सबै बीमाको जम्मा चुक्ता पूँजी ३३ अर्ब पुग्दा सेयर बजारमा तानातान हुन्छ १६ अर्बको साधारण सेयर

Apr 05, 2017 Merolagani

तिलक कोइराला
बीमा समितिको नयाँ निर्देशन अनुसार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २३ वटा बीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्ममा तोकिएको चुक्ता पूँजी बढाएमा कस्तो होला सेयर बजार ? यो अहिले चर्चाको बिषय बनिरहेको छ । नेपालको बीमा बजारको बिस्तार र त्यसले सेयर बजारमा पार्ने प्रभावबारे आँकलन प्रस्तुत गरिएको छ । 

यस्तो देखिन्छ पूँजी बृद्धिको चित्र

सेयर बजारमा सुचिकृत बीमा कम्पनीको संख्या २३ छ । १५ निर्जिवन र आठ जीवन बीमा कम्पनी । अहिलेसम्म घोषणा गरिएको बोनस, हकप्रद र एफपीओसहित निर्जिवनको आठ अर्ब २१ करोड र जीवनको नौ अर्ब ९० करोड गरी सबै बीमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब २२ करोड रुपैयाँ मात्र रहेको छ । यसमा नेपाल लाईफ र नेशनल लाईफको एक अर्ब ७४ करोड भन्दा बढी अधिक पूँजी पनि जोडिएको छ ।

 

बीमा समितिको निर्देशन अनुसार १५ वटा निर्जिवन बीमा कम्पनीले २०७५ असार मसान्तसम्म जम्मा छ अर्ब ९२ करोड पूँजी थप्नुपर्नेछ भने जीवन बीमाले सात अर्ब ८४ करोड पूँजी थप्नुपर्छ ।

 

यसरी हेर्दा बीमा कम्पनीहरुले अहिले घोषणा गरेका बोनस, हकप्रद र एफपीओ बाहेक जम्मा १४ अर्ब ७६ करोड रुपैयाँ पूँजी थपे पुग्छ । यो भनेको अहिलेका दुई वटा बाणिज्य बैंकको भन्दा कम पूँजी हो । फेसु भ्यालुको हिसाब मात्रै हो तर सेयरको बजार मूल्यको हिसाब गर्दा यसमा कयौं गुणा धेरै हुने निश्चित छ ।

२०७५ असारसम्ममा सबैले तोकिएको पूँजी पुर्याउने हो भने ३२ अर्ब ९८ करोड मात्रै हुन्छ । यो जम्मा पूँजी भनेको चार वटा बाणिज्य बैंकको चुक्ता पूँजी बराबर मात्रै हुन्छ । एक खर्बको आईपीओ, हकप्रद, एफपीओ र बोनसलाई त बजारले सजिलै पचायो, धेरै बाणिज्य बैंक, बिकास बैंकहरुको हकप्रदको चाप यसै बर्ष सकिन्छ । आउने डेढ बर्षमा जम्माजम्मी १५ अर्बको बीमा कम्पनीको पूँजी बृद्धिलाई बजारले एक छेउ पनि मान्दैन । हकप्रदको हिसाब मात्रै हैन, कम्पनीहरुले चालु आर्थिक बर्ष र अर्को बर्ष दिने बोनस सेयर समेत यसैमा पर्छ । त्यो बेलाको अर्थतन्त्रको आकार, पूँजी बजारको बिकास, लगानीकर्ताको संख्या र मूल्यबृद्धिलाई पनि आधार मानेर हेर्नैपर्छ ।

धेरै जसो बीमा कम्पनीहरुको सेयर संरचना हेर्दा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत स्वामित्व साधारण सेयरधनीमा रहेको देखिन्छ । कतिपयले ३० प्रतिशत पुर्याउन एफपीओ पनि जारी गर्दैछन् । एभरेष्ट ईन्स्यारेन्सको पुरै साधारण सेयर छ तर अबको पूँजी बृद्धिमा बीमा समितिले संस्थापकहरुको हिस्सा ५१ प्रतिशत कायम हुने गरी ब्यवस्था गर्न लगाउनुपर्छ, नत्र संस्थागत सुशासन सुध्रिन्न । 

माग र आपुर्तिले मूल्यमा असर पार्छ

सबै बीमाको सेयर संरचना परिवर्तन भयो र संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत नै कायम भयो भने पनि १६ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर सर्बसाधारणको हिस्सामा रहने छ । संस्थापक सेयरहरु दोस्रो बजारमा सहज किनबेचमा नआउने हुँदा बाँकी रहेको ३० प्रतिशत सेयर नै अक्सर दैनिक किनबेचमा आउँछ ।

बीमा कम्पनीहरुको सेयर लगानीमा बाणिज्य बैंक, बिकासहरुलाई क्रस होल्डिड. नलाग्ने हुँदा उनीहरुले पनि संस्थापक र साधारण सेयर दोस्रो बजारबाट निश्चिन्त किनबेच गर्न पाउँछन् । सामुहिक लगानी कोष र अन्य कम्पनीहरुले पनि बीमा बजारको भबिष्य हेरेर धेरै लगानी गर्नसक्छन् । त्यसो हुँदा १६ अर्ब १६ करोड रुपैयाँ बराबरको १६ करोड १६ लाख कित्तामै सिमित रहेर दोस्रो बजारका धेरै लगानीकर्ताले सेयर किनबेच गर्ने हो । यो क्रम २०७५ साल असारसम्म त चलिरहन्छ तर त्यसपछि पनि अर्को पूँजी बृद्धि योजना आउने हुँदा बीमा कम्पनीहरुले आफ्नो कारोबार र जोखिम बहन क्षमता बढाउँन पूँजी बढाएरै लैजाने छन् । अहिले चुक्ता पूँजी पुर्याईसकेका नेपाल लाईफ, नेशनल लाईफ र शिखर ईन्स्योरेन्सले पनि आफ्नो जोखिम बहन क्षमता र कारोबार बिस्तार गर्न पूँजी थप्दै जाने नै छन् भन्ने आँकलन गर्न सकिन्छ । त्यसो हुँदा माग र आपुर्तिले सेयर बजारमा बीमा कम्पनीको सेयर मूल्यलाई उचाईमै राख्ने आँकलन गर्न सकिन्छ ।

बजार बिस्तारको संभावनाले तान्छ

नेपालको सेयर बजारको बिस्तार, अनलाईन कारोबार प्रणालीको सुरुवात र लगानीकर्ताको संख्या थपिदा १६ करोड १६ लाख कित्ता साधारण सेयर निकै कम सावित हुनेछ । बाणिज्य बैंक तथा बिकास बैंकहरुको सेयर संख्याको बृद्धिले मागको चाप बीमा कम्पनीहरुकै सेयरमा पर्ने निश्चित छ । माग र आपुर्तिको नियमलाई आधार बनाई खेल गर्न चाहने लगानीकर्ताले बजारबाट धेरै सेयर किनेर मूल्य बढाउन सक्ने कम्पनी भनेका बीमा नै हुन्ेछन् । अहिले नै दिनदिनै दुई अर्ब भन्दा माथिको सेयर कनिबेच हुँदै जान थालेकाले डेढ बर्षपछि पूँजी बजारको आकार कस्तो होला ? आँकलन गर्नु जरुरी छ । सेयरको ब्यापार गर्नेहरुले यो कुरा नबुझेका छन् भन्न सकिन्न । अहिले सस्तोमा सेयर किनेर दीर्घकालीन लगानी गर्नेहरुलाई पनि फाईदा सुरक्षित गर्ने अवसर नै छ ।

सावधान हुनुपर्ने कुरा

राम्रा बीमा कम्पनीको सेयरमा दीर्घकालीन लगानी सुरक्षित छ । तर, दिनदिनै मूल्य उचालिएर खराब र कमजोर बीमाको सेयर किन्नु हुन्न । मूल्य माथि जान नदिई सस्तोमा राम्रो र भबिष्यमा धेरै प्रतिफल पाउन सक्ने कम्पनी छानेर बीमाको सेयर किन्नु नै बुद्धिमानी हो । मध्यमस्तरका बाणिज्य बैंक र बाणिज्य बैंकहरुले प्रबद्र्धन गरेका लघुवित्तहरु पनि उत्तिकै सुरक्षित छन् भन्ने कुरा बिर्सनुहुन्न ।

खराबहरु नसुध्रिए के हुन्छ ?

बीमा कम्पनीको सेयर मूल्य मात्रै बढेर जाने कमाई र प्रति सेयर आम्दानी नबढ्ने अबस्थामा लगानीकर्तालाई जोखिम हुनसक्छ । अहिले केही बीमा कम्पनी खराब र कमजोर छन् । कारोबार बिस्तार गर्न नसकेका, संस्थागत सुशासन अन्यन्त कमजोर रहेका, बर्षौदेखि लेखापरीक्षण र साधारणसभा गर्न नसकेका कम्पनीहरुलाई अब कि गर कि मरको अबस्था आएको छ । त्यसैले अहिले कमाई नगरेका कम्पनीहरु कि अर्कोमा बिलय भएर जानुपर्छ, कि राम्रो प्रगति गर्नैपर्छ । यसो नगरे आउने नयाँ कम्पनीहरुका अगाडि उनीहरु टिक्न सक्नेछैनन । अहिले गरिरहेको कारोबार पनि नयाँले खोसिदिँनेछन् । त्यसैले कारोबार बढाउन, संस्थागत सुशासन सुधार्न, खुद नाफा र प्रतिसेयर आम्दानी बढाउन उनीहरु बाध्य हुँदैछन् ।

नयाँ कम्पनीहरुलाई आफ्नो पूर्वाधार र संजाल बिस्तार गरी नाफा कमाएर आउनलाई कम्तिमा चार, पाँच बर्ष लाग्छ । त्यतिबेलासम्म अहिले संचालनमा रहेका कम्पनीले धेरै फड्को मारिसकेका हुनेछन् । यो अवसरलाई सदुपयोग गर्ने मौका पनि संचालनमा रहेका बीमा कम्पनीहरुलाई आएको छ ।

बीमा क्षेत्रमा संभावना छ

नेपालको बीमा क्षेत्र १२ प्रतिशत मात्र जनसंख्यामा पुग्न सकेको अबस्थामा प्रगति गर्न चाहने बीमा कम्पनीहरुका लागि ब्यापक संभावना छ र लगभग मैदान खुला छ । बिकशित देशमा प्रायः हरेक नागरिकले बीमा गरेको हुने भए पनि नेपालमा कतिपयले बीमाको बारेमा थाहा नै पाएका छैनन । जनसंख्याको धेरै हिस्सामा बीमाको पहुँच पुग्दा बीमा कम्पनीहरुको नाफा र प्रतिसेयर आम्दानी त बढ्छ नै, यसबाट सेयर बजारका लगानीकर्ता पनि लाभांन्वित हुनेछन् । त्यसैले नेपालको सेयर बजारमा संभावना भएको क्षेत्र बीमा बजार हो । कम्पनीको संस्थागत सुशासन नसुघ्रिएको अबस्थामा जोखिम पनि उत्तिकै छ ।

...[बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)]...


comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।