एकीकृत कारोबार गर्न चैत ६ गते राष्ट्र बैंक र चैत १३ गते कम्पनी रजिष्टारको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेका थिए । धितोपत्र बोर्डले एकीकृत कारोबार सुरु भएको दुई साता भित्रमा सेयर कारोबार सुचारु हुनुपर्ने व्यवस्था गरेको छ । त्यस व्यवस्था अनुसार नै अबको दुई हप्तापछि मात्र बैंकको सेयर कारोबार सुरु हुनेछ ।
गत कात्तिक १७ गते मर्जर सम्झौता गरी एक बराबर एक अनुपातमा मर्जरमा गएको बैंकको चुक्ता पूँजी चार अर्ब ७२ करोड ३० लाख रुपैंया नाघेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई पनि आफुमा विलय गर्ने सम्झौता गरेको जनताले उसलाई पनि एक बराबर एक कित्ता सेयर स्वापमा प्राप्ती गर्ने भएको छ ।
यस अघि साधारणसभाबाट जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गर्दै चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय गरेको थियो । अब सिद्धार्थलाई मिलाएपछि नै चुक्ता पूँजी आठ अर्ब हाराहारी पुग्ने भएकाले जनताले प्रस्ताव गरेको हकप्रदमा पुनर्बिचार हुनसक्ने बैंकले जनाएको छ ।
अहिले एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थले ६० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ। सो हकप्रदपछि उसको चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्ने छ । त्रिवेणीसँगको मर्जरबाट जनताको पूँजी चार अर्ब ७२ करोड पुगे पछि चालु आर्थिक वर्षको कमाईबाट प्रतिफल बितरण गरेर वा हकप्रदबाट बैंकले आठ अर्ब रुपैंयाको पूँजी तयार गर्नेछ ।
जनताले चालु आर्थिक वर्षको पुससम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा कायम गरेको छ ।