त्रिबेणीलाई गाभेपछि कस्तो भयो जनता बैंकको अबस्था ?

Apr 07, 2017 Merolagani

बिगतमा संस्थागत सुशासन र कमजोर कारोबारले प्रगति गर्न नसकेको जनता बैंकले त्रिबेणी बिकास बैंकलाई गाभेर चैत्र २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । त्रिबेणीलाई गाभेपछि निक्षेप ३७ अर्ब र कर्जा ३३ अर्ब पुर्याएको बैंकमा केही आधारभुत सुधारहरु अपेक्षित बनेका छन् ।

्गभर्नर डा. चिरन्जिवि नेपालले थापाथलीमा आयोजित कार्यक्रममा जनता बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गरे । उनले जनतामा त्रिबेणी गाभिएर पूँजी, निक्षेप र जनशक्ति बढाई अगाडि बढ्न खोज्नु खुशीको कुरा भएको बताए । 

कार्यक्रममा नेपाल बैंकर्स एशोसियशनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, डेभ्लपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष राजेन्द्र पौडेलले मर्जपछिको संयुक्त कारोबार सफलताको शुभकामना दिए भने त्रिबेणी बैंकका निबर्तमान अध्यक्ष लंकबहादुर केसी र डा. भीमप्रसाद न्यौपानेले सक्षम बाणिज्य बैंकमा रुपान्तरण हुन जनतासँग मिलेको बताए ।

जनता बैंकका अध्यक्ष केशबहादुर रायमाझीले त्रिबेणीसँगको मर्ज प्रक्रिया पुरा भएपछि जनता बैंकले नयाँ उर्जा प्राप्त गरेको उल्लेख गरे ।

जनता बैंकको ४१ शाखा रहेकोमा त्रिबेणी गाभिएपछि ६९ शाखा र एटीएम संख्या ३८ पुगेको छ । जनता बैंकको २७ अर्ब निक्षेपमा त्रिबेणीको ९ अर्ब थपिदा ३७ अर्ब पुगेको छ भने सिद्धार्थको १३ अर्ब थपिएर अब चाँडै नै ५० अर्ब नाघ्ने भएको छ ।

जनतालाई आफ्नै कर्पोरेट कार्यालय पनि मिल्यो

२०६६ सालमा स्थापना भएको जनता बैंकले काठमाडौमा आफ्नै कर्पोरेट कार्यालय समेत बनाउन नसकेकोमा अब मर्जपछि थापाथलीस्थित सेन्ट्रल बिजिनेश पार्कमा रहेको त्रिबेणीको आफ्नै कार्यालयलाई जनताले केन्द्रीय कार्यालय बनाउन पाएको छ । २०६० सालमा चितवनमा खुलेको त्रिबेणी बिकास बैंकले ब्राईट र पब्लिक डेभ्लभमेन्ट बैंकलाई गाभेर निस्क्रिय कर्जा एक प्रतिशत मुनी राखी आकर्षक प्रगति गर्दै आएको थियो । जनता बैंकको संचालक समितिमा त्रिबेणीका तर्फबाट सर्वसाधारण सेयरधनी संचालक गौतमप्रसाद खनाल थपिएका छन् भने जनता बैंकका केही संचालक बाहिरिएका छन् ।

चुक्ता पूँजी कति पुग्यो ?

गत कात्तिक १७ गते सम्झौता गरी एक बराबर एक अनुपातमा मर्जरमा गएको बैंकको मर्जर पछि चुक्ता पूँजी चार अर्ब ९० करोड रुपैंयाको हारहारीमा पुगेको छ । सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई आफुमा विलय गर्ने सम्झौता गरेको जनताले उसलाई पनि एक बराबर एक कित्ता सेयरको स्वाप दिने भएको छ । यस अघि जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गर्दै चुक्ता पूँजी आठ अर्ब पुर्याउने निर्णय गरेको थियो । 

अहिले एक अर्ब ४१ करोड रुपैंया चुक्ता पूँजी रहेको सिद्धार्थले ६० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । सो हकप्रद पछि उसको चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्ने छ । त्रिवेणीसँगको मर्जरबाट जनताको पूँजी चार अर्ब ९० करोड पुगे पछि सिद्धार्थ मिसिदा चुक्ता पूँजी सात अर्ब २० करोड हारहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट प्रतिफल बितरण गरेर वा हकप्रदबाट बैंकले आठ अर्ब रुपैंयाको पूँजीको सिमा पुरा गर्नेछ ।  सिद्धार्थलाई मिलाएपछि नै चुक्ता पूँजी आठ अर्ब हाराहारी पुग्ने भएकाले जनताले प्रस्ताव गरेको हकप्रदमा पुनर्बिचार हुनसक्ने देखिएको छ ।

यस बर्ष कति खुद नाफा गर्ला ?

जनता बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १६ करोड, त्रिबेणीले ११ करोड सिद्धार्थले १८ करोड नघाएको छ । यी तीनवटै बैंक आपसमा मिल्दा यस आर्थिक बर्षको चौथो त्रैमाससम्ममा एक अर्ब खुद नाफा गर्ने, हकप्रदमा नबिकेको सेयर लिलामबाट आएको प्रिमियम र प्रोभिजन गरेको रकम समेत फिर्ता ल्याएर देखाउँदा बाड्न मिल्ने धेरै हुने आँकलन गरिएको छ । त्रिबेणीको निस्क्रिय कर्जा कम रहेको, सिद्धार्थले पनि सुधार्दै आएको र जनतामा पनि संस्थागत सुशासन सुदृढ हुँदा समग्र निस्क्रिय कर्जा नबढ्ने अनुमान गरिएको छ ।

लगानीकर्ताको बाहुल्यता  र चुनौति

जनता बैंकमा पहिलेदेखि नै नेकपा एमाले निकटका बैंकर तथा लगानीकर्ताहरुको बाहुल्यता रहेकोमा त्रिबेणी गाभिएपछि झन् एमालेमय भएको छ । त्यसमा एमाले निकटकै बैंकर तथा सेयरधनीहरुको बाहुल्यता रहेको अर्को सिद्धार्थ डेभ्लपमेन्ट बैंक समाहित हुँदा त्यो झन् बढ्ने छ । तीन संस्थाको मिलनपछि राम्रो प्रगति गरी उदाहरणीय बैंक बनाएर लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्ने चुनौति पनि नयाँ संचालक समितिमा थपिएको छ । बैंकका प्रमुख कार्यकारी कुमार लम्साल स्वच्छ र लामो बैंकिड. अनुभव भएका हुनाले जनता बैंकले मर्जपछि प्रगति गर्नसक्ने थप आधार छ ।

सेयर कारोबार कहिले खुल्छ ?

जनता बैंकको हकप्रद सेयर नेप्सेमा सुचिकृत हुन बाँकी रहेकाले त्यो सुचिकृत भई त्रिबेणी र जनताको सेयर मिलाएपछि बढीमा दुई साता भित्र सेयर कारोबार खोल्ने गृहकार्य हुने एक संचालकले मेरोलगानी डटकमलाई बताए । धितोपत्र बोर्डले मर्ज भएर एकीकृत कारोबार सुरु गर्दा वा त्यो संभव नभए एकीकृत कारोबार सुरु भएको दुई साता भित्र सेयर कारोबार खोल्नुपर्ने निर्देशन दिएको छ ।

जनता बैंकको सेयर कारोबार बन्द हुँदा ३७७ रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको थियो भने त्रिबेणीको प्रतिकित्ता ३४६ मा किनबेच भएको थियो । ती कम्पनीहरुले जारी गरेका बोनस सेयर समेत समायोजन भई सेयर कारोबार खुल्दा मूल्य कति तोकिएला ? अहिल्यै भन्न सकिन्न ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।