले कम्पनीको आधारभुत अबस्था अध्ययन र तेस्रो तैमासमा गर्ने प्रगतिको आँकलन गरी लगानी बढाउनु पर्ने अबस्थालाई झन् मुखरित गर्दछ । बजार बढेको बेला कमजोर कम्पनीको मूल्य उचालिएको सेयरमा लगानी गर्दा लामो समयसम्म घाटा सहनुपर्छ भन्ने कुरा सबै लगानीकर्ताले मनन् गर्नसक्नु पर्दछ । बजार बढेको हल्लाले यही बेला नयाँ लगानीकर्ताहरु बजारमा छिर्छन र खराब कम्पनीहरुको उचालिएको सेयरमा लगानी गरेर फस्छन् ।

यस्तो बेलामा हल्ला र अफवाह फैलाउनेहरुबाट सतर्क बनी कम्पनीको वास्तविक धरातल पत्ता लगाएर बिकेन्द्रित लगानी गर्नुपर्ने आबश्यकता  छ । एउटा हैन, कम्तिमा १० वटा राम्रा कम्पनी छानेर लगानी  गरेमा लगानीकर्तालाई कम जोखिम हुनेछ । यसो गर्दा पनि सेयर बजार जोखिमको क्षेत्र हो भनेर चाँही भुल्नुहुन्न । 

राम्रो कम्पनीमा बिकेन्द्रित लगानी गर्नेले नेपालको जस्तो बिकास र बिस्तार हुँदै गरेको सेयर बजारबाट भबिष्यमा राम्रो प्रतिफल अबश्य पाउनसक्छ, हतारिएर र अरुको बहकाउमा असुरक्षित लगानी गरे डुब्न पनि बेर छैन । 

अहिलेको अबस्थामा सेयर किन्न मध्यमस्तरका (७०० रुपैयाँसम्म सेयर मूल्य भएका) बाणिज्य बैंक, कारोबार र कमाई बढाउँदै लगेको, बोनस समेत बाडेर आगामी दिनमा पूँजी बृद्धि गर्नसक्ने क्षमता राख्ने बीमा कम्पनीहरु उपयुक्त छन् । मध्यमार्गमै बढी सुरक्षा छ ।  आफ्नो आर्थिक हैसियत अनुसार यस्ता सेयरमा दीर्घकालीन लगानी गरेको खण्डमा सेयर बजारबाट धेरै फाईदा लिन सकिन्छ । 

बिगतमा राम्रै कम्पनी भए पनि सेयर मूल्य धेरै उचालिएका कम्पनीमा लगानी गर्दा कयौं लगानीकर्ताहरुले अहिलेसम्म पनि पछुतो मानिरहनु परेको छ । त्यसैले राम्रो कम्पनीमा सुरक्षित लगानी भन्ने कुरा त्यस कम्पनीको आधारभुत अबस्था, प्रगतिको क्रम, भबिष्यमा दिनसक्ने प्रतिफल, सेयर मूल्यको वर्तमान अबस्था, अन्य कम्पनीहरुसँगको तुलना लगायतका बिषयहरु पनि हेरिनुपर्छ । 

केही लगानीकर्ताहरु आफ्नो कम्पनीको अबस्था र सेयर मूल्य घटबढ्को हिसाब गर्न छाडी नेप्से कति पुग्ला भन्दै बढी चिन्ता गर्ने गर्दछन् । नेप्से सूचक सेयर बजारको अबस्था मापन गर्ने एउटा सूचक हो, यो बढ्यो, घट्यो भन्ने कुरा चिन्ताको ठूलो बिषय बन्नुहुन्न । बढी पूँजीकरण भएका कम्पनीहरुको सेयर मूल्य बढ्दा वा धेरै कम्पनीका सेयरको भाऊ बढ्दा नेप्से पनि बढ्छ र धेरै कम्पनीको सेयरको भाऊ घट्दा नेप्से पनि घट्छ । तर आफुले धारण गरेको कम्पनीको सेयर मूल्य नबढ्दा पनि नेप्से बढिरहेको हुनसक्छ र नेप्से घट्दा पनि आफ्नो सेयरको मूल्य बढिरहेको हुनसक्छ भन्ने कुरा हेक्का राखेर राम्रो कम्पनीको सेयर सस्तोमा किनेर बस्नु मै सबैको हित छ ।  राम्रा कम्पनीमा सुरक्षित रुपमा दीर्घकालीन हिसाबको लगानी नै पहिलो शर्त र सबैभन्दा ठूलो चिन्ताको बिषय पनि हुनुपर्छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।